20230628

हामीले यस्तो के चलन चलाऊँदै छौं हँ ? - रामप्रसाद खनाल

 विदेशमा बसेर पनि, हर कुरा देखेर जानेर पनि नेपाली फोहोरी राजनीति र गुटबन्दी गर्ने, गन्हाएका नेताहरूलाई खादा, फुल मालाले स्वागत गर्ने, टाँसिने सेल्फिवालहरू देख्दा कठै बरा भन्न मन लाग्ने । नेपाली हामी चिनिउँला कहाँ, यही चाल नरहे, अब यही त भन्नु पर्ला । 

उता मात्रै होइन, यता पनि पारा उही छ हामी बिचराहरूको । विदेशमा बस्ने मित्रहरू सक्नुहुन्छ भने तपाईँ जहाँ जुन देशमा बस्नुहुन्छ त्यहीँको राजनीति गर्नुस् । सक्नुहुन्न भने खुरु खुरु कामधाम गर्नुस्, केही सिक्नुस्, व्यापार व्यवसाय गर्नुस्, आफ्नो खुट्टामा आफै उँभिनुस, फेसबुक र टिकटकमा नक्कली, देखावटी रूपमा होइन व्यवहारिक रूपमा आफ्नो परिवारसँग रमाएर बस्नुस, नेपाल र नेपाली जनतालाई बारम्बार दोहन गर्ने, बदनाम मात्र होइन सिनो झैँ गन्हाएका कथित दले झोले नेता, कार्यकर्ताहरूलाई यहाँ पनि निम्त्याएर कमरेड र काँग्रेस बनेर, फलानो बादी, ढिस्कानो बादी  भनेर तमासा नदेखाउनुस् विनम्र अनुरोध छ । 

सत्य तितो लाग्छ तर मैले भनेका यी कुराहरु एक पटक घरमा श्रीमान्, श्रीमती, छोरा छोरी सँगै बसेर कुरा गर्नुस्, छोरा छोरी हो यो रामप्रसाद खनाल भन्ने मनुवाले भनेको कुरा सही हो कि गलत हो भन त भनेर सोध्नुस् त उत्तर पाइहाल्नुहुन्छ । 

हुँदा हुँदा अब त दुई चार जना सँगै बसेर दारु पानी खान पनि, पिकनिक वा कहीं जान पनि, कार्यक्रमहरुमा रमाउन पनि, सामाजिक संस्थाहरुमा उठ्न र भोट पाउन पनि कथित दले झोले नै हुनु पर्ने हो ? हामीले यस्तो के चलन चलाऊँदै छौं हँ ?? स्वदेशमै बसेर नेपाली हुन, गर्ब गर्न, मर्न त पाइएला जस्तो छैन, बिदेशमा पनि "नेपाली" मात्र भएर, स्वतन्त्र नागरिक भएर बाँच्न पनि नपाउने नै हो त ??

एउटा तितो अनुभब शेयर गर्छु संसारका ४४ देश घुम्दाको । मैले जहाँ गएँ काँग्रेस देखें, एमाले देखें, माओवादी देखें, रा.प्र.पा, थाप्रपा, मधेशबादी, जाती जनजाती, दलित, बाहुन, छेत्री, जात जाति, गाउँ, नगर, जिल्ला, टोल, थर सम्मका संघ संगठन सबै देखें तर वास्तविक "नेपाली" हरू, स्वतन्त्र नेपालीहरु अरुको तुलनामा बहुत कम देखें । त्यही भएर पनि होला मलाई त्यही स्वतन्त्र र वास्तविक "नेपाली" सँग गाँसिन मन पर्छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक