20221123

खराब केहि हारे सबै हारेनन र सहि धेरैले जिते तर पुग्ने जतिले जितेनन, अबको यात्रामा हार्न पर्ने सबै हारुन, जित्न पर्ने सबैले जितुन !

 - डा. सन्तोष सापकोटा 

अहिले पनि संसदमा मनमोहन अधिकारीलाई अस्पतालको शैयामा हुँदा पनि निको हुनसम्म कुर्न हतार भएर पदबाट हटाउने ब्यक्तिहरुको झुण्ड छ। अर्का सन्त नेता कृष्ण प्र. भट्टराईलाई काठमाण्डौमा हराउने आफ्नै पार्टीका अग्रज भनाउँदा नेताहरु पनि छन्। मदन भण्डारीको हत्यामा मतियारका आरोप लागेका मान्छे फेरि चुनिएका छन्। सत्ता जोगाउन थाईल्यान्डमा सांसदलाई लाने, सुरा सुन्दरीको नेपाली राजनीतिमा बिजारोपण गर्ने पार्टी छन्। ५ पटक देश हाँकेर असफल भएका पनि मन तृप्त नभएर फर्केका बयोबृद्धा अध्यक्ष पनि छन्। नेपालीले नेपालीलाई काट्न लगाएर देश परिवर्तन गर्छु भनेर आफ्नै पार्टी फुटाएर अर्कैसंग सत्तामा जानु ठिक हो भन्नेपनि छन्। मतपत्र चपाएर चुनाब बिथोल्ने पनि छन्। आफ्नो घर ठाउँबाट भागेर अन्त गई गई चुनाव लडेर पनि सांसद हुनै पर्ने पनि छन्। समग्रमा भन्दा खराब केहि हारे सबै हारेनन र सहि धेरैले जिते तर पुग्ने जतिले जितेनन। 

यो झुण्डले रातारात मन परिवर्तन गरेर गगन थापालाई सफल प्रधानमन्त्री भएको धेरै समय देख्न सक्लान भन्ने आधार निकै कम छन्। नियत सफा हुन्थ्यो भने चुनाव अगाडि नै गगनलाई प्रम घोषणा गरेर जाँदा हुन्थ्यो। केहि गडबड पक्कै गर्छन् र सकेको गर्छन्। मलाई लाग्छ “गगन थापा” इतिहासमा एउटा सुनौलो अक्षरले लेखिने नाम हुनेछ। उनी यस्तो क्षमता भएको मान्छे यति समयसम्म पार्टी भित्र पिल्सिएर पनि यति अडिक भएर कसरी बस्न सक्छन् भन्ने बिषयमा पि. एच डि नै गरे हुने बिषय बनेका छन्। आजको यो परिवर्तन आउन उज्जवल थापा पछि उनको पनि देन छ। सबैले बुझौं बालेन र रविको पनि कम छैन।

राष्ट्रिय स्वतन्त्र पार्टी र रविको हकमा उनलाई अझ नयाँ नयाँ तिकडम गरेर तल झार्ने र उनले पहिला गरेका काममा प्रश्न गरिरहने पक्ष झन उग्र भएर लागि पर्नेछ। नागरिकताको बिषय उठाएर उप चुनाव गराउने खेल सुरु भईसकेको छ। फेरी जित्लान तर यो विवाद पहिल्यै सुल्झाउन नसकेको केहि दोष उनले पनि लिनै पर्छ। जति ल्याए त्यो धेरै नै हो तर यति कम सिट भएर सत्तामा जाँदा सुख सित काम गर्न दिनेछैनन। गगन, गोकर्ण जस्तै सोच भएकासंग सहकार्य गर्दा ठिक होला तर उनीहरुका पुराना पार्टीको धेरै नै दबाब आउनेछ। त्यसैले पनि संगठन बिस्तारमा जोड दिने र ढिलो चाँडो हुने चुनावका लागि तयार हुनु पर्नेछ। अहिले हारेका केहि लौरो का साथी सहित बृहत बैकल्पिक अभियानका सहयात्रीलाई गोलबद्ध बनाउने काम छिट्टै सुरु गर्नु पर्नेछ। सोच्नु न रवि र माकुने, तोसिमा र प्रचण्डको संसदमा भोट उत्तिकै गनिन्छ। भोली चलखेल भयो भने कुर्सिको मोहमा को छिट्टै बेचिने छन्? संख्याको खेल हो सरकार, आँफु दह्रो नभई नगएकै राम्रो भन्छु म। 

अब एमालेको कुरा गरौं। यसो हेर्दा ओली २/३ टिकाउन नसक्ने अहम घमण्डी छन् भन्न सकिन्छ र त्यो निराधार पनि छैन। संसद दुई दुई पटकसम्म राष्ट्रपतिलाई प्रयोग गरेर बिघटन गर्न नहुने थियो। तरीका नराम्रो भएपनि नयाँ जनमत लिनुपर्छ भन्ने कुरा भने उनको ठिक थियो। अहिलेको नतिजाले पनि त्यहि देखायो। यो संयोग हो कि उनको दुरदृष्टि थाहा छैन तर माओवादी र माकुनेको सेखिलाई उनले यो चुनावबाटै धुलोमा मिलाउन भने सफल भए। जनताले पनि उनीहरुको चरित्र चिनेर लाखा पाखा लगाईदिए। माकुनेको पार्टी माकुने दस बर्ष एमाले सम्हाल्दा गरेका घिन लाग्दा सत्ताका खेलका कारण हो भन्ने कुरा ओलीले सबैलाई बुझाईदिए। तसर्थ पनि ओली नैतिक हिसाबले शेरबहादुर, प्रचण्ड र माकुने भन्दा धेरै धेरै माथी छन्। अब ओलीले आफुँ पार्टी संगठन सम्हाल्ने र जनताले रुचाउन सक्ने नयाँ नेतालाई सत्ताको लागि तयार गर्ने काम गर्नुपर्छ। पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई र गोकर्ण बिष्ट मलाई मन पर्ने नैतिकवान राम्रा नेताहरु हुन। ओलीले केहि गल्ति गरे तर अब दोहोर्याउँछन कि छैनन भन्ने हेर्न बाँकि नै छ। 

अबको केहि बर्ष देशले थुप्रै मोड लिनेछ। जबसम्म पार्टी भित्र राम्रो पद्दती बस्दैन, चुनावमा उठ्ने नेताहरुमा त्यागको भावना आउँदैन र बहुमत जनता सचेत हुँदैनन देशको राज्य व्यवस्थामा तबसम्म तल माथी भने हुनेछ। सचेत छौं भन्नेलाई बितृष्णा पनि आउनसक्छ। कतिपयलाई आफ्नो गल्तिको महशुस हुन समय लाग्नेछ। त्यसैले सबै पार्टीले जनस्तरमा जनताका भावना बुझेर काम गर्नुपर्नेछ। 

यति भन्दै गर्दा यो चुनावले देशका लागि पहिलो महिला प्रधानमन्त्री जन्माएको छ। यो संसदका लागि हैन तर अबको दस बर्ष पछि त्यो दिन आउनेछ। आशा गरौं यो उतार चडाव देशको हितका लागि हुनेछ र छिट्टै देशले काँचुली फेर्नेछ। ब्यवस्था बन्न समय लाग्ला तर हामी हरेक ब्यक्ति असल बन्न चुनाव कुर्नु पर्दैन। बाटोमा परेको खाल्टो पुर्न, बच्चा नै बगाउने खुल्ला नाली ढाक्न स्थिर सरकार कुर्नुपर्दैन। गतिलो काम नगर्ने संस्था र कर्मचारीलाई प्रश्न गर्न अख्तियारको चिठी नै आउन पर्दैन।

अबको यात्रामा हार्न पर्ने सबै हारुन, जित्न पर्ने सबैले जितुन।

जय देश   NEPAL !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक