20221006

बाराको जितपुर सिमरा अमलेखगञ्जमा बस दुर्घटनामा परी मृत्यु भएका नौजनाको सनाखत, मृत्यु हुनेको संख्या १६


 
बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जमा बस दुर्घटनामा परी मृत्यु भएका नौजनाको सनाखत भएको छ । बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ । हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका १२ जनामध्ये नौ को सनाखत भएको प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिनुभयो । मृत्यु हुनेमा पर्साको विरगन्ज महानगरपालिका–१६ की मुन्नीदेवी चौरसिया, हेटौँडा उपमहानगरपालिका–७ की ५५ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, सोही स्थानकी २० वर्षीया स्वस्तिका श्रेष्ठ, बाराको कलैया–१० का नगरीन खातुन, बाराको अमलेखगञ्जका सुरेश विक, बाराको कलैयाका इन्ताज अन्सारी, खोखलढुङ्गाका ४५ वर्षीय लालबहादुर बोगटी, गोर्खाकी अम्बिका काडेल र पर्साको विरगन्ज–१६ का सकेमप्रसाद चौरसिया एसपी गौतमले जानकारी दिनुभयो ।

बसमा सवार यात्रुको सङ्ख्या एकिन हुन नसके पनि झण्डै ५० जना सवार रहेको प्रहरीले जनाएको छ । नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जमा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार जीतपुर-सिमरा २२ का २८ वर्षीय सुरेश विक, कलैया उपमहानगरपालिका-२ का ४१ वर्षीय लिलाराज चौधरी, कलैया-१० की ३६ वर्षीया नाजलिन खातुन, सोही ठाँउका २६ वर्षीय इताजत अंसारी, चितवन खैरहनी नगरपालिका-५ बुडौलीका ६३ वर्षीया नन्दकुमारी पुडासैनी, सोही ठाँउका ३५ वर्षीय मनोरथ पुडासैनी, चितवन कालिका नगरपालिकाका-१५ वर्षीय सफल कंडेल, वीरगन्ज महानगरपालिका-१६ का ६५ वर्षीय सोमप्रसाद चौरसिया, सोही ठाँउकी ३६ वर्षीया मुन्नीदेवी चौरसिया, हेटौंडा उपमहानगरपालिका-७ की ५६ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, सोही ठाँउकी २० वर्षीया स्वस्तिका श्रेष्ठ, ओखलढुंगाका लालबहादुर बोगटी, गोर्खाका ३५ वर्षीय अम्बिका कंडेल, जनकपुर उपमहानगरपालिका-५ का ५० वर्षीय सन्तोषकुमार राय छन्।

मृतक अन्य दुई जनाको सनाखत हुन बाँकी रहेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताएका छन्।

दुर्घटनमा घाइते भएकाहरूको हेटौंडास्थित चुरेहिल अस्पताल, चितवन मेडिकल कलेज, भरतपुर मेडिकल कलेज, वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार चुरेहिल अस्पताल हेटौंडामा बसचालक स्याङजा आदिखोला ६ का दिप्तीनारायण ढकाल, वीरगन्ज-१४ का अनवर अंसारी,  जीतपुर-सिमरा २१ का आएन बम्जन, कलैया-१४ घर भई हालः हेटौंडा बस्ने ५ वर्षीय अनस आलम, भरतपुर उपमहानगरपालिका-१२ का १६ वर्षीया रीतिका चौधरी, उनकी बहिनी १२ वर्षीया प्रिती चौधरी, पर्सा पकाहामैनपुर गाँउपालिका-४ का २० वर्षीय सन्देश यादव उपचाररत छन्।

त्यसैगरी चितवन मेडिकल कलेजमा नाम नखुलेको एक महिलासहित वीरगन्ज-१६ की २ वर्षीया साक्षी चौरसिया, ९ वर्षीय दिब्य चौरसिया, ३५ वर्षीया लक्ष्मीयादेवी, २२ वर्षीया रविना चौधरी, २५ वर्षीय सन्दीप चौरसिया, खैरहनी ८ का ५४ वर्षीय भिमसेन अधिकारी, सोही ठाँउका ३८ वर्षीय रविना अधिकारी, १७ वर्षीय सन्देश अधिकारी, १४ वर्षीय सृष्टी अधिकारी, हेटौंडा-१४ की मन्जुकुमारी लोप्चन, ७ वर्षीया सुवानी घिसिङ, १२ वर्षीय विज्ञान घिसिङ, १४ वर्षीय अमृत लोप्चन र १४ वर्षीय प्रशान्त स्याङतानको उपचार भइरहेको छ।

त्यस्तै भरतपुर मेडिकल कलेजमा हेटौंडा-१४ की ठूलीमाया लोप्चन, भरतपुर-२२ का २१ वर्षीय आयुस बास्तोला र वीरगन्जस्थित नारायणी अस्पताल वीरगन्ज-१६ की ६० वर्षीया मालतीदेवी चौरसियाको उपचार भइरहेको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए।

प्रहरी उपरीक्षक बोगटीका अनुसार वर्षाको समयमा तिव्र गति र ब्रेक फेल भएका कारण दुर्घटना भएको बताएका छन्। चुरेहिल अस्पतालमा उपचार गराइरहेका चालक ढकालले चुरियामाईको ओरालोपछि बसमा ब्रेक नलागेको र सोही कारण दुर्घटना भएको बयान प्रहरीलाई दिएको प्रहरी उपरीक्षक बोगटीको भनाइ छ।

बस दुर्घटनाका घाइतेलाई स्थानीय र सुरक्षाकर्मीले उद्धार गरी अस्पताल पठाएका थिए। दुर्घटनालगत्तै घटनास्थल पुगेका जीतपुर-सिमरा २१ वडाध्यक्ष सुवास श्रेष्ठले क्षतविक्षत अवस्थामा रहेको बसबाट झिकेर घाइतेलाई अस्पताल पठाएको बताए। श्रेष्ठले घटनास्थलमै १२ जनाको मृत्यु भएको जानकारी दिए।

'घटनास्थलमा मृतक र घाइते यताउता छरिएको अवस्थामा थियो। कोही कोही चिच्याइरहेका थिए, कोही रुँदै थिए,’ श्रेष्ठले भने, 'हामीले छिटोभन्दा छिटो उद्धार गर्ने प्रयास गर्‍यौं, मृतक र घाइते सबैलाई अस्पताल पठायौं।’

घाइते र मृतक सबैलाई अस्पताल लगेपछि प्रहरीले घटनास्थलबाट उक्त बस उठाएर पथलैया ल्याएको छ। घटनापछि यस क्षेत्रका राजनीतिक दलका नेता, जनप्रतिनिधिले ठूलो मानवीय क्षति हुनेगरी दुर्घटना भएको भन्दै दुःख ब्यक्त गरेका छन्।

बसका चालक दिप्तीनारायण ढकाल हेटौंडास्थित चुरेहिल अस्पतालको आकास्मिक कक्षमा उपचार गराउँदै थिए। शरीरको विभिन्न भागमा चोट देखिए पनि उनको अवस्था गम्भीर थिएन। उनी बोल्नसक्ने अवस्थामा थिए।

आकस्मिक कक्षमा उपचार गराइरहेका चालक ढकालले ब्रेक फेलकै कारण दुर्घटना भएको बताए। 'चुरियामाईको ओरालोपछि बसको ब्रेक लागेन्, मैले गाडीमै रहेका साहुजीलाई ब्रेक नलागेको जानकारी गराएँ,’ ढकालले भने, 'त्यति भन्ने वित्तिकै बसका यात्रुहरु डराउन थाले। मैले आफूले भ्याएसम्म गर्न खाजे तर सकिनँ।’

बसलाई सडक छेउमै खसाल्न खोजेको भए पनि विपरित दिसाबाट आइरहेको गाडीका कारण सम्भव नभएको चालकको भनाइ थियो। 'मैले कम क्षति हुनेगरी सडक छेउ कत्तै खसाल्नेसमेत प्रयास गरेँ,’ ढकालले भने, 'तर सोचेजस्तो केही भएन। तीन नम्बर पुल आएपछि मोडमा उताबाट गाडी आयो। अनि गाडी काट्नै सकिएनँ।’

नारायणघाट–टाडी चल्ने उक्त बस चाडपर्वका कारण क्युफ्री भएका कारण वीरगन्ज आएको हो। नारायणबाट पर्सासम्म बसका साहुले उक्त गाडी चलाएका थिए। पर्सापछि ढकालले बस चलाएका हुन्। पर्साबाट चुरियामाईसम्म आँउदा गाडीमा कुनै समस्या नरहेको चालक ढकालले बताए। 'चुरियामाईमा पनि रोकेर यात्रु चढाएको हो। त्यहाँसम्म केही समस्या थिएन्,’ ढकालले भने, 'त्यसपछि ब्रेक नलागेको हो।’

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक