20230502

सैद्धान्तिक आधारहरुमा हेर्दा बुद्धधर्म - डा. बालकृष्ण चापागाईं

संस्कृत भाषाको ‘बुध् अवगमने’ धातुमा (निष्ठार्थमा) ‘क्त’ प्रत्यय भएर बुद्धः शब्द निष्पन्न भएको हो । यस्तै ‘बोधयति ज्ञानं ददाति अनेन इति बुद्धः’ पनि भनिन्छ । यसको अर्थ ‘जान्ने, बुझ्ने, बुद्धिमान्, विद्वान्, बिउँझेको, जाग्रत’ आदि हुन्छ । जसले बोध गर्ने काम गर्छ उसलाई बुद्ध भनिन्छ । बोध—कार्य सुसम्पन्न गर्ने सबै मानिसहरूलाई ‘बुद्ध’ भन्न सकिन्छ । व्यावहारिक प्रचलनमा कसैको नाम बुद्ध भए पनि यो व्यक्ति मात्र होइन । बुद्ध धर्म अनुसार चार आर्य सत्यलाई अवबोध गर्नेलाई ‘बुद्ध’ भनिन्छ । सिद्धार्थले त्यही ज्ञान (बुद्धत्व) प्राप्त गरेकाले नै बुद्ध भनिएको हो । अतः बुद्ध व्यक्तिवाचक नाम मात्र नभएर उपाधि एवम् ज्ञानको एउटा अवस्था र चरण हो । यही बुद्ध शब्दको परिभाषा हो । बौद्ध साहित्यमा बुद्धका निम्नानुसार तीन रूपको व्याख्या गरेको पाइन्छ । अमर कोशमा गौतम बुद्धलाई विविध नामले परिभाषित गरिएको छ ।

‘सर्वज्ञः सुगतो बुद्धो धर्मराजस्तथागतः ।

समन्तभद्रो भगवान् मारजिल्लोकजिज्जिनः ।

षडभिज्ञो दशबलोद्रद्वयवादी विनायकः ।

मुनीन्द्रः श्रीघनः शास्ता मुनिः शाक्यमुनिस्तु यः ।

स शाक्यसिंहः सर्बार्थसिद्धः शौद्धोदनिश्च सः ।

गौतमश्चार्कबन्धुश्च मायादेवीसुतश्च सः ।’


अतः सबै तथ्य जान्ने र जनाउने भएकाले सर्वज्ञ, राम्रो ज्ञान भएकाले सुगत, प्रशस्त बुद्धि भएकाले बुद्ध, धर्मानुकूल बोली व्यवहार भएकाले धर्मराज, यथार्थज्ञान भएकाले तथागत, चारैतिर कल्याण चाहने भएकाले समन्तभद्र, षडैश्वर्य र माहात्म्य भएकाले भगवन्, कामदेवलाई जितेकाले मारजित्, लोक, परिवार र समाजलाई समेत जितेर परमार्थको खोज गरेकाले लोकजित्, आप्mना र अरूका ध्यानलाई एकाकार गर्न सक्ने हुँदा जिन, अर्काको मनका कुरा जान्ने, पूर्वजन्मको स्मृति भएका, आकाशगमन, कार्यसिद्धि र आत्माको ज्ञान आदि जानेका हुँदा षडभिज्ञ, दान, शील, क्षमा, वीर्य, प्रज्ञा र प्रणिधान–बलवाला आदि भएकाले दसबल, अद्वैतवादी भएकाले अद्वयवादी, शिष्य–प्रशिष्य र जनतामा अनुशासन कायम गर्ने भएकाले विनायक, मुनिहरूमा श्रेष्ठ भएकाले मुनीन्द्र, लौकिक र पारलौकिक श्रीले पूर्ण भएकाले श्रीघन, पञ्चशीलताका शासक–प्रवर्तक भएकाले शास्ता, मनन–चिन्तनमा व्यस्त रहने भएकाले मुनि नामबाट गौतम बुद्धलाई सम्बोधन गर्ने गरिएको छ ।

श्रावक बुद्ध

बौद्ध धर्ममा मानिसलाई पृथक्जन र आर्य भनी दुई वर्गमा विभाजन गरिएको पाइन्छ । आर्य भनेको क्लेशले रहित अवस्था हो । अस्थिर अवस्थाका सामान्य मानिसलाई पृथक्जन र धर्मको प्रवाहमा लागि सकेको र विचलित नहुने अवस्थाका मानिसलाई आर्य भनिन्छ । यी आर्यहरू चार भूमि अर्थात् ‘श्रोतापन्न, सकृदागामी, अनागामी र अर्हत्’ पार गरेर अर्हत् वा श्रावक बुद्ध हुन्छन् । अर्हत् वा श्रावक बुद्धलाई आदर्श ठानिने यानलाई श्रावकयानका रूपमा चिनाइएको छ । तिनीहरूलाई श्रावकयानी भनिन्छ । दुःखबाट मुक्त हुने यो सजिलो र चाँडो बाटो या उपाय भएकोले गौतम बुद्धले त्यस प्रकारको बुद्धत्व प्राप्त गर्ने कुरामा बढी जोड दिएका छन् ।

प्रत्येक बुद्ध

प्रत्येक बुद्धहरू पनि अर्हत आदर्श मान्नेवाला हुन्छन् । त्यस वर्गका बुद्ध हुनेहरू पूर्व जन्मको प्रभाव तथा स्वतःस्फूर्तरूपमा ध्यान–साधना गरी बुद्ध हुन्छन् । उनीहरूको आचरण वा अन्य कुराबाट धेरैले असल कुरा सिक्छन् र लाभान्वित पनि हुन्छन् । उनीहरू समाजमा बस्दैनन्, सङ्घ पनि बनाउँदैनन् र कोही एक्लै जङ्गलमा विचरण गरेर बस्छन् भने कोही प्रत्येक बुद्धहरूकै समूहमा रहन्छन् । आयु संस्कार सकिएपछि देह त्याग गर्दछन् ।सम्यक् सम्बुद्ध आउने बेलासम्ममा ती बुद्धहरू देहत्याग गरेर सम्यक् सम्बुद्धलाई ठाउँ खाली गरिदिन्छन् भन्ने मान्यता रहेको छ ।

सम्यक् सम्बुद्ध

गौतम बुद्ध सम्यक् बुद्ध हुन् । गौतम बुद्ध धरतीमा आउँदै छन् भन्ने खबर पाएर अरू पहिलेका प्रत्येक बुद्धहरूको ठूलो समूह सारनाथको आकाशमा विचरण गरिरहेको अवस्थामा आकाशबाट पतन भएको भनी त्यस ठाउँलाई ‘ऋषिपत्तन’ पनि भनिएको हो । कक्रुच्छन्द, कनकमुनि तथा कश्यप बुद्धलगायतका ज्ञात नामहरू सबै सम्यक् सम्बुद्ध नै हुन् । भविष्यमा हुने मैत्रेय बुद्ध पनि सम्यक् सम्बुद्ध नै हुन् । यस वर्गका बुद्धलाई सबैभन्दा उच्च श्रेणीमा राखिन्छ । यस वर्गको बुद्ध बन्नका लागि कुनै एक सम्यक् बुद्धका सम्मुख प्रणिधान गर्नुपर्दछ । उनका अगाडि भविष्यमा जस्तोसुकै कठिनभन्दा कठिन पारमिताहरू पूरा गरेर लोकको सेवा गर्न बोधिचर्या गर्दै सम्यक् सम्बुद्ध हुने प्रतिज्ञा गरिन्छ । त्यसपछि उनीहरूले कठोरभन्दा कठोर अभ्यास गरेर पारमिताहरू पूरा गर्नुपर्दछ । दान पारमितालगायतका सम्पूर्ण पारमिताहरू पूरा गर्न दुई चार जन्मले मात्रै पुग्दैन, अनेकौं बुद्धकाल व्यतीत गर्नुपर्दछ । अतः ‘बुद्ध’ व्यक्ति नभएर पद हो । विपश्वी, शिखी, विश्वभू, कक्रुच्छन्द, कनकमुनि, कश्यप आदि गौतम बुद्धभन्दा अगाडिका मानव बुद्धहरूका नाम हुन् ।

यतिखेर सिद्धार्थ गौतम बुद्धका उपदेशहरू मात्र प्राप्त छन् । गौतम बुद्धले उनीअघिका बुद्धहरू र पछि बुद्धका रूपमा मैत्रेय पदार्पण हुने जानकारी गराए । ऐतिहासिक तथा पुरातात्विक आधारमा जसरी गौतम बुद्ध पौराणिक पात्र होइनन् भन्ने सिद्ध भएको छ । बुद्धले आफूलाई ‘न म मनुष्य हो, न यक्ष हो, मलाई त बुद्ध भनेर बुझ्नु पर्छ ।’ भनेका हुँदा उनमा सामान्य मानिस होइन कि कतिपय श्रावक, अर्हत र प्रत्येक बुद्धहरूमा समेत नपाइने पृथक विशेष गुुणहरू रहेको स्पष्ट हुन्छ । ती विशेष गुणहरूको नाम आवेणिय धर्महरू वा विशेष गुणहरू जुन सम्यक् सम्बुद्धका लक्षण हुन् । त्यसरी नै कक्रुच्छन्द बुद्ध र कनकमुनि बुद्धका सम्बन्धमा पनि सिद्ध गर्न सकिने आधारहरू छन् । आज संसारले चिनेका बुद्ध भनेका राजा शुद्धोदनका छोरा शाक्यमुनि सिद्धार्थ गौतम नै हुन् ।


 बुद्ध

गौतम बुद्ध विश्वका महानायक र पथ प्रदर्शक हुनुमा उनले प्राप्त गरेको ज्ञान र त्यसको मानव समाजमा भएको सफल सञ्चार नै हो । सिद्धार्थ गौतमले कठोर तपस्याबाट बुद्धत्व प्राप्त गरेपछि उनी गौतम बुद्ध भएका हुन् । बुद्धत्व प्राप्त गर्नु, अमर हुनु, ज्ञानप्राप्ति मात्रै हो, त्यसको पनि अन्त्य त हुन्छ नै । आफूले प्राप्त गरेको बोधिलाई बुद्धले व्यक्त गरेको मात्रै हो । उनी कसैको सन्देशवाहक बनेर आएका होइनन् । बुद्धलाई शान्तिसँग सम्बन्धित भनेर उल्लेख गर्ने हो भने ‘शान्ति–नायक’ भन्नुपर्दछ । यस अर्थमा संसारभरका शान्तिका हिमायतीहरूलाई बुद्धकै उपासक÷उपासिकाहरू हुन् भन्नु अत्युक्ति हुँदैन । गौतम बुद्धका विचारलाई सम्प्रेषण गर्नेक्रममा विशेषतः बौद्ध संघको संरचना निर्माण, संघ परम्परा र सांघिक धर्म आदिको विकास भएको पाइन्छ ।

यसका आधारमा विभिन्न स्थानमा बौद्ध भिक्षु र अनुयायीहरू अगाडि बढेको पाइन्छ । यसको विकास क्रममा महासांघिक जसलाई पूर्व शैल, अपर शैल, हैमवत, लोकोत्तरवादी र प्रज्ञाप्तिवादीका रूपमा लिइन्छ । त्यस्तै सर्वास्तिवादी जसमा मूल सर्वास्तिवादी काश्यपीय, महीशासक, धर्मगुप्तक, बहुश्रुतीय, ताम्रासाटीय र विभाज्यवादीको एक भागका रूपमा लिइन्छ । त्यस्तै सम्मितीय, कौरुकुल्लिक, अवन्तिक र वात्सीपुत्रीय पनि संघभेदमा पर्दछन् । त्यस्तै स्थविर (थेरवादी) जेतवनीय, अभयगिरिवासी र महाविहारवासी पनि संघभेदका रूपमा लिइन्छ । यस प्रकारका संघभेदको विकासका क्रममा पनि बौद्ध धर्मदर्शनको सञ्चार भएको पाइन्छ ।

धर्म

बौद्ध सञ्चारमा धर्मको विशेष महत्व रहेको छ । धर्मलाई पालि भाषामा धम्म भनिन्छ । जसको अर्थ हुन्छ, प्राकृतिक नियमहरूका अनुसार जीवन जीउनु । जुन मानिसले प्रकृतिका नियम अनुसार जीवनयापन गर्छ, ऊ स्वस्थ र प्रसन्न रहन्छ ।जसले प्रकृतिका नियम विपरीत जीवनयापन गर्छ, ऊ व्याकूल, अशान्त र अस्वस्थ हुन्छ । प्राकृतिक नियम अनुसार जीवन जिउनुलाई शील र सदाचारको जीवन भनिन्छ ।त्यस विपरीत जीवन जीउनुलाई दुराचारी जीवन भनिन्छ । प्रकृतिले कुशल कर्महरूका लागि मनलाई शान्ति दिएर पुरस्कृत गर्छ र अकुशल कर्ममा हिंड्नेलाई अशान्त बनाएर दण्डित गर्छ । मन, वाणी र शरीरद्वारा गरिएका कामहरू, जसले स्वयम्लाई वा अरूलाई कुनै प्रकारको नोक्सानी पुग्छ, दुःख हुन्छ भने ती कामहरू अकुशल कर्म या पाप कर्म मानिन्छन् ।


यसमा बुद्ध वचन वा शिक्षालाई पनि धर्मका रूपमा लिनुपर्ने हुन्छ । बुद्धका अनुसार निसर्ग–नियमता नै धम्म हो । यसरी उल्लिखित विचारको सञ्चारबाट बुद्धले मानिसलाई सत्कर्ममा हिडाउन प्रेरित गरेका छन् । पृथ्वीमा जुन मानवीय जीवन छ, त्यसको गम्भीर अध्ययनको परिणाम हो धम्म । स्वाभाविक प्रवृत्तिहरूलाई लिएर मानिसको जन्म भएको छ, त्यसलाई सम्पूर्ण रूपमा बुझ्नुको परिणाम बुद्धको धम्म हो । बौद्धधर्म दर्शन त्यति बेलाको समाजमा लोकप्रिय हुनुमा सबै मानिस एक हुन् । कर्मले गर्दा नै मानिस असल र खराब हुने हो । जातपातका आधारमा होइन भन्ने दृष्टिकोण राखेकाले बौद्धदर्शनले लोकप्रियता प्राप्त गरेको हो । बुद्धका यी विचारको खण्डन अहिले पनि हुन सकेको छैन । गौतम बुद्धले कसैलाई निषेध गरेर होइन, सबैका सकारात्मक कुराहरूलाई स्वीकार गर्दै, नकारात्मक कुराहरूलाई हटाउँदै र असल कर्मलाई पछ्याउँदै मध्यम मार्गबाट अगाडि बढ्दा सफलता प्राप्त गर्न सकिन्छ भन्ने दृष्टिकोण राखेकाले उनलाई मध्यमार्गी पनि भन्ने गरिन्छ ।

संघ

बौद्ध धर्मदर्शनको सञ्चारमा संघको विशेष स्थान रहेको छ । बुद्धले व्यक्तिगत दानभन्दा संघदान ठूलो हुन्छ र तथागतको परिनिर्वाण पछि धर्म नै नेतृत्वकर्ता हुनेछ भनेको कुरा गौतम बुद्धका प्रमुख शिष्य आनन्दले दोहो¥याएको प्रसङ्ग मज्झिम निकायमा उल्लेख गरिएको छ ।

उनले संघको निर्माण गरी विभिन्न नियमहरू बनाए भिक्षुभिक्षिणीहरू मार्फत आफ्ना ज्ञानोपदेशहरूलाई ठाउँठाउँमा पु¥याए । बौद्ध संघमा प्रवेशका लागि कुनै भेदभाव नगरिएकाले यसमा प्रवेश गर्नेहरूको लहर नै चल्यो । यसले बौद्ध धर्मदर्शनको प्रचारमा ‘मिशिनरी स्पिरिट’ का रूपमा काम ग¥यो । संघमा आवद्ध भिक्षुहरूले देश विदेशका विभिन्न भागमा पुगी बौद्ध धर्मदर्शनको प्रचार गरे । बुद्धको महापरिनिर्वाण पछि भारतका मौर्य सम्राट अशोकले हिंसाको मार्ग परित्याग गरि शान्ति मार्ग अवलम्बन गरेपछि आफ्ना छोरा महेन्द्र र छोरी संघमित्रालाई सिंघल द्वीपमा धर्म प्रचारका लागि पठाएका थिए । त्यसलाई अहिले श्रीलंका भनिन्छ ।

त्यो क्षेत्र अहिले बौद्ध धर्मदर्शनको संरक्षण र विकास गर्ने महत्वपूर्ण आधारमा रूपमा रहेको छ । त्यसपछि बौद्ध विद्वान् भिक्षु कुमार जीव र आचार्य शान्त रक्षितले चीन तिब्बतमा र उनका शिष्य कमलशीलले बौद्ध ग्रन्थहरूको अनुवाद गरी पु¥याएको योगदान महत्वपूर्ण रहेको पाइन्छ । यस पछि बौद्ध संघमा आवद्ध भिक्षुहरूले नेपाल, वर्मा, जावा, सुमात्रा तथा बोर्नियो लगाएतका क्षेत्रमा बौद्ध धर्मदर्शनको व्यापक प्रचारप्रसार गरे । समयक्रममा बौद्ध संघमा धेरै मानिसहरू आवद्ध हुँदै गए । बौद्ध धर्मदर्शनको प्रचार व्यापक हुँदै गयो । समयक्रममा सञ्चारको माध्यम सत्संग तथा धार्मिक सभा भएको कुरा प्रष्ट हुन्छ । यस आधारमा  बौद्ध सञ्चारमा संघको भूमिका महत्वपूर्ण देखिन्छ ।                                  भवतु सब्ब मंगलम् ।


*******

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक