20230523

Breaking News: नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएकाहरुको बयान पनि हेर्नुहोस, उता देउवा भन्छन 'बालकृष्ण खाँणबारे धेरै चिन्ता नलिनू', ओली भन्छन 'टोपबहादुर निर्दोष' छन । सानातिना फसाएर ठुला उम्काइँदै छन !


 पूर्वउपप्रधानमन्त्री तथा एमाले सांसद टोपबहादुर रायमाझीको बयान :

प्रतिवादी केशव प्रसाद दुलालसँग सुजाता कोइरालाको घरमा जाने आउने क्रममा चिनजान भएको हो। प्रतिवादी सानु भण्डारी मेरो छिमेकी भएको हुँदा चिनजान छ।  प्रतिवादी टेक नारायण पाण्डे मेरो जिल्लाबासी भएको र नेपाल सरकारको सचिव भएको हुँदा चिनजान भएको हो। प्रतिवादी इन्द्रजित राईसँग पार्टीको कामको सिलसिलामा चिनजान भएको हो। प्रतिवादी बालकृष्ण खाणलाई विद्यार्थी राजनीति गर्ने क्रममा चिनेको हुँ। भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी र दीर्घकालीन समाधानको उपायहरू पहिल्याउन बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन भएकोसम्म जानकारी छ। सोबाहेक अन्य कुरा मलाई जानकारी भएन। मैले इन्द्रजित राईलाई चिनाइदिएको भन्ने कुरा सरासर गलत हो। प्रतिवादी इन्द्रजित राई र प्रतिवादी सानु भण्डारी बीचको लेनदेन विषयमा उहाँहरूले जान्ने कुरा हो, मलाई जानकरी छैन। निजले मलाई दिएको भनेको रकमबाट मैले कुनै रकम लिएको छैन।

सन्दीप रायमाझीको खातामा जम्मा गरेको रकम सम्बन्धमा निजले नै स्पष्ट पार्ने छन्। प्रतिवादी सानु भण्डारीको घरबाट बरामद भई आएको डायरीमा मेरो नाम लेखि पटक पटक मलाई रकम दिएको भनी लेखिएको कुरामा सत्यता छैन।  निजले के कुन प्रयोजनको लागि उक्त कुरा लेखेका हुन मलाई जानकारी भएन, सो रकम मैले लिएको छैन। 

मेरो छोरा सन्दीप रायमाझीसँग कम्पनीमा साझेदारीको कुरा सन्दीप रायामाझीले दिएको बयानबाट नै देखिन्छ, मलाई रकम दिएको भन्ने जति पनि विवरणहरू छन्, त्यसमा कुनै आधार र सत्यता छैन।  

निजले ठूलो रकमको चेक काटेर आफ्नै घरमा राखेको सवाल होस् वा आफ्नो डायरीमा विभिन्न प्रकारका रकमहरू के-कुन प्रयोजनका लागि लेखेका हुन् मलाई जानकारी भएन। 

प्रतिवादी केशवप्रसाद दुलाल र सानु भण्डारीले हामीहरूको भेटघाट नभएको धेरै समय भयो, व्यावसायिक साथीहरूले हेलीको व्यवस्था गरेका छन्, गोसाइँकुण्ड गई फ्रेस भएर आउनु पर्यो भनी मलाई प्रतिवादी केशवप्रसाद दुलालले आग्रह गरेको र मैले समय छैन भन्दा निजहरूले धेरै समय लाग्दैन जान आउन ३० मिनेट, १५ मिनेट घुम्न गरी जम्मा ४५ मिनेट मात्र हो भनेको हुँदा म निजहरूको कुरामा सहमत भई गोसाइँकुण्ड गई फोटो खिचाई फर्किएका हौं। म सो ठाउँमा घुम्न जाँदाको अवस्थामा मैले सामान्य रूपमा लिएको थिएँ। 

इन्द्रजित राईलाई मैले पहिलेदेखि चिनेका व्यक्ति हुन्। काम विशेषले गृह मन्त्रालय जाँदा मैले प्राय: इन्द्रजित राईलाई नै बढी भेट्ने गरेको थिएँ। 

मिति २०७७/०९।१६ गते म आफ्नै काम विशेषले गृह मन्त्रालय गएको बेला स्वकीय सचिवको कार्यालयमा बसिरहेको अवस्थामा इन्द्रजित राईको कार्यकक्षमा छलफल हुँदा ठूलो स्वरमा आवाज आएको हुँदा म पनि निजको कार्य कक्षमा छिरेर, त्यहाँ जाँदा इन्द्रजित राई, सानु भण्डारी र केशवप्रसाद दुलालबीच लेनदेनसम्बन्धी विवाद भएको सुनेको हुँ। 

कार्यकक्षबाट बाहिर आएपछि सानु भण्डारी र केशव प्रसाद दुलाललाई डुप्लिकेट काम गरेका त छैनौं भनी सोध्दा निजहरूले हामी पूर्वका मानिस हौं, शरणार्थीका लागि पनि हामीले डुप्लिकेट काम गर्छौं होला भनी प्रतिप्रश्न गरेका थिए।

इन्द्रजित राईलाई भण्डारीसँग मैले परिचय गराई दिएको भन्ने कुरा सत्य होइन। भुटानी शरणार्थीको विषयमा कार्यदल बनाउने सम्मको कुरा मलाई थाहा छ, उक्त समितिका संयोजक बालकृष्ण पन्थी मेरो छिमेकी जिल्ला र सहसचिव समेत भएको हुँदा चिनजान थियो। यो विषयमा पहिलादेखि नै आफ्नो धारणा स्पष्ट राख्दै आएको छ। बाँकी रहेका पीडित भुटानी शरणार्थीहरूको दीर्घकालीन समस्याको समाधन हुनु पर्दछ भन्ने मेरो धारणा रहिआएको छ।

गैरभुटानी शरणार्थीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्यले नेपालको अन्तर्राष्ट्रिय छविउपर अपमान हुन्छ भन्ने मलाई लाग्छ।

मेरो छोरा पक्राउ परी हतकडी लगाएको खबर सुनेकोले आफूलाई पनि पक्राउ गरी हतकडी लगाउँछन् भन्ने लागेकोले मन बिग्रिएको हुँदा केही अवधि सम्पर्कविहीन भएको थिएँ। सोही क्रममा प्रहरीले खोजतलास गर्ने क्रममा पक्राउ परेको हुँ। कदम रोकिएको मात्र हो, आफैं सम्पर्कमा आउने क्रममा थिएँ।

(प्रतिवादी टोप बहादुर रायमाझीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज।)

पूर्व गृहमन्त्री बालकृष्ण खाँणको बयान :

टेकनारायण पाण्डे सचिव भएको कारण चिनेको हूँ । नरेन्द्र के.सी. मेरो निजी सचिव थिए । टोपबहादुर रायमाझी संविधानसभा सदस्य, प्रतिनिधिसभा सदस्य र पूर्वमन्त्री समेत भएकोले चिनजान छ । मैले २०७८ साल असार २९ देखि २०७९ पुससम्म गृहमन्त्रीको रुपमा कामकाज गरेको थिएँ ।

म गृहमन्त्री रहँदा संविधान र कानुनको अधीनमा रही देशमा शान्तिसुरक्षा रअमनचयन कायम गर्ने लगायत मन्त्रीले गर्नुपर्ने काम इमानदारीपूर्वक सम्पादन गरेको हुँ । बरामद कालो रङको डायरीमा लेखिएको अंक र अक्षर मेरो हो । सो बाहेक अन्य थप दुई वटा कालो रङ, एउटा खैरो रङको डायरी र सम्पत्ति विवरण भरिएका पाना–३८ समेत मेरो हो ।

भुटानी शरणार्थी सम्बन्धी समस्याको स्थायी र दीर्घकालीन समाधानको उपायहरू पहिल्याउन बनेको बालकृष्ण पन्थीको संयोजकत्वमा गठित कार्यदलले पेश गरेको प्रतिवेदन सोही कार्यदलका साथै सम्बन्धित निकाय र महाशाखालाई जानकारी होला ।

गृह मन्त्रालयको मिति २०८० वैशाख २६ गतेको पत्र साथ प्राप्त कागजातहरू हेर्दा २०७६ साल कात्तिक १ गते समितिले प्रस्तुत गरेको प्रतिवेदनमा संयोजक बालकृष्ण पन्थी, विज्ञ गणेशबहादुर के.सी. रहेको दुई जनाले दस्तखत गरेको देखिन्छ ।

तत्कालीन मन्त्री (रामबहादुर थापा)ले तत्कालीन सचिव (प्रेमकुमार राई)को नाममा प्रतिवेदनको अध्ययन तथा कार्यान्वयन अगाडि बढाउन भनी तोक लगाई प्रक्रिया बढाएको देखिन्छ । भुटानी शरणार्थी समस्या स्थायी समाधानका उपायहरू पहिल्याउन गठित पूर्व सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वको कार्यदलले दिएको प्रतिवेदन तत्कालीन गृहमन्त्री (थापा) को पालामा लिने काम भएको हो ।

भुटानी शरणार्थी समस्या स्थायी समाधानका उपायहरू पहिल्याउन गठित कार्यदलले दिएको प्रतिवेदनमाथि छलफल भए पश्चात् गरिएका निर्णयहरु कार्यान्वयनका लागि मन्त्रिपरिषद समक्ष प्रस्ताव पेश गर्न मैले २०७८ मंसिर १२ गते स्वीकृत दिई प्रस्ताव मन्त्रिपरिषदमा पेश भएको हो ।

कार्यसम्पादन नियमावली अनुसार सम्बन्धित विभागले प्रस्ताव उठाउने, सचिवले प्रस्ताव प्रस्तुत गर्छन्। मन्त्रीले सदर गर्ने र मन्त्रिपरिषदले प्रस्ताव पारित गर्ने गरिएको छ । भुटानी शरणार्थी सम्बन्धी समस्या समाधानको उपायहरुको सम्बन्धमा प्रस्ताव मन्त्रिपरिषदमा पेश भयो । कागजातहरु के–के पेश भए मलाई अहिले सम्झना भएन ।

नेपाल सरकार कार्य सम्पादन नियमावलीले मन्त्री, सचिव र अन्य पदाधिकारीहरुको कार्य क्षेत्र तोकेको छ । मन्त्रीले आफ्ना केही अधिकार सचिवलाई समेत प्रत्यायोजन गरिएको हुन्छ । मन्त्रालयको अभिलेखहरुको सुरक्षा गर्ने जिम्मेवारी समेत तोकिएको छ, एउटै प्रतिवेदनको एउटै विषयमा फरक व्यहोरा हुन सक्दैन ।

मन्त्रालयको कागजपत्र, प्रतिवेदन, सम्झौता लगायत विभिन्न अभिलेख राख्ने निकाय छुट्याइएको हुन्छ, जुन मन्त्रालयको प्रशासनिक जिम्मेवारी हो । पूर्ववर्ती सरकारले भुटानी शरणार्थी समस्या स्थायी समाधानका उपायहरू पहिल्याउन गठित कार्यदलको प्रतिवेदन तत्कालीन गृहमन्त्रीले बुझी कार्यान्वयनका लागि अगाडि बढाएको अवस्थामा भुटानी शरणार्थी सम्बन्धी समस्या र समाधानको उपाय सम्बन्धमा मन्त्रिपरिषदमा उक्त समयमा नै प्रस्ताव प्रस्तुत गरेको हो । त्यो प्रस्तावलाई नै निरन्तरता दिएको हो ।

म गृहमन्त्री भएपछि देशमा शान्ति सुव्यवस्था र अमनचयनका लागि गृह मन्त्रालयका उच्च पदाधिकारी र जिम्मेवार अधिकृतहरुलाई निर्देशन दिंदै आएको थाहै छ । यसै सन्दर्भमा भुटानी वा तिब्बती शरणार्थीहरुले कुनै अवाञ्छनीय गतिविधि नगरुन् भनी त्यसका लागि पनि निर्देशन दिंदै आएको थिएँ ।

शरणार्थीहरुलाई मानवीय रुपमा सम्बोधन गर्नु दायित्व हो, पछिल्लो पटक भुटानी शरणार्थीहरुलाई अन्तर्राष्ट्रिय दातृ निकायहरुले सहयोग रोकेको अवस्थामा उनीहरुलाई जीवन जिउन असहज भएको थियो । त्यसलाई ध्यानमा राखेर शरणार्थीहरुले पनि सरकारी वा सामुदायिक विद्यालयहरुमा पढ्न पाउने, आधारभूत स्वास्थ्य सेवाको अवसर प्रधान गर्नुका साथै सरकारी अस्पतालमा उचारको सुविधा प्रदान गर्ने, सामान्य व्यापार व्यवसाय गर्नुका साथै कृषिजन्य उत्पादन गर्न सामूहिक खेतीका लागि जग्गा लिजको प्रबन्ध गर्ने लगायत व्यवस्था गरिएको हो ।

उनीहरुको जीवन जिउन सहज बनाउन मन्त्रिपरिषदले भुटानी शरणार्थी सम्बन्धी समस्या र समाधानको उपायहरुको सम्बन्धमा प्रस्ताव पास गरिएको हो । यो प्रस्ताव भुटानी शरणार्थीहरुको व्यवस्थापनका लागि असल मनसायले गरिएको हो । शरणार्थीका नाममा अवाञ्छनीय गतिविधि रोक्नका साथै कसैलाई पनि भ्रममा नपर्न मन्त्रालयले विभिन्न समयमा परिपत्र समेत गरेको थियो ।

यसै सन्दर्भमा जिल्ला प्रशासन कार्यालय, शरणार्थी समन्वय इकाई बेलडाँगी झापाबाट मिति २०७८ मंसिर ३ गते भुटानी शरणार्थी शिविर बेलडाँगीका सम्पूर्ण शिविरवासीहरुलाई सूचना निकाली जानकारी समेत गराइएको, यसैगरी समय–समयमा निर्देशनहरु पठाइरहेको हो ।

भुटानी शरणार्थीको नाममा नेपालीहरूलाई मिसाई भुटानी शरणार्थी बनाई तेस्रो देश पठाइदिन्छौं भनी रकम लिएको भन्ने आरोपमा मेरो संलग्नता छैन । मेरो मोबाइल फ्याक्ट्री रिसेट (फर्म्याट) कसरी भयो मलाई थाहा भएन ।

म गृहमन्त्रीको ओहोदामा हुँदा तथा मन्त्रीको ओहोदामा नहुँदा समेत नेपालको छवि उच्च राख्ने काम गरेको छु । कोभिडको समयमा भुटानी शरणार्थी तथा तिब्बतियन शरणार्थी समेतलाई भ्याक्सिन लगाउन नेपाली नागरिकता हुनुपर्ने अवस्थामा समेत मैले पहल गरी निजहरुलाई भ्याक्सिन लगाउने काम गरेको हुँ । जसको अन्तर्राष्ट्रिय समुदायले समेत प्रशंसा गरेका थिए । गैरभुटानी शरणार्थीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने काम ठीक होइन, मैले सो काम सोच्न पनि सक्दिनँ ।

टेकनाथ रिजालको बयान:

जाहेरवाला मध्येका प्रेमराज पन्थीलाई म चिन्छु, नेपाली नागरिकहरूलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजानेमा भूमिका खेल्ने व्यक्तिका रूपमा म उनलाई ३ वर्ष अघिदेखि चिन्छु। अन्य जाहेरवालासँग मेरो चिनजान छैन।

केशवप्रसाद दुलाल र सानु भण्डारीलाई करिब ४ वर्षअगाडि भुटानी शरणार्थी समस्या समाधानको सन्दर्भमा चिनजान भएको, डाक्टर इन्द्रजित राईलाई १५ वर्षदेखि चिन्छु, टेकनारायण पाण्डेलाई यसअघि गृहसचिव हुँदा देखेको मात्र हो।

रामशरण केसीलाई मेरो बिर्तामोडमा भएको घर मर्मतको सिलसिलामा २ वर्ष पहिलेदेखि चिन्छु, टोपबहादुर रायमाझीलाई ४ वर्षपहिले झापामा रहेका भुटानी शरणार्थीहरूलाई स्वदेश फिर्ता र तेस्रो मुलुकमा पुनर्स्थापनाको सन्दर्भमा चिनेको हो। यसबाहेक अन्य प्रतिवादीहरूलाई चिन्दिनँ।

जाहेरवाला समेतका नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भनी पीडितहरूबाट रकम लिने कार्यमा प्रतिवादीहरू केशवप्रसाद दुलाल, सानु भण्डारी, रामशरण केसी, प्रेमराज पन्थी, इन्द्रजित राई र टोपबहादुर रायमाझी संलग्न छन् भन्ने मलाई थाहा छ।

करिब ४ वर्षपहिले मलाई सानु भण्डारी र केशवप्रसाद दुलालले टोपबहादुर रायमाझीसँग भेट गराई टोपबहादुर रायमाझीसँग कुरा गराउँदा टोपबहादुर रायमाझी, केशवप्रसाद दुलाल र सानु भण्डारीले नेपालमा बाँकी रहेका भुटानी शरणार्थीहरूमध्ये तेस्रो मुलुकमा पुनर्स्थापना हुन चाहनेहरूलाई तेस्रो मुलुकमा पुनर्स्थापना गर्ने र केही नेपालीहरूलाई भुटानीहरूकै नाममा अमेरिका समेतका मुलुकमा लैजाने हाम्रो योजना छ, सोमा तपाईंले सहयोगी भूमिका खेलिदिनु पर्‍यो भनेर मलाई भनेका हुन्।

नेपाल सरकारका उच्च ओहदाका मानिसले मलाई त्यस्तो प्रस्ताव गरेपछि मैले सम्पूर्ण भुटानी शरणार्थीहरूको समस्या पूर्ण रूपमा समाधान हुनुपर्छ, नेपालीहरूलाई कहाँ लैजाने र कस्तो व्यवस्थापन गर्ने भन्ने मेरो विषय पनि होइन र मेरो पहुँचको कुरा पनि होइन।

तर तपाईंहरू भुटानीहरूको नाममा नेपालीहरूलाई तेस्रो मुलुक लैजाने हो भने सोबाट भुटानीहरूलाई मर्का नपार्ने र निजहरूबाट रकम नलिने गरी मिलाउन सक्नुहुन्छ भने यसमा मेरो आपत्ति हुने छैन भनेको थिएँ।

यसपछि टोपबहादुर रायमाझी, सानु भण्डारी, केशवप्रसाद दुलालले गृह मन्त्रालयका मन्त्री र सचिव समेतसँग कुरा गरी कार्यदल समेत बनाई काम सुरू गरेका हुन्। म कसैलाई ठगी गर्ने कार्यमा परिपञ्च मिलाउने, रकम लिने र खाने तथा ठगी गरेको रकम राख्ने समेतका कार्यमा मेरो संलग्नता छैन।

नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिने भनी पीडितहरूबाट रकम लिने कार्यमा प्रतिवादीहरू केशवप्रसाद दुलाल र सानु भण्डारी संलग्न छन्। सो कार्यमा हाल अमेरिकामा रहेका अशोक पोखरेल पनि सानु भण्डारी र केशव दुलालका मतियार भई रकम लिने दिने कार्यमा संलग्न छन्।

निजहरूले जाहेरवाला समेतबाट रकम संकलन गरी लिने र संकलन भएको रकम मध्येबाट आफूहरूले व्यापार बिजनेस समेतमा खर्च गर्ने र सोही रकम मध्येबाट टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई, गृह सचिव टेकनारायण पाण्डे समेतलाई दिने गरेको कुरा बाहिर सुनेको हुँ। के कति रकम लिए दिए भन्ने म एकिन साथ भन्न सक्दिनँ। यस कार्यमा टोपबहादुर रायमाझी यस कार्यको सुरूवातमा योजनाकारको रूपमा रहेका र अशोक पोखरेल, सानु भण्डारी र केशव दुलाललाई सल्लाह दिने, गृह मन्त्रालयमा समन्वय गर्ने र रकम लिने कार्यमा संलग्न छन।

यसबाहेक प्रेमराज पन्थी, रामशरण केसीसमेत भई रकम संकलन गर्ने सानु भण्डारी र केशव दुलाललाई दिने कार्यमा निजहरू संलग्न छन्। यस कार्यमा रकम संकलन गर्ने र बाँडी लिने कार्यमा अन्य को-को संलग्न छन भन्ने मलाई थाहा छैन। जिल्ला भक्तपुरको सिरूटार घर हुने गोकुल थापा नाम गरेका व्यक्तिसँग म आजभन्दा २० वर्षपहिले नेपाल आउँदाका बखतदेखि नै चिनजान भएको हो।

निजले नेपालीहरूलाई भुटानी बनाई अमेरिका लैजाने भनेर पीडितहरूबाट रकम लिएको बारेमा मलाई थाहा छैन। जाहेरवाला प्रेमराज पन्थीलाई मैले भेटेको होइन। निजलाई मैले अमेरिका लैजाने बारेमा कुनै कुरा गरेको छैन।

प्रेमराज पन्थीसँग गोकुलले रकम मागेको र गोकुल थापाले निजलाई रकम फिर्ता गरेकोबारे मलाई थाहा छैन। यस कामको सन्दर्भमा मलाई प्रेमराज पन्थीले कुनै कुरा गरेको होइन र मैले निर्देशन दिएको पनि होइन।

भेषराज शर्मा लम्साल मेरो चिनजानका मानिस हुन्। करिब १५ वर्ष पहिले धोबिघाटमा म डेरा बस्दा डेरा बसेको घरको घरधनी भेषराज शर्मा लम्सालका आफन्त भएकोले त्यही निजसँग भेट भई साथीको सम्बन्ध भएको हो। करिब १४ वर्ष पहिले केशवप्रसाद दुलाल र सानु भण्डारी मलाई भेट्न झापा गएकोमा निजहरूले मलाई मेरो घरमा नै भेटेका हुन्।

निजहरूले मलाई भुटानी शरणार्थीहरूको समस्याको बारेमा घुमाउरो शैलीमा कुरा गरी १००/१५० जना नेपाली नागरिकहरूलाई पनि भुटानीको परिचय दिई अमेरिका लैजान सहयोग गर्नुपर्‍यो भन्ने प्रस्ताव गरेका थिए।

सो विषयमा म उक्त काम गर्ने कुनै कार्यकारी वा अधिकारप्राप्त व्यक्ति नभएको हुँदा कसलाई पठाउने वा नपठाउने विषयमा मेरो कुनै भूमिका रहने कुरै भएन तर नेपालमा बाँकी रहेका भुटानी शरणार्थीहरूको अगुवा भएकोले नेपालमा रहेका भुटानीहरूको तेस्रो देशमा पुनर्स्थापना, मानवीय सहायता र भुटान फिर्ताको सम्बन्धमा नेपाल सरकारले उचित पहल कदमी लिएको अवस्थामा को कुन नेपालीहरू भुटानीको नाममा अमेरिका जाने हुन भन्ने मेरो सरोकारको विषय नै थिएन।

यही व्यहोरा मैले निजहरूलाई बताएकोमा सोको केही समयपछि केशवप्रसाद दुलाल, भेषराज लम्साल र सानु भण्डारीले नेपालीहरूको भुटान मानव अधिकार संगठनको सदस्यता कार्ड बनाएको बारेमा मैले छनक पाएको थिएँ।

निजहरूले बनाएको कार्डमा मलाई सही गर्नका लागि अनुरोध गरेकोमा मैले सरकारी तवरमा कुरा नगरी म कार्डमा सही गर्दिनँ भनेको हुँ तर सो कुरामा मलाई इन्द्रजित राई र टोपबहादुर रायमाझीले समेत भनेको हुँदा नेपाल सरकारका निजहरू दुबै जनाले नेपालीहरूको नाममा भुटानी कार्ड बनाउँदा कुनै समस्या नपर्ने भनेको, म आफू नेपाल सरकारबाट प्राप्त सुविधामा आश्रित रहेको मानिस भई तत्काल प्राप्त हुनुपर्ने सुविधाहरू रोकिरहेको अवस्थामा सो सुविधासमेत प्राप्त हुने आश्वासनसमेत प्राप्त भएको तथा सरकारी तवरमा टोपबहादुर रायमाझी र इन्द्रजित राई मुख्य भई काम गरी रहेका तथा बाहिरबाट तत्काल कर्मचारीहरूको सरूवा बढुवा गराउन, आफ्ना लागि तुरून्त सेवा सुविधा लिन सक्ने हैसियतका सानु भण्डारी र केशवप्रसाद दुलाल यस कार्यमा संलग्न भएकोले निजहरू विश्वासमा मैले केही कार्डहरूमा सहीछाप गरिदिएको हो।

बाँकी कार्डहरू प्रविधिको दुरूपयोग गरी वा अन्य तवरबाट बनाए भन्ने मलाई थाहा भएन। जनक कार्कीलाई म चिन्दिनँ, निज मेरा सल्लाहकार पनि होइनन्। नेपालीहरूलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्यमा गोकुल थापा जानकार छन् र निजले केशवप्रसाद दुलाल र सानु भण्डारीसँग मिलेर सोसम्बन्धी कार्य गरेका हुन्। तर मैले कोही कसैलाई अमेरिका लैजाने भन्नेबारे निजसँग कुरा गरेको छैन।

गोकुल थापाले रामशरण केसीबाट रकम, नागरिकताको फोटोकपी र फोटो लिएको मलाई थाहा छैन। गोकुल थापाबाट मैले कुनै रकम लिएको छैन। रामशरण केसी र प्रेमराज पन्थी मेरो घरमा जाने-आउने गरी रहने मानिस हुन्। रामशरण केसीले गोकुल थापा, सानु भण्डारी र केशवप्रसाद दुलालले निजहरू समेतबाट निजहरूलाई अमेरिका लैजाने भनी रकम लिएको र काम नगरेको भनेर गुनासो गर्ने गरेका हुन्।

तर म निजहरूबाट रकम लिने कार्यमा संलग्न छैन। निजहरू बीचको लेनदेनको बारेमा मलाई थाहा भएन। करिब ६ वर्षपहिले रामशरण केसी मेरो घरमा गई नेपालीहरूलाई नक्कली भुटानी बनाई अमेरिका लैजाने हाम्रो योजना छ, तपाईंले मद्दत गरी दिनुहोस् भन्न आएका थिए। मैले सो बेला सख्त इन्कार गरेको थिएँ।

सोपछि पनि निज रामशरण केसीले मलाई पटक-पटक सो बारेमा फोनबाट अनुरोध गरिहेका थिए। पछि गोकुल थापामार्फत् नेपालीहरूलाई नक्कली भुटानी बनाई अमेरिका लैजानेसम्बन्धी काम गरी रहेका सानु भण्डारी र केशव दुलालसँग मेरो भेट भई कुरा भएपछि मैले रामशरण केसीलाई भेषराज शर्मा लम्साल र केशव दुलालसँग चावहिलको A1(एवान) पार्टी प्यालेसमा भेट गराइदिएको हो ।

सोपश्चात् पनि रामशरण केसीको काम समयमा नभएपछि मलाई रामशरण केसीले सो बारेमा गुनासो गर्ने गरेका हुन्। मैले निजसँग रकम लिएको र निजलाई ठगी गरेको छैन। मैले रामशरण केसी समेतका ३४ जना व्यक्तिहरूको भुटानी शरणार्थी कार्ड (परिचय पत्र) बनाई दिने भनी कार्डहरू लिएको होइन।

रामशरणबाट केशव दुलाल र सानु भण्डारीले कार्डहरू लिई मलाई सही गराएको हुन सक्छ। मैले कोही कसैबाट रकम लिएको होइन। मैले रामशरण केसीलगायत कोही कसैसँग रकम लिएको छैन, यो सबै झुठ्ठा हो। मैले कार्डहरू बनाएको होइन, केशवप्रसाद दुलाल र सानु भण्डारीले मलाई दिएका केही कार्डहरूमा सही सम्म गरेको हो। मैले कुनै कार्डहरू जलाएको र जलाउन लगाएको होइन।

केही कार्डहरूमा केशवप्रसाद दुलाल र सानु भण्डारीले सही गराएका हुन्। कुन-कुन कार्डहरूमा मैले सही गरेको थिएँ भन्ने हाल एकिनसाथ भन्न सक्दिनँ। लक्ष्मी कोइराला, कृष्ण कोइराला, रामशरण केसी र प्रेम पन्थीका विरूद्धमा मैले प्रहरी वृत्त गौशालामा निवेदन दिएको हो।

प्रेमराज पन्थी र लक्ष्मी कोइरालासहित झापा बिर्तामोडका ६/७ जना मानिसहरू मेरो झापा घरमा गई हामीहरूको रकम चाहियो भनेर हुल-हुज्जत नै गर्न लागेपछि मैले ‘तिमीहरूको रकम मैले कहिले लिएको हो? प्रमाणबिना मेरो घरमा घेर्न आएका हौ?’ भनेपछि निजहरू मेरो घरबाट गए। मेरो घरमा जाने मानिसहरू लक्ष्मी कोइराला र प्रेम पन्थी तथा रकम लेनदेन रहेका भनिएका कृष्ण कोइराला र रामशरण केसी भएकाले मैले निजहरूविरूद्ध प्रहरी वृत्त गौशालामा निवेदन दिएको हो। निवेदनउपर छलफल हुँदा रामशरण केसी र लक्ष्मी कोइराला गौशाला गएका थिए।

सो बेला रामशरण केसीले मबाट रु. १,३०,०००/- (एक लाख तीस हजार) रकम पाउनु छ भनेर जिकिर लिएका थिए। मैले रामशरणलाई औषधीसमेत किनाएको रकम रु.१,३०,०००।- (एक लाख तीस हजार) दिनु पर्नेमा सो रकम म दिन्छु भनेपछि प्रहरीले रकमको कुरा बाहिरै मिलाउनु होस् भनेर हामीहरूलाई पठाएका हुन।

सानु भण्डारीले नेपालीहरूलाई भुटानी बनाई अमेरिका लैजाने सन्दर्भमा मलाई काठमाडौं बोलाउँदा, होटलमा राख्दा, खाना समेतको खर्च बापतको रकम आफ्नो डायरीमा टिपेर राखेको हो। इन्द्रजित राई, म र केशवप्रसाद दुलालको फोटो गृह मन्त्रालयमा खिचिएको फोटो हो। म र केशव दुलाल गृह मन्त्रालयमा गई इन्द्रजितराईसँग भेटेको बेला इन्द्रजित राईको कार्यकक्षमा खिचिएको फोटो हो। सो बेला इन्द्रजित राई र म गई सचिव र गृहमन्त्रीलाई भेटेर भुटानी शरणार्थीसम्बन्धी विषयमा कुरा भएको थियो ।

इन्द्रजित राई र केशव दुलालसँग खिचिएको मेरो उक्त फोटो देखाई मसँग सम्बन्ध भएको भन्ने विश्वासमा पारी जाहेरवाला समेतका मानिसहरूबाट निजहरूलाई अमेरिका लैजाने भनी रकम संकलन गर्ने माध्यमको रूपमा सो फोटो दुरूपयोग गरेको कुरा मैले पछि थाहा पाएँ। नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थीहरू बनाई यति विघ्न रकम संकलन गरेको र ठगी भएको होला भन्ने कुराको जानकारी मलाई पहिले थिएन।

टोपबहादुर रायमाझी र इन्द्रजित राई सरकारी निकायकै तर्फबाट यस प्रकरणमा सक्रिय रहेको साथै केशवप्रसाद दुलाल र सानु भण्डारी सरकारी निकायमा उच्च सरकारी कर्मचारीहरूको सरूवा-बढुवा गराउन सक्ने पहुँच बनाएका व्यक्तिहरू नै संलग्न रहेको मानिसहरू सक्रिय रहेका कारण सरकारी तवरबाटै उक्त काम भएको कुरामा मलाई विश्वास भयो भने म भुटानी शरणार्थी भई नेपाल सरकारको सुविधामा बसिरहेको मानिसले नेपालको सरकारी तवरबाटै भएको कार्यको बारेमा कहीँकतै उजुरबाजुर गर्नु उचित नलागेको र यस्तो परिस्थितिमा मैले औपचारिक रूपमा कहीँकतै उजुरबाजुर गर्ने ठाउँ नै नपाएको हो।

म नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजाने कार्यको सुरूवातदेखि नै विरोध गरिरहेको मानिस हो। तर यसअघि नेपालमा रहेका भुटानीहरूलाई तेस्रो देशमा लैजाँदा केही नेपालीहरू घुसेर भुटानीको नाममा अमेरिका समेतका मुलुकमा गएकै हुन्। सो कुराको जानकारी नेपाल सरकार समेतलाई हुनु पर्ने हो।

म एक भुटानी शरणार्थीको रूपमा नेपालमा आश्रय लिइरहेको मानिसले नेपाल सरकारका उच्च पदस्थ व्यक्तिहरूको संलग्नता र उपस्थितिमा भएको नेपालीहरूलाई नक्कली भुटानी बनाई तेस्रो मुलुक लैजाने कार्य रोक्न सक्ने मेरो सामर्थ्य बाहिरको कुरा थियो।

मैले नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजाने कुरा रोक्ने कार्य मेरो पहुँचभन्दा बाहिरको विषय भएकोले रोक्न नसकेको मात्र हो, तर मैले यसबाट कुनै फाइदा लिएको, बदनियत राखी सो कार्यमा संलग्न भएको होइन।

नेपाल सरकारबाट भुटानी शरणार्थीहरूको नाममा नेपालीहरूलाई नक्कली भुटानी बनाउने कार्यमा नेपाल सरकारले गठन गरेको कार्यदलको प्रतिवेदन नै सहयोगी रहेको र सो प्रतिवेदन बुझ्ने र कार्यान्वयन गर्ने पदाधिकारीहरूलाई जानकारीमा रहेको भन्ने मैले बुझेको छु ।

यस्तो कार्य गर्ने सरकारी निकायका पदाधिकारी र अन्य संलग्न नेपालीहरू नै यसमा जिम्मेवार छन्। सानु भण्डारी, अशोक पोखरेल र केशव दुलालले डिजाइन गरेर नेपालीहरूलाई नक्कली भुटानी बनाई अमेरिका लैजाने भनेर रकम संकलन गरेका हुन र पछि सो कार्यमा प्रेमराज पन्थी र रामशरण केसी पनि जोडिएका हुन् भने सरकारी तवरबाट इन्द्रजित राई, टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे र तत् समयका अन्य पदाधिकारी संलग्न छन्।

अन्य को-को भई कसरी नेपालीहरूलाई नक्कली भुटानी बनाई अमेरिका लैजाने कार्य गर्नका लागि रकम संकलन गरे र कस -कसको कति कति रकम ठगी भयो तथा ठगीको रकम कसले कसले लियो भन्नेबारे मलाई थाहा छैन। म ठगी गर्ने तथा सोको लागि संगठन बनाउने र परिचालन गर्ने समेतको कार्यमा संलग्न छैन।

सुमित्रा पौडेल मेरो चिनजानको एकल महिला हुन्, निजलाई केशवप्रसाद दुलाल र सानु भण्डारीले अमेरिका पठाउने भनी निजबाट रकम लिएर का नगरेकोले निजले सो बारेमा मसँग चासो राखेकी हुन्। गैरभुटानी शरणार्थीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्य ठिक होइन।

तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको बयान :

केशवप्रसाद दुलालबाहेक कसैसँग पनि मेरो चिनाजान र सम्पर्क छैन । शरणार्थीसम्बन्धी प्रतिवेदन मेरो कार्यकालमा तयार भएको होइन । मेरो कार्यकालभन्दा पहिले नै प्रतिवेदन तयार भएको हो । प्रतिवेदनमा शरणार्थीको नाममा व्यक्तिको नामावली समावेश भएकाले त्यतिबेला नै लेनदेनको काम भएको हो ।

म कार्यरत रहँदाको समयमा परिचय पत्रहरु वितरण गर्ने कार्य भएन, शरणार्थी सम्बन्धी कार्य मन्त्रालयको स्थानीय प्रशासन शाखाले गर्दछ ।

शरणार्थीको नाममा हुने अवैध चलखेल प्रति सचेत रहन शरणार्थी इकाई झापा र जिल्ला प्रशासन कार्यालय झापावाट सूचना तथा विज्ञप्ति जारी भएको थियो ।

गृह मन्त्रालय राजनीतिक प्रकृतिको तथा जनसम्पर्क मन्त्रालय भएकाले राजनीतिक रुपमा, व्यक्तिगत रुपमा र सुरक्षा तथा गुप्तचरी प्रक्रियाबाट सम्पर्क गर्ने तथा थप सूचना लिनुपर्ने हुन्छ । त्यसक्रममा कतिपय व्यक्तिसँग सम्पर्क भएको हो ।

उक्त सूचना प्राप्त भएपछि एअरपोर्टका तत्कालीन प्रहरी प्रमुख र प्रहरी महानिरीक्षकसँग समन्वयमा सुन तस्करी नियन्त्रण भएको अभिलेखबाट समेत देख्न सकिन्छ ।

बदनियत राखी आर्थिक लेनदेनको लागि कुनै पनि कुराकानी भएको छैन र कुराकानीमा भनिएजस्तै कुनै पनि प्रकृतिको सहयोग प्रतिवादीलाई गरिएको छैन ।

म लोभिएको, झुक्किएको र कुनै रुपमा पनि संलग्न छैन । अवैध क्रियाकलापमा संलग्न व्यक्तिहरुको समूहलाई उपयुक्त समयमा सकभर एकै पटक कानुनको दायरामा ल्याउन तत्कालीन अपराध महाशाखा प्रमुख र प्रहरी महानिरीक्षकसँग छलफल तथा निर्देशन भएको थियो ।

 हज समितिका अध्यक्ष शमशेर मियाँ :

 नक्कली शरणार्थी प्रकरणमा मुछिएका हज समितिका अध्यक्ष शमशेर मियाँले आफूले प्रयोग गरेको सरकारी गाडी सन्देश शर्मालाई प्रयोग गर्न दिएको सकारेका छन् ।

पक्राउ परेपछि सरकारी वकिलको रोहवरमा प्रहरीलाई बयान दिने क्रममा शर्माले पारिवारिक समस्या बताएपछि आफूले गाडी दिएको र त्यसबाहेक अरु थाहा नभएको दावी गरेका छन् ।

‘सन्देश शर्माले पारिवारिक समस्या छ भनेर गाडी माग गरेकोले केही दिनको लागि चालकलाई गाडी छाड्न भनेको हुँ’ मियाँको बयान उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘सन्देश शर्मालाई पटक–पटक ताकेता गर्दा ५/६ दिनपछि मात्र सन्देश शर्माले गाडी ल्याई रेष्टुरेन्टमा छाडेका हुन् ।’

आफू रामबहादुर थापा बादलको कार्यकालमा हज समितिको अध्यक्षमा नियुक्त भएको, बादलका छोरा प्रतीक थापासँग सन्देश शर्मा प्रायजसो सँगसँगै रहने भएकाले चिनाजान भएको उनले बयानमा स्वीकारेको प्रहरी स्रोत बताउँछ ।

उनले बयानमा भनेका छन्, ‘सन्देश शर्मा विभिन्न व्यक्तिहरुको सरुवा बढुवा गराउने काममा समेत सक्रिय रहेको देखेको हुँ ।’ उनले त्यस क्रममा टोपबहादुर रायमाझीका छोरा सन्दिपसँग समेत आफ्नो चिनजान भएको स्वीकारेका छन् ।

सानु भण्डारी, केशवप्रसाद दुलाल र सन्देश शर्माबीच निकै राम्रो सम्बन्ध रहेको बताउँदै उनले उनीहरु गृह मन्त्रालयका सल्लाहकार इन्द्रजित राईलाई भेट्न बारम्बार जाने गरेको स्वीकारेका छन् । उनले बयानमा भनेका छन्, ‘सानु भण्डारी र केशवप्रसाद दुलाललाई गृह मन्त्रालयमा आउन कुनै रोक थिएन ।’

उनले आजभन्दा दुई वर्ष पहिले बखुण्डोलस्थित टंककुमार गुरुङको रिसोर्टमा नेपालीलाई तेस्रो मुलुकमा पठाउने काम भइरहेकोबारे कुराकानी सुनेको स्वीकारेका छन् । अनि उनीहरु पक्राउ परेपछि आफू समेत पक्राउ पर्ने डरले आफूले बोकेको सिमकार्ड फालेको पनि मियाँले स्वीकारेका छन् ।

उनले बयानमा भनेका छन्, ‘म समेतलाई प्रहरीले खोजतलास गर्दैछ भन्ने थाहा पाई म डरत्रासमा भागी उक्त मोबाइल फ्याँकेको हो ।’

नरेन्द्र केसीको बयान:

प्रतिवादी बालकृष्ण खाण, टेकनारायण पाण्डेलाई मैले गृह मन्त्रालयमा तत्कालीन माननीय गृहमन्त्री बालकृष्ण खाणको  सचिव भई काम गर्ने क्रममा निजहरूसँग चिनजान भएको हो।

अन्य प्रतिवादीहरू सानु भण्डारी, केशवप्रसाद दुलाल, टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राई, इन्द्रजीत राई, सन्दीप रायमाझी, गोविन्दकुमार चौधरी र रामशरण केसीलाई मैले यसभन्दा पहिला चिनेको थिइनँ।

म तत्काल गृह मन्त्रालयमा तत्कालीन गृहमन्त्रीको निजी सचिवको रूपमा मिति २०७८ भदौदेखि २०७९ माघ १० गतेसम्म कार्यरत रहेको हुँ, निज बालकृष्ण खाणसँग निजी सचिव हुनु पहिला नै चिनजान थियो भने टेकनारायण पाण्डे पनि सोही मन्त्रालयमा सचिव पदमा कार्यरत रहेको हुँदा निजलाई समेत चिनेको हो। 

म मिति २०७८ साल भदौसम्म चितवनको शारदा मावि स्कुलमा कार्यरत रहेको र तत्पश्चात गृह मन्त्रालयमा तत्कालीन गृहमन्त्रीको निजी सचिवको रूपमा २०७९ माघ १० गतेसम्म कार्यरत रहेको हो। 

मैले प्रयोग गर्दै आएको ९८६१६१९५११ र आङटावा शेर्पाले चलाउने गरेको ९८५१०६२०८९ सँग पटक-पटक गरी ४९ पटक कुराकानी भएको भन्ने सम्बन्धमा मलाई सम्झना भएन।

मेरो नाम उल्लेख गरी लेखिएको कागज क-कसले, कु-कुन प्रयोजनको लागि लेखेको हो, के-कसरी प्रतिवादी बालकृष्ण खाणको घरबाट बरामद भएको हो मलाई थाहा भएन।

प्रतिवादी केशवप्रसाद दुलाल र प्रतिवादी टेकनारायण पाण्डे बीचमा कुन-कुन आधारमा मलाई रकम दिने भनी मेरो नाम जोडी निजहरू बीचमा उक्त कुराकानी भएको हो, मलाई जानकारी भएन।

म बालकृष्ण खाणको निजी सचिव भएकै आधारमा मसँग कुनै सरोकारको विषय नै नभएको ठगी र संगठित अपराधमा उक्त कागज बरामद भएकै कारणबाट म दोषी भएको भनी आरोप लगाउनु गलत हो।

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक