20230415

अमेरिकी गोप्य दस्तावेजहरूको चुहावटलाई लिएर यसरी पक्राउ परे २१ वर्षीय अमेरिकी एअर फोर्स न्याश्नल गार्ड सदस्य ज्याक टेइसेइरा !


 अमेरिकी गोप्य दस्तावेजहरूको चुहावटलाई लिएर पक्राउ परेका २१ वर्षीय अमेरिकी एअर फोर्स न्याश्नल गार्ड सदस्य ज्याक टेइसेइराको अदालतको सुनुवाइ बुधवारको लागि तय भएको छ। त्यसअघि उनी हिरासतमै रहने जनाइएको छ। अमेरिकी न्याय मन्त्रालयले उनलाई सुनुवाइको दिनसम्मका लागि राख्न अनुरोध गरेको हो। उनी शुक्रवार अमेरिकाको गोप्य सुरक्षा र गुप्तचरी दस्तावेजहरू चुहावट गरेको आरोपको सामना गर्न बोस्टन अदालतमा उपस्थित भएका थिए। उनलाई अदालत ल्याउँदा हतकडी लगाइएको थियो।

टेइसेइरा सबै आरोपहरूमा दोषी ठहर भएमा उनलाई १५ वर्ष लामो जेल सजाय हुन सक्छ। शुक्रवार भएको सुनुवाइमा उनीमाथि अनधिकृत ढङ्गमा गोप्य दस्ताबेजहरू हटाएको, तीमध्ये केहीको स्वामित्व लिएको र ओसारपसार गरेको आरोप लगाइएको छ।

यदि उनले ती दस्तावेजहरू आफूसँग राखेको ठहर भए १० वर्षको जेल सजाय भोग्ने छन्। त्यस्तै ओसारपसारको आरोप पुष्टि भएको खण्डमा थप ५ वर्ष जेल सजाय हुने न्यायाधीशको ठहर छ।
ज्याक टेइसेइरा उक्त दस्तावेजहरू चुहिएको अनलाइन गेमिङ समूहको नेता भएको बताइएको छ।

अमेरिकी अधिकारीहरूका अनुसार उनलाई जासुसी सम्बन्धी कानुनका आधारमा अभियोग चलाइनेछ जसले गोप्य रक्षा सूचना चुहाउनुलाई अपराधका रूपमा हेर्छ।

ती दस्तावेजहरूमा युक्रेन युद्ध र अन्य देशहरूबारेका संवेदनशील गोप्य सूचना पाइन्छ।
भिडिओहरूमा बिहीवार उनलाई बोस्टनभन्दा दक्षिणतर्फ पर्ने झण्डै ८,००० मानिसहरू बस्ने डाइटन नगरस्थित आफ्नो घरबाट प्रहरीले पक्राउ गरेको देखिन्छ।

पक्राउको फुटेजमा टेइसेइरा ठानिएका व्यक्तिलाई हत्कडी लगाएर गाडीमा राखिनुअघि उनले एफबीआईसामु हात उठाएको देख्न सकिन्छ।

उनलाई पक्राउ गरिँदा प्रहरीले त्यस क्षेत्रका सडकमा यातायात अवरोध गरेको थियो।

"त्यहाँ लगभग ६ देखि ८ जना राइफल बोकेका सैनिकहरू डुलेका थिए," एक स्थानीयवासी डिक ट्रेसीले रोयटर्स समाचार संस्थासँग भने। "यो निकै शान्त क्षेत्र हो।"

टेइसेइरा शुक्रवार अदालतमा उपस्थित हुने ठानिएको छ।
उनी म्यास्याचुसेट्स एअर न्याश्नल गार्डको गुप्तचरी शाखाका सदस्य हुन् जो वेस्टर्न केप कडस्थित ओटिस एअर न्याश्नल गार्ड बेसमा काम गरेका छन्।

बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजले प्राप्त गरेको उनको सेवा विवरण अनुसार टेइसेइराले सन् २०१९ मा उक्त सैन्य बलमा संलग्न भएका थिए।

उनको औपचारिक पद साइबर ट्रान्सपोर्ट सिस्टम्स जर्नीम्यान रहेको छ र उनी तुलनात्मक रूपमा कनिष्ठ पदको एअरम्यान फस्ट क्लास ओहदाका हुन्।

बिहीवार जारी गरिएको एउटा संक्षिप्त विज्ञप्तिमा अमेरिकी महान्यायाधिवक्ता मेरिक गार्ल्यान्डले ती सन्दिग्धलाई "कुनै घटनाबिना" पक्राउ गरिएको जनाइएको छ।

गार्ल्याण्डले अनुसन्धान वा चुहावटको उद्देश्यबारे कुनै थप जानकारी दिएनन्।
एउटा छुट्टै पत्रकार सम्मेलनमा बिहीवार नै रक्षा मन्त्रालयका प्रवक्ता ब्रिगेडिअर जेनरल पट राइडरले उक्त चुहावटलाई "नियतवशको फौजदारी कार्य" बताएका थिए।

त्यति कनिष्ठ कर्मचारीको कसरी ती गोप्य दस्तावेजमा पहुँच पुग्यो भन्ने प्रश्नमा जेनरल राइडरले अमेरिकी सेनाभर, सैनिकहरूलाई "कम उमेरमै धेरै जिम्मेवारी"का लागि विश्वास गरिने गरेको बताए।  

टेइसेइरासँगै विद्यालयमा पढेको दाबी गरेका २२ वर्षीय इडी सोउजाले रोयटर्स समाचार संस्थासँग कुरा गर्दै चुहावटमा ती सन्दिग्ध देखा परेको घटनाले आफू आश्चर्यचकित भएको बताए।

"उनी समस्या उत्पन्न गराउने नभई राम्रा मानिस हुन्, एकदम शान्त मानिस," उनले भने।

"त्यो भूलवस बालबालिकाले गर्ने गल्तीजस्तो छ।"
१४ महिनाअघि रुसले युक्रेनमा अतिक्रमण सुरु गरेयता यो गुप्त अमेरिकी सूचनाको सबैभन्दा ठूलो चुहावट हो। केही दस्तावेजहरू केवल साताअघिका हुन्। तर त्यसबाट पर्ने प्रभाव निकै ठूलो छ।

समयरेखा र दर्जनौँ क्लिष्ट सैन्य शब्दावलीयुक्त पूर्ण दस्तावेजमा केहीमा "अतिगोप्य" समेत लेखिएको छ। यसले युक्रेन युद्धको विस्तृत चित्र देखाउँछ।

तिनले दुवैतर्फ हताहत भएका मानिसको सङ्ख्या, प्रत्येक पक्षका सैन्य कमजोरी र युक्रेनले अब वसन्तयाममा गर्ने अपेक्षा गरिएको प्रत्याक्रमणका बेला उसको सामर्थ्यबारे बताउँछन्।

ती दस्तावेजहरूमध्ये एकले युक्रेनभित्र यूकेसहितका कैयौँ देशका विशेष सैनिक बलहरू रहेको देखाएको छ।
सन्देशहरू पठाइने प्ल्याटफर्म 'डिस्कर्ड'देखि 'फोरचान' र टेलिग्रामसम्ममा ती दस्तावेज कसरी फैलिए भनेर बेलिङक्याट भनिने इन्भेस्टिगेटिभ ओपन सोर्स इन्टेलिजन्स ग्रूपका एरिक टोलरले बताएका छन्।

टोलरका अनुसार अझै यो सुरुमा कहाँबाट चुहियो भनेर थाहा पाउन सम्भव भएको छैन।

तर मार्च महिनाको सुरुमा गेमर्सहरूमाझ लोकप्रिय सन्देश प्ल्याटफर्ममा चुहिएका सूचनाहरू देखा पर्न थालेका थिए।

युक्रेन युद्धबारेको बहसपछि मार्च ४ मा डिस्कर्डको सर्भरमा धेरै देखा परेका कम्प्युटर गेम 'माइनक्राफ्ट'का प्लेअरहरूमध्ये एक जनाले "यहाँ केही चुहिएका दस्तावेजहरू छन्" भन्दै १० वटा दस्तावेज राखे।

गोप्य सूचना चुहाउने त्यो अस्वाभाविक तरिका हो।

सन् २०१९ मा यूकेमा भएको निर्वाचनअघि अमेरिका-यूके व्यापार सम्बन्धसँग सम्बन्धित दस्तावेजहरू रेडिट, फोरचान र अन्य साइटमा देखा परेका थिए।

त्यस बेला रेडिटले ती प्रशोधित विवरणहरू रुसबाट उत्पन्न भएको जनाएको थियो।

अर्को घटनामा गत वर्ष, अनलाइन गेम 'वार ठन्डर'का प्लेअरहरूले बारम्बार संवेदनशील सैन्य दस्तावेजहरू पोस्ट गरेका थिए। त्यसो गर्नुलाई उनीहरूबीच भएको बहसमा जित्ने प्रयास मानिएको थियो।

अहिलेको यो चुहावट निकै संवेदनशील र सम्भवतः क्षति पुर्‍याउने खालको छ।


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक