20230318

माओवादी, बन्दुक, मेरा भान्दाई पनेरु र बुर्जुवा शिक्षा !

  माओबादीको विश्वासमा परेर बुर्जुवा शिक्षा नपढ्दा के हुँदो रहेछ भन्ने कुरा किताब कापी मिल्काएर बन्दुक बोकेकाहरुसँग सोध !

- रामचन्द्र भट्ट 

बासुदेव पनेरु, मेरा भान्दाई हुन् । भान्दाई भन्दा बढी साथी पनि हुन् । हामीबीच एक वर्षको उमेरमात्र फरक छ । मेरी फुपुदिदीले जन्माएकी एकमात्र भान्दाई ! दाई जन्मिएको केहि महिनामै फुपु कहिल्यै नआउने गरि महाप्रस्थान गर्नुभयो । एउटै गाउँ, लगभग एकै उमेर भएकोले हामी साथी जस्तै पनि बन्यौ । जीवनमा संघर्ष गरेर अघि बढ्ने क्रममा भन्दाईले धेरै भोगे, धोका पाए । ती भोगाई, ती धोका अरुका लागि पनि शिक्षा हुनेछ । आज भान्दाई आफैले प्राथमिक तह अध्ययन गरेको र हाल माध्यामिक भैसकेको स्कुलमा प्रधान अध्यापक भएका छन् । तर यो यात्रासम्म आईपुग्दा जीवनमा भान्दाईले जति धोका शायद कमैले पाएका छन् । 

२०४४ सालमा एसएलसी गरेपछि घर छेउकै क्याम्पसमा पढ्दै अस्थायी शिक्षक भए भान्दाई । २०४८/४९ मा स्थायी हुने क्रममा नाम निस्किएन । कारण थियो-त्यतिखेर खुल्ला घुस खाने एकजना लामिछाने थरका जिल्ला शिक्षा अधिकारीलाई मागेको जति नजराना चढाउन नसक्नु । 

जागिर छुट्यो । २०५० सालतिर हामीसँगै युनिसेफको एउटा प्रोजेक्टमा काम गर्यौँ । त्यो प्रोजेक्ट सकिएपछि म पत्रकारिता तिर लागेँ, भान्दाई फेरि अस्थायी शिक्षकमा नियुक्ति लिएर घरभन्दा टाढा गाउँमा पढाउन थाले । 

२०६२ सालतिर तत्कालिन राजा ज्ञानेन्द्र नेतृत्वको शाही सरकारले शिक्षकहरुलाई रिझाउन एउटा अवसर ल्याएको थियो । अस्थायी शिक्षक सबैलाई एकमुष्ठ स्थायी गर्ने, त्यसको लागि परिक्षा लिएको जस्तो सामान्य कर्मकाण्ड पुरा गर्ने गरि शाही सरकारले राम्रो अवसर दियो । 

सत्ताको प्यासले गर्दा ज्ञानेन्द्र विरुद्ध सड़क संघर्ष गर्दै आएका थिए कांग्रेस, एमाले लगायतका दल । दलहरुले शिक्षक संगठन र संघ मार्फत अस्थायी शिक्षकहरुलाई उर्दी जारी गरे-‘तपाईहरु कोही पनि आयोगको परिक्षामा सहभागी भएर जाँच नदिनु । यतिका वर्ष अस्थायी रहेर पढाईसकेका तपाईहरु सबै जाँच बिना स्थायी हुनुपर्छ भन्ने हाम्रो दलको मान्यता हो । हामीले ज्ञानेन्द्रको शाही सरकारलाई मिल्काएको अर्को महिना स्वतः स्थायी गर्नेछौँ ।’

शिक्षक संगठन र संघका कार्यकर्ताहरु जो स्थायी भैसकेका थिए । तिनीहरु परिक्षा केन्द्रको बाहिर बसेर अस्थायी शिक्षकहरुलाई जाँच दिनबाट रोके । जो जो जाँच दिन्छौ भाटे कारवाही गर्छौ भन्दै माओबादी पनि मिसियो । 

भान्दाईले जाँच दिन पाएनन् । जो जो लुकेर, पछाडीको गेटबाट पसेर जाँच दिए ती सबै स्थायी भए । तिनले मौका चिने, समय चिने । जे गरे ठीक गरे ।

शाही सरकार ढल्यो केहि महिनापछि । गिरिजाप्रसाद नेतृत्वको संयुक्त सरकारको शिक्षामन्त्री भएकालाई भेट्न अस्थायी शिक्षक गए । ‘परिक्षा नलिई त कसरी मिल्छ होला र स्थायी गर्न । कि कसो सचिवज्यू ?’ उनले सचिवको मुख ताके । परिक्षा दिन रोकेको र त्यतिबेला गरेको बाचा बिर्सिए ।

अस्थायी शिक्षकहरु केशरमहल अघिल्तिर पाल टाँगेर महिनौ रिले अनसन बसे । धेरै सरकार फेरिए, तर अस्थायी शिक्षक स्थायी भएनन् । पुरानो कुरा केट्याउँदा ‘त्यसरी त कसरी स्थायी गर्न मिल्छ’ भन्ने रेडिमेड जवाफ सुन्थे शिक्षकहरु । 

२०७५ सालमा बल्ल परिक्षा खुल्यो । अस्थायी शिक्षकहरु सबैले जाँच दिनैपर्ने भयो । त्यसबीचमा कैयौ शिक्षकले उमेर पार गरिसकेका कारण परिक्षा दिन पाएनन्, कतिको जीवन नै सकिसकेको थियो ।

त्यसबीचमा स्नातकोतर गरिसकेका भान्दाई परिक्षा पास भर स्थायी भए । तर पेन्सन नपाउनेगरि अवकाश हुने अवस्था छ । पेन्सनको लागि अस्थायी सेवा अवधि गणना नहुने प्रावधानले धेरैलाई समस्या पार्नेछ । 


भान्दाई, गत हप्तामात्र हामी सबै पढेको, गाउँकै चन्द्रज्योति माबिको प्रअ भएका छन् । बहुचर्चित केरुंग जोड्ने हाईवेसँगै जोडिएको सयौँ रोपनी जग्गाको धनी यो स्कुलको शैक्षिक सुधारमा दाईलाई सफलता मिलोस् । कार्यकाल सफलताको लागि हार्दिक शूभकामना ।

तर, मेरो भान्दाई र उनी जस्तै हजारौलाई दलहरुले धोका दिए त्यस्तो अरु कसैलाई नपरोस् । दलका विश्वासमा परेर हिडियो भने कतिसम्म धोका पाईन्छ भन्ने कुरा २०६२ को परिक्षा नदिने शिक्षकलाई सोध्दा हुन्छ । माओबादीको विश्वासमा परेर बुर्जुवा शिक्षा नपढ्दा के हुँदो रहेछ भन्ने कुरा किताब कापी मिल्काएर बन्दुक बोकेकाहरुसँग कुराकानी गर्दा हुन्छ । 

माओबादी नेताका छोराछोरी विदेशमा उच्च शिक्षा किन लिदैछन् ? कारण-भोली कुनै पदमा नियुक्तिका लागि कानुनले तोकेको न्यूनतम योग्यता त चाहियो । त्यसमाथि विदेशमा पढेको भनेपछि प्लस भयो । अंग्रेजी मिडियम थपिएपछि अर्को योग्यता थपियो ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक