20230110

हाम्रो टाइटानिक जहाज कसरी डुब्ने छ र हामी कसरी मृत्‍युबरण गर्न वाध्य हुने छौं फिल्मको अन्त्य सम्म पुग्दा मात्र थाहा हुने छ !


 राम्रो गर्नेलाई कहिल्यै राम्रो भएको छैन, हुन्न, हुने पनि छैन । शतीले श्राप गरेको देश हो यो । यी घिउ बेचुवा र तरबार बेचुवाहरूका नाम र अनुहार मात्र फरक हुन, व्यबहार र चरित्रमा कहीं कतै कुनै फरक छैन । भोकेहरु हुन, मिलेर खान्छन, भाग बिलो नमिले लड्ने हुन कुकुर बिराला झैं । आज सँसदमा जे भयो, जे देखियो, अपराध र अस्थिरताका सरदारको पक्षमा जस्तो समर्थन देखियो, त्यसले यही कुरा पुनर्पुस्टी गरेन र ? मान्नुस् यो व्यवस्था र यो संविधान पूर्ण रूपमा फेल भएको यहाँ भन्दा अर्को ठुलो प्रमाण अरू केही हुन्न । तितो सत्य के हो भने यो सबै गराउने अरू कोही होइनन् तपाईँ हाम्रा हात हुन जसले मङ्सिर ४ मा भोट हाल्ने बेला गरेको अक्षम्य गल्तीको परिणाम हो यो । यत्तिमै सकिने वाला छैन, यो कास्टिक मात्रै हो हेर्दै जानुस् पुरा फिल्म त सुरु हुन र जनता पुर्पुरोमा हात राखेर रुन बाँकी नै छ । तपाईं हामीले निर्माण गरेको पाँच बर्ष सम्म चल्ने फिल्मको यो पहिलो दिन मात्रै हो । बहुत कुछ हुने वाला छ, देख्नु पर्ने वाला छ । हाम्रो टाइटानिक जहाज कसरी डुब्ने छ र हामी कसरी मृत्युबरण गर्न वाध्य हुने छौं फिल्मको अन्त्य सम्म पुग्दा मात्र थाहा हुने छ । चेतना भया !

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन्। संविधानको धारा ७६ को उपधारा ४ अनुसार प्रचण्डले मंगलबार संसदमा विश्वासको मत लिएका हुन्। 

प्रधानमन्त्री प्रचण्डका पक्षमा २६८ जना सांसदले विश्वासको मत दिएका छन् भने राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मात्र विपक्षमा मतदान गरेका छन्। आजको मतदानमा २७० सांसद सहभागी थिए। केसी र सुवालले छलफलकै क्रममा विपक्षमा मतदान दिने बताएका थिए। 

नेकपा (एमाले) सहित विभिन्न सात दल र स्वतन्त्र गरी १६९ जना सांसदको समर्थनमा प्रचण्ड पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए। प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ। 

प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन नगरेका नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टीले आज बिहान मात्रै उनलाई विश्वासको मत दिने निर्णय गरेका थिए।

संसदमा प्रतिनिधित्व गर्ने १० पार्टीले समर्थन गरेपछि प्रधानमन्त्री प्रचण्डले संसदमा प्रचण्ड बहुमत पाएका हुन्। 

संसदमा विश्वासको मत लिइसकेपछि अब दुई वर्षसम्म प्रधानमन्त्री प्रचण्डविरूद्ध अविश्वासको मत ल्याउन पाइँदैन।

यसअघि संसदमा भएको छलफलमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सबै दलले विश्वासको मत दिने भएपछि आफूलाई न्याय भएको बताएका थिए।

‘योसँगै चुनौतीहरू पनि आएका छन् ती चुनौतीलाई कसरी पार लगाउने भन्ने पनि छ,’ उनले भने।  

कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि संसद प्रतिपक्षीविहीन भएको छ। संविधानविद्हरूले कांग्रेसको आजको निर्णय संविधानको मर्मविपरीत र गैर राजनीतिक भएको बताएका छन्। 

नेपाली कांग्रेसबाट राष्ट्रिय सभा सदस्य बनिसकेका बरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी पनि विश्वासको मत सरकारलाई दिएको पार्टी सैद्धान्तिक रूपमा प्रतिपक्षी नहुने बताउँछन्।

‘राजनीतिक सिद्धान्तको कुरा गर्ने हो भने प्रतिपक्षी दलले सरकारलाई समर्थन गर्दैन। सरकारलाई समर्थन र विश्वासको मत दिएको दल प्रतिपक्षी हुन्न। तर हामीकहाँ सिद्धान्तभन्दा व्यवहारवादी राजनीति चल्न थाल्यो,’ उनले भने।

उनले संविधान र कानुनले विपक्षी दल भनेको के हो भनेर स्पष्ट नपारेकाले पनि यस्तो राजनीति हावी भएको तर्क गरे।

‘संविधान र कानुनमा विपक्षी दलको स्पष्ट परिभाषा छैन। सरकारलाई समर्थन दिए प्रतिपक्षी हुने/नहुने भन्ने कतै उल्लेख छैन। खाली एउटा कानुनमा १० प्रतिशत मत नल्याएको दल प्रमुख प्रतिपक्षी नहुने मात्र भनेको छ। स्पष्ट परिभाषा नभए पनि राजनीति सिद्धान्तमा चल्ने भए यस्तो हुन्नथ्यो। व्यवहारवादी भएपछि यस्तै हो,’ उनले भने।

कांग्रेसले गुण र दोषका आधारमा सरकारलाई समर्थन र विरोध गर्ने बताउँदै विश्वासको मत दिएको हो।

संविधानविद् भीमार्जुन आचार्यले कांग्रेसले संविधानको परिकल्पनाविपरीत कदम चालेको बताए।

‘कांग्रेसको दाउ समर्थन पनि गर्छु, विश्वासको मत पनि दिन्छु, प्रतिपक्षीमा पनि बस्छु भन्ने देखियो यस्तो त संविधानले परिकल्पना गरेको नै छैन। विश्वासको मत दिइसकेपछि त्यो प्रतिपक्ष हुँदैन,’ उनले भने, ‘अनुपस्थित रहन सक्थ्यो भोट नहाल्न सक्थ्यो तर विश्वासको मत दिएपछि प्रतिपक्ष रहेन। सत्तापक्ष भयो।’

कांग्रेसले आज चालेको कदम असंसदीय र अराजनीतिक अभ्यास हो भएको उनको जिकिर छ।

कांग्रेसले संसदीय व्यवस्था नै नबुझेको आचार्यको टिप्पणी छ।

‘संसदीय शासन प्रणालीमा प्रतिपक्षको निकै ठूलो महत्व र भूमिका हुन्छ। कांग्रेसले किन बुझेन? सत्ता र सरकारमा बसेको भन्दा पनि प्रतिपक्षीको ठूलो भूमिका संसदमा हुन्छ,’ उनले भने।

प्रतिपक्षीकै कारणले गरसरकारलाई जवाफदेही बनाउने, असंवैधानिक काम गर्नबाट रोकेर संवैधानिक दायरामा राख्ने, जनताका मुद्दा उठाउने भएका हुनाले प्रतिपक्षको भूमिका संसदमा महत्वपूर्ण हुने आचार्यको भनाइ छ। 

‘प्रतिपक्षी विनाको संसदीय शासन प्रणाली परिकल्पना गरिएको हुँदैन। हाम्रो संविधानले पनि प्रतिपक्षीविहीन संसदको परिकल्पना गरेको छैन। प्रतिपक्षविहीन संसदले त हाम्रो संवैधानिकको मर्म नै बोक्दैन। संविधानले अपेक्षा गरेको संसदीय शासन प्रणाली नै अपुरो हुने खतरा रहन्छ,’ उनले भने।

कांग्रेसले सरकारलाई विश्वासको मत दिएपछि संवैधानिक परिषदमा उसको भूमिकाबारे पनि प्रश्न उठेको छ। सेतोपाटीसँग कुरा गर्दै आचार्यले अब परिषदमा पनि संकट आउने जिकिर गरे।

‘संवैधानिक परिषदमा पनि संकट आउँछ। किनभने संवैधानिक अंगहरूमा पदाधिकारी नियुक्त गर्ने यो परिषदको एउटा सदस्य प्रमुख प्रतिपक्षी दलको नेता रहन्छ। सरकारलाई समर्थन गरेपछि प्रमुख प्रतिपक्षी नै रहेन त्यसैले कांग्रेसका नेता परिषदमा बस्न मिल्दैन,’ उनले भने

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page






No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक