20221125

युक्रेनमा रुसले गरेको बमबारीका कारण देशभर विद्युत् कटौती, मस्कोले "मानवता विरुद्धको अपराध" गरेको आरोप

 
युक्रेनमा रुसले गरेको बमबारीका कारण देशभर विद्युत् कटौती भएपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोले "मानवता विरुद्धको अपराध" गरेको आरोप लगाएका छन्।  लगातार भएको गोलाबारीका कारण कम्तीमा छ जना सर्वसाधारणको मृत्यु भएको थियो र विद्युत् कटौती भएका कारण तीन वटा पारमाणविक रियाक्टरहरू बन्द गर्न अधिकारीहरू बाध्य भएका थिए।प्रत्यक्ष रूपमा प्रहार नभए पनि प्रभाव स्वरूप युक्रेनको छिमेकी राष्ट्र माल्डोभामा पनि विद्युत् कटौती भएको थियो। हिउँद सुरु भएसँगै मस्कोले युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण बढाएको छ।

युक्रेनी अधिकारीहरूका अनुसार रुसको क्षेप्यास्त्र आक्रमणले ऊर्जा केन्द्रहरूमा "व्यापक" क्षति पुर्‍याएको छ र देशको आधा भन्दा बढी ऊर्जा वितरण गर्ने प्रणालीहरू मर्मत गर्नु पर्ने स्थितिमा पुगेका छन्।

न्यूयोर्कमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को आकस्मिक बैठकलाई सम्बोधन गर्दै जेलेन्स्कीले पछिल्ला आक्रमणहरूका कारण तापक्रम शून्य डिग्री सेल्सियसभन्दा कम भएको अवस्थामा समेत "लाखौँ मानिसहरू ऊर्जा आपूर्ति, न्यानो र पानी विना बस्न" बाध्य भएको बताए।

"यो रुसको आतङ्कको सूत्र हो," उनले भिडिओमार्फत् न्यूयोर्क रहेका प्रतिनिधिहरू समक्ष भने।

बुधवार युक्रेनभरि हवाई आक्रमणको चेतावनी जारी गरिएको थियो। त्यस लगत्तै राजधानी किएभ र पश्चिमी सहर लभिभलगायत धेरै स्थानहरूमा विस्फोट भएको विवरणहरू सार्वजनिक भए।

दक्षिणी जापोरीजा क्षेत्रस्थित प्रसूति गृहमा क्षेप्यास्त्र प्रहार हुँदा एक नवजात शिशुको मृत्यु भएको आपत्कालीन सेवा प्रदायकहरूले जानकारी दिए।

युक्रेनी सशस्त्र सेनाका कमान्डर जनरल भ्यालेरी जालुज्नीका अनुसार मस्कोले ६७ वटा लामो दूरीको क्षेप्यास्त्रहरू प्रक्षेपण गरेको थियो। तीमध्ये ५१ वटा प्रक्षेपणलाई देशको हवाई सुरक्षा प्रणाली ले सफलतापूर्वक रोकेको जनाइएको छ।

तर आक्रमणले देशभरका पूर्वाधारहरूमा ठूलो क्षति पुर्‍याएको छ ।

किएभमा सहरका केही भागहरूमा मानिसहरू पूर्ण रूपमा पानी र बिजुलीबाट वञ्चित भएका छन्। मेयर भिटाली क्लिट्स्कोका अनुसार साँझसम्ममा कम्तीमा ८० प्रतिशत बासिन्दाहरू बिजुली र पानीविना बसेका हुन्।

प्राय: ताप तथा जलविद्युत ऊर्जा केन्द्रहरू पनि बन्द गर्न बाध्य भएको युक्रेनको ऊर्जा मन्त्रालयले जनाएको छ।

किएभ र लभिभबाट थप विवरण आउनुअघि अधिकारीहरूले दक्षिणी युक्रेनमा आक्रमणको नयाँ घटना भएको बताएका थिए।

माइकोलाइभ क्षेत्रका गभर्नरले दक्षिण र पूर्वतर्फबाट "थुप्रै रकेटहरू" आइरहेको चेतावनी दिए।

क्रेमलिनका प्रेस सेक्रेटरी दिमित्री पेस्कोभले आर्मेनियाको राजधानी येरेभानको भ्रमणको क्रममा आक्रमणको बारेमा कुनै टिप्पणी गरेनन्। यद्यपि, उनले "विशेष कारबाही (युक्रेनमाथिको आक्रमणलाई मस्कोले प्रयोग गर्ने शब्द) निःसन्देह सफल भएको” बताए।

मस्कोले आफूले युक्रेनको पावर ग्रिडमा आक्रमण गर्दा उनीहरूको लड्ने क्षमता कम हुने र नेताहरूलाई वार्ताको निम्ति तयार पार्न सक्ने बताएको छ।

तर फ्रान्सेली राष्ट्रपति एमानुअल म्याक्रोनले ट्विटरमा लेखेका छन्,"नागरिक पूर्वाधार" विरुद्ध त्यस्ता आक्रमणहरू युद्ध अपराध हो। यसअघि अमेरिकाले पनि उस्तै टिप्पणी गरेको थियो।

मोल्डोभाका उपप्रधानमन्त्री आन्द्रेई स्पिनुले ट्विटरमार्फत् आफ्नो देशको आधाभन्दा बढी भागमा विद्युत् कटौती भएको बताएका छन्। उनले युक्रेनको ऊर्जा पूर्वाधारमा भएको आक्रमणका कारण “व्यापक अन्धकार” भएको जनाएका हुन्।

मोल्डोभाको एक तिहाइ जनसङ्ख्या बस्ने राजधानी चिसिनाउको धेरैजसो ठाउँमा केही घण्टाभित्रै बिजुली पुनर्स्थापित भएको थियो।

नोभेम्बर १५ मा रुसले युक्रेनमाथि गरेको आक्रमणको परिणाम स्वरूप माल्डोभामा पनि व्यापक रूपमा बिजुली कटौती भएको स्पिनुले जानकारी दिए। त्यहाँ मोबाइल नेटवर्क पनि नराम्रोसँग प्रभावित भएको उनको भनाइ छ।

ऊर्जा नीति विश्लेषक सेर्जु टोफिलाटले ऊर्जा आपूर्तिको लागि मोल्डोभा र युक्रेन गत मार्चमा युरोपेली ग्रिडमा जडान भएका हुन्। युक्रेनमाथि आक्रमण हुँदा प्रणालीको सुरक्षाका निम्ति मोल्डोभा र छिमेकी रोमानिया बिचको पावर लाइनको जडान बिन्दुहरू मध्ये एक स्वचालित रूपमा बन्द हुन्छ/गरिन्छ। "युक्रेनले क्षतिको मूल्याङ्कन गरेपछि हामी त्यसलाई पुनः जडान गर्छौँ।"

विद्युत् आपूर्ति रोकिएपछि मोल्डोभाका राष्ट्रपति माइया सान्डुले रुसले "मोल्डोभालाई अन्धकारमा छोडेको" प्रतिक्रिया जनाएकी छन्।

"युक्रेनमा रुसको युद्धले मानिसहरूलाई मारिरहेको छ, क्षेप्यास्त्रहरूले मानिस बस्ने घर र ऊर्जा पूर्वाधार नष्ट गरिरहेको छ..." उनले फेसबुकमा लेखेकी छन्। 

"तर बिजुली आपूर्ति फेरि सञ्चालन गर्न सकिन्छ। हामी प्राविधिक समस्या समाधान गर्छौँ र हामी फेरि उज्यालोमा हुनेछौँ। राज्यका सबै निकायहरू त्यसका निम्ति आवश्यक काम गरिरहेका छन्।"


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक