20230410

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठको मेडिकल व्यवसायीसँग पैसा ‘डिल’ गर्दै गरेको ‘अडियो टेप’ सार्वजनिक भए पछि के के भैरहेको छ अहिले ?

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठको मेडिकल व्यवसायीसँग पैसा ‘डिल’ गर्दै गरेको ‘अडियो टेप’ सार्वजनिक भएको छ । सांसद श्रेष्ठले स्वास्थ्यमन्त्री बन्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग साढे दुई करोड रुपैयाँ मागेको अडियो टेप सार्वजनिक भएको हो । कपुरबोट मिडिया नामक अनलाइनमा सार्वजनिक अडियोमा सांसद श्रेष्ठले व्यवसायी प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको सुनिन्छ । स्वास्थ्यमन्त्री बन्न पार्टीका केही मान्छेले पैसा मागेको भन्दै श्रेष्ठले प्रसाईंसँग दुई करोडमा कुरा मिल्न सक्ने बताउनुभएको छ । अडियोमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री आफ्नो पार्टीको भाग परेको श्रेष्ठले प्रसाईंलाई सुनाउनुभएको छ । उहाँले प्रसाईंसँग दुई करोड रुपैयाँ व्यवस्थापन गरिदिन आग्रह गर्नुभएको छ । तत्काल एक करोड भए पनि मन्त्री बनाउन ‘पार्टीको कोर टिम’ तयार रहेको उहाँको भनाइ छ । बाँकी चेक दिन सकिने उहाँको भनाइ छ । ‘हामीले स्वास्थ्य पाउने भयौँ । मलाई साढे दुई जति चाहियो भनेका छन् । मेरो पक्का चाहिँ भयो,’ श्रेष्ठले प्रसाईंलाई भन्नुभएको छ, ‘आज मैले फिक्स गर्नुछ । म फेरि आर्थिकमा त्यतिसारो छैन । मन्त्री पनि बन्नुप¥यो । अब यो स्वास्थ्य क्षेत्रलाई पूरै धोइपखाली र सुधार पनि गर्नुप¥यो । मैले धेरै सुधार पनि गर्छु, त्यसमा हजुरहरूको सहयोग, सपोर्ट चाहियो भन्ने कुरा हो ।’

उहाँले पार्टीमा पैसा कसले मागेको हो भन्ने खुलाउनुभएको छैन । तर, ‘रवि (सभापति लामिछाने) सरलाई सहयोग गर्ने कोर टिमले मागेको’ अडियोमा बताउनुभएको छ । ‘पार्टीको कुरा गर्दा दुई/तीनजना छुट्टै हुनुुहुन्छ, सुरुआती क्षणदेखि नै सहयोग गर्ने रवि सरलार्ई । त्यही टिमबाट मलाई कुरा आएको हो । फेरि उधारो हुँदैन भनेका छन्,’ श्रेष्ठले भन्नुभएको छ, ‘मैले रवि सरलाई भन्दा पनि उहाँ देखा पर्नुभएको त छैन । पार्टीलाई नै जान्छ भनेका छन् । कसरी गर्छन् थाहा छैन ।’ अडियोअनुसार प्रसाईंले दिनसमेत तयार हुनुभएको छ । तर, त्यसका लागि एक÷दुई दिन समय लाग्ने र भेटेर फाइनल गर्ने प्रसाईंले बताउनुभएको छ । त्यसका लागि आफ्नो काम गरिदिनुपर्ने प्रसाईंको शर्त छ । जुन शर्त मान्न श्रेष्ठ तयार हुनुभएको छ । माघ २ गते भेट्ने प्रसाईंले आश्वासन दिनुभएको छ । तर, उहाँहरूबीच भेट भयो या भएन त्यसबारे अडियोमा केही खुलेको छैन । गत पुस १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा रास्वपा सामेल भएको थियो । रास्वपाबाट सभापति लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्नुभएको थियो भने अरू दुई मन्त्री र एकजना राज्यमन्त्री थिए ।

ढाकाकुमार श्रेष्ठ भने मन्त्री बन्नुभएको थिएन । पछि सभापति लामिछानेको सांसद पद गुमेपछि रास्वपा सरकारबाट बाहिरियो । तर, अहिले पनि रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । गत निर्वाचनभन्दा केही अघि मात्रै गठन भएको रास्वपाले सुशासनबारे चर्का नारा लगाएको थियो । तर, एकपछि अर्को विवादित प्रकरणमा पार्टीका सांसदहरू जोडिन थालेपछि चर्को आलोचना भइरहेको छ । सभापति रवि लामिछानेको नागरिकता प्रकरणमा पनि चर्को आलोचना भएको थियो । अझै राहदानी प्रकरणमा पनि सत्तासँग साँठगाँठ गरेको आरोप छ ।

यसअघि पनि लागेको थियो आर्थिक हिनामिनाको आरोप

रास्वपा सांसद श्रेष्ठ विवादमा तानिएको यो पहिलोपटक भने होइन । यसअघि पनि उहाँ आर्थिक विवादमै तानिनुभएको थियो । उहाँमाथि एक सहकारीमा पैसा हिनामिना गरेको आरोप उहाँमाथि लागेको थियो । एक समय उहाँ सञ्चालक रहेको साथी किसान कृषि सहकारी संस्था लिमिटेडले केही महिनायता बचतकर्ताको पैसा फिर्ता गर्न सकेको छैन । श्रेष्ठले खोलेको पोखरा महानगरपालिका–७ स्थित सहकारीका बचतकर्ता पैसा फिर्ता नपाएपछि हैरान बनेका छन् । उनीहरूले प्रशासन र पुसको अन्तिम साता महानगरलाई समेत गुहारेका छन् ।


महानगरले तीन महिनाभित्र रकम तिर्न सहकारीलाई निर्देशन पनि दिएको थियो । अहिले सहकारी बन्द छ । सहकारीमा चार महिनायता कुनै पनि कारोबार भएको छैन । सांसद श्रेष्ठ राजनीतिमा लाग्ने भन्दै गत कात्तिकबाट सहकारीको नेतृत्व शनि पाठकलाई दिँदै बाहिरिनुभएको थियो । कात्तिक ९ मा बसेको संस्थाको अधिवेशनमा श्रेष्ठले पाठकलाई सहकारीको नेतृत्व सुम्पिनुभएको थियो । तर, हिसाबकिताबको बरबुझारथ नगरेपछि नयाँ नेतृत्वले काम गर्न नसकेको हो । श्रेष्ठ अध्यक्ष रहँदा बचतकर्ताको रकम आफ्नै व्यवसायमा लगेर फसाएको आरोप छ । सहकारीमा हाल १०५ जना सेयर सदस्य छन् । घटनापछि श्रेष्ठले भने पत्रकार सम्मेलन गरेर आफूलाई फसाउन खोजिएको बताउनुभएको थियो ।


२४ घण्टे स्पष्टीकरण, अनुशासन समितिले छानविन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद श्रेष्ठमाथि छानविन गर्ने भएको छ । व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएपछि पार्टीले सत्यतथ्य छानविन गर्ने भएको हो । छानविन गरेर तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको प्रवक्ता मुकुल ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार छानविन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि काम कारबाही नगर्न नगराउन निर्देशन दिएको छ । केन्द्रीय अनुशासन तथा आचरण समितिले यस सम्बन्धमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न श्रेष्ठलाई निर्देशनसमेत दिएको छ ।


दुई करोड मागेको अडिओ सार्वजनिक भएपछि रास्वपा सांसद श्रेष्ठमाथि पार्टीले छानविन गर्ने भएको छ । छानविनसम्मका लागि उहाँलाई निलम्बन गरिएको छ । छानविनमा उहाँ दोषी ठहरिए उहाँको पद सधैँका लागि जान सक्नेछ । आरोप प्रमाणित भए पार्टीले निलम्बित गरेको पत्र संसद् सचिवालयमा पठानेछ र संसद् सचिवालयमा आएको पत्र सभामुखले प्रतिनिधिसभाको बैठकमा पढेर सुनाएपछि पद रिक्त हुन्छ । श्रेष्ठ आदिवासी जनजाति कोटाबाट समानुपातिक सांसद हुनुभएको थियो । उहाँको पद गुमेपछि आदिवासी जनजाति क्लष्टरबाट दोस्रो सूचीमा रहनुभएका मेघबहादुर आले सांसद बन्नुहुनेछ ।


थप अनुसन्धान गर्न प्रहरी र अख्तियारमा निवेदन दिन्छौं : सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद ढाकाकुमार श्रेष्ठको विवादास्पद टेलिफोन संवादबारे छानबिन गर्न आफू स्वयंले प्रहरी प्रशासन र अख्तियारमा निवेदन दिने बताउनुभएको छ ।


आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि प्रचारप्रसारमा बारा जिल्लाको गढीमाई मन्दिरमा बोल्दै पार्टी सभापति लामिछानेले ७२ घण्टाको अल्टिमेटम दिएको र थप अनुसन्धानका लागि प्रहरी र अख्तियारमा निवेदन दिने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘पार्टीभित्र छानबिन हुँदैछ, त्यसबीचमा सांसद श्रेष्ठलाई कानुनी कारबाहीमा ल्याउन अनुसन्धानका लागि प्रहरी प्रशासन र अख्तियारमा निवेदन दिनेछौं ।’


राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो सांसद डा ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न दुई करोड मागेको विषयले सदन र सांसदको गरिमामा पर्न गएको मानमर्दनप्रति क्षमा मागेको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले डा. श्रेष्ठको टेलिफोन संवादको अडिओ सार्वजनिक भएसँगै श्रेष्ठमाथि छानबिन प्रक्रिया थालिसकेको जानकारी दिनुभयो ।


पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई तीन दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन निर्र्देशन दिएको र सोही बमोजिम आइतबार २४ घण्टे स्पष्टीकरण सोधिएको परियारले जानकारी दिनुभयो । डा. श्रेष्ठलाई साधारण सदस्यको हैसियतसमेत गर्नुपर्ने काम गर्न पनि रोक लगाएर कारबाही थालिएको भन्दै उहाँले रास्वपा यस्ता कार्य दोहोरिन नदिन सचेत रहेको बताउनु भयो ।


 श्रेष्ठले मन्त्री बन्न दुई करोड मागेको भन्ने टेलिफोन संवादको सार्वजनिक अडिओ रेकर्डबारे अध्ययन गर्न संसदीय समिति गठन गर्न माग गरिएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद धनराज गुरुङले उक्त अडिओमा कोर टिमलाई दुई करोड रुपैयाँ बुझाउनुपर्ने बताएको भन्दै यसबारे अध्ययन र छानबिन गर्न संसदीय समिति गठन गर्न माग गर्नुभएको हो ।


‘उक्त टेलिफोन संवादमा कोर टिमलाई दुई करोड बुझाउनुपर्ने बताइएको छ । त्यो कोर टिम भनेको को हो रु यसबारे छानबिन गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘यसका लागि आजकै बैठकले संसदीय समिति गठन गरियोस् ।’ साथै उहाँले नेपालीलाई भुटानी शरणार्थी बनाउने गिरोहबारे पनि छानबिन गर्नुपर्ने बताउनु भयो । यस कार्यमा जो सुकै भए पनि कारबाही गर्नुपर्ने उहाँको माग छ । 


उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो प्रकरणको अनुसन्धान गर्ने बताउनुभएको छ ।


सोमबार बिहान चितवनको भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको उत्तरमा गृहमन्त्री श्रेष्ठले भन्नुभयो, ‘अडियो अनुसन्धान गरी सो अनुसार अगाडि बढ्ने छौं ।’


‘दुई करोडको कुरा आएको छ । त्यसलाई आधिकारिक रूपमा अनुसन्धानको प्रक्रियाबाट हामी कोही निष्कर्षमा पुगिसकेका छैनौं । अनुसन्धानको प्रक्रिया अघि बढेपछि अनुसन्धानबाट जे पुष्टि हुन्छ त्यही अनुसार हामी अघि बढ्ने कुरा हुन्छ,’ सञ्चारकर्मीलाई गृहमन्त्रीले भन्नुभयो ।


रास्वपाका सांसद डा. श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो आइतबार सार्वजनिक भएको थियो । अडियोमा सांसद श्रेष्ठले रास्वपा समापति रविको नाम लिँदै आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीको कोर टिमलाई दुई करोड रुपैयाँ बुझाउनुपर्ने बताउनुभएको छ ।


अडियोको लिखित रुप 

दुर्गा प्रसाईं : नमस्ते के छ नि हालखबर ?

ढाकाकुमार श्रेष्ठ : ठीक छ सर, म पनि भर्खर भर्खर उठेको ।

दुर्गा प्रसाईं : त्यही त राति अनि मैले पनि फोन अफ गरें । सुत्ने बेला भएर चार्जमा राखेर सुतें । अनि नि, खास चाहिँ कुरा के मलाई अलिकति भन्नु त डाक्टर साब ।

ढाकाकुमार श्रेष्ठ : स्वास्थ्य हामीले पाउने भयौ‌ं । पार्टीलाई अलि अलि सहयोग गर भनिएको छ । आन्तरिक कोर टिम २/३ जनाको । साढे २ जति चाहियो भन्दै थिए मलाई हिजो । मेरो पक्का चाहिँ पक्का भयो । आज त्यो मैले फिक्स गर्नुछ के दाइ, सर । म फेरि आर्थिकमा त्यस्तो उ छैन । मन्त्री पनि बन्न पर्‍यो । धोइपखाली गरेर यो स्वास्थ्य क्षेत्र सुधार्न छ ।

ढाकाकुमार श्रेष्ठ : केही गर्छु भनेर मैले सोच गरेको छु । त्यसमा हजुरहरुको सहयोग सपोर्ट चाहियो ।

दुर्गा प्रसाईं : अच्छा, मैले तपाईसँग एउटा कुरा बुझ्न खोजेको । राष्ट्रिय स्वतन्त्र पार्टीमा डाक्टर भनेको मैले त डाक्टर तोसिमा कार्की मात्रै छिन् भनेर बुझेको थिएँ ।

ढाकाकुमार श्रेष्ठ : होइन नि हामी तीन जना छौं ।

दुर्गा प्रसाईं : को को ?

ढाकाकुमार श्रेष्ठ : म भएँ, तोसिमा कार्की र चन्दा कार्की ।

दुर्गा प्रसाईं : ए साच्ची चन्दा कार्की म्याम पनि हुनुहुन्छ नि है ?

ढाकाकुमार श्रेष्ठ : चन्दालाई हजुरले चिन्नुहुन्छ होला ।

दुर्गा प्रसाईं : डाक्टर साबको घर चाहिँ कहाँ हो डाक्टर साब ?

ढाकाकुमार श्रेष्ठ : मेरो पोखरा हो सर ।

दुर्गा प्रसाईं : ए, अनि एमबीबीएस कहाँ गरेको ?

ढाकाकुमार श्रेष्ठ : मैले चाइनाबाट हो सर ।

दुर्गा प्रसाईं : ए । अनि एमडी ?

ढाकाकुमार श्रेष्ठ : एमडी अहिले मैले गरेको छैन । एमबीबीएस मात्रै हो ।

दुर्गा प्रसाईं : एमएस चाहिँ ?

ढाकाकुुमार श्रेष्ठ : पछि यता अर्कै तिर…। पढ्ने भन्दा भन्दै पोलिटिक्स तिर आएँ म ।

दुर्गा प्रसाईं : अब हेर्नुस है । स्वास्थ्यमा धेरै ठूलो समस्या छ । हैन डाक्टर साब ? देशमा भएका सबै नर्सिङ कलेज बन्द गराए । आज नर्स पढ्न पाउँदैनन् । दुबईका डान्सबारमा हाम्रै चेलीबेटीले डान्स गरेका छन् । त्यसो गर्न भन्दा नर्स पठाऔं । हो कि होइन ?

ढाकाकुमार श्रेष्ठ : हो नि त । हो नि त ।

दुर्गा प्रसाईं : मैले त डाक्टर उत्पादन गरौं । सयवटा मेडिकल कलेज खोलौं भनेको हुँ । हो कि होइन भन्नु त ? इण्डियाबाट विद्यार्थी ल्याऔं । हस्पिटल फ्री गरौं । कति राम्रो कुरा गरेको मैले ?

ढाकाकुमार श्रेष्ठ : हो नि ।

दुर्गा प्रसाईं : डाक्टर साबको नाम ढकबहादुर कि के हो ?

ढाकाकुमार श्रेष्ठ : ढाकाकुमार श्रेष्ठ

दुर्गा प्रसाईं : ए, ढाकाकुमार श्रेष्ठ । अच्छा मैले त्यो कुरो बुझें । सल्लाह गरेर अघि बढौंला । तपाईसँग मैले एउटा कुरा भन्न खोजेको, अहिले हामी त ह्वाट्स एपमा छौं । मतलब भएन । मुकुलहरुले त स्वास्थ्य र शिक्षा नलिने भन्थे त ?

ढाकाकुमार श्रेष्ठ : स्वास्थ्य, शिक्षा नलिने…। मुकुलजीलाई यो कुरा त्यति थाहा छैन सर । आन्तरिक कुरा हो । मुकुल जी पनि त्यो कोर टिममा हुनुहुन्न के । बाहिर बाहिर महामन्त्री नै हो । हजुरलाई पार्टीको कुरा गर्दा त्यहाँ २/३ जना छुट्टै हुनुहुन्छ रविसरलाई धेरै सहयोग गर्ने । सुरुवाती क्षणदेखि नै धेरै सहयोग गर्ने । त्यो टिमबाट मलाई कुरा आएको हो । आज मैले पैसा पेश गर्नुपर्दछ । उधारो हुन्न भन्छन् फेरि ।

दुर्गा प्रसाईं : क्यास पैसा । अढाई करोडको कुरा आयो ? दुई करोड ?

ढाकाकुमार श्रेष्ठ : दुई साढे दुई करोड भनेका छन् । अहिले मैले एक दिएँ भने पनि मान्छन् होला । पछिको चेक दिए पनि मान्छन् के २/३ दिनको ।

दुर्गा प्रसाईं : आज बन्द छ नि त । सुन्नुस् है कुरा । बैंकबाट ९ लाख ९९ हजार भन्दा बढीको चेक साटिँदैन । सुन्नुस् क्लियर कुरा । एउटा टाइम राखेर गर्ने हो भने मैले दिन्छु, म सहयोग गर्छु तपाईंले भनिहाल्नुभयो । भोलि मेरो पनि काम गर्नुपर्छ तपाईंले?

ढाकाकुमार श्रेष्ठ : होइन, होइन त्यो त म गर्छु । मलाई त यो गोविन्द केसी देखेर दिक्क लाग्छ । कहिले मर्छ जस्तो लाग्छ । पुरै एमबीबीएस पढ्न नपाएको पनि तिनले गर्दा हो ।

दुर्गा प्रसाईं : मैले मेरी छोरीलाई एमडी पढ्न जापान पठाउन पर्‍यो । टोकियो युनिभर्सिटीमा ३ करोड तिरेर । मेरो आफ्नोमा पढाउन पाइनँ ।

ढाकाकुमार श्रेष्ठ : त्यही त । यो सबै बेथिति छ ।

दुर्गा प्रसाईं : मेरो त हेर्नुस् न । म त कति मरेको छु । मेरो मेडिकल कलेज हेर्नुस् त । सबै भौतिक पूर्वाधार पुगेको र काठमाडौं उपत्यका बाहिरको । मेची अञ्चलमा ३२ लाख पपुलेसन छ । म त डुबेको छु कि छैन ? म त मर्न मात्रै बाँकी छ ।

ढाकाकुमार श्रेष्ठ : त्यही त । यस्तो कुरा हटाउनुपर्छ सर । यो पनि समस्या समाधान गर्नुपर्दछ ।

दुर्गा प्रसाईं : शिक्षा चाहिं कसले लिने भएछ भाइ, हँ डा साब?

ढाकाकुमार श्रेष्ठ : शिक्षा हामीलाई परेन जस्तो छ सर ।

दुर्गा प्रसाईं : ए, शिक्षा हजुरबुवा (केपी शर्मा ओली) ले राखे होलान् ।

ढाकाकुमार श्रेष्ठ : अँ सायद राख्नुभयो होला ।

दुर्गा प्रसाईं : किनभने यसपालि मेरो कलेजलाई पनि एफिलिएसन दिनुपर्ने छ के हजुरबुवाले ? सबै कुरा सकिएको छ कि । काठमाडौं युनिभर्सिटीले एफिलिएसन दिएको छ । सिट मात्रै टुंगिएको छैन । त्यो (श्रीकृष्ण) गिरी त नारायणकाजीको मान्छे हो नि त । त्यहाँबाट पैसा उठाएर लगेर नारायणकाजीलाई बुझाउने मान्छे हो के त्यो ।

ढाकाकुमार श्रेष्ठ : ए हजुर हजुर ।

दुर्गा प्रसाईं : यसो गर्नुस् न त ।

ढाकाकुमार श्रेष्ठ : हजुर निश्चिन्त हुनुस् । अब काम तपाईं म मिलेर गर्ने हो ।

दुर्गा प्रसाईं : एकछिन एकछिन । भोलि केपी ओली झापा आउँदै हुनुहुन्छ । भोलि दुई गते । आज त छुट्टी भइगयो । म भोलि बेलुका हजुरबुबासँगै म काठमाडौं आउँछु । तपाई र म भेटौला । तपाईंको यो उस्को ग्यारेन्टी गर्नुस् । तपाईलाई गर्ने सहयोग म गर्छु । तपाईंले भन्नुभयो नि, जुन दुई । म आएर गरौला । तर अलिकति टाइम लाग्छ है । पैसा मिलाएर निकाल्नुपर्छ । त्यत्तिकै निस्किँदैन हचुवामा । अहिले त बैंकले जम्मै सिस्टम खोज्छ । त्यति सजिलो हुँदैन । भ्वाक भ्वाक बाकसमा पैसा लिएर त गाह्रो छ ।

ढाकाकुमार श्रेष्ठ : अँ ।

दुर्गा प्रसाईं : कुरो बुझ्नु भयो के ? त्यो त कसैले पनि दिन सक्दैन, आजको आजै पैसा । नेपालमा कसैले सक्दैन ।

ढाकाकुमार श्रेष्ठ : त्यही त ।

दुर्गा प्रसाईं : अनि फेरि हिजो ।

ढाकाकुमार श्रेष्ठ : समस्या छ त ।

दुर्गा प्रसाईं : हिजो पुस मसान्त । हिजो बैंकको ब्याज बुझाइयो ।

ढाकाकुमार श्रेष्ठ : अँ । हजुरलाई नि साह्रै गाह्रो छ होला है बिचरा ।

दुर्गा प्रसाईं : गाह्रो छ नि । म त हिजो पुस मसान्तमा ब्याज बुझाएँ । मेरो उ स्वास्थ्य बीमाको पैसा १४, १४–१५ करोड पैसा अझै दिएको छैन स्वास्थ्य बीमाले अढाई वर्षदेखि ।

ढाकाकुमार श्रेष्ठ : अँ । बीमा पनि अहिले नेपालमा १२ अर्बको चैं लगानी हुने रहेछ नेपालमा ।

दुर्गा प्रसाईं : हो त नि ।

ढाकाकुमार श्रेष्ठ : बीमा पनि सप्बैतिर लागू गर्नु पर्ने छ ।

दुर्गा प्रसाईं : हैन त्यो त । बीमा कसरी लागु गर्ने म तपाईँलाई भन्दिन्छु । अब तपाईंले के कुरा ग्यारेन्टी गर्नु भने दुई करोड पैसा मैंले दिने भएँ तपाईँलाई हैन ।

ढाकाकुमार श्रेष्ठ : हजुर ।

दुर्गा प्रसाईं : यो पैसा पनि त तपाईंले उही रविलाई त बुझाउनु पर्ला नि हैन भोलिपर्सि ?

ढाकाकुमार श्रेष्ठ : अँ । मैले रवि सरलाई भन्दा पनि रवि सर देखा पर्नुभएको छैन । बाहिरको २ जना ३ जना साथीहरु हुनुहुन्छ ।

दुर्गा प्रसाईं : अँ ।

ढाकाकुमार श्रेष्ठ : उहाँहरुलाई दिने हो । अब पार्टीलाई जान्छ भनेका छन् क्यारे ।

दुर्गा प्रसाईं : अँ । अब यी सबै कमाउने त हुन् नि भाइ । अब के भन्नु ?

ढाकाकुमार श्रेष्ठ : अँ, अब कसरी गर्छन् थाहा छैन । पार्टीमा जान्छ कि जान्न त्यो पनि मलाई थाहा छैन । मैले सोधेकै छैन क्या । पार्टी कमजोर छ । अहिले स्रोत यति छ साह्रै गाह्रो छ भन्या छन् ।

दुर्गा प्रसाईं : ए ।

दुर्गा प्रसाईं : ल सर ठीकै छ । म भोलि बेलुका नभए पर्सि आउँछु अनि दाजु भाइ भेटौंला नि त । तपाईँले उ ग्यारेन्टी गर्नुस म दिन्छु । तर मलाई अलिकति टाइम चाहियो भन्नुस् ।

ढाकाकुमार श्रेष्ठ : अँ ।

दुर्गा प्रसाईं : है ।

ढाकाकुमार श्रेष्ठ : अँ । हुन्छ सर । म त्यो कुरा गर्छु ।

दुर्गा प्रसाईं : ल ल ल ल ।

ढाकाकुमार श्रेष्ठ : हजुर भोलि आउनुहुन्छ ? बेलुका ?

दुर्गा प्रसाईं : अँ म भोलि बेलुका । यहाँ हजुरबुबा आउने भएर बस्नुपर्‍यो कि । अनि म भोलि आउँछु ।

दुर्गा प्रसाईं : है । है है डाक्टर साब ।

ढाकाकुमार श्रेष्ठ : हस हस हस सर ।

दुर्गा प्रसाईं : हस हस हस ।

ढाकाकुमार श्रेष्ठ : हस हस हस । तपाईँ र म चाहिँ सबै सल्लाहले । के के गर्नुपर्छ ? सल्लाहले अघि बढौंला ।

दुर्गा प्रसाईं : तपाईंलाई मैले । तपाईँलाई मैले एउटा के कुरा ग्यारेन्टी गरेँ भने २ करोड रुपैयाँ दिने ग्यारेन्टी गरेँ । तपाईंलाई म सजिलो बाटो देखाइदिन्छु । त्यो आएर म आएर मिलाउँछु । त्यसमा पीर नगर्नुस् । उनीहरुसँग टाइम माग्नुस् । ल म दिन्छु भनेर भन्नुहोस् । सक्कियो कुरा ।

तपाईं र म एक ठाउँमा भेट्नुपर्छ । भेटिराख्नु पनि पर्दैन । फोन पनि गर्नु पर्दैन । तपाईँलाई । म जति भिडेको छु नि यो स्वास्थ्य क्षेत्रमा । गोविन्द केसी के भिडेको छ ? कुरो बुझ्नुभएन ?

ढाकाकुमार श्रेष्ठ : त्यै त ।

दुर्गा प्रसाईं : तपाईंलाई म आइडिया दिन्छु । यो दुई करोड तपाईंको ग्यारेन्टी भयो म दिन्छु । तपाईं पीर नगर्नुस् । तपाईं अघि बढ्नुस् ।

दुर्गा प्रसाईं : है । अब तोसिमाले लडाईँ त गर्दिनन् नि ? तोसिमा कार्कीले तपाईँसँग ?

ढाकाकुमार श्रेष्ठ : हैन । गर्दिनन् गर्दिनन् । केही समस्या छैन । त्यो त्यो टिमले गरेपछि सक्कियो । हामीले त सब्बै रवि सरलाई म्यान्डेड दिएका छौं ।

दुर्गा प्रसाईं : अँ ।

ढाकाकुमार श्रेष्ठ : उहाँले जस्लाई राख्नुभयो । राख्नुभयो त्यो ।

दुर्गा प्रसाईं : ए । ल । अब फेरि यस्तो भयो नि त । तोसिमाले पैसा निकाल्न पनि सक्दिनन् । तोसिमाले पैसाको कुरा गर्न सक्दिन । किन भन्नु न ? गोविन्द केसीको मान्छे भन्या छ के उसले । कहिँ कुरै गर्न मिल्दैन ।

दुर्गा प्रसाईं : उसँग डराउँछन् ।

ढाकाकुमार श्रेष्ठ : तिनी मन्त्री भइन् भने काम पनि छैन ।

दुर्गा प्रसाईं : काम छैन ।

दुर्गा प्रसाईं : हस् हस भाइ । हस हस डाक्टर साब ।

दुर्गा प्रसाईं : हस हस ल ल ।

ढाकाकुमार श्रेष्ठ : हस् हस नमस्कार ।

उता राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सांसद बनेका डा. ढाकाकुमार श्रेष्ठमाथि पोखराको एक सहकारीको झण्डै एक करोड रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । श्रेष्ठले आफू अध्यक्षबाट हट्दै गर्दा नयाँ कार्यसमितिलाई हिसाब नबुझाई जिम्मेवारीबाट पन्छिएको आरोप लागेको हो ।

अनलाइन खबरका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनेका श्रेष्ठ कात्तिक ९ गतेसम्म पोखरा रत्नचोकस्थित साथी किसान सहकारी संस्थाको अध्यक्ष थिए । कात्तिक ९ गते भएको संस्थाको २० औं साधारण सभाले डा. सनी पाठकको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।

उक्त सहकारीले विशेषगरी कुखुरापालन तथा मासु व्यवसायलाई सहयोग गर्दै आइरहेको थियो । किसानलाई दाना, चल्ला उपलब्ध गराउने र उनीहरुबाट हुर्केका कुखुरा खरिद गरेर बिक्री गर्ने काम गर्दै आइरहेको छ ।

तर, कुखुरा खरिदबिक्रीबाट प्राप्त हुनुपर्ने ९९ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना भइसकेको र त्यसको कुनै पनि बिल भर्पाइ नदेखिएको हालको कार्यसमितिले बताएको छ ।

हालको नेतृत्वलाई सांसद श्रेष्ठ नेतृत्वको निवर्तमान कार्यसमितिले कुनै पनि हिसाब नबुझाउँदा सेवाग्राहीले आफूले गरेको बचतसम्म फिर्ता नपाउने स्थिति बनेको हालका अध्यक्ष डा. पाठकले गुनासो गरेका छन् ।

‘हामीलाई पनि उहाँ (डा. श्रेष्ठ) ले आफैं तोकेर नै मनोनित गर्नुभएको हो । म पनि भेटनरी डाक्टर नै हुँ । आफू पनि सिकौंला, राम्रो गरौंला भनेर हुन्छ भन्यौं । प्रतिवेदनमा पनि संस्था ६–७ लाख रुपैयाँ नाफामा देखाइएको थियो’ डा. पाठकले भने, ‘अहिले पो थाहा भयो, संस्था डामाडोल रहेछ । हिसाबकिताब कसरी मिलाउने ?’

संस्थाका कोषाध्यक्ष तारापति सुवेदीले नयाँ कार्यसमिति गठन गर्दा नै झुठो प्रतिवेदन देखाएर आफूहरुलाई फसाएको आरोप लगाएका छन् । ‘अर्कै फिल्डको मान्छे, सहकारीमा लागेर सहयोग गर्न खोजेको भन्ने भयो’ उनले भने, ‘प्रतिवेदन र सहकारीको हिसाबकिताब केही मेल खाँदैन । राम्रै होला भनेर जोडिएको हुँ । अहिले घरबारै बेच्नुपर्ने स्थिति आउन लाग्यो ।’

तारापतिले कोषाध्यक्ष पद सम्हाल्दा १ करोड ३ लाख रुपैयाँभन्दा बढी बजारबाट उठ्न बाँकी रहेको भेटिएको सुनाए । तर, त्यसमध्ये विभिन्न मासु पसलको नाममा गएको ९९ लाखको कुनै पनि कागजपत्र नभेटिंदा रकम उठाउन नसकिएको उनले भनाइ छ ।

‘९९ लाखको कुनै प्रमाण छैन । तमसुक पनि छैन । विभिन्न मासु पसलको नाममा गएको देखिन्छ’ कोषाध्यक्ष तारापतिले महानगर सहकारी महाशाखामा भने, ‘फिल्डमा जाँदा कुनैकुनै पसल नै भेटिएन, कुनै उहिल्यै छोडेर भागिसकेको भेटियो । भएकासँग पनि प्रमाण विना कसरी झगडा गर्दै हिंड्ने ?’

अध्यक्ष डा. पाठकले प्रतिनिधिसभा चुनाव अगाडि नै यो कुरा उठे पनि निवर्तमान श्रेष्ठले विभिन्न बहाना गरेर पन्छिंदै आएको सुनाए । ‘पहिले राजनीतिमा लाग्छु, तपाईंहरु संस्था सम्हाल्नुुस् भनेर हामीलाई मनोनित गर्नुभयो । पछि सांसद हुने भएँ, पछि मिलाउँला भन्नुभयो’ उनले भने, ‘अहिले सम्पर्क गर्न खोज्दा मन्त्रीका लागि लबिङ गर्दैछु, व्यस्त छु भन्दै आउनुभएको छ ।’

‘सबै हेरेर ल है भनेर टीकाटालो गरेर फुल अधिवेशन गराएर, साइन गराएर, बन्द सत्र, खुला सत्र सब गरेर छोडेको हो, केही कुरा छ भने त्यसलाई हेर्न सकिन्छ । अहिलेका अध्यक्ष र सचिवलाई राखेर हेर्नुपर्‍यो, अहिले म संसदमा छु माथि ।’

उठ्नुपर्ने रकमको स्रोत नै नखुल्दा बचतकर्ताहरुलाई रकम फिर्ता गर्नसमेत संस्थासँग रकम नभएको संस्थाले जनाएको छ । संस्थाले बचतकर्तालाई रकम फिर्ता गर्न नसकेपछि अहिले एकअर्काबीच आरोप प्रत्यारोप चलेको छ ।

पुरानो कार्यसमितिमा पनि सदस्य रहेका हालका सहसचिव हर्क नेपालीले आफूले पनि डा. ढाकाकुमारलाई पटकपटक खबर गरिसकेको सुनाए । ‘यसरी हिंड्न मिल्दैन भनेर पटकपटक भनेकै हो । किन के कमजोरी भएको हो भन्ने प्रष्ट नहुँदासम्म उन्मुक्ति पाउनुहुन्न भनेकै हो’ उनले भने, ‘उहाँ संस्थापक पनि भएकाले यसबाट पन्छिन मिल्दैन ।’

पहिले र अहिले दुवैमा उपाध्यक्ष रहेका चेत हमालले भने संस्थाले कार्यालय स्थापना, संस्थाको भवन बनाउँदा र कर्मचारीको तलबमा ठूलो पूँजी खर्च भएकाले घाटामा जानुपरेको सुनाए । ‘नाफाबाट कर्मचारी पाल्नुपर्नेमा पूँजीबाटै राख्यौं । भवन पनि बनायौं, अफिस बनायौं ठूलो खर्च भयो’ उनले भने, ‘हिनामिना नै हो भन्ने मलाई लाग्दैन ।’

पीडितको महानगरमा निवेदन

साथी किसान सहकारी संस्थामा बचत गरेका सेवाग्राहीले आफूले जम्मा गरेको रकम निकाल्न नपाएको भन्दै महानगरमा निवेदन दिएका छन् । सोही विषयमा महानगरले बिहीबार सहकारी संस्था र पीडित पक्षलाई छलफलका लागि बोलाएको थियो ।

छलफलमा सहभागी हुन आएका पीडितहरुले आफूहरुले संस्थासँग बचत पैसा माग्दा अघिल्लो कार्यसमितिलाई देखाउने र अघिल्लोले अहिलेको कार्यसमितिलाई देखाउने गरिरहेको दुखसो पोखे । ‘हामीले ढाका सरलाई पनि फोन गरेको हो । तर, उहाँले अपशब्द गाली गर्दै मैले अफिस छोडिसकें, अबदेखि फोन नगर् भनेर गाली गर्नुभयो’ एक पीडितले भने, ‘नम्बर दिनेलाई पनि गाली गर्नुभएछ ।’

सहकारीमा दैनिक बचत उठाउँदै आएकी कर्मचारी लक्ष्मी नेपालीले अहिले सेवाग्राहीले आफूसँग गुनासो गरिरहेकाले तनाव झेल्नु परिरहेको सुनाइन् । ‘मैले ८० जना कस्टुमरको पैसा उठाउँथें । उहाँहरुको जम्मै पैसा मैले अफिसमा सिस्टममै चढाएर राखेको छु । त्यो अहिले पनि हेर्न सकिन्छ’ उनले भनिन्, ‘अहिले कस्टुमरले मलाई एकदमै प्रेसर दिइराख्नुभएको छ, उहाँहरुसँग उठाएको त मैले हो नि !’

पोखराकै शान्ति श्रेष्ठले आफूले सहकारीमा मुद्दति खातामा १५ लाख रुपैयाँ जम्मा गरेकोमा पटकपटक गरेर १० लाख निकालिसकेकोमा अब ५ लाख बाँकी रहेको बताइन् । तर, उक्त रकम निकाल्न कात्तिकदेखि नै प्रयास गरे पनि अहिलेसम्म सफल नभएको सुनाइन् ।

‘त्यो ५ लाख पनि कात्तिकबाटै ल.. ल.. भनेर झुलाइराख्नुभयो । मैले आफूले दुख गरेर राखेको पैसा पनि झिक्न पाइनँ’ उनले भनिन्, ‘उसले उसलाई देखाउँछन्, उल्ले ऊलाई देखाउँछन् । ढाका सरलाई भन्दा मैले छोडिसकें भन्नुहुन्छ ।’

महानगर सहकारी महाशाखा प्रमुख भरतराज पौडेलले अघिल्लो कार्य समितिलाई देखाएर अहिलेका सदस्यहरु जिम्मेवारीबाट भाग्न नमिल्ने सुनाए । उनले आर्थिक हिनामिनाबारे संस्थागत विषय भएकाले बचतकर्ताले आफूले पाउनुपर्ने रकम अधिकार भएको र त्यो संस्थाकै दायित्व हुने बताए ।

संस्थामा हाल देखिएको समस्या समाधानका लागि महानगरले समन्वयकारी भूमिका खेल्ने महाशाखा प्रमुख पौडेलको भनाइ छ । ‘छानबिन हुन्छ । जस्तोसुकै ठूलो ओहोदा, पदमा बसे पनि कानुन पालना गर्नैपर्छ, ढुक्क हुँदा हुन्छ’ उनले भने ।

सांसद श्रेष्ठ भन्छन् : सबै बुझाएर टीकाटालो गरेर निस्केको हुँ

आर्थिक हिनामिना आरोप लागेकासांसद ढाकाकुमार श्रेष्ठले बजारबाट पैसा उठ्न मात्रै बाँकी रहेको र कुनै सदस्यले हिनामिना गरेको भए आफूलाई जानकारी नभएको सुनाए ।

राजनीतिमा आउने भएपछि सबै जिम्मेवारी बुझाएर नै आफू संस्थाबाट अलग भएको निर्वतमान अध्यक्षसमेत रहेका सांसद श्रेष्ठले सुनाए । ‘अडिट गरेर, रिपोर्ट गरेर जम्मै बुझाएको हो । अधिवेशन गरेरै बुझाएको हो । म त अझ कार्यवाहक दिएरै छोडेको हो..पोलिटिक्समा लागियो नि त’ उनले अनलाइनखबरलाई भने, ‘अधिवेशनको ३–४ महिना अगाडिबाटै चेत हमाललाई कार्यवाहक दिएर छोडेको हुँ मैले ।’

अधिवेशनमा आफूले अडिट र रिपोर्ट हेरेर संस्थाको जिम्मेवारी छोडेको सुनाए । ‘सबै हेरेर ल है भनेर टीकाटालो गरेर फुल अधिवेशन गराएर, साइन गराएर, बन्द सत्र, खुला सत्र सब गरेर छोडेको हो’ उनले भने, ‘केही कुरा छ भने त्यसलाई हेर्न सकिन्छ । अहिलेका अध्यक्ष र सचिवलाई राखेर हेर्नुपर्‍यो, अहिले म संसदमा छु माथि ।’

सांसद श्रेष्ठले यही विषयमा विवाद भएको थाहा पाएर बीचमा बैठक बस्न पनि खोजेको तर, हालकै कार्यसमिति नआएको सुनाए । ‘तीन दिन पोखरा बसेथें । हेल्प गर्न खोजेको तिनीहरु आएनन्, जनवरी फर्स्ट थियो, यता संसद बसेको भएर आउनुपर्‍यो’ उनले भने, ‘मैले गर्नुपर्ने सहयोग गर्छु ।’



अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक