20230305

कथित जनयुद्ध पछि बिभाजन भएर सत्र घटक भन्दा बढी भएका माओवादीहरु सर्वोच्च अदालतले माओवादी द्वन्द्वकालमा भएका गम्भीर मानव अधिकार उल्लंघनसम्बन्धी मुद्दा अनन्त कालसम्म लम्ब्याउन नहुने आदेश गरे लगत्तै अत्तालिए

 कथित जनयुद्ध पछि बिभाजन भएर सत्र घटक भन्दा बढी भएका माओवादीहरु सर्वोच्च अदालतले माओवादी द्वन्द्वकालमा भएका गम्भीर मानव अधिकार उल्लंघनसम्बन्धी मुद्दा अनन्त कालसम्म लम्ब्याउन नहुने आदेश गरे लगत्तै अत्तालिएका छन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश गरिपाउँ भन्दै रामेछापका कल्याण बुढाथोकी र अधिवक्ता ज्ञानेन्द्र आरणले दिएका रिट दर्ता गर्न दिएको आदेशमा सर्वोच्चले यस्तो भनेको हो। सर्वोच्च प्रशासनले कात्तिकमा दरपीठ (दर्ता गर्न अस्वीकार) गरेपछि निवेदकहरूले त्यसविरूद्ध निवेदन दिएका थिए। ती निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश ईश्वर खतिवडा र हरि फुयाँलको इजलासले शुक्रबार यस्तो आदेश दिएको हो।

‘सशस्त्र द्वन्द्वकालमा पीडित भएका नागरिकले पाउनुपर्ने परिपूरण, क्षतिपूर्ति समेतका न्यायसम्बन्धी हकका प्रश्नहरू उठाई रिट निवेदन दायर गर्न ल्याएको पाइयो,’ आदेशमा भनिएको छ, ‘फौजदारी न्याय प्रक्रिया निष्क्रिय, शून्य वा निष्प्रभावी अवस्थामा रहनु हुँदैन। सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर मानव अधिकार उल्लघंनका घटनाहरूको शान्ति सम्झौता, नेपालको संविधान, यस अदालतबाट भएको फैसला तथा अन्तर्राष्ट्रिय कानून र सिद्धान्तबमोजिम पीडितहरूले सत्यतथ्य जानकारी पाउने तथा न्याय र परिपूरण पाउने विषयहरू विभिन्न कारण देखाएर अनन्त कालसम्म अल्झाई राख मिल्ने देखिँदैन।’

सर्वोच्च अदालतले संक्रमणकालीन निकायहरू निष्क्रिय रहेकाले द्वन्द्वकालका घटनामाथि छानबिन गर्ने आदेश माग गर्दै आएका मुद्दा नियमित अदालतले दर्ता गर्नुपर्ने पनि भनेको छ। अदालत प्रशासनले द्वन्द्वकालको घटनालाई नियमित अदालतभन्दा पनि संक्रमणकालीन न्याय संयन्त्रबाट सम्बोधन र निरूपण हुने नै भएकाले सर्वोच्चको क्षेत्राधिकारमा नपर्ने भन्दै दरपीठ गरेको थियो। शुक्रबार न्यायाधीश ईश्वर खतिवडा र हरि फुयाँलको इजलासले भने ती रिट यसरी दर्ता नै नगर्नु अनुचित हुने आदेश दिएको हो। उक्त आदेशको लिखित रूप सर्वोच्चले आइतबार सार्वजनिक गरेको छ।  ‘विषयवस्तुको गम्भीरता र संवेदनशीलतातर्फ दृष्टिगत गर्दा यस प्रकारको रिट निवेदनलाई न्यायिक प्रक्रियामा प्रवेश हुन नदिने गरी दरपीठ गर्नु अनुचित हुन्छ,’ सर्वोच्चको आदेशमा भनिएको छ।

उक्त आदेशमा अघि भनिएको छ- संक्रमणकालीन निकायहरू निष्क्रिय रहेको र कानून निर्माण समेतको कार्य प्रभावकारी भएको देखिन पर्ने अवस्थामा त्यस्ता संयन्त्रबाट सुनुवाइ नै नभएको वा प्रभावकारी न्याय प्राप्त हुन नसकेको विषयलाई लिएर पीडित पक्षले हक प्रचलनका लागि यस अदालतमा प्रवेश नै नपाउने भन्ने कुरालाई संविधानसम्मत, न्यायोचित र तर्कपूर्ण मान्न पनि मिल्दैन। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रचण्डले ०७६ को माघीको अवसरमा काठमाडौंको खुलामञ्चमा आयोजित कार्यक्रममा आफूलाई १७ हजार मान्छे मारेर आएको भनिए पनि त्यो कुरा सत्य नभएको बताएका थिए। माओवादी सशस्त्र द्वन्द्वका क्रममा १७ हजार मारिएको भनिए पनि त्यो तथ्यांक गलत भएको भन्दै उनले ५ हजारको जिम्मा लिन सक्ने बताएका थिए।

उक्त भाषणलाई आधार बनाएर उनलाई पक्राउ गर्ने आदेश माग गर्दै बुढाथोकी र आरणले छुट्टाछुट्टै रिट पेश गरेका थिए। सेतोपाटीका अनुसार निवेदकहरूले आफूहरू द्वन्द्वपीडित भएको र सत्य निरूपण तथा मेलमिलाप आयोगमा समेत प्रचण्डविरूद्ध उजुरी दिएको रिटमा उल्लेख गरेका थिए। '५ हजार व्यक्ति मारेको भन्दै नैतिक जिम्मा लिई सार्वजनिक रूपमा अभिव्यक्ति दिएका दाहाल लगायतलाई कानुन बमोजिम हदैसम्मको सजाय गरी पाउन तथा द्वन्द्वकै नाउँमा निवेदकहरूलाई पीडित बनाउने कार्यका लागि जवाफदेही पनि निजलाई नै बनाई राहत, क्षतिपूर्ति परिपूरणको व्यवस्था गर्नू, गराउनू भनी परमादेशको आदेश जारी गरी पाऊँ,’ उनीहरूले पेस गरेको रिटमा उल्लेख थियो, ‘निजलाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रकिया अघि बढाउनु भनी अन्तरिम आदेश समेत जारी गरी पाऊँ।'

प्रचण्डले तीन वर्षअघिको कार्यक्रममा भनेका थिए, 'धेरै साथीहरूले मलाई १७ हजार मान्छे मारेर आएको भन्नुहुन्छ। म तथ्यांक मात्रै सच्याउन चाहन्छु। साथीहरू यो सत्य होइन। यो सत्य होइन . . .। सत्य के हो मलाई भन्न दिनुहोस्। सत्य के हो भने हिजोका सामन्ती राजाहरूले १२ हजार मान्छे मारेका हुन्। हिजोका राज्यले मारेको १२ हजारको कुरा नहुने, अनि राज्यले मारेकाको पनि मेरै टाउकोमा हाल्ने यो न्याय हुँदैन।'


यस बारेमा बि.बि.सी नेपाली सेवा लेख्छ :

माओवादी र प्रचण्डलाई झस्काउने सर्वोच्च अदालतको आदेश के हो?

प्रचण्ड

तस्बिर स्रोत,RSS

नेपालको सशस्त्र द्वन्द्वसँग जोडिएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई “पक्राउ गरी अनुसन्धान अघि बढाउन” माग गरिएका रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले बाटो खोलिदिएपछि उनको दल नेकपा माओवादी केन्द्रले त्यसप्रति आपत्ति जनाएको छ।

प्रचण्डविरुद्ध त्यस्तो रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले शुक्रवार आदेश दिएपछि त्यसबारे विभिन्न कोणबाट टिप्पणी भइरहेका बेला माओवादीले आफ्नो असहमति सार्वजनिक गरेको हो।

आइतवार माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले वक्तव्य जारी गर्दै शुक्रवारको आदेशप्रति आफ्नो दलको “गम्भीर ध्यानाकर्षण भएको” जनाएका छन्।

गत शुक्रवार सर्वोच्च अदालतका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको इजलासले अदालत प्रशासनले गत कात्तिकमा दरपीठ गरिदिएका दुईवटा निवेदनहरूको दरपीठ बदर गरिदिएको थियो।

ती निवेदनहरू सशस्त्र द्वन्द्वका क्रममा माओवादीका तर्फबाट मारिएका व्यक्तिहरू र प्रचण्डले तीन वर्षअघि राजधानी काठमाण्डूमा दिएको एउटा अभिव्यक्तिसँग जोडिएका छन्।

निवेदकको तयारी

वेपत्ता परिवार
तस्बिरको क्याप्शन,

द्वन्द्वकालमा सङ्ख्याका हिसाबले राज्य पक्षबाट बेपत्ता पारिनेको सङ्ख्याको दाँजोमा विद्रोही माओवादी पक्षबाट बेपत्ता पारिनेको सङ्ख्या कम रहेको विवरणहरूमा भेटिन्छ

गत कात्तिकमा अधिवक्ता ज्ञानेन्द्र आरण र रामेछापका कल्याण बुढाथोकीले प्रचण्डलाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाउन माग गर्दै रिट निवेदन दिएका दिए।

त्यसलाई सर्वोच्च आदालत प्रशासनले “संक्रमणकालीन न्याय संयन्त्रले हेर्नुपर्ने” भन्दै दरपीठ गरिदिएको थियो।

उक्त दरपीठविरुद्ध उनीहरूले पुन: सर्वोच्चमा निवेदन दिएपछि शुक्रवार उक्त रिट निवेदन अघि बढाउन आदेश भएको हो।

सोही आदेश बमोजिम आफूहरूले रिट निवेदन अघि बढाउने एकजना निवेदक आरणले बीबीसीलाई बताए।

उनले भने, “उक्त आदेशको लिखित आइनसकेकाले हामीले रिट निवेदन दर्ता गरिसकेका छैनौँ। लिखित आदेश हेरेर त्यो आउने बित्तिकै निवेदन दर्ता गर्छौँ।”

प्रचण्डलाई पक्राउ गरी आवश्यक प्रक्रिया अघि बढाउनका लागि अन्तरिम आदेश दिनुपर्ने माग यसअघि दरपीठ गरिएको निवेदनमा उनीहरूले गरेका थिए। सोही कुरालाई अबको निवेदनमा पनि उल्लेख गरिने बताइएको छ।

त्यस्तै द्वन्द्वका नाममा निवेदकहरूलाई पीडित बनाउने कार्यका लागि प्रचण्डलाई दोषी करार गर्नुपर्ने माग निवेदकहरूको छ।

उनीहरूले प्रचण्डबाट राहत, क्षतिपूर्ति र परिपुरण गराउन परमादेश हुनुपर्ने माग गरेका छन्।

पीडितहरूले माओवादीका तर्फबाट मारिएका १८ जनाका परिवार र माओवादीकै तर्फबाट अङ्गभङ्ग तथा धनसम्पत्तिको क्षति भएका नौ जनाका तर्फबाट छुट्टाछुट्टै दुईवटा रिट निवेदन दर्ता गर्ने तयारी गरेको आरणले बताए।

अङ्गभङ्ग र धनसम्पत्ति क्षति भएका नौ जनामा एकजना भने राज्य र माओवादी दुवै पक्षबाट पीडित भएका व्यक्ति पनि रहेको उनको भनाइ छ।

नेपाली कांग्रेसका कार्यकर्ता रहेका आरणका पिता पनि द्वन्द्वकालमा माओवादीका तर्फबाट मारिएको उनको भनाइ छ।

प्रचण्डको अभिव्यक्ति के थियो?

प्रचण्ड

तस्बिर स्रोत,REUTERS

विसं २०७६ सालको माघीका अवसरमा थारु समुदायले गरेको एक कार्यक्रममा काठमाण्डूको खुलामञ्चमा प्रचण्डले द्वन्द्वका बेला मारिएका पाँच हजार मानिसको आफूले जिम्मा लिने बताएका थिए।

उक्त कार्यक्रममा उनले भनेका थिए, “… भन्ने गरिन्छ, मैले १७ हजार मान्छे मारेर आएको तथ्याङ्क भन्ने गरिन्छ। साथीहरू र आदरणीय जनसमुदाय यो सत्य होइन, यो सत्य होइन।”

“सत्य के हो भने- मलाई भन्न दिनुहोस्, सत्य के हो भने- हिजोको सामन्ती राजाहरूले १२ हजार मारेका हुन्। मलाई पाँच हजारको जिम्मा दिनुहुन्छ भने म लिन्छु।”

“तर राजाहरूले मारेको १२ हजारको चाहिँ कुरा नहुने? हिजोको राज्यले मारेको १२ हजारको, १७ हजारमध्ये १२ हजारको चाहिँ कुरा नहुने। राज्यले मारेको पनि मेरै ठाउकोमा हाल्ने गरियो भने यो न्याय हुँदैन।”

“मैले सधैँ भनेको छु- म युद्धको जिम्मा लिन्छु। त्यहाँ भएको राम्रा र त्यहाँ भएका नराम्रा कामको म जिम्मेवार छु। म त्यसबाट कतै भाग्ने कुरा हुनै सक्दैन।”

माओवादीले के भन्यो?

माओवादी केन्द्रका महासचिव गुरुङले निकालेको वक्तव्यमा सर्वोच्चको पछिल्लो आदेशलाई “नेपालको संविधान र अग्रगामी उपलब्धिहरूविरुद्धको गतिविधि”का रूपमा सङ्केत गरिएको छ।

वक्तव्यमा भनिएको छ, “१० वर्षे महान् जनयुद्ध, २०६२/६३ को दोस्रो जनआन्दोलन र त्यसको जगमा सम्पन्न भएको बृहद शान्ति सम्झौता, अन्तरिम संविधान, पहिलो र दोस्रो पटक सम्पन्न संविधानसभाको निर्वाचन तथा संविधानसभाबाट निर्मित सङ्घीयता, धर्मरिपेक्षता, समावेशी समानुपातिक र लोकतान्त्रिक गणतन्त्र आधारभूत संरचना सहितको वर्तमान नेपालको संविधान र अग्रगामी उपलब्धिहरूविरुद्ध हुने कुनै पनि गतिविधिलाई यस दल नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले अस्वीकार गर्दछ। त्यस्तो कार्यप्रति घोर भर्त्सना गर्दछ।“

उनले आफ्नो दलका अध्यक्ष प्रचण्डले संविधानप्रदत्त वाक् स्वतन्त्रता प्रयोग गरेर दिएको अभिव्यक्तिलाई कारबाहीको विषय बनाउन नमिल्ने तर्क पनि गरेका छन्।

यो पनि हेर्नुहोस्

वक्तव्यमा भनिएको छ, “…ती अभिव्यक्तिलाई कारबाहीको विषय बनाईनु पर्छ भनी कलुषित पुर्वग्राही भावनाले ग्रसित भई दायर भएको रिट निवेदन न्यायिक पुनरवलोकनको सामान्य सिद्धान्त विपरीत र वर्तमान नेपालको संविधानले प्रदान गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रता ठाडै प्रतिकूल भएको सम्बद्ध निकायहरुलाई अवगत गराउन चाहन्छौ।“

उनले द्वन्द्वका घटनाहरूलाई बृहत् शान्ति सम्झौताले निर्देशित गरे बमोजिम सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगमार्फत निरुपण हुनुपर्नेमा त्यसको क्षेत्राधिकारमा प्रतिकूल असर पर्नेगरी कुनै पनि निकायले कार्य गर्न नमिल्ने दाबी गरेका छन्।

गुरुङले वक्तव्यमा सङ्क्रमणकालीन न्यायको मूल्य र मान्यता विपरीत हुने कार्य र गतिविधिले स्थापित शान्ति प्रक्रियामा गम्भीर चुनौति उत्पन्न हुनसक्ने चेतावनी पनि दिएका छन्।

उनले मुलुकको अग्रगामी प्रक्रियाको विरुद्धमा “प्रतिगमनकारी प्रवृत्तिहरू विभिन्न रूपमा सलबलाइरहेको” भन्दै त्यसप्रति सचेत हुन पनि सम्बद्ध पक्षलाई आह्वान गरेका छन्।

माओवादी

प्रचण्ड-बाबुरामले के भने?

यसैबीच प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले माओवादीविरुद्ध षड्यन्त्र र घेराबन्दी भइरहेको प्रतिक्रिया दिएका छन्।

“जनयुद्धको कमान्डरको हैसियतले अहिले पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा विभिन्न खाले दबाब र घेराबन्दी विरुद्ध म लडिरहेको छु भन्ने छ मलाई लाग्छ,” माओवादी सशस्त्र द्वन्द्वबारे राजधानीमा भएको एउटा छलफलमा पुगेका प्रचण्डले आइतवार भने।

“हामी सबै लडाइँ लडिरहेका शक्तिहरू एक ठाउँमा केन्द्रित भएर लड्यौँ भने यो अझै हुनसक्छ,” माओवादीबाट अलग भएका शक्तिहरूमाथि पनि दबाब परेको भन्दै उनले एकजुट हुन आह्वान गरे।

प्रचण्ड सहभागी भएको उक्त कार्यक्रममै बोल्दै माओवादी द्वन्द्वका बेलाका दाहालका सहयात्री एवम् अहिले माओवादीभन्दा फरक दलमा रहेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पनि सर्वोच्च अदालतको पछिल्लो निर्णयप्रति असहमति व्यक्त गरेका छन्।

उनले माओवादी “आन्दोलन” माथि आक्रमण भइरहेको दाबी गरे।

भट्टराईले भने, “अहिले चाहिँ जुन आक्रमण भइरहेको छ- माओवादी जनयुद्धलाई आपराधीकरण गर्ने प्रवृत्ति भएको छ।”

“एउटा बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने हो? यो निहुँ खोज्या होइन? तीन वर्ष अगाडिको भनाइको एउटा सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई ‘गिरफ्तार गर्ने मुद्दा ल’गा’ भनेर भन्ने भनेको निहुँ खोज्या होइन? जिस्क्याएको होइन त्यो?”

सशस्त्र द्वन्द्व र सङ्क्रमकालीन न्याय

माओवादी

नेपालमा विसं २०५२ साल फागुन १ गते तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सशस्त्र द्वन्द्व थालेको थियो।

दश वर्ष चलेको द्वन्द्वमा कम्तीमा १७ हजार नेपालीले ज्यान गुमाए भने कम्तीमा १४ सय बेपत्ता भए।

संसद्‍वादी सात दल र माओवादीबीच विसं २०६२ सालमा भारतको राजधानी नयाँ दिल्लीमा भएको एउटा १२ बुँदे सम्झौतापछि नेपालमा विसं २०६२/६३ मा जनआन्दोलन भयो।

त्यसबेला राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिएका थिए।

विसं २०६३ सालमा जनआन्दोलन सफल भएपछि माओवादी पनि शान्ति प्रक्रियामार्फत राजनीतिक मूलधारमा आयो।

त्यसैवर्ष मङ्सिरमा भएको विस्तृत शान्ति सम्झौताले सेना समायोजनसहित सङ्क्रमणकालीन न्यायको व्यवस्था पनि गरियो।

तर सेना समायोजन सफल भए पनि सङ्क्रमणकालीन न्यायको विषय भने अहिलेसम्म थाति रहेको छ।

त्यसले गर्दा पीडितले न्याय नपाउने र पिडकले उन्मुक्ति पाउने अवस्था बनेको भन्दै मानवअधिकारवादी र अन्तर्राष्ट्रिय समुदायले चासो व्यक्त गर्दै आएका छन्।

त्यस विषयमा सत्त्य निरुपण तथा मेलमिलाप आयोगले पनि काम गर्न नसकेको भनेर आलोचना हुने गर्छ।

उक्त आयोगमा द्वन्द्वकालीन करिब ६४ हजार उजुरीहरू परेका छन् तर आयोगले हालसम्म कुनै पनि मुद्दाको सत्यतथ्य निर्क्योल गर्न सकेको छैन।

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक