20230407

गौतम बुद्धको व्यक्तित्व, विचार, मानव समाजका लागि जीवननोपयोगी व्यवहार र नेपालमा बौद्धदर्शनको प्रभावका बारेमा !

 - डा.बालकृष्ण चापागाईं 

ऐतिहासिक सन्दर्भ

विश्वको सर्वाेच्च शिखर भएको मुलुक हो नेपाल । यो मुलुुकको विशेषतालाई अनेकौँ कोणबाट चर्चा, व्याख्या र विश्लेषण गर्न सकिन्छ । पहिले नेपाल मण्डलको रूपमा मानिन्थ्यो र चिनिन्थ्यो । यसलाई हिमाली प्रदेश पनि भन्ने गर्थे । ईशापूर्व यस भेगमा किराँती जातिका मानिसहरूले सयाँै वर्ष राज्य गरेका थिए । गोपाल वंशावलीका अनुसार बुद्धकालीन कपिलवस्तु कोशलराज विदुदभले घोर नरसंहाररूपी ताण्डव मच्चाउँदा त्यहाँका र आसपासका धेरै बासिन्दाहरू विस्थापित भएर नेपाल मण्डलसम्म आएर बसोबास गरेका थिए । त्यस बेलादेखि नै नेपालमा बुद्ध धर्मको प्रभाव अविछिन्न रूपमा रहिआएको पाइन्छ । नेपाल दुई ठूला राष्ट्र भारत र चीनका बीचमा अवस्थित छ । यी दुई राष्ट्र बीच नेपालको सम्बन्ध सुमधुर हुँदा नेपालमा शान्तिको अवस्था आउन सक्छ । कुनै कारण विशेषले कटुताको स्थिति उत्पन्न भयो भने अशान्तिको स्थिति उत्पन्न हुन्छ । विभिन्न स्वार्थका कारण विश्व राजनीतिको शक्ति सन्तुलनमा समस्या उत्पन्न हुँदा पनि विश्वशान्तिमा असर पर्ने हुन्छ र त्यसको प्रभाव कुनै न कुनै रूपमा नेपालमा पनि परेको हुन्छ ।



आफ्ना दुई छिमेकीको तुलनामा भौगौलिक एवम् जनसंख्याका हिसावले नेपाल सानो भए पनि विविधतायुक्त भौगोलिक, प्राकृतिक, सामाजिक, धार्मिक, साँस्कृतिक, भाषिक विविधता बीचको एकता नेपालको विशेषता भएकोले यसलाई शान्तिको पक्षमा जोड्न सक्नुपर्छ । यसले नेपालको शान्ति स्थापनामा सकारात्मक प्रभाव दिन सक्छ । नेपाल धार्मिक सहिष्णुतायुक्त मुलुकको रूपमा विश्वसामु परिचित छ । मुस्ताङ्ग जिल्लाको मुक्तिनाथ, काठमाडांैको बूढा निलकण्ठ र पशुपतिनाथ, खोटाङ्ग जिल्लाको हलेसी महादेव मन्दिर आदिमा हिन्दु र बौद्धहरूबीचको मैत्री र एकताजस्ता कुराहरूले नेपालमा धार्मिक सहिष्णुताको अनुपम संगम छ भन्ने कुरा स्पष्ट गर्दछ । महामानव गौतमबुद्धको जन्म नेपालको लुम्बिनीमा, बुद्धत्व प्राप्ति भारतमा र धेरै बौद्ध धर्मावलम्वीहरू चीनमा हुनुले यी तीन देश बीचको सम्बन्धलाई भावनात्मक रूपमा जोड्न र शान्ति स्थापना गर्नमा पनि बौद्ध धर्म–दर्शनको प्रभावकारी सञ्चारले योगदान पुग्न सक्ने देखिन्छ । नेपालको उच्च शिक्षाको इतिहास लामो नभएकोले बौद्ध दर्शनका बारेमा विश्वलाई जानकारी गराउने सामग्री नेपालभित्र धेरै भए पनि त्यसको प्रचार राम्रोसँग हुन सकेको छैन । त्रिभुवन विश्वविद्यालयको स्थापना भए पछि संस्कृति विभाग अन्तरगत यस विषयको पढाइ हुन्थ्यो । पछि बौद्ध अध्ययन विभाग बन्यो । त्यस्तै महेन्द्र संस्कृत विद्यालय हाल नेपाल संस्कृत विश्वविद्यालयमा पनि बौद्ध दर्शनको अध्ययन–अध्यापन र अनुसन्धान हुन्छ ।

पछिल्लो समयमा लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापनाले बौद्ध दर्शनको विशिष्ट अध्ययन हुन थालेको छ । बौद्ध–दर्शन मानव जातिको शान्तिका लागि महŒवपूर्र्ण मानिएकोले नेपाल सरकारले गौतम बुद्धका विचारलाई विशेष महत्व दिँदै केही वर्ष देखि लुम्बिनी बौद्ध विश्वविद्यालयमार्फत् बौद्ध–दर्शनको स्नातकोत्तरसम्मको औपचारिक शिक्षा प्रदान गर्नुका साथै विद्यावारिधि (पीएच्.डी) समेतको शैक्षिक उपाधि प्रदान गर्न थालेकाले यसबाट पनि बौद्ध धर्म–दर्शनको प्रचार–प्रसारमा विशेष योगदान पुगिरहेको देखिन्छ । गौत्तम बुद्धको जन्मस्थल लुम्बिनीमा स्थापित लुम्बिनी बौद्ध विश्वविद्यालयलाई द्वन्द समाधान र विश्व–शान्तिको विशिष्ट अध्ययन केन्द्रको रूपमा विकसित गर्दा विश्वमा सकारात्मक योगदान पु¥याउन सकिन्छ । बुद्धका विचारहरूलाई आधुनिक समाजमा राम्रो प्रचार प्रसार गर्दा शान्तिको लागि सकारात्मक योगदान पुग्न सक्ने देखिन्छ । गौतम बुद्धको जन्मभूमि लुम्बिनीको संरक्षणका साथै यसको विकासका लागि लुम्बिनी विकास कोषको स्थापना भई क्रियाशील छ । यसका माध्यमबाट पनि बुद्धका विचारको प्रचार–प्रसार एवम् प्रभाव विस्तारमा योगदान दिँदा शान्ति स्थापनामा बल पुग्छ । पछिल्लो समय हिंसा र द्वन्द्वमा फसेको नेपाललाई राजनीतिक निकास दिने सन्दर्भमा पनि गौतमबुद्धका विचारले प्रभाव पारेको र शान्ति मार्गमा आएको मान्न सकिन्छ । सामाजिक, आर्थिक र सांस्कृतिक पक्षमा पनि बुद्धका आदर्शलाई पछ्याउन सकिन्छ ।

१. लुम्बिनी

बुद्धको जन्मस्थल लुम्बिनी हो, तिलौराकोट बुद्धका पिता शुद्धोदनको राजधानी हो । रामग्राम बुद्धको अस्थिधातु राखिएको आठ स्थानमध्ये एक हो र देवदह बुद्धको मावली घर हो भन्ने जस्ता बुद्धसंग सम्वन्धित विभिन्न स्थलहरू नेपालमा पर्दछन् भन्ने प्रामाणिक पुष्ट्याइँ भइसकेको छ । इसापूर्व ३०४ अर्थात् गौतम बौद्ध महापरिनिर्वाण भएको २१८ वर्ष पछि मगधको राजधानी पाटलिपुत्रमा जन्मेका तत्कालीन भारत वर्षका मौर्य सम्राट अशोकले आफ्नो शासनकालमा गौतम बुद्धको जन्म लुम्बिनीमा भएको प्रमाणका रूपमा स्तम्भ खडा गरे पछि यो पवित्र स्थलको प्रचारप्रसारको क्रम बढेको पाइन्छ । यसक्रममा सम्राट कनिष्क, चिनियाँ यात्री युवान् च्वन्, फाहियान्, इत्सिङ, परमार्थ, नेपालकी छोरी भृकुटी, भिक्षु शान्त रक्षित, दीपङ्कर आदिबाट लुम्बनीको महत्व दर्शाउँदै विभिन्न क्षेत्रमा बुद्धका विचारको सञ्चारमा योगदान पु¥याएको पाइन्छ । सन् ११९३ मा बौद्ध स्थलहरूलाई ध्वस्त र बुद्ध धर्मका अनुयायीहरू माथि आक्रमण भएपछि झण्डै ६ सय वर्ष भन्दा बढी समय विलुप्त जस्तै भई जानकारी प्राप्त हुन नसकेको अवस्थामा पाल्पा राज्यका तत्कालीन वडाहाकिम खड्ग शम्शेरले लुम्बिनी वनमा अशोक स्तम्भ फेला पारे पछि मात्र यसको प्रचारले नयाँ गति लिएको पाइन्छ ।

यसपछि नेपालका लागि तत्कालीन बेलायती राजदूत ब्रायन हडज्सनलगायतका अठारौं र उन्नाईसौँ शताब्दीका विभिन्न विद्वानहरू– एभी स्मिथ, एफ, एम. मुलर, फुहरर, मबुहलर, एलए वाडेल, वा सिल्भाँ लेभी, भिक्षु धर्मालोक (वि.सं. १९४७–२०२४), भिक्षु अमृतानन्द आदिले नेपालमा बौद्ध धर्मदर्शनको प्रचारप्रसारका साथै विश्वका अन्य मुलुकमा समेत यसको प्रचारप्रसारमा महत्वपूर्ण योगदान पु¥याएको पाइन्छ । राणाशासनकालमा जुद्ध शम्सेरका पालामा बौद्ध भिक्षुहरूलाई देश निकालासम्म गरिएपनि श्रीलंकाको शिष्ट मण्डलको अनुरोधमा नेपाली भिक्षुहरूको फेरि नेपाल आगमन भई बुद्ध धर्मको प्रचार–प्रसार अगाडि बढेको पाइन्छ । नेपालमा २०१३ सालमा सम्पन्न चतुर्थ विश्व बौद्ध सम्मेलन पश्चात् बौद्ध जागरणमा तीब्रता आएको पाइन्छ । यस्तै लुम्बिनीको विकासमा संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव ऊ थान्त र लुम्बिनी गुरुयोजना निर्माणमा प्रोफेसर केञ्जो टाँगेको योगदान महत्वपूर्ण रहेको छ । बौद्ध सञ्चारमा बुद्धकाल मै कपिलवस्तुका भिक्षुहरू कौण्डन्य, अनुरुद्ध, मद्दिय, पूर्ण, सीवली, राहुल, आनन्द, कालुदायी, उपालि, नन्द, भिक्षुणीहरूमा गौतमी, नन्दा, भद्राकात्यनी (यशोधरा) एवम् उपासकमा महानाम शाक्यआदिले महत्वपूर्ण योगदान दिएको पाइन्छ । लुम्बिनीको पहिचान एवम् प्रचार–प्रसारमा जर्मन पुरातत्वविद् फ्युहरर र पाल्पाका तत्कालीन बडाहाकिम खड्ग शमशेरआदिले गरेका कार्य महत्वपूर्ण देखिन्छ ।

सन् १८९६ मा पाल्पाका तत्कालीन जनरल खड्ग शम्शेरले लुम्बिनी बनमा शिकार खेल्न जाने क्रममा अशोकस्तम्भ फेला पारेका थिए । पुरातत्वविद् फ्युुहररले पनि भ्रमणका क्रममा अशोकस्तम्भ देखेर त्यसमा लेखिएको प्रमाणका आधारमा गौतम बुद्धको जन्मस्थल लुम्बिनी नै भएको पुष्टि गर्दै अन्तर्राष्ट्रिय जगत्मा प्रचार–प्रसार गरेका थिए । त्यसपछि सन् १८९९ मा भारतका पुरातत्वविद् पि.सी. मुखर्जीले उत्खनन गरी मायादेवी मन्दिर, बुद्धजन्म–स्मारक, मूर्तिआदि पत्ता लगाएका थिए । सन् १९५६ मा प्रथम विश्व बौद्ध सम्मेलनमा राजा महेन्द्रले एउटा विहार, अतिथिगृह र हालको सडक निर्माण गरी लुम्बिनीको विकासका लागि मार्गचित्र तयार गरेका थिए । राजा महेन्द्रको सक्रियतामा सन् १९६७ मा संयुक्त राष्ट्र संघका महासचिव ऊथान्तले लुम्बिनीको भ्रमण गरेपछि लुम्बिनीको विकासमा संयुक्त राष्ट्र–सङ्घको चासो बढेको पाइन्छ । ऊथान्त पनि बर्मेली बौद्ध भिक्षु थिए । लुम्बिनी प्राचीन समयदेखि नै एउटा अद्वितीय र पवित्र स्थल भएकै कारण त्यहाँ बुद्धका अनुयायीहरूको बसोवास बढ्दै गएको थियो । प्राचीन भग्नावशेषहरू त्यसका प्रमाणस्वरूप आज पनि लुम्बिनीमा सुरक्षित छन् । लुम्बिनीको विकास गर्न तत्कालीन राजा महेन्द्रले सन् १९७८ मा ११ सय ५० विगाहा भूमि अधिग्रहण गरेपछि सन् १९७९ मा लुम्बिनी गुरुयोजना भित्र ६ लाख रूखका बिरूवा रोपिएका थिए ।

लुम्बिनीलाई प्राचीन बुद्धकालीन बनकै स्वरूप दिई त्यसको विकास शुरू गरेपछि सन् १९७२ मा जापानका प्रसिद्ध वास्तुविद् प्रो.केन्जो टाँगेले एउटा वृहत् गुरुयोजना तयार गरेका थिए । त्यसै गुरूयोजना अनुसार लुम्बिनीमा वृक्षरोपण गरिएको हो । प्रो. टाँगेको गुरुयोजना अनुसार लुम्बिनी १ माइल चौडाइ र ३ माइल लम्बाइभित्र विकास हुँदै गएको छ । कपिलवस्तुको तौलिहवाबाट करिब ४ किलोमिटर उत्तरतर्फ वाणगङ्गा नदीको पश्चिममा सन् १८९६ मा उत्खनन गर्दा १७ वटा स्तूपहरू फेला परेका छन् । त्यो स्थानमा तत्कालीन भारतको कोशल राज्यका राजा प्रसेनजीतका छोरा बिढुडभले कपिलवस्तुमा आक्रमण गरेर हजारौं शाक्यहरूको नरसंहार गरेका हुँदा उनीहरूकै स्मृतिमा ती स्तूपहरू बनाइएको उल्लेख पाइन्छ । त्यसैगरी कपिलवस्तुको कुदान भन्ने स्थान पनि अत्यन्तै महत्वको मानिन्छ । तौलिहवाबाट करिब २ किलोमिटर दक्षिणमा कुदान पर्दछ । भवनका विभिन्न भग्नावशेषहरू पाइएको त्यो स्थान बुद्धत्व प्राप्तिपछि गौतम बुद्धका पिता शुद्धोदनलाई भेट्न आउँदा पिताले वस्नका लागि बनाइदिएको निग्रोधाराम विहार, अरौराकोट, धमनिहवा स्तूप, लोहसडिया स्तूप, सिसहनियाँ आदि धेरै स्थानहरूको बुद्धकालीन र पुरातात्विक महत्व रहेको छ ।

गौतम बुद्धको जीवन, लुम्बिनी र सञ्चार एक अर्काका परिपूरकको रूपमा रहेका छन् । गौतम बुद्धको जन्म लुम्बिनीमा भएकाले बौद्ध धर्म–दर्शनप्रति आस्था र रुचि राख्ने सबैका लागि महत्वपूर्ण तीर्थस्थलको रूपमा रहेको छ । संसारका महान् प्रयोगवादी दार्शनिक र चिन्तकहरूमध्ये पछिल्लो समयका प्रेम, शान्ति, मैत्री र करुणाका सबभन्दा ठूला चिन्तक र दार्शनिकको रूपमा गौतम बुद्धलाई लिइन्छ ।
युनेस्को र वेलायतको स्टर्लिङ तथा डुर्हम विश्वविद्यालयका पुरातत्वविद्हरूद्वारा सन् २०११ को अप्रिल ६ देखि मे ६ को बीचमा गरिएको उत्खननमा लुम्बिनीबाट बुद्धकालीन र्इंट्टाले बनाएका मन्दिरहरूको लहरमा काठका संरचना तथा भग्नावशेषहरू फेला परेका थिए । जसलाई युनेस्कोले प्रेस विज्ञप्तिमार्फत् इसापूर्व १३०० मा नै लुम्बिनीमा मानववस्ती बसिसकेको तथ्यका साथै त्यसका अवशेषहरू भेटिएको दाबी गरेको छ ।

लुम्बिनीबाट पहिलो धर्मयात्रा थालनी गरेका सम्राट् अशोकका हालसम्म ४० ओटा स्तम्भ फेला परिसकेका छन् । गौतमबुद्धका पिता शुद्धोदनले शासन चलाएको र गौतम बुद्धले आफ्नो जीवनका २९ वर्ष बिताएको कपिलवस्तुको तिलौराकोट दरबार पनि पुरातात्विक महत्वको स्थल हो । तत्कालीन अवस्थामा भारतबाट आएका राजा ओक्काकका ५ छोरी र ४ छोराहरूले कपिलमुनिको अनुमति लिई भागीरथी (वाणगङ्गा) नदीको किनारमा वसाएको वस्ती नै कपिलवस्तु भनिएको हो । यो गौतम बुद्धका पिता राजा शुद्धोदनको दरबार भएको शाक्य गणराज्य हो । चीनियाँ यात्री ह्वेनसाङ्गको यात्रावर्णन र विभिन्न पुरातत्वविद्हरूले बेला–बेलामा उत्खनन् गरेर फेला परेका ग्रेवेयर र रेडवेयर माटाका भाँडाकुँडाका सामग्रीहरू सातौं र आठौं शताब्दी ईशापूर्वका भएको मानिएको छ । सम्राट् अशोकले लुम्बिनीमा मात्र अशोकस्तम्भ खडा गरेको नभई कपिलवस्तुमा पनि स्तम्भहरू खडा गरेका थिए । कपिलवस्तुको निग्लिहवा र गोटीहवामा पनि अर्को त्यस्तै अशोकस्तम्भ खडा गरेका थिए । त्यस शिलास्तम्भको वरिपरि पुरातात्विक उत्खनन् हुँदा त्यहाँ स्तूपको अवशेष भेटिएको छ । त्यहाँ रहेको सूचनापाटी तथा अन्यत्र पनि यस स्थललाई क्रकुच्छन्द बुद्धको गृहनगर भनी प्रस्तुत छ ।

मुलुक संघीय संरचनामा गएपछि “लुम्बिनी’’  नेपालको लुम्बिनी  प्रदेशमा पर्दछ । गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वमा चिनाउनको लागि यसअघि नेपाललाई प्रशासनिक हिसावले १४ अञ्चलमा विभाजित गर्दा एउटा अञ्चलको नाम लुम्बिनी राखिएको थियो । यस क्रममा नेपाल संयुक्तराष्ट्र संघको सदस्य र बर्माका ऊथान्त संयुक्त राष्ट्र संघको महासचिव निर्वाचित भएपछि उनको सक्रियतामा लुम्बिनीको विकास एवम् विस्तारमा संयुक्त राष्ट्र संघले बढी चासो लियो । त्यसबाहेक जापानको रिस्सो विश्व–विद्यालय र नेपाल सरकारको पुरातत्व विभाग, संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको निकाय युनेस्कोले समेत व्यापक शोध र अनुसन्धान गरी बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्व–सम्पदा सूचीमा सूचीबद्ध गरेको छ । शुद्धोदनको दरबार कपिलवस्तुको तिलौराकोटको नजिकमा सुरक्षा–पर्खाल, पोखरी, स्तूप, विहार, पाठशाला, देवमन्दिर, महाभिनिष्क्रमण–द्वार, विभिन्न मुद्राहरू, चित्रहरू, माटाका भाँडाहरू, दरबारका भग्नावशेष आदि फेला पर्नुले शुद्धोदन र मायादेवीको स्मृतिस्तम्भ–स्तूप तिलौराकोटदेखि एक किलोमिटर उत्तरमा भएको पुरातत्वविद् देवलामित्र, तारानन्द मिश्रआदिले पुष्टि गरेका छन् ।

बुद्धकालीन इतिहाससँग जोडिएको गौतम बुद्धको मावली र प्राचीन कोलीय राज्यको राजधानी रूपन्देही जिल्लाको पूर्वी क्षेत्रमा रहेको देवदहको पनि पुरातात्विक महत्व रहेको छ । देवदह र कपिलवस्तु बीचको दूरी पालि विवरणमा पाँच योजन भएको उल्लेख छ । कोलीयहरूको प्रथमशाखाको राजधानी देवदह नगरमा रहेको र त्यहाँ विशेष गरी शाक्य र कोलीयहरूको समान अधिकार स्थापित थियो । त्यस्तै कोलीयको दोस्रो शाखाको राजधानी रामग्राम थियो र त्यो कोलीयहरूको आदिम नगर थियो । नवलपरासी जिल्लाको परासी बजारदेखि ३ किलोमिटर दक्षिणमा रहेको ३० फुट उचाई र ७० फुट चौडाई रहेको स्तूप भएको स्थान नै रामग्राम हो । जहाँ गौतम बुद्धको महापरिनिर्वाण भएपछि उनको अस्थिधातु कोलीयका शाक्यहरूले कुशीनगरबाट ल्याएर बनाएका थिए । अहिलेसम्म पनि त्यो अस्थिधातु रामग्राम स्तूपभित्र सुरक्षित रहेको छ भन्ने विश्वास छ । महापरिनिब्बाण—सुत्तका अनुसार गौतम बुद्धको अस्थिधातुको एक अंश रामग्रामका कोलीयहरूलाई प्राप्त भएकाले त्यहाँ एउटा स्तूपको निर्माण गरिएको हो । देवदह कोलीय राजा सिंहहनु र रानी कञ्चना सुपुत्रीद्वय बुद्धमाता मायादेवी र प्रजावति गौतमी तथा राजा सुप्रबुद्ध र रानी अमृताकी छोरी बुद्धपत्नी यशोधराको माइत हो । यस अर्थमा देवदह तथागत बुद्धको मावली एवम् ससुराली दुवै हो । राजकुमार सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरी गौतम बुद्ध बनेको सात वर्षपछि पहिलोपटक सारिपुत्रका साथ देवदह आएका थिए । कोलीय राज्यको सीमा पूर्वमा नीरा नदी अर्थात् नारायणी नदी, पश्चिममा रोहिणी नदी, उत्तरमा हिमालय पर्वत र दक्षिणमा गङ्गा नदीसम्म रहेको थियो ।

यसै क्रममा विभिन्न ठाउँहरूमा स्तूप वा अन्य निर्माणका कार्यहरू भएका थिए भन्ने कुरा क्रकुच्छन्द र कनकमुनि बुद्धको प्रसङ्गबाट थाहा हुन्छ । त्यति मात्र नभई पछिसम्म पनि त्यसको जीर्णोद्धार हुने कुरा मौर्यसम्राट् अशोकको अभिलेखबाट ज्ञात हुन्छ । चिनियाँ यात्रीद्वय फाहियानले सन् ४०९ र ह्वेन–साङले सन् ६३७ अघि बुद्धसँग सम्बन्धित स्थलहरूको भ्रमण गर्ने क्रममा वर्तमान नेपालको तराई क्षेत्रमा पनि आइपुगेका थिए । लुम्बिनीलगायत थुप्रै बौद्धस्थलहरूको खोजी कार्यमा ती चिनियाँ यात्रीहरूको वर्णनले महत्वपूर्ण काम गरेको छ । ती यात्रीहरूले क्रकुच्छन्द र कनकमुनि दुई बुद्धसँग सम्बन्धित ठाउँको पनि वर्णन गरेका छन् । उनीहरूले त्यहाँ स्तूप र स्तम्भ पनि देखेको कुरा वर्णन गरेका छन् । निग्लिहवाको अशोकस्तम्भ पत्ता लगाउने तथा त्यसको अभिलेख उतार गरेर अनुवाद गराउने काममा विशेष भूमिका फ्युहररको रहेको पाइन्छ । त्यस सम्बन्धी उनले लेखेको रिपोर्टमा स्तम्भ नजिकै केही यस्ता सामग्रीहरू पनि देखेका थिए, जसलाई स्तूपको भग्नावशेष नौ फिट र छ फिट उचाइ हुनुपर्ने अनुमान गरिएको छ । प्रयोग गरिएको र्इंट्टाको नाप १६×११×१३ भएको पाइएको छ ।

फ्युहररले कुन स्तूप पाएका थिए ? र उनले भेट्टाएको ईंट्टा पनि कुन थिए ? भन्ने बुझ्न आवश्यक छ । स्तम्भलेख अनुसार सम्राट् अशोकले त्यहाँ रहेको कनकमुनि बुद्धको स्तूपलाई त्यसको दोब्बर आकारमा अर्को नयाँ स्तूप बनाई छोपिदिएका थिए । अघिल्लो स्तूपको निर्माण मौर्य कालभन्दा निकै पहिले भएको कुरा त स्तम्भको लेखबाट नै स्पष्ट भएको छ । गौतम बुद्ध बालक छँदा एक पटक राजा शुद्धोदनले उनलाई स्तूपको दर्शनका लागि लगिएको बौद्ध साहित्यमा उल्लेख गरिएको छ । त्यो स्तूप पनि कनकमुनि बुद्धको त्यही स्तूप हुनसक्ने आधारको रूपमा त्यो स्तूप कपिलवस्तु दरबार (हाल तिलौराकोट) बाट नजिकै हुनुले पनि स्पष्ट पार्छ । तसर्थ राजकुमार सिद्धार्थले बोधि ज्ञान प्राप्त गरेर गौतम बुद्धको रूपमा चिनिनुभन्दा अघिदेखि नै कनकमुनि बुद्धको स्तूप रहेको हुनुपर्ने हुन्छ । गौतम बुद्धसँग सम्बन्धित स्थलहरू त नेपाललगायत अन्यत्र पनि पाइन्छन् तर यी दुई बुद्धसँग सम्बन्धित स्थलहरू पनि सँगसँगै नेपालमा हुनु पुरातत्व एवम् ऐतिहासिक अध्ययनका दृष्टिले महत्वपूर्ण छन् ।

साथै पर्यटकीय दृष्टिकोणले पनि त्यत्तिकै महत्व रहेको छ । बुद्ध भन्ने कुरा व्यक्तिको नाम नभई पदको नाम भएकाले बुद्धत्व प्राप्त गर्ने जो कोही त्यसको हकदार हुन सक्छन्, जुन आदर्श नभई ऐतिहासिक रूपमा पुष्टि भएको वास्तविकता हो । गौतम बुद्धका विचारलाई विश्वव्यापीकरण गर्नमा सञ्चारको ठूलो भूमिका रहेको छ । गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनीमा भएको अकाट्य प्रमाण छ ।
बौद्धधर्म–दर्शनलाई आधार मानेर विश्वका कतिपय मुलुकहरूले शासन सत्ता–सञ्चालनका लागि समेत मार्गदर्शनको रूपमा अङ्गिकार गरेको पाइन्छ । यस आधारमा राज्यसत्तामा समेत बौद्ध धर्म–दर्शनको प्रभाव परेको कुरा स्पष्ट हुन्छ । जस्तो राज्य व्यवस्था छ त्यस्तै सञ्चार नीति पनि अवलम्वन गरिएको हुन्छ । यस विषयमा नोमचम्सकीले सञ्चार बारे आफ्नो दृष्टिकोण यसरी प्रस्तुत गरेका छन्ः ‘अधिनायकवादबाट ग्रसित राज्यहरूमा बन्दुकको आधारमा जनतालाई तह लगाइन्छ भने प्रजातान्त्रिक मुलुकहरूमा प्रचार–प्रसार (सूचना–शक्तिको प्रयोग) मार्फत सो काम हुन्छ भन्ने हो ।

आम जनतालाई प्रजातान्त्रिक अभ्यासबाट सञ्चारलाई टाढा राख्न र राज्यलाई केही व्यक्ति तथा निगमीकृत व्यक्तिको हातमा राख्न मिडियाको प्रचार अनिवार्य ठान्छन्, तर प्रजातान्त्रिक मुलुकहरूमा प्रजातान्त्रिक सरकारले प्रेसमार्फत आवाज विहीनहरूको आवाजलाई प्रतिनिधित्व गराएको पाइन्छ । वि.संं. २०५५ मंसिर १५ र १६ गते लुम्बिनीमा आयोजित विश्व बौद्ध शिखर सम्मेलन र त्यस यता २०७६ सम्म भएका बौद्ध सम्मेलनहरू र ती सम्मेलनहरूमा विश्वका सरकारी एवम् गैर सरकारी निकायका विशिष्ट व्यक्तिहरूको सहभागिताले पनि लुम्बिनी क्षेत्रलाई विश्वका समस्त बौद्धमार्गी तथा शान्तिप्रेमी नागरिकहरूको तीर्थस्थलको रूपमा विकास र प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । नेपालमा बुद्धको जीवनसँग सम्बन्धित ठाउँहरू प्राचीन कपिलवस्तु तिलौराकोट देवदह, रामग्रामजस्ता ठाउँको प्रचार–प्रसारमा जोड दिनु पर्छ । यस्तै बौद्ध साहित्य अनुसार शाक्यमुनि भन्दा पहिलेका बुद्धहरूको जीवनसँग सम्बन्धित ठाउँहरूको प्रचार–प्रसार हुनु पनि आवश्यक छ । पहिलेका बुद्धहरूको जीवनसँग सम्बन्धित ठाउँहरूको प्रचार प्रसारले पनि विश्व शान्तिको लागि सकारात्मक योगदान पुग्न सक्छ । नेपालका विभिन्न ठाउँहरूमा बौद्ध धर्म दर्शनसँग सम्बन्धित विभिन्न संघ संस्थाहरू सञ्चालित छन् । काठमाडांैका स्वयंभू पाटनका विहारहरू यसका उदाहरण हुन् । तिनीहरूको प्रचार–प्रसारले पनि सामाजिक सद्भाव वृृद्धिमा सकारात्मक योगदान पु¥याएको पाइन्छ ।

नेपालको लुम्बिनीमा गौतम बुद्धको जन्म भएको र भारतमा बुद्धत्व प्राप्त गरेको विषयलाई कैयौं चिनियाँ विद्वान तथा धर्मानुरागीहरूले चिनियाँ भाषाहरूमा अनुवाद गर्दै जीवन्त राखेकाले सबैका निम्ति अमूल्य सम्पदा बनेको छ । त्यसलाई एक्काइसौं शताब्दीको परिवेशमा त्रिदेशीय सम्बन्धलाई प्रगाढ बनाउन सक्ने हो भने विश्व शान्तिमा सकारात्मक योगदान पुग्न सक्छ । ईशापूर्व छैठौँ शताब्दीमा नेपालको लुम्बिनीमा जन्मेका सिद्धार्थ गौतमका वुद्धत्व प्राप्तिपछिका विचार, सिद्धान्त र दर्शनले विश्वव्यापी मान्यता प्राप्त गर्नु सबैको गौरवको कुरा हो । महामानव गौतम बुद्ध सम्यक् सम्बुद्ध अर्थात् पौराणिक भाषामा त्रिकालदर्शी थिए । महापरिनिर्वाणका बारेमा पूर्वजानकारी भएको हुनाले तीन महिनाअघि नै वैशाख पूर्णिमाका दिन तथागतको परिनिर्वाण हुने छ भन्ने घोषणा गरेका थिए । उनले आफूलाई तथागत भन्ने गर्थे । तथागत शब्दको अर्थ हो, त्यो त्यसरी नै आयो र गयो । अर्थात् प्राकृतिक स्वभाव जुन हो, त्यसै गरी भन्ने अर्थमा तथागत शब्द प्रयोग भएको हो ।

बौद्ध धर्म – दर्शनप्रतिको प्रभाव विश्वमा बढ्दै गएको छ भन्ने कुरा लुम्बिनी भ्रमणका लागि विदेशी नागरिकहरूको बढ्दो आगमनले पनि स्पष्ट गर्दछ । विश्वका विभिन्न मुलुकहरू अफगानिस्थान, अर्जेनटीना, अष्ट्रेलिया, अष्ट्रिया, बराइन, बंगलादेश, बेल्जियम, बेलारुस, भुटान, बोलिभिया, ब्राजिल, ब्रुनई, बुल्गेरीया, क्यानडा, क्याटेला, चिली, चीन, कोलम्बिया, कोष्टारीका, क्रोसीया, कम्बोडीया, साइप्रस, चेक रिपब्लीक, डेनमार्क, डोमाइकन–रिपब्लीक, एसटोनिया, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रिस, ग्वाटेमाला, हङकङ, हंगेरी, आइसल्याण्ड, इन्डोनेशिया, इराक, इरान, आयरल्याण्ड, इजरायल, इटाली, जापान, लाओस, लाटभिया, लेबनान, लिथुवानिया, लिबिया, लस्जमबर्ग, मलेशिया, माल्टा, मेक्सीको, मंगोलिया, मोरोक्को, म्यानमार, नामिविया, नेदरल्याण्ड, निउजिल्याण्ड, नाइजेरिया, नरवे, पाकिस्तान, प्लालेस्टाइन, पेरु, फिलिपिन्स, पोल्याण्ड, पोर्तुगल, रोमानिया, रसिया, साउदीअरब, स्कटल्याण्ड, सरबिया, सिंगापुर, स्लोभाकिया, साउथ–अफ्रिका, साउथ–कोरिया, स्पेन, श्रीलङ्का, स्वीडेन, स्वेजरल्याण्ड, ताइवान, थाइल्याण्ड, तुर्की, युक्राइन, यु.ए.इ., यु.के., यु.एस.ए., उजवेकिस्थान, उरुग्वेय, भेनेजुवेला, भियतनाम, जामबिया, जिम्बावे आदिका नागरिकहरूले लुम्बिनीको दर्शन गरिसकेका र पछिल्लो समयमा नेपाल सरकारले पर्यटन प्रवद्र्धनका लागि विशेष अभियान सुरु गरेपछि लुम्बिनीमा पर्यटकहरूको संख्या बढ्दै गएको पाइन्छ । लुम्बिनीलाई विश्वमा चिनाउन र पर्यटन प्रवद्र्धन गर्नमा सञ्चारको कस्तो भूमिका आवश्यक पर्ला ? भनी सोधिएको प्रश्नमा लेखक तथा अग्रज पत्रकार नारायण प्रसाद पौडेलले ‘बुद्ध जन्मभूमि लुम्बिनी र कपिलवस्तुका बारेमा प्रामणिक तथ्यहरुलाई विश्व सामु हामीले प्रभावकारी सञ्चार गर्नमा अझै कमी रहेको छ ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनी, शुद्धोधनको दरबार भएको कपिलवस्तुको तिलौराकोट, बुद्धको मावली क्षेत्र देवदह र रामग्राम लगायतका नेपालका बौद्ध स्थलहरुलाई विश्वमा व्यापक प्रचार–प्रसार गर्ने हो भने नेपालको पर्यटन प्रवद्र्धनमा तीव्रता आउने देखिन्छ । यसका लागि सरकारी र गैरसरकारी सबै क्षेत्रबाट विशेष पहल गरिनु आवश्यक छ । सञ्चार क्षेत्रले यसलाई विशेष प्राथमिकतामा राख्नु आवश्यक भएको’ बताएका छन् । प्राग् ऐतिहासिक एवम् ऐतिहासिक कालदेखि आजसम्म अनवरत रूपले जीवन्त बुद्धभूमि नेपालका नागरिकहरूलाई राष्ट्रले बौद्ध धर्म–दर्शन, यसको क्षेत्र र संस्कृतिआदिको विषयमा यथेष्ट आधिकारिक एवम् औपचारिक ज्ञान दिन सक्नुपर्छ । यो ज्ञान दिने जिम्मेवारी राष्ट्रले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई ऐनमार्फत दिएकोले ‘घर–घरमा बौद्ध अध्ययन’ (डोर टु डोर बुद्धिष्ट स्टडिज्) को आधारभूत बौद्ध अध्ययनमा जोड दिन थालेको छ । साथै बुद्ध, बौद्ध धर्म–दर्शन, साहित्य, संस्कृति, इतिहास, विश्वशान्तिमा बौद्ध–दर्शनको योगदान आदि विषयमा विश्वविद्यालयले योजनाबद्ध रूपमा प्राज्ञिक गुरुयोजनाका साथ कार्य अगाडि बढाएको छ । यसले बौद्ध धर्म–दर्शनको प्रचार–प्रसारका साथै बुद्धभूमि नेपाल र बौद्ध शिक्षाप्रतिको आकर्षण बढ्दै जाने देखिन्छ ।

विगत केही वर्षदेखि नेपालका बौद्ध धर्म–दर्शनमा आस्था राख्नेहरू बीच समन्वय स्थापना गर्ने अभियान चालिएको छ । सबै क्षेत्रबाट आ–आफ्नो व्यक्तिगत र जातिगत स्वार्थ छोडेर गौतम बुद्धको खास शिक्षालाई यथार्थ रूपमा अवलम्बन गरी बौद्ध धर्म–दर्शन र बौद्ध सङ्घको पहलमा सबैलाई समान रूपमा स्थान र अवसर दिन थालिएकोले नेपालको बौद्ध समाज निकै सुदृढ हुँदै गएको देखिन्छ । बौद्ध धर्म–दर्शनको महत्वलाई ध्यानमा राखेर देशका विभिन्न भागमा स्थापित रहेका बौद्ध विहारहरू, विद्यालय, महाविद्यालय र विश्व– विद्यालयहरूमा पनि यसको अध्ययन र अध्यापन गरिन थालेकोले यसको प्रचारमा योगदान पुगेको देखिन्छ । लुम्बिनीको विश्वव्यापी महत्वलाई ध्यानमा राखेर राज्यस्तरबाट स्थापना गरिएको लुम्बिनी विकास कोषले गर्दै आएको कार्यले पनि प्रचार–प्रसारमा योगदान पुगेको छ । त्रिभुवन विश्वविद्यालयले बौद्ध–दर्शन अध्ययनको विभाग बनाई अध्ययन–अध्यापन गराउँदै आएको सन्दर्भमा पछिल्लो समयमा लुम्बिनी बौद्ध विश्वविद्यालयले बौद्ध धर्म–दर्शनका साथै अन्य विषयलाई समेत समाविष्ट गरी अध्ययन–अनुसन्धानको थालनी गरेकाले यसको विश्वव्यापी प्रभाव बढ्दै गएको पाइन्छ ।

२. समुदायमा बौद्ध सञ्चार

नेपाल प्राचीनकालदेखि नै भाषा,धर्म,संस्कृति र परम्पराका मामिलामा विविधता भएको देश हो । यसका साथै विभिन्न धर्मावलम्वी मानिसहरूको मिलेको बसाई एवम् जीवनशैलीलाई हेर्दा यो आफैमा सहिष्णु संस्कृतिको नमूना जस्तै बनेको छ । अतः २०६३ ज्येष्ठ ४ गतेको नेपालको प्रतिनिधिसभाले नेपाललाई धर्मनिरपेक्ष घोषणा गर्नु अघि यो देश संवैधानिक एवम् राजनीतिक हिसावले हिन्दू अधिराज्य भनिए पनि विश्वका अन्य मुलुकहरूको अवस्थालाई हेर्दा नेपालमा धार्मिक सहिष्णुता, सत्भाव र एकताको व्यवहार कायम रहीआएको पाइन्छ । यसको प्रभाव नेपालको सामाजिक जनजीवनमा पनि देख्न सकिन्छ । परिणामतः एउटै परिवारमा हिन्दू र बौद्धको संमिश्रण पनि देख्न सकिन्छ । यही विशिष्ट परिस्थितिको धरातलमा टेकेर नेपालका विभिन्न समुदायमा बौद्धदर्शनको प्रभावका बारेमा यहाँ विवेचना गरिएको छ ।
आज विश्वमा सर्वत्र शान्तिको खोजी भइरहेको सन्दर्भमा बुद्धको जन्मभूमि नेपालबाट विश्वमा कस्तो सन्देशको सञ्चारण गर्ने भन्ने विषय झनै महत्वपूर्ण हँुदै गएको छ । बुद्धले ज्ञान प्राप्तिपश्चात् ४५ वर्षसम्म अनवरत रूपमा धर्म प्रचार प्रसार गर्ने क्रममा तथागत स्वयं कपिलवस्तु र देवदह पुगेका, विहारहरू निर्माण भएका, कपिलवस्तु देवदहमा थेरीहरू रहेका आदि प्रमाणबाट बुद्धको जीवनकालमै नेपालमा बुद्धधर्मले प्रवेश गरिसकेको देखिन्छ । अतः अहिलेको नेपालको प्रदेश नम्वर ५ को कपिलवस्तु जिल्लामा बुद्धको जीवनकालमा नै उनका विचार र दर्शनको प्रचार एवम् व्याख्यान भएको स्पष्ट हुन्छ ।

नेपालमा बौद्ध सञ्चारको प्रारम्भिक चरणमा नै काठमाडौं उपत्यकामा भिक्षुहरूको भ्रमण भएको विवरण भेटिएका छन् । त्यतिबेला शाक्य, कोलीय, वृज्जि, लिच्छवी, मल्ल आदि उपत्यकामा प्रवेश गरेका थिए । उनीहरूको आगमनसँगै बुद्धधर्मले पनि प्रवेश पाएको, उनीहरू सभ्य र सुसंस्कृत तथा कालीगढी, कृषि, व्यापारिक कार्यमा समेत पारङगत भएका हुनाले तत्कालीन समाजमा प्रभाव जमाउन सकेको देखिन्छ । उनीहरूको स्थानीयवासीसँगको सामीप्यता र सहकार्य बढ्दै जाँदा नयाँ बौद्ध सम्प्रदाय थेरवादको जन्म भएको पाइन्छ । यस्तै नेपालमा लिच्छवी राजा वृषदेवको पालादेखि बौद्ध इतिहास भेटिन्छ । वृषदेवकै पालाको मानिने चावहिलको अभिलेखमा उत्कीर्ण भाषा, भाव र अभिव्यक्तिसँगै त्यसमा उल्लेख गरिएको महासांघिकको महावस्तु ग्रन्थकोे किन्नरीजातक महत्वपूर्ण छ । त्यसपछि शङ्करदेव, धर्मदेव, मानदेव, शिवदेव, अंशुवर्मा, नरेन्द्रदेव आदिको समयमा प्राप्त अभिलेखबाट विहारहरूको नाउँ आर्यभिक्षु सङ्घ, आर्यभिक्षुणी सङ्घ (चातुव्विंश—महायानप्रतिपन्नार्य भिक्षुणीसङ्घ) आदि शब्दहरूसँगै विविध कुराको जानकारीले लिच्छविकालमा बुद्धधर्मको अवस्थाबारे बुझ्न सकिन्छ ।

गुंविहार, श्रीमानविहार, श्रीशिवदेवविहार, कल्याणगुप्तविहार, श्रीराजराजविहार, श्रीखर्जुरिकाविहार, मध्यमविहार, कल्याण गुप्त विहार, चतुर्भालटसनविहार, अभयरुतिविहार, महाप्रतिहारवार्तसुजातप्रभुविहार, पुष्पवाटिका विहार, अजिकविहार आदि स्मरणीय देखिन्छन् । अंशुवर्माको अभिलेखमा बुद्धधर्मको प्रगतिको चित्रण छ । नरेन्द्रदेवका शिलालेखमा आर्यसङ्घ र शिवदेव विहारको लागि राजाले विशेष अधिनियम बनाएको वर्णन छ । वृषदेव, मानदेवलगायतका अरू राजाहरूले पनि विहार निर्माण, विहार बस्न आउने भिक्षुहरूलाई खानपीन आदिको व्यवस्था गर्नुका साथै आफूहरूले पनि प्रव्रजित—दीक्षा भिक्षुचर्या ग्रहण गरेको भन्ने भाषा–वंशावलीबाट देखिन्छ । यसरी माथिका विवरणहरूको अध्ययनबाट लिच्छवीकालमा नै काठमाडौँ उपत्यकामा बौद्ध धर्म–दर्शन व्यापक बन्दै गएको देखिन्छ । यस्तै लिच्छवीकालमा बौद्ध धर्मले राजकीय मान्यता प्राप्त गरेको पनि देखिन्छ । बुद्धको सिद्धान्तमा आधारित शिक्षा पद्धतिको सुरुवात भएको पाइन्छ ।

शिक्षा दिने केन्द्रका रूपमा गुम्वा र मन्दिर प्रख्यात भएको पाइन्छ । त्यतिबेला काठमाडौँलाई संस्कृति र सभ्यताको केन्द्र मानिन्थ्यो र चिनियाँ र भारतीयहरू यहाँ अध्ययनका लागि आउने गर्दथे । नेपालमा बौद्ध धर्मको विस्तारका क्रममा थेरवाद मतको पुनर्जागरण भएको पाइन्छ । जुनसुकै यान र सम्प्रदायका भए तापनि नेपालका बौद्धहरूको थेरवादप्रति गहिरो श्रद्धा र विश्वास रहेको पाइन्छ । नेपालमा सर्वप्रथम थेरवाद बुद्ध धर्म भिœयाउने भिक्षु महाप्रज्ञा (सन् १९०१–१९९७) हुन् । उनी सन् १९२४ मा छेरिन्नोर्बु लामाबाट महायानी लामा–परम्परा अनुसार प्रव्रजित भई पुनः सन् १९२८ मा कुशीनगरमा पुगी ऊ चन्द्रमणि महास्थविरद्वारा थेरवादी बुद्धधर्ममा प्रव्रजित भएका थिए । उनकै सक्रियतामा पहिलो पटक नेपालको भोजपुरमा बुद्धजयन्ती मनाइएको थियो । नेपालका विभिन्न स्थानमा विहारहरू रहेका छन् र यिनीहरूका माध्यमबाट पनि बौद्ध धर्म–दर्शनको सञ्चार भएको पाइन्छ ।

संस्कृत भाषाका महायानी एवम् वज्रयानी ग्रन्थहरू अध्ययन–अध्यापन गर्ने र संस्कृत भाषाको मन्त्रोच्चारण गरेर पूजापाठ गर्ने नेवार समुदायका शाक्य, बज्राचार्यहरूको धार्मिक परम्परालाई महायान भनिन्छ । नेपालमा काठमाडौं उपत्यका, प्यूठान, डोटी, बन्दीपुर, तानसेन, बुटवल, भैरहवा, पोखरा, नारायणगढ, बीरगञ्ज, भोजपुर, चैनपुर, धनकुटा आदि नेवारहरूका बस्ती भएको ठाउँमा महायानको प्रभाव पाइन्छ । सुरुमा मगर जातिका मानिसहरू पनि महायानसँग सम्बन्धित थिए । नेपाली जनजीवनमा गहिरोसँग बौद्ध धर्म–दर्र्शनलाई जोगाएर राख्नमा महायानीहरूको योगदान देखिन्छ । त्यसैगरी तिब्बतमा बौद्ध धर्मदर्र्शन, संस्कृति र कलाको प्रचार गर्ने कार्यमा पनि यस यानको महत्वपूर्ण योगदान रहँदै आएको छ । यस यानका अनुयायीहरू सबैजसो गृहस्थमा छन् । महायान र बज्रयान अहिले नेवारसमुदायमा बढी पाइन्छ भने थेरवादीहरू पनि यही समुदायमा बढी भेटिन्छन् । नेपालमा महायानका महावीर र कुचविहार आदि रहेका छन् ।

अमृतानन्द र हज्सनले बुद्धको जन्मभूमि लुम्बिनीमा पुरातात्विक र ऐतिहासिक प्रमाणको खोजी गरी प्रचार–प्रसारमा महत्वपूर्ण योगदान दिएको पाइन्छ । बाह्य आक्रमण तथा प्रभावका कारण बुद्ध धर्मको प्रादुर्भाव भएको ठाउँ सुरक्षित रहन नसकेको देखिसकेपछि युरोपका विद्वान्हरूले बौद्ध धर्म–दर्शनको परम्परा, संस्कृति तथा शास्त्रीय खोजका निम्ति हिन्दुस्तानका मूल बस्ती तथा ऐतिहासिक ठाउँ र वरिपरिको क्षेत्रमा दृष्टि दिन थालेका थिए । त्यसै क्रममा नेपाल, तिब्बत, श्रीलङ्का आदिमा उनीहरूको दृष्टि जान थाल्यो । त्यस बेला फ्रान्सका प्रसिद्ध ‘ओरिएन्टालिस्ट’ विद्वान् फ्रान्सका प्राध्यापक युजिन बुर्नोफ (सन् १८०१–१८५२) संस्कृतमा दक्खल भएका व्यक्ति थिए । हज्सन र वुर्नोफ्को संयुक्त योजना बुद्ध धर्मको सांस्कृतिक पाटोबाट मात्र नभई दार्शनिक पाटोबाट शास्त्रीय आधारमा बुझ्ने र बुझाउनेक्रम अगाडि बढ्यो । नेपालमा बौद्ध धर्म–दर्शनको प्रचार, विस्तार, पुनर्जागरण र संरक्षणमा थेरवाद, प्रारम्भिक महायान तथा बज्रयान र लामा बुद्धधर्मको आ– आफ्नो किसिमका विशेषता र भूमिका रहेको पाइन्छ । नेपालमा बौद्ध धर्म–दर्शनको प्रचार र प्रभाव कसरी विकसित हुँदै आयो ? भन्ने बारेमा माथि विवेचना भएको छ । अव कुन–कुन समुदायमा त्यसको प्रभाव कस्तो छ ? त्यसको अध्ययन गर्नु सान्दर्भिक हुन्छ ।

क) लामा समुदाय

तिब्वती बोन्पो धर्मका कर्मकाण्डहरूलाई पनि समेटेर आफ्नै पारामा ढालेकोले यसलाई लामा बुद्ध–धर्म भनेर एउटा वर्गमा राखिएको छ । यस वर्गलाई कतिपय विद्वान्हरूले तिब्बती बुद्ध धर्म, लामावाद, लामाहरूको बुद्धधर्म आदि नामहरू दिएको पाइन्छ । अहिले यस धर्मलाई लामावाद वा लामाहरूको बुद्ध–धर्म भन्न मिल्दैन भन्ने तर्कहरू पनि दिइने गरेको छ । तिब्बती भाषामा यस धर्मलाई नङ्–सङ्स्ग्र्यस्–छोस्–लुग्स् अर्थात् आभ्यन्तर बुद्ध धर्म–पद्धति भनिन्छ । त्यसैले यसलाई लामा बुद्ध–धर्म भनिएको हो । लामाहरूले मान्ने बुद्ध धर्म महायान र बज्रयान हुन् । यसमा थेरवादको पनि केही प्रभाव परेको देखिन्छ । यो धर्म महायान र बज्रयान भए तापनि यसका धार्मिक ग्रन्थहरू तिब्बती भाषामा लेखिएका छन् ।

तिब्बतीहरूमा लामा भन्नाले धर्मगुरु बुझिन्छ । यस बारेमा लामा बुद्ध–धर्म भन्न हुँदैन, मिल्दैन भन्ने तर्कहरू उठ्न सक्छन् । यस बारेमा सबभन्दा पहिले हामीले लामा अर्थात् ति.ब्ल–म शब्दको राम्रो अर्थ बुभ्mनुपर्छ । ब्ल–भेद् शब्दबाट बुल–भ शब्द बनेको हो । ब्ल–भेद् चाहि ब्ल–न–मेद्–प शब्दको छोटकरी रूप हो । ब्ल–न–मेद्–पको अर्थे ‘अनुत्तर’ हो । यसबाट लामा शब्दको खास अर्थ ‘अनुत्तर’ वा सर्वज्ञ हो भन्ने बुझिन्छ । बुद्धले देखाएको बाटोलाई अनुत्तर मार्ग र त्यस बाटो अनुसरण गरी प्राप्त गरेको ज्ञानलाई अनुत्तर ज्ञान भनिन्छ । लामा धर्मको वास्तविक अर्थ हो, अनुत्तर धर्म, जुन धर्मभन्दा माथि अरू कुनै धर्म हुँदैन भन्ने त्यसको अभिप्राय हो । बुद्ध धर्ममा आफू र अरूको बीचमा विभेद गर्न हुँदैन । त्यस कारण यस धर्मलाई अनुत्तर बुद्ध धर्म भन्न उपयुक्त हुन्छ ।

लामाहरूको बुद्ध धर्ममा थेरवाद, प्रारम्भिक महायान तथा बज्रयानमा रहेका कतिपय परम्पराहरू पाइन्छन् । त्यसका लागि उदाहरण हो–वर्षाबास । गर्मी, वर्षा, सर्प, विच्छी आदि कारणले वर्षा ऋतुमा भिक्षुहरू बाहिर नगई विहारमा नै बस्ने पद्धति गौतम बुद्धको पालादेखि नै चलेको थियो । अहिले प्रारम्भिक महायान र बज्रयानमा वर्षाबासको परम्परा कम छ । थेरवादी भिक्षुहरू वर्षाबास बस्दा दिनभरि जहाँ घुमे पनि हुने तर सुत्न भने यो समयमा एउटै विहारमा सुत्नुपर्ने नियम छ । लामा बुद्ध धर्मका भिक्षुहरू वर्षाबासको अवधिभरि गुम्बाको आंगनभन्दा बाहिर निस्किदैनन् । त्यस अवधिमा गुम्बाभित्र महिलाहरूलाई प्रवेश गर्न निषेध गरिएको हुन्छ ।

अर्को उदाहरण वज्रयानको दीक्षा हो । वज्रयानको खास चिन्तन त्वरित् निर्णय गर्नु हो । तुरुन्तै निर्णय नगर्ने हो भने कुनै पनि क्षणले पर्खदैन । अतः नपर्खने क्षणवाद बुद्धकै चिन्तन हो । त्यसलाई विम्बात्मक स्वरूप दिंदा बज्रयान भनियो । अहिले भिक्षुब्रत लिएर विहारमा बस्ने बज्रयानीहरूको भिक्षु–परम्परा त्यति छैन । महायान र बज्रयानका भिक्षुहरू अहिले लामा बुद्धधर्ममा मात्र पाइन्छन् । प्रारम्भिक बज्रयानमा बज्राचार्यबाहेक अरू कुनै पनि व्यक्तिले ‘बज्रयानको दीक्षा र वज्राभिषेक’ लिन्छु भन्यो भने पाइन्नथ्यो । वर्णव्यवस्था जन्मेको धेरै पछि धर्महरू जातिमा परिणत भएजस्तै अहिले वज्रयानको दीक्षा पनि निश्चित घेराभित्र सीमित हुन पुगेको छ । बज्रयानको ज्ञानमा पोख्त भएपछि वज्राचार्यको पदवी पाउँथ्यो र अहिले पनि लामा बुद्ध–धर्ममा त्यो परम्परा अवशेषको रूपमा छ । त्यस धर्ममा कुनै पनि व्यक्तिले बज्रयानको ब्रत लिन चाहेमा अवरोध छैन ।

लामा बुद्धधर्मको विकास तिब्बतमा भएको हो । त्यसो भए तापनि तिब्बतको लामा बुद्धधर्ममा धेरै परिवर्तन भएकाले कतिपय परम्पराहरू त्यहाँ लोप भइसकेका छन् । त्यसको सट्टा अघि गुरु पद्मसम्भव र मार्पा, मिलाँरेपाको पालाका परम्परा र मान्यताहरू तिब्बतमा भन्दा नेपालमा पाइन्छ । हिमाली क्षेत्रका मानिसहरू, मध्यमाञ्चल एवम् पश्चिमाञ्चल विकासक्षेत्रको पहाडी भागका आधाभन्दा बढी मानिसहरू लामा बुद्धधर्म–दर्शन मान्छन् । काठमाडौं उपत्यकाका कतिपय नेवार समुदायमा पनि यस धर्म–दर्शनको प्रभाव छ । अहिले नेपालमा लामा बुद्धधर्मका ठूला–साना गरी तीन हजार गुम्बाहरू छन् । ती मध्ये काठमाडौं उपत्यका भित्र नयाँ र पुराना गरी ३३ वटा गुम्बाहरू छन्, जसमा १ हजार ६ सय बौद्ध भिक्षु–भिक्षुणीहरू रहन्छन् । उपत्यका बाहिरका १५ वटा गुम्बाहरूमा भिक्षुब्रत लिई धर्म–सङ्घमा प्रवेश गरेका एक हजार भिक्षु–भिक्षुणीहरू बस्छन् । अरू गुम्बाहरूमा भने गृहस्थीमा रहेर मन्त्र जप्ने र आस्था राख्नेहरू छन् ।

ख) नेवार

नेपालका बुद्धधर्मावलम्बीहरूमा नेवार समुदाय मुख्य हो । मुख्यतः नेवारहरू प्रारम्भिक महायान र बज्रयानलाई मान्दछन् । यी यानलाई जोगाइ राख्ने श्रेय पनि यही समुदायलाई नै जान्छ । वर्तमान नेपालमा थेरवादको पुनःस्थापना र विकासको श्रेय पनि यिनीहरूलाई नै छ । वास्तवमा भन्ने हो भने बज्राचार्य र शाक्यहरू बौद्ध भिक्षु र तत्कालीन राजा, मन्त्री, भारदार, साहु–महाजन अर्थात् आजभोलिका श्रेष्ठहरू दानपति हुन् । मध्यकालमा जयस्थिति मल्लले नेवार समाजलाई शैव र बौद्ध दुई वर्गमा विभाजन गरेपछि विस्तारै नेवार समाजमा शैव र बौद्धको फाटो पर्न थालेको देखिन्छ । जयस्थिति मल्लको समयमा पनि बज्रचार्यले श्रेष्ठसम्मलाई दीक्षा मन्त्र सुनाउने र अमात्यहरूले बज्रचार्यलाई पुरोहित मान्ने गरेका थिए । अहिलेसम्म पनि ठमेलको विक्रमशील महाविहारका प्रधानहरू पूर्णरूपले बौद्धमार्गी छन् । ललितपुर, पुल्चोकका मलेकु र श्रेष्ठहरूको आश्रममा बज्राचार्यद्वारा पूजा हुन्छ । काठमाडौं–झोंछेका श्रेष्ठहरूले स्वयम्भू चैत्यका रत्नसम्भवलाई कुलदेवता मान्छन् ।

नेपालमा धर्मोदय सभाको स्थापना पनि नेवार समुदायबाटै भएको हो । सभाले विदेशमा समेत नेपाललाई चिनाएको छ । त्यसै गरी नेवार समुदायले युवा बौद्ध–समूह, धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठी, युवक बौद्ध–मण्डल आदि विभिन्न सङ्घ–संस्थाहरूको माध्यमबाट संसारमा बौद्ध धर्म–दर्शनको प्रचार–प्रसारमा योगदान गरेका छन् । नेवार समुदायका ती युवकहरूको क्रियाकलापबाट अन्य बौद्ध युवाहरूले पनि प्रेरणा लिंदै गएका छन् । अतः बौद्ध धर्म–दर्शनको प्रचार–प्रसारमा नेवार समुदायको योगदान देखिन्छ । नेपालमा बौद्ध धर्म–दर्शनको पुनर्जागरण, संरक्षण र सम्बद्र्धनमा नेवारहरूले महत्वपूर्ण योगदान दिई आएको कुरा पुष्टि हुन्छ । धर्म र दर्शनको चिन्तन–मननका अतिरिक्त अनेक भजन–कीर्तन, नृत्य, जात्रा, कला–कौशल आदिको माध्यमबाट पनि नेवार समुदायले बौद्ध धर्म–दर्शन र संस्कृतिलाई जोगाइ राख्न महत्वपूर्ण खेल्दै आएको पाइन्छ ।

ग) तामाङ

काठमाडौं उपत्यकामा बौद्ध धर्म–दर्शन र संस्कृति जोगाइराख्नेहरूमा नेवारपछि तामाङ पर्दछन् । नेपालका स्वयम्भू, बौद्ध, फर्पिङ्को ऋषितर गुफा, नमोबुद्ध आदि मुख्य स्मारक एवम् तीर्थस्थलहरूका तालुकदार तामाङ्हरू नै छन् । तन्त्रयानी बुद्ध धर्ममा उपयुक्त मानिने बोधि चित्रमाला केवल नेपालमा तामाङ्हरूकै अम्बल हिमालमा मात्र पाइन्छ । तामाङ्गहरूको बढी जनघनत्व नेपालको मध्यमाञ्चल विकास क्षेत्रमा छ । यिनीहरू लामा बुद्ध धर्म मान्छन् । अहिले केही तामाङ्, तमाङ्नीहरू थेरवादमा प्रव्रजित हुन थालेको पाइन्छ । लामा बुद्ध धर्म–दर्शन अनुसार चीनका राजालाई मञ्जुश्रीको अवतार, तिब्बतका राजालाई आर्यावलोकितेश्वरको अवतार र नेपालका राजालाई गुरु पद्मसम्भवको अवतार मानिन्छ । गुरु पद्सम्भवले नेपालको ऋषित्तर गुफा अर्थात् ति.बल्–युल्–अ–सु–रहि–ब्रग–फुग् मा तपस्या गरी सिद्धि प्राप्त गरेर भोट देशमा बुद्ध धर्म–दर्शन प्रचार गरेको विश्वास छ । बौद्ध कलाको क्षेत्रमा अहिले मुख्यतः थंका चित्रकलाको विकासमा तामाङ्हरूको योगदान देखिन्छ । त्यसले बौद्ध कलाको विकासको साथसाथै तामाङ्हरूको पनि राम्रो वृत्तिविकास गरेको पाइन्छ । तामाङ् सेवा गुठी तामाङहरूको जातीय संस्था हो । त्यस संस्थाको माध्यमबाट तामाङ्हरू परस्पर सङ्गठित भई सांस्कृतिक सुधार र बौद्ध धर्मदर्शनको प्रचार–प्रसारमा योगदान दिएको पाइन्छ ।

घ) ब्लो–प
नेपालको हिमाली क्षेत्रमा लामो धार्मिक परम्परा भएका जनजातिहरूमा धौलागिरी अञ्चलको ब्लो–प निवासी जनसमुदायहरू पनि हुन् । मध्यकालमा वर्तमान मुस्ताङ जिल्लामा ब्लो नामक एउटा स्वतन्त्र राज्यको स्थापना भएको थियो । उत्तरमा तिब्बतको द्वुस् ग्चङ् र दक्षिणमा पर्वत जिल्लासम्म त्यो राज्य फैलिएको थियो । त्यतिवेला म्ङ रिस्–खोर. ग्सु–म्ममा ब्लो–प राज्यको ठूलो प्रतिष्ठा थियो । यस ब्लो–प राज्यका बासिन्दाहरूलाई ब्लो–प अथवा ब्लो–बो भनिन्छ । ब्लो–प राज्यको संस्थापकका वंशजलाई अहिलेसम्म पनि मुस्ताङ्गी राजाको पदबी प्राप्त छ । यसरी वर्तमान अवस्थामा सरकारी रूपमा राजाको पदवी प्राप्त गर्ने बौद्धहरूमा एक मात्र मुस्ताङ्गी राजा हुन् । ब्लो–प मा अनेक विद्वान्हरू पनि जन्मेका थिए । नेपालको हिमाली क्षेत्रमा भिक्षुव्रत लिएका बौद्ध भिक्षु–भिक्षुणीहरू रहने गुम्बा त्यही ब्लो–प क्षेत्रमा बढी सङ्ख्यामा पाइन्छन् । मुस्ताङ सात थपौलोले खर्च व्यहोरेर लोमन्थाङ गुम्बाका सक्यपा लामाहरूद्वारा सम्पन्न गरिने बौद्धपर्व यहाँको ठूलो सांस्कृतिक पर्व मानिन्छ । केही वर्ष पहिले लो मन्थाङका एक जना बालकलाई ङोर थर्चे श्यब्टुङ्को अवतार घोषित पनि गरिएको छ ।
ईश्वी तेह्रौं शताब्दीमा नेपालबाट अरनिको आदि कालिगढहरूलाई भोटमा झिकाएर मठहरूका मठाधीश एवम् चीनका बादशाह कुबलाई खाँका विद्वानहरूमा ब्लो..रिन्–छेन् आदि पनि थिए । कुनै बेला भारत, तिब्बत र नेपालको काठमाडौ उपत्यकाका विद्वान् एवम् कलाकारहरूको जमघट हुने ब्लो–प राज्यमा अहिले खासै उत्साहप्रद अवस्था देखिंदैन । समय–क्रममा त्यस राज्यको बाटो हुँदै तिब्बतसँग हुने व्यापार सुक्दै गयो । सिंचाइको असुविधाले खेती, चरीचरन र पशुपालनको विकास खास हुन सकेको थिएन । निषेधित क्षेत्र भएकोले त्यहाँ पर्यटकहरू पनि जान पाउँदैनन् । यसरी ब्लो–पहरूको आयस्रोत चारैतिरबाट बन्द हुँदै गएको छ । त्यसो भए तापनि त्यहाँका जनता बौद्ध धर्म–दर्शनप्रति आस्थावान् छन् । सरकारको अनुदान र स्थानीय लामा एवम् जनताको सहभागिताबाट गुम्बाहरू जीर्णोद्धार गर्ने काम भइरहेको पाइन्छ ।

ङ) डोल्पाका बौद्ध

नेपालमा बौद्ध धर्म–दर्शन र संस्कृतिको एउटा अनुपम भण्डार डोल्पा हो । तिब्बतको ब्ल्यु एनाल्स अर्थात् देवथेर ङोएन्पो नामक वंशावलीलाई साफी गर्ने विद्वान्हरूमा डोल्पाको न्हिल्याको टसी प्रमुख थिए । डोल्पामा बोन धर्मावलम्बीहरू बढी छन् । बौद्धमार्गीहरू आफूलाई नङ्ग अर्थात् भित्रको र बोथोहरूलाई छिपा अर्थात् बाहिरको ठान्दछन् । अब भित्रको र बाहिरको भनेर वोथोहरूसँग भेदभाव राख्ने अवस्था हुँदैन । नेपाल सरकारले लामा देश–दर्शन कार्यक्रम र गुम्बाहरूलाई अनुदान दिने काममा पक्षपात गरेर बोथोहरूलाई मात्र छुट्याएको छैन । त्यसैले बौद्धमार्गीहरूले बोथोहरूलाई बौद्ध धर्म–दर्शनका अनुयायी भित्र राखेर मैत्रीभाव राख्न आवश्यक देखिन्छ ।

च) नेस्याङ्बा

मस्र्याङ्दीको मुहान नेस्याङ उपत्यकामा बसोबास गर्ने नेस्याङ् मनाङेहरू लामा बुद्ध धर्म मान्दछन् । नार, नुब् रि र कुताङ भोटमा पनि लामा बुद्ध धर्म मान्नेहरू बाक्लो रूपमा बसेका छन् । लमजुङका राजा यशोवर्धन शाहको पालादेखि सलामी तिरी व्यापार गर्दा तिनीहरूको आर्थिक स्थिति अन्य हिमाली क्षेत्रका बासिन्दाको भन्दा निकै राम्रो छ । पोखरा र काठमाडौंमा मनाङ् समाजका गुम्बा बनेको पाइन्छ ।

छ) शेर्पा

नेपालको हिमाली क्षेत्रका बौद्धहरूमा शेर्पा जाति विश्वमै प्रख्यात छन् । सगरमाथाको पदयात्रा र पर्वतारोहणको माध्यमबाट शेर्पाहरू विदेशीहरूको सम्पर्कमा पनि आइरहेका छन् । यसले शेर्पाहरूको आयस्रोतमा बृद्धि भएको छ । शेर्पाहरूको क्षेत्रमा समुद्री सतहदेखि सबभन्दा अग्लो ठाउँमा रहेको तेङ्वोचे बौद्ध–गुम्बा विश्वकै महत्वपूर्ण सम्पदा मानिन्छ । तिनीहरूको मानिरिम्दु पर्व पनि धर्मका रूपमा विश्वमै चर्चित छ । बौद्ध कलामा थांका चित्रकलाको विकासमा शेर्पाहरूले योगदान दिएका छन् । काठमाडौं बौद्धमा शेर्पा समाजको गुम्बा पनि बनेको पाइन्छ ।

ज) थकाली

थकालीहरू हिमाली क्षेत्रको तल्लो भागमा बसोबास गर्ने बौद्धहरू हुन् । थकालीहरू लामा बुद्ध–धर्म मान्दछन् । तिनीहरूमा बोन–धर्मको पनि प्रभाव छ । थकालीहरूको मुख्य थलो थाकखोलामा पुराना बौद्ध गुम्बाहरू छन् । अहिले पुराना बोन्पो गुम्बाहरू विस्तारै बौद्ध–गुम्बामा परिणत हुन थालेका छन् । अहिले थकालीहरू काठमाडौं र विशेषगरी पश्चिम नेपालको मुख्य व्यापारिक केन्द्रहरूमा बसोबास गर्न थालेका छन् । जहाँ बसेर जे व्यवसाय अपनाए पनि थकालीहरू बौद्ध धर्म र संस्कृतिका अनुयायी हुन् ।

झ) गुरुङ
गुरुङहरू खासगरी नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको पहाडी भागमा बसोबास गर्दछन् । यिनीहरू लामा धर्म मान्दछन् । यिनीहरूमा पुराना बोन्पो परम्परा प्रचलित छ । पृथ्वीनारायण शाहका दरबारमा कवि शक्तिबल्लभ अर्यालले लेखेको ‘जयरत्नाकर’ नाटकमा गुरुङहरूलाई बौद्ध, ‘गौतम मार्गिणः’ भनिएको छ । श्री ३ जङ्गबहादुर राणाको विरोध गर्ने गोर्खाका सुकदेव गुरुङले पनि आफूलाई नौ सरकार बौद्ध वादशाह घोषित गरेका थिए । वंशावलीहरूमा पनि गुरुङलाई बौद्ध राजाका सन्तान भनेको छ । पछिल्लो समयमा गुरुङहरूमा बुद्ध धर्मप्रतिको ऊप्साह र जाँगर धेरै बढेको छ । पोखराको बौद्ध अर्घौ–सदन त्यसको उदाहरण हो । त्यो सदन गुरुङहरूको धार्मिक संस्था हो । गुरुङ समाजमा सांस्कृतिक सुधार गरी बौद्ध धर्मको प्रचार–प्रसार गर्ने काममा त्यस सदनले महत्वपूर्ण भूमिका खेल्दै आएकोे छ ।

त्यसका अतिरिक्त पर्वत, स्याङ्जा, बुटवल, भैरहवा, नवलपरासी, चितवन, लमजुङ् र गोर्खाका गुरुङहरूले पनि आ–आफ्नो क्षेत्रमा गुम्बाहरू बनाएर बुद्ध धर्मको संरक्षण र प्रचार गर्दै आएको पाइन्छ । सुनसरी र मोरङको दक्षिणी सीमामा बसोबास गर्ने गुरुङहरूमा पनि बौद्ध धर्मको प्रभाव देखिन्छ । ती गुरुङहरू भारतको पूर्णिया जिल्लाबाट आई बस्न थालेको पाइन्छ । त्यहाँ उनीहरूकोे ठूलो बस्ती छ । तिनीहरूको रहन–सहन, भाषा आदि स्थानीय थारुहरूसँग मिल्दोजुल्दोे छ । भारतमा ऊनीहरूले आफ्नो थर मुखिया लेख्दछन् । उनीहरूमध्ये नेपाल भित्रिएकाहरूले गुरुङ् लेख्छन् । वास्तवमा गुरुङ्हरू राष्ट्रिय एकीकरणको सन्दर्भमा पूर्व–दक्षिणतर्फ बढ्दै जाँदा सुगौली सन्धिपछि भारतमा गाभिन पुगेको देखिन्छ । धरानका गुरुङ्हरूले बौद्ध धर्म अवलम्बन गरेपछि त्यस क्षेत्रमा बसोवास गर्ने गुरुङ् समुदायमा पनि बुद्ध धर्मको प्रचार–प्रसारमा तीव्रता आएको देखिन्छ ।

ञ) लेप्चा
मेचीनदी र टिष्टानदी भित्रको भूभागलाई लेप्चान भनिन्छ । नेपालतीर खासगरी प्रदेश नम्बर १ को मेचीमा लेप्चाहरूको बसोबास छ । तिनीहरू लामा बौद्ध धर्म मान्छन् । नेपालका बौद्धहरूसँग तिनको विशेष सम्बन्ध देखिंदैन ।

ट) मगर

बौद्ध धर्मको उषाकालदेखि नै मगरहरूको विशेष सम्बन्ध रहेको पाइन्छ । पाल्पाली सेन वंशावलीमा मगर–राजालाई ‘नागभूपति’ अर्थात् ‘नागराज’ भनिएको छ । ‘ललितविस्तर’मा लुम्बिनी उपवनमा गौतम बौद्धको जन्म हुँदा नन्द र उपनन्द नामक नागहरूले तातो र चिसो पानीद्वारा बुद्धलाई नुहाइदिएका र कोलीहरूको अंशमा परेको गौतम बुद्धको अस्थीधातु राखिएको रामग्रामको स्तूपलाई नागहरूद्वारा रक्षा गरिएको उल्लेख छ । नवलपरासी जिल्लाको झरही खोलाको किनारमा उक्त स्तूप रहेको छ । यहाँ नाग शब्दले मानिसको जाति विशेषलाई जनाएको छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट ठीक उत्तरमा महाभारत पर्वतश्रृंखलामा मगर राजाको गढी–युद्धकिल्ला–बल्ढेङ्गढी छ । नवलपरासीमा पनि मगरहरूकै बाक्ला बस्ती भएका देवचुली र वरचुली फाँटहरू पर्वतश्रृंखलाकै फाँट हुन् ।

वास्तवमा उपर्युक्त बौद्ध धर्म–ग्रन्थहरूमा उल्लिखित नागराज र नाग भनेका मगर राजा र मगरहरू नै हुन् । त्यसैगरी वि.सं. १०५६ मा गुल्मीका सुवर्णकार राना मगरले र वि.सं. ११२६ मा लमजुङ्का गङ्गा रानामगरले संस्कृत भाषामा लेखेका ‘अष्टसाहस्रिका प्रज्ञापारमिता’ नामक बौद्ध–ग्रन्थहरू संग्रह गरेका छन् । यसबाट पूर्व–मध्यकालसम्म मगरहरूमा बौद्ध–ग्रन्थ लेख्ने र अध्ययन गर्ने परम्परा रहेको देखिन्छ । कालान्तरमा बुद्ध धर्ममा सिद्ध परम्पराको विकास भएपछि कतिपय बौद्ध विहारहरू शक्ति–मन्दिर र मठमा परिणत भएको पाइन्छ । राप्तीतिरका मगरहरूले भने अघिदेखि नै लामा बौद्ध धर्म मानेको पाइन्छ ।

ठ) किरात

पूर्वी नेपालका किरातहरूको बुद्ध–धर्मसँग सम्बन्ध छ । हिमाली आदिवासी जनजातीय देवता शिवको एउटा नाम पनि ‘किरातेश्वर’ छ । शैव धर्म र बौद्ध धर्म पनि ध्यान, योग र धारणामा विश्वास गरेको पाइन्छ । पाणिनीय संस्कृत व्याकरण अनुसार ‘किरं–वनमतति–गच्छतीति किरात’ हुन्छ । किराँत शब्दको अर्थ जङ्गलमा घुम्ने वनचारी हो । ईश्वीको आठौं शताब्दीतीर किरात भाषामा बौद्ध–ग्रन्थहरू अनुवाद भएको जानकारी पाइन्छ । त्यसैगरी किरात पौराणिक कथाहरूमा चैत्यपुजाको पनि उल्लेख गरिएको छ । यसरी किरात समाजमा प्रचलित पौराणिक कथाहरूले बौद्ध धर्म र किरातहरूबीचको सम्बन्धबारे वयान गरेको पाइन्छ । किरात पौराणिक कथाका साथ–साथै किराँत प्रदेशमा भएका बौद्ध तीर्थस्थलहरूको पनि बौद्ध धर्म र किरातहरूबीचको सम्बन्धलाई सङ्केत गर्दछन् । खम्बुवानमा पर्ने खोटाङ्को हलेसीको गुफा गुरु पद्मसम्भवको साधना भूमिको रूपमा प्रख्यात छ । मगर पूजारीद्वारा पूजा गरिने विजयपुरको बूढासुब्बा मन्दिर कुनै बौद्ध–सिद्धको स्तूप जस्तो छ । त्यसैले बौद्ध धर्म र किरातहरूबीचको सबन्ध निकै गहन देखिन्छ ।

ड) थारु

नेपालको पूर्व–मेचीदेखि पश्चिम महाकालीसम्म चुरे पहाडको बेसीमा अवस्थित भावर प्रदेशलाई थारुवान् भनिन्छ । जहाँ थारुहरूको बाक्लो बस्ती पाइन्छ । लिच्छवी राजा शिवदेव प्रथमको ललितपुर, चापागाउको अभिलेखमा उल्लिखित स्थरुदुङ्गले पनि थारुहरूको बस्तीतिर सङ्केत गरेको पाइन्छ । पालि भाषाको थेर शब्दबाट थारु शब्द बनेको हो भन्ने पनि विद्वान्हरूको तर्क छ । अहिले थारुमा हामी शाक्य, कोलीय वंशज र बौद्ध हौं भन्ने भावना प्रबल देखिन्छ । कैलालीको धनगढीमा थारुहरूको सहभागितामा एउटा बिहार पनि बनेको छ । सुर्खेतको कांक्रे बिहारको सम्बन्ध दाङका थारु राजा दङ्गीशरणसँग पनि भएको हुन सक्ने अनुमान गर्न सकिन्छ । सप्तरी जिल्लाको सीतापुरकोे सिरस्थानमा शाक्यमुनि बुद्ध, लोकेश्वर, हरिततारा आदि बौद्ध देवी–देवताका ढुङ्गाका मूर्तिहरू स्थापना गरिएका छन् । शैलीको आधारमा ती मूर्तिहरूलाई ईश्वी आठौं शताब्दीतिरका मान्न सकिन्छ । यहाँका पूजारी थारुहरू छन् । ती पुरातात्विक प्रमाणहरूले पनि थारुहरू बौद्ध हुन् भन्ने कुरा प्रमाणित गर्दछन् । गौतम बुद्धको जन्मस्थल लुम्बिनी र पैतृकस्थल कपिलवस्तु थारुवान् पर्दछन् । बुद्धकालीन भेषभूषा र रहनसहन वर्तमान थारु समाजमा पाइन्छ भन्ने कुरा विभिन्न विद्वान्हरूबाट गरिएका खोज–अध्ययनबाट थाहा पाइन्छ ।

३. विभिन्न क्षेत्रमा बौद्ध सञ्चार

क) हिमाली क्षेत्र

नेपालको पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्मको दुर्गम हिमाली क्षेत्रमा बसोबास गर्ने अधिकांश जनता बुद्ध धर्माबलम्बी छन् । यहाँका जनता लामा बुद्ध धर्म मान्छन् । पुरानो वोन–पो धर्म मान्नेहरू पनि यस क्षेत्रमा छन् । अनेक प्राचीन गुम्बा, धार्मिक परम्परा र सांस्कृतिक सम्पदाहरू भएको यस क्षेत्रको विकासमा नेपाल सरकारले पनि केही ध्यान दिएको छ । नेपालका विभिन्न क्षेत्रमा बसोबास गर्ने बौद्ध धर्मावलम्वीहरूका चालचलन, रीतिरिवाज, परम्परा, मूल्य मान्यता, संस्कार एवम् भेषभूषा र संस्कृति आ–आफ्नै विशेषतामा आधारित छन् । नेपाल सरकारले गुम्बा विकास तथा व्यवस्था समितिहरू स्थापना गरी तिनको विकासमा योेगदान गर्दै आएको छ ।

ख) पूर्वी नेपाल

पूर्वी नेपालको हिमाली क्षेत्रमा संखुवासभाको किमाथांका र ताप्लेजुङको ओलाङ–चुङगोलामा लामा बुद्ध–धर्मका व्यक्तिहरूको बाक्लो बस्ती छ । त्यसकारण पनि सो क्षेत्रमा लामा बौद्ध–धर्मको प्रभाव रहेको छ । वि.सं. १९९३ (सन् १९३७) मा भिक्षु महाप्रज्ञा भोजपुर पुगी सुन्दर बुद्धमूर्ति निर्माण गरी विहारको स्थापना गरेपश्चात् त्यस क्षेत्रमा बौद्ध धर्मले प्रचार पाएको देखिन्छ । बौद्ध–धर्म सम्बन्धी क्रियाकलाप गरेको भनी त्यहाँका तत्कालीन वडाहाकिमले उनलाई जेलमा थुने । उनीसँगै बौद्ध धर्ममा समर्पित भएका श्रामणेर अमृतानन्दलाई पनि जेलमा राखियो । यसै क्रममा अमृतानन्दलाई सानो उमेरको ठानी फर्केर जान भन्दा उनले ‘म जन्म जात बौद्ध हुँ । मेरो गुरुलाई छाडेर कहीँ जान्न म उहाँकै साथमा जेल बस्छु । ’ भनी जवाफ दिँदै जेल बसे । केही दिन पछि उनीहरूलाई फेरि कहिल्यै नेपाल नफर्कनू भनी उर्दी जारी गरी सीमानामा लगी छाडियो । त्यतिबेला श्री ३ चन्द्रसमशेरको शासन काल थियो ।

ग) पश्चिम नेपाल

पश्चिम नेपाललाई जातीय आधारमा खसान र जडान गरी दुई भागमा बाँडिएको छ । मध्यमकालमा त्यस क्षेत्रमा शासन गर्ने शासकहरू आफूलाई बौद्ध हुँ भनेर गर्व गर्दथे । उनीहरूको अभिलेखको प्रारम्भ “ॐ मणिपद्मे हुंँ” भन्ने पवित्र बौद्ध मन्त्रबाट हुन्थ्यो । अभिलेखहरूमा बुद्ध, धर्म र सङ्घलाई साक्षी राखिन्थ्यो । अहिले पश्चिम नेपालमा भोटे भाषा बोल्ने जनसमुदायमा मात्र बौद्ध धर्म सीमित हुन पुगेको छ । हुम्लाको लिमी र हल्जी गाउँमा अवस्थित रिन्छेन् लिङ गुम्बा त्यस क्षेत्रको पुरानो बौद्ध गुम्बा मानिन्छ । त्यस गुम्बाको इतिहास ईश्वीको बाह्रौं शताब्दीसम्म भएको पाइन्छ ।

४. बौद्ध सञ्चारमा विहार

बौद्ध धर्म–दर्शनको प्रचारमा बौद्ध स्तूप, चैत्य एवम् विहारहरूको योगदान पनि महत्वपूर्ण रहेको छ । प्राचीन समयमा कोही ठूला तथा पूजनीय व्यक्तिको मृत्यु भएमा उनको सम्झनामा उनका सामान अथवा अस्तु राखी बनाइएका माटाका ढिस्कोलाई स्तूप भनिन्थ्यो । स्तूपलाई पालि भाषामा थुवे भनिन्छ । निग्लिहवाको अशोक स्तम्भ अभिलेखमा “.थुवे द्वितीय बढीते” भनी लेखिएको पाइन्छ जसको अर्थ स्तूपलाई दोब्बर भन्ने अर्थमा बुझिन्छ । त्यस्तै चैत्यलाई पालि भाषामा चेतिय तथा नेपाल भाषामा चीभाः भनिन्छ । चित्तलाई प्रशन्न पार्ने र कुशल आधार दिने स्मारक नै चैत्य अथवा चेतिय हुन् । बौद्ध ग्रन्थ महापरिनिर्वाण सुत्तमा ‘वनचेतिय, रुक्ख चेतिय’ आदिको चर्चा गरिएको छ ।

यसरी हेर्दा स्तूप शब्दले माटाको ढिस्को वा आकृति जनाउँदछ भने चैत्य शब्दले पवित्र स्थान, प्रतीक आदिलाई बुझाउँदछ । यसर्थ चैत्य शब्दको अर्थ व्यापक र फराकिलो देखिन्छ । तर पछिल्लो कालमा आएर ठूलो आकारका लागि स्तूप र सानो आकारका लागि चैत्य शब्द प्रयोग गर्न थालेको देखिन्छ । स्तूप निर्माण गर्ने परम्परा बुद्धको जन्म हुनु भन्दा धेरै अघि देखि भए पनि यसलाई अलंकृत गर्ने, चैत्यको रूपमा विकास गर्ने काम भने बौद्धमार्गीहरूबाट भएको पाइन्छ । दीघनिकायको महापरिनिर्वाण सूत्रमा बुद्धको निर्वाणपछि उनको शरीरलाई के गर्ने ? भनी आनन्दले सोधेको प्रश्नमा अस्थि राखी चतुमहापथ (चौबाटो) मा चार पुद्गलहरू सम्यक सम्बुद्ध, प्रत्येक बुद्ध, अरहत तथा चक्रवर्ती राजाको स्तूप बनाउन योग्य हुन्छ भनी बुद्धबाट आज्ञा भएको उल्लेख छ ।

यसरी बुद्धको आज्ञा अनुसार परिनिर्वाण पश्चात् अग्निसंस्कार सम्पन्न गरी उनको अस्थिधातुलाई आठ भागमा बाँडी क्रमशः राजगृह, वैशाली, कपिलवस्तु, अल्लकप्पक, रामग्राम, वेठदीप, पावा र कुसीनगरआदि आठ राज्यहरूमा वितरण गरिएको, त्यस्तै पिप्पलवासीहरूले गोल र खरानी संकलन गरी लगेका र पछि यी सबै अवशेषहरूलाई निधान गरी स्तूप÷चैत्य निर्माण गरिएको थियो । पछि सम्राट अशोकले रामग्राम बाहेक अन्य सातवटा स्तूपहरू खोलेर त्यसभित्र रहेको अस्थिधातु झिकी चौरासी हजार स्तूप निर्माण गर्न लगाएको कुरा महावंहश नामक बौद्ध ग्रन्थमा उल्लेख गरिएको छ । बौद्ध धर्म–दर्शनको प्रचारसँगै चैत्य स्तूप (विहार) हरू क्रमशः विश्वका विभिन्न ठाउँमा स्थापना भएको पाइन्छ । जहाँ जहाँ बौद्ध विहारहरू निर्माण हुन्छन् त्यहाँ बौद्ध धर्म–दर्शनको प्रभाव बढेको पाइन्छ । यस क्रममा नेपालका विभिन्न ठाउँमा पनि चैत्य÷स्तूपहरूको विकास भएको पाइन्छ ।

नेपालमा निर्मित स्तूपहरू सामान्यतयाः एक वा एकभन्दा धेरै तहका आधारपेटी माथि निर्माण गरिएको पाईन्छ । स्वयम्भू एक तथा बौद्धनाथ तीन तहको पेटी माथि निर्माण गरी स्तूपको पेटीमाथि अर्धगोलाकार गर्भ रहेको, यही गर्भभित्र अस्थिधातु वा धर्मग्रन्थहरू पुरिएको, गर्भमा गवाक्षहरू खोपा बनाई पञ्चबुद्ध आदिका मूर्तिहरू राखिने गरेको, स्वयम्भू स्तूपमा पाँचवटा तथा बौद्धनाथमा १०८ वटा गावाक्षहरू बनाइएको छ । त्यस्तै स्तूपको गर्भमाथि चतुष्कोणाकार हर्मिका रहेको, हर्मिकामा आँखा तथा प्रश्नवाचक चिन्ह बनाउने चलन पनि पाइन्छ ।
त्यस्तैगरी कुनै कुनै स्तूपमा हर्मिकामाथि काठ वा धातुका तोरणहरू राखिने र तोरणमा पञ्चध्यानी बुद्ध तथा अन्य देवी–देवताका आकृति कुँदिएको पनि पाइन्छ । यस्तैगरी हर्मिका माथि १३ वटा तहहरू बनाई बौद्ध–धर्म अन्तर्गत १३ वटा लोकसँग सम्बन्धित स्वयम्भूमा धातुका गोलाकार त्रयोदश भुवन र बौद्धनाथ स्तूपमा ईटाको चतुष्कोणाकार भुवन राखिएको पाइन्छ । त्यस्तैगरी भुवनमाथि त्रिदण्डी, त्यसमाथि छत्र तथा छत्र माथि गजूर र आभरण राखिएको पाइन्छ । बुद्धको जीवनकालमै तपस्सु र भल्लुक नामक दुई व्यपारीले बुद्धसँग केश मागी त्यसबाट आफ्नो देशमा गई चैत्य निर्माण गरेको उल्लेख पनि पाइन्छ ।

त्यस्तैगरी बुद्धका उपदेशहरू, त्रिपिटक आदिलाई विभिन्न सामग्र्रीमा कुँदेर, खोपेर वा लेखेर निर्माण गरिएको स्मारकलाई धर्म चैत्य भन्ने गरिन्छ । त्रिपिटक ग्रन्थ तथा माण्डले (म्यानमार) बुद्ध मण्डल (बैंकक) का सम्पूर्ण शीलालेखहरू धर्म चैत्य अन्तर्गत पर्दछन् । त्यस्तै यस्ता धर्मग्रन्थहरू गर्भभित्र राखेर पनि धर्म चैत्य निर्माण गरिन्छ । उल्लिखित तीन प्रकारका चैत्य बाहेकका बुद्धको सम्झनामा बनाइएका सबै साना ठूला चैत्यहरू र त्यस्तै सबै बुद्ध मूर्तिहरू उद्देश्य चैत्य भित्र पर्दछन् । गोेपालराज वंशावली अनुसार वृषदेवले स्थापना गरेको सिनगुविहार, चावहिल र नेपालको लिच्छविकालीन शिलालेखहरूमा उल्लेख भएका मानविहार, राजविहार, गुमविहार, शिवदेव विहार, खर्जुुरिका विहार आदिका माध्यमबाट पनि बौद्ध दर्शनको सञ्चारमा भूमिका देखिन्छ । त्यस्तैगरी नेपालमण्डलमा रहेका स्वयम्भू, महाचैत्य, बौद्धखास्ती–महाचैत्य, विक्रमशिला महाविहार, श्रीधः विहार, हिरणवर्ण महाविहार, चतुब्रह्म महाविहार, आदिको पनि बौद्ध सञ्चारमा भूमिका देखिन्छ ।

निष्कर्ष

नेपालका विभिन्न भागमा जातजाति, भाषा–भाषी र संस्कृति आदिमा गौैतम बुद्धका विचारहरूको प्रभाव विभिन्न रूपमा रहेको पाइन्छ तापनि बुद्धको जन्मभूमि नेपालबाट जुन रूपमा विश्वव्यापी प्रचारमा नेपाल सरकार र जनस्तरबाट प्रयास हुनुपर्ने हो त्यसमा अझै कमी देखिएकोले योजनाबद्ध रूपमा प्रभावकारी सञ्चारको आवश्यकता देखिन्छ । नेपाल सरकारबाट लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना हुनु, सरकारी एवम् गैरसरकारी सङ्घ—संस्थामार्फत् विभिन्न कोशिसहरू गरिनु र विश्वका विभिन्न स्थानका निवासी बौद्ध विद्वान् एवम् अनुयायीबाट भएका रचनात्मक प्रयासहरूले बौद्ध धर्म–दर्शनको प्रचार–प्रसारमा योगदान पुगेको देखिन्छ ।
बुद्धका विचारहरूलाई आम जनमानसमा पु¥याउनका लागि सञ्चारको ठूलो भूमिका हुन्छ । आधुनिक विश्वमा विकसित भएका सञ्चारका विभिन्न माध्यमहरूको सुविचारित प्रयोगले बौद्ध दर्शनको प्रभाव विस्तारमा योगदान पुग्न सक्ने देखिन्छ । समाजमा शान्ति स्थापना गर्नमा बुद्धका विचारले वैज्ञानिक दृष्टिकोण दिएको छ । ती विचारलाई सञ्चार क्षेत्रले आत्मसात् गरी विश्वमा बढ्दै गएको हिंसाका घटनाहरूको न्यूनीकरण गर्नमा महत्वपूर्ण भूमिका खेल्न सक्ने देखिन्छ । पछिल्लो समयमा भएको सूचना प्रविधिको चमत्कारिक विकासले विश्वलाई नै एउटा गाउँमा परिणत गरेको परिवेशमा नयाँ सञ्चारका माध्यम मार्फत् बुद्धका विचारको प्रभावकारी सम्प्रेषण गर्न सकेमा बौद्ध धर्मदर्शनको प्रभाव विस्तार हुन गई समाजमा शान्ति स्थापना हुन सक्ने देखिन्छ ।

बौद्ध धर्म–दर्शनको प्रभाव–विस्तार एवम् प्रचार–प्रसारका लागि समय–समयमा आयोजना गरिने भेला, सम्मेलन आदिको योगदान पनि महत्वपूर्ण रहेको छ । वि.संं. २०५५ मंसिर १५ र १६ गते लुम्बिनीमा आयोजित विश्व बौद्ध शिखर सम्मेलन र त्यस यता २०७७ सम्म भएका बौद्ध सम्मेलनहरू र ती सम्मेलनहरूमा विश्वका सरकारी एवम् गैर सरकारी निकायका विशिष्ट व्यक्तिहरूको सहभागिताले पनि लुम्बिनी क्षेत्रलाई विश्वका समस्त बौद्ध मार्गी तथा शान्तिप्रेमी नागरिकहरूको तीर्थस्थलको रूपमा विकास र प्रवद्र्धनका लागि सकारात्मक भूमिका खेलेको पाइन्छ । नेपालको लुम्बिनीमा गौतमबुद्ध जन्मेका थिए भन्ने कुरा सन् १८९५ मा जर्मन पुरात्वविद् फ्युहरर नेपाल आई वैज्ञानिक विधिद्वारा अनुसन्धान गर्दा गौतम बुद्धको जन्मस्थल लुम्बिनी नै भएको निश्चित गरे । उनले शाक्यवंशीय राजा शुद्धोदनको दरबार कपिलवस्तुको तौलिहवादेखि तीन किलोमिटर उत्तर तिलौराकोट भएको पत्ता लगाएका थिए । त्यसदेखि यता गौतम बुद्धको जन्मदेखि महापरिनिर्वाण सम्मका क्रियाकलापका बारेमा विभिन्न ढंगले खोज अनुसन्धान गर्ने कार्य अगाडि बढेको पाइन्छ । गौतम बुद्धको व्यक्तित्व, विचार र मानव समाजका लागि जीवननोपयोगी असल व्यवहारका बारेमा नेपाल भित्र मात्र होइन विश्वस्तरमै व्यापक प्रचारप्रसार गरिनु आवश्यक छ । गौतम बुद्धका विचारकोे विश्वव्यापी प्रचारसँगै नेपालको पनि विश्वमा पहिचान स्थापित हुनेछ ।
भवतु सब्ब मङ्गलम् ।

सन्दर्भ–सामग्री
लक्ष्मण शाक्य, स्वर्ण जयन्ती विशेषाङ्क, ‘बुद्ध धर्मको प्रचार नेपालको सन्दर्भ’ पोखराः ज्ञानमाला संघ, धर्मशीला बुद्धविहार २०७२ ।
साफल्य अमात्य, ‘एसियामा बौद्ध धर्म र कलाको प्रचार ’, ‘बुद्धको सम्झना कल्याणको कामना’ काठमाडौं ः दीपा राजकणिकार, २०४७ ।
मेघराज ज्ञवाली, गौतम बुद्ध कपिलवस्तु–लुम्बिनी तथा प्रस्तावित विश्वशान्ति सहर, कपिलवस्तुः मुना ज्ञवाली २०६९ ।
गितु गिरी, आर्ट एन्ड आर्किटेक्चर रिमाइन्स इन द वेस्टर्न तराई रिजन अफ नेपाल, दिल्लीः अडरोल्ट पब्लिशर्स, सन् २००३ ।
गितुु गिरी, लुम्बिनीको इतिहास, लुम्बिनीः लुम्बिनी इन्टरनेशनल रिसर्च इन्स्टिच्युट, सन् २०१० । अथ राजा चतुरङ्गबलकायं संनाह्य गन्धमाल्यपुष्पमादाय स्थविरोपगुप्तसहायः सम्प्रस्थितः । अथ स्थाविरोपगुप्तो राजानमशोकं सर्वप्रथमेन लुम्बिनीवनं प्रवेशयित्वा दक्षिणं हस्तमभिप्रसार्योवाच– अस्मिन महाराज प्रदेशे भगवान् जात,– पी.एल. वैद्य (सं.)–दिव्यावदानम् कुणालावदानम् (दरभंगाः मिथिलाविद्यापीठेन प्रकाशितम्, सन् १९९९ ।

भरत सिंह उपाध्याय, बुद्धकालीन भारतीय भूगोल, इलाहवादः हिन्दी साहित्य सम्मेलन, सन् १९९१ ।
छत्रराज, शाक्य, नेपालको लुम्बिनी अञ्चलमा बौद्धहरू र बौद्ध गतिविधि, लुम्बिनीः अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन, १५–१८ नोभेम्बर, २०१४ मा प्रस्तुत कार्यपत्र ।
Chomsky, Noam . Media control: The Spectacular achievements of Propoganda, New Yourk: Seven Story Press 1997.
नारायण प्रसाद पौडेल, अन्तर्वार्ता, पूर्व अध्यक्ष, नेपाल पत्रकार महासंघ, कपिलवस्तु, २०७३ ।
भद्ररत्न बज्राचार्य, ‘नेपालमा थेरवादी बौद्ध सम्प्रदायः एक अध्ययन’ , काठमाडौंः समकालीन मातृभूमि, वर्ष १, अङ्क १ ।
सुदर्शन, बुद्धको जन्मभूमि नेपालमा बुद्ध धर्मप्रति असहिष्णुता, काठमाडौंः सानुरत्न स्थापित, २०४८ ।
धनवज्र बज्राचार्य, लिच्छविकालका अभिलेख, काठमाडौंः नेपाल र एसियाली अनुसन्धान केन्द्र, २०५३, (नरेन्द्रदेवको सं. १०३, पाटन याकवाहालको अभिलेख ।
देवेन्द्रराज शाक्य, थेरवाद बुद्धधर्म, बुटवल ः लालमणि पोखरेल÷कृष्ण कुमारी, २०७१ ।
जगमान गुरुङ्ग, ‘नेपालका बौद्धहरू ः एक विवेचना ’, लुम्बिनीः दोस्रो राष्ट्रिय बौद्ध सम्मेलनमा प्रस्तुत कार्यपत्र, २०४६ ।
रमेश ढुङ्गेल, ‘बुद्धधर्म र परम्पराको खोजी व्याख्यामा पण्डित अमृतानन्द र हज्सन ’, अन्नपूर्ण पोष्ट दैनिक, काठमाडौँ ः वर्ष १३, अङक १७, २०७१ जेठ ३ ।
सन्तबीरलामा, तम्बा कइतेन् ह्राई रिमठिम, काठमाडौं ः रत्न पुस्तक भण्डार, २०२६ ।
खेम्पो ङवाङ् वोशेर लामा (शेर्पा), हिमाली क्षेत्रको नेपाली बौद्ध परम्परा, काठमाण्डौः नेपाल र एसियाली अनुसन्धान केन्द्र, २०६३ ।
शेखर दाहाल, ‘बज्रयान र नामसङ्गीतिको महत्व’ , श्रमणविद्या (अनुसन्धानात्मक पत्रिका), काठमाडौंः श्रमणविद्या प्रकाशन समिति, बाल्मीकि विद्यापीठ, २०६९ ।
भुवनलाल प्रधान, स्वयम्भू संक्षिप्त परिचय, काठमाण्डौः तीर्थनारायण– नारायणदेवी लुमन्ति सन् २००८ ।
सिङमान तामाङ, २१ औँ शताब्दीको तामाङ समाज, ललिपपुरः २०५५ ।
जनकलाल शर्मा, कौतुकमय डोल्पो, काठमाडौं ः साझा प्रकाशन, २०३१ ।
केदार शाक्य, ‘बुद्ध धर्म र दर्शनको विस्तार’, बुद्धको सम्झना कल्याणको कामना, काठमाडौंः दीपा राजकर्णिकार, कमलपोखरी, २०३९ ।
जगमान गुरुङ्ग, गुरुङ जाति कथा संस्कृति प्रथम संस्करण, याङ्जाकोट ः २०३५ ।
शान्ति भिक्षु शास्त्री, ललितविस्तर, प्रथम संस्करण, लखनउः उत्तरेप्रदेश हिन्दी संस्थान, सन् १९८४ ।
इमानसिंह चेमजोङ, हिस्टोरी एण्ड कल्चर अफ द किरात पिपुल पार्ट १,२, फिदिम ः तुमिङ हङ्ग, सन् १९६६ ।
सुबोध कुमार सिंह, काठमाडौँका शाक्य र कोलीयाहरू, शाक्यमुनि बुद्ध र सम्राट अशोक, काठमाडौँः बबिता सिंह, २०७० ।
घनश्याम कँडेल, ‘बुद्ध दर्शन र नेपालि सँस्कृतिमाथि बुद्धको प्रभाव’, ‘बुद्धको सम्झना कल्याणको कामना’, काठमाडौं ः दीपा राजकर्णिकार, २०३९ ।
शाक्य, अर्चना, बौद्ध चैत्य तथा स्तूप, धर्मचक्र स्मारिका, तानसेनः धर्मचक्र बौद्ध युवा संघ, श्री धर्मचक्र महाविहार २०६८ ।
भिक्षु, सुदर्शन, चैत्य पूजा, काठमाडौँः हेरामाया शाक्य, २०३७ ।

(सञ्चारमा शान्ति सिद्धान्तका प्रवर्तक डा. चापागाईंले लुम्बिनी बौद्ध विश्वविद्यालयबाट ‘बौद्धदर्शन र सञ्चार’ विषयमा विद्यावारिधि (PH.D ) गर्नुभएको छ ।)

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक