20230128

समय बलवान छ - तितो यथार्थ यही हो, मनन गरौं !

 समय बलवान छ । भोलि हाम्रो के हुन्छ मात्रै होइन एक छिन पछि के हुन्छ, पृथ्वी भासिन्छ या आकाश खस्छ वा के आपत् बिपत वा खुसी के आइलाग्छ ? मरिन्छ वा बाँचिन्छ ? हामीलाई होइन भविष्य र समयलाई मात्र थाहा छ अझ भनौँ उपरवालालाई मात्र थाहा छ ।  पद, पावर, पैसा, वाह वाही, लोकप्रियता, अलोकप्रियता सबै क्षणिक हुन्छन् । हामीले झुटो बोल्न हुन्न, जानी जानी गल्ती गर्न हुन्न, कर्म गर्नुपर्छ, धर्म सम्झेर काम गर्नुपर्छ । नैतिकता र इमानदारितालाई बिर्सन हुन्न । हामीले गर्ने त्यत्ति हो अरू हाम्रो हातमा केही छ जस्तो लाग्दैन । समयले प्रचण्ड बाबुरामहरूलाई आतङ्ककारीका नाइके बनाएको थियो । टाउकाको मूल्य राज्यले तोकेकै हो तर त्यही टाउकाको मूल्य तोकेका अपराधीका सरदारहरूलाई तोक्नेहरूले पालै पालो बोकेको पनि हामीले देखेकै छौँ । के यो समयकै खेल होइन र ? तर भोलि के हुन्छ कसलाई के थाहा । संसारको इतिहास हेर्नुस् भूतपूर्व राष्ट्रपति, प्रधानमन्त्री, नेता, सांसद कोही झुन्ड्याइएका छन् त कोही बुढेसकालमा जेल पनि कोचिएका छन् । जेलमै सडेर मरेका पनि छन् । देश भित्र सजाय नभए अन्तर्राष्ट्रिय अदालतले सजाय दिएका केशहरू कम छन् र ? 


राजाले नै बनाएको देश नेपालमा राजसंस्था र राजाको के हालत भयो ? सिङ्गै राज परिवार दरबार भित्र कसरी स्वाहा पारिए ? त्यस पछि के भयो त ? आज देशमा जे भइरहेको छ के यस्तो हुन्छ भन्ने कसैले आकलन गरेको थियो र ? 

जहाँ सम्म नियम र कानुन का कुरा छन् - नियम कानुन कसले कसरी बनाउँछन् वा बनाए ? त्यही एउटै नियम कानुनलाई आधार मानेर फैसला गर्दा न्यायाधीशहरूमा पनि अल्पमत र बहुमत कसरी हुन्छ ? कानुनका नौ सिङ त्यसै भनिएको हो र ? 

संसार जित्ने को हो । तर जित पनि सधैँ हुन्न, हार पनि सधैँ हुन्न । फेरी पनि समय बलवान छ बुझौँ । हामीहरु सबै समय र उपरवालाका कठपुतली मात्र हौं । तितो यथार्थ यही हो, मनन गरौं ! 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक