20230628

त्यसैले देशमा विकास भइरा’छ ! - रबीन्द्र मिश्र

देशबाट दिनमा दुई हजार युवा विदेशिन्छन्

श्रीमान्-श्रीमति, छोरा-छोरी, बाबु-आमा छोडेका छन्

सबैका अनेक भावनात्मक, मानसिक, सामाजिक पीडा छ

दिनदिन बाकसमा फर्किएको लास छ

मलामी जाने मान्छे छैन, गाऊँ खाली-खाली हुँदैछ

सबैको काहाली लाग्दो सामाजिक मूल्य छ

ती सबै थाहा छ तर ती तिनकै कुरा हुन्

सबैको चिन्ता गरेर कहाँ बस्न सकिन्छ?

म र मेरो परिवारलाई सबै ठिकै छ

त्यसैले मेरा लागि त देशमा विकास भइरा’छ!

देशको झण्डै एक-तिहाई बजेट

बैदेशिक श्रमिकहरूबाट प्राप्त हुन्छ

अर्थतन्त्रको एउटा प्रमुख खम्बा त्यही भा’छ

गाऊँगाँऊमा बाटो बनेको छ

बाटो देखाउने छोरा-छोरी छैन भन्छन्

खेतहरू टन्नै छन्

विऊ लाउने मान्छे छैन भन्छन्

हामीले गरेर नभएको हो र?

हुन त, बैदेशिक श्रमिकले पठाएको पैसाका कारण

प्रतिव्यक्ति आय बढेर १२ सय डलर पुगेको छ

देश विकासको संक्रमणकालमा यस्तै हुन्छ

छिमेकीहरूको धेरै बढ्यो भनेर आरिस गरेर हुन्छ?

यति लेख्न, यति बोल्न कसले गरेर पाइयो, सोच्न पर्दैन?

देश-विदेश घुम्न पाइएको छ

परिवारलाई राम्रो खुवाउन, घुमाउन पाइएको छ

कुरै नबुझ्नेहरूसँग के तर्क गर्नु?

म र मेरो परिवारलाई सबै ठिकै छ

त्यसैले हेर्नोस्,

मेरा लागि त देशमा विकास भइरा’छ!

देशमा १२ लाख विद्यार्थी एक कक्षामा भर्ना हुन्छन्

एसईई दिने बेलामा साडे चार लाख बाँकि रहन्छन्

त्यसमध्ये ७० प्रतिशतले न्यून नतिजा ल्याउँछन्

राम्रो नतिजा ल्याउने एक लाख बढी विदेश जान्छन्

अपवादलाई छोडेर, सके ती फर्किँदैनन्

हुन त, यो ‘विश्वव्यापी गाऊँ’ मा

फर्किनै पर्छ भन्ने पनि के छ र!

मेरा त फर्किए पनि नेपालमा राम्रै गरि हाल्छन्

नफर्किए विदेशमा झन राम्रो गर्छन् – मलाई के को टेन्सन्!

सबैको चिन्ता लिएर म बस्न सक्दिन

म र मेरो परिवारलाई सबै ठिकै छ

त्यसैले मेरा लागि त देशमा विकास भइरा’छ!

देशमा जम्मा सरकारी डाक्टर १४०० छन्,

निजी डाक्टर चाहिँ झण्डै १८ हजार छन्,

हरेक वर्ष उत्पादन हुने झण्डै २ हजार डाक्टरमा

झण्डै ११ सय डाक्टर विदेशिन्छन्

देशका करिब ३० प्रतिशत बिरामीमात्र

सरकारी स्वास्थ्यसेवा लिन्छन्

उपाचार गराउन नपाएर

या केही हजारको बिल तिर्न नसकेर

बिरामीहरू आत्महत्या गर्छन् त कुन ठूलो कुरा भो

औसत आयु बढेकै छ, मातृ र शिशु मृत्युदर घटेकै छ

भगवानको कृपा, मेरो परिवारमा चाहिँ केही भएको छैन

म र मेरो परिवारलाई सबै ठिकै छ

त्यसैले मेरा लागि त देशमा विकास भइरा’छ!

जग्गा अधिग्रहण भइसकेको

२८ किलोमिटरको रिङरोड विस्तार गर्न १० वर्ष लाग्छ

राजधानीमैं ३ किलोमिटर बाटो विस्तार गर्न ६ वर्ष लाग्छ

मेलम्चीको पानी आउन २५ वर्ष लाग्छ

ठूलो जलविद्युत आयोजना बनाउन ३० वर्ष लाग्न सक्छ

शहर “धनीहरूको सुकुम्बासी वस्ती” बनिसक्यो

कंक्रिटको जङ्गलमा सकेसम्म कोही नबस्ने भइसक्यो

जहाँ गयो गल्ली, गल्ली छ

अन्य शहरको हाल पनि त्यस्तै हुँदै गइसक्यो

भावी पुस्ता यो देशमा कसरी बस्लान् जस्तो लाग्छ

गर्नेले मोटरसाइकल/मोटर चढ्न पाएकै छन्

बेलाबेला रेष्टुराँ पनि गएकै छन्

छोराछोरी गक्षले भ्याएसम्म राम्रो स्कूलमा पढाएकै छन्

छेऊकै अस्पतालमा उपचार गराउन नसकेर

दुईजना छोरीलाई विष खुवाएर

आमाले पनि आत्महत्या गरिन् त के भो

संसारमा यस्तो भइरहन्छ

भावनामा बहेर देश काँ विकास भा’छ!

अरूको रिस गरेर हुन्छ र भन्या?

म र मेरो परिवारलाई सबै ठिकै छ

त्यसैले मेरा लागि त देशमा विकास भइरा’छ!

देशमा पानी-पानी छ

सबैको घरमा केही नभए पनि

पोलिथिनको पाइपमा पानी आउँछ

देशमा बिजुली-बिजुली छ, सबैको घरमा

थोत्रो तारमा भए पनि बिजुली आउँछ

टिनले बारेको छाप्रोमा भए पनि

बहूसंख्यक नेपालीको घर छ

दस ठाऊँमा च्यातिएकै किन नहोस्

सबैलाई लगाउने लुगा छ

यस्ता, यस्ता कुरा देख्दै नदेख्नि

यो सुन्दर देशलाई अरूसँग दाँजेर झूर मात्रै भन्ने

कस्तो कुण्ठित मनोरोगीहरूको देश बन्यो

म त त्यस्तो भन्दै भन्दिन

“फूलको आँखामा फूलै संसार…”

म र मेरो परिवारलाई सबै ठिकै छ

त्यसैले मेरा लागि त देशमा विकास भइरा’छ!

नपत्याए, तथ्याङ्क हेरे भइहाल्छ।

मैले मन्त्री पनि चिनेको छु

प्रधानमन्त्रीलाई चिन्ने मान्छे पनि चिनेको छु

सचिव पनि चिनेको छु, प्रहरी पनि चिनेको छु

केही समस्या पर्यो भने तुरून्त सल्टाउन सक्छु

पाँचतारे होटेलमा देश बनाउने भाषण दिन्छु

समाज एकदम नकारात्मक भयो

ठिक-ठिक तथ्याङ्क टिप्नै नजान्ने

सकारात्मकता छर्नै नजान्ने

आफैँ पहिले सकारात्मक नभै

अरूलाई बनाउन कसरी सकिन्छ?

म त फेरि पेशागत, आर्थिकरूपमा

केही न केही सफल मान्छे नै हुँ नि

समाजमा अलिअलि सम्मान पनि छ

म र मेरो परिवारलाई सबै ठिकै छ

त्यसैले मेरा लागि त देशमा विकास भइरा’छ!

संसारकै कान्छो गणतन्त्र भनेर

संसारभरी हाम्रो कत्रो इज्जत छ

देख्नुभएन तपाईंले? घरको गलैँचा बाटोमा विछ्याएर

हाम्रो प्रधानमन्त्रीलाई अमेरिकी राष्ट्रपतिभन्दा

भव्यसँग स्वागत गरेको?

देख्नु पर्ने कुरा नदेख्नि

अनि हामीले कत्रो बलिदान दिएर ल्याएको

संघीयता, धर्म निरपेक्षता, गणतन्त्रको

उल्लीबिल्ली लगाउन खोज्ने, तपाईँ को?

तपाईं पश्चगामी हो, प्रतिगामी हो, प्रतिक्रियावादी हो

दास हो, अबुझ हो, अप्रगतिशील, पुरातनवादी कपुत हो

आफ्नै पुस्ताको बारेमा सोच्न नसक्नेले

भावी पुस्ताका बारे गफ दिने?

म र मेरो परिवारलाई सबै ठिकै छ

त्यसैले मेरा लागि त देशमा विकास भइरा’छ!

१३ असार २०८०


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक