20221210

कविता - हामी नकचराहरू !

बस्छौँ युरोपका देशहरूमा 
बस्छौँ अमेरिका जस्तो देशमा 
अस्ट्रेलिया देखी क्यानडा सम्म 
जान्छौँ नेपाल र लाग्छौँ पछि पछि
तिनै देश माराहरूको, 
तिनै जनता माराहरूको,
तिनै भात माराहरूको,
मान्छेका घाँटी रेट्नेहरूको  
टांसिन्छौं जुका जस्तै तिनै सँग 
किचिक्क हाँसेर मार्छौं सेल्फी 
हाल्छौँ फेसबुक, ट्विटर 
र सामाजिक सञ्जालहरूमा ! 
गाउँछौ तिनकै भजन 
जोड्छौँ विशेषणका लम्बेतान कथाहरू
बनाउँछौ कसैलाई "बा" 
बनाउँछौँ कसैलाई "दाई" 
बनाउँछौ कसैलाई "राजनेता"
पुकार्छौं तिनैलाई "राजा" र "प्रभु"  
उतार्छौं आरती तिनैको 
चुनाव हुँदै गर्दा पुग्यौँ 
र भन्यौँ हजुरलाई जिताउन आएको 
हजुरको जीत पक्का छ 
कसले सक्छ हजुरलाई हराउन 
चाकडी र चाप्लुसीको नग्न रूप 
यता पनि, उता पनि, जता पनि  
चुनाव सकियो, 
हार जीतको नतिजा आउँदै गर्दा 
फेरी जित्नेहरूको ठेगाना 
र फोन नम्बरहरू खोजी खोजी 
पुग्यौँ अबिर खादा माला बोकेर 
"गणेश" बनेर परिक्रमा गर्न 
फोन भरी फोटोहरू छन् 
कुन बन्छ प्रधानमन्त्री 
कुन बन्छ मन्त्री 
कुराइ त्यसैको छ अब 
पोस्ट गर्न ति फोटोहरु 
दिन बधाई हरु !
जो बने पनि के भो र 
जता पनि पुगेकै छौं  
ढाड भाँचिन्जेल नुगेकै छौं  
कसैलाई पर्यटनदुत चाहिया छ रे 
कसैलाई बाणिज्यदुत र महादूत चाहिया छ रे  
कसैलाई म्याद थप्नु छ रे 
कसैलाई खुस्काउनु छ रे 
कसैलाई आफू बन्नु छ रे 
जता पनि गयो
हजुर "म त हजुर कै मान्छे" भन्नु छ 
जसरी होस, जे गरेर होस, 
"खाइ न पाइ छालाको टोपी लाई" बन्नु छ !
यस्ता नकचराहरू को कति रहेछन् 
मलाई मात्र यिनको सङ्ख्या गन्नु छ !
तपाईँलाई यी नकचराहरूको बारे केही भन्नु छ ??

- रामप्रसाद खनाल, डिसेम्बर १०, २०२२

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक