20221217

मेलम्चीको फेरी अर्को कहानी ! कठै काठमाडौं !!

 
सिन्धुपाल्चोकको मेलम्चीबाट काठमाडौं उपत्यकाका लागि ल्याइएको ३ करोड ५० लिटर खानेपानी काठमाडौं उपत्यकामा अझै वितरण भएको छैन । मेलम्चीको पानी सुरुङमार्ग हुँदै तेस्रोपटक राजधानी आएको ८ दिनसम्म सबै वितरण हुन नसकेको हो । गत १८ मंसिरमा मेलम्ची खोलाको १७ करोड ५० लाख लिटर पानी राजधानी आएको थियो । यसको ६ दिनपछि अर्थात् २३ मंसिरदेखि राजधानीका धारामा तेस्रोपटक मेलम्चीको पानी वितरण सुरु भएको थियो । पानी वितरण सुरु भएको ८ दिनमा पनि पुरै पानी राजधानीबासीलाई वितरण हुन सकेको छैन ।


६ महिनासम्म बन्द रहेको वितरण सञ्जालमा आएको समस्याका कारण पुरै पानी वितरण गर्न नसकिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले जनाएको छ । मेलम्ची खोलाबाट २६.५ किलोमिटर सुरुङमा हाली सुन्दरीजल प्रशोधन केन्द्रमा ल्याइएको १७ करोड ५० लाख लिटरमध्ये हाल १४ करोड लिटर पानीमात्र राजधानीमा वितरण भइरहेको छ ।


केयूकेएल आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको नयाँ वितरण सञ्जालमा नियमित पानी नहाल्दा केही ‘भल्व’मा ‘सिक्वेन्स’ मिलाउन समय लागेको जनाइएको छ । १७ करोड ५० लाख लिटर पानी वितरण गर्न अझै केही दिन लाग्ने केयूकेएलले जनाएको छ ।

काठमाडौंबासीले पनि नियमित रूपमा आउँदै गरेको पानी पनि वितरण प्रभावित भएको भन्दै गुनासो गरेका छन् । मेलम्चीबाट पानी ल्याएर प्रशोधन गरिने सुन्दरीजल क्षेत्रका स्थानीयबासीले पनि पानी नपाएको गुनासो गरेका छन् ।


मेलम्चीको पानी राजधानीमा वितरणका लागि बनाइएका १० पानी ट्यांकीमध्ये हालसम्म नौ वटामा पानी पुगिसकेको केयूकेएलले जनाएको छ । हालसम्म बोडेस्थित टिग्नी, कटुञ्जे, खुमलटार, मीनभवन, महांकालचौर, पानीपोखरी, अनामनगर, बालाजु र बाँसबारीका पानी ट्यांकीमा मेलम्चीको पानी पुगेको जनाइएको छ । कीर्तिपुरको ट्यांकीमा पानी पुग्न अझै केही दिन लाग्ने केयूकेएलको भनाइ छ । केही दिन भित्रमा मेलम्चीबाट ल्याइएको १७ करोड ५० लाख लिटर पानी नै ग्राहकका धारामा पुग्ने जनाइएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक