20230701

डिजेल ट्याङ्की विस्फोट भएपछि बसमा आगो, २५ जनाको मृत्यु


 भारतको महाराष्ट्रस्थित मुम्बई–नागपुर द्रुतमार्गमा गुड्दै गरेको एक निजी बस शनिवार बिहान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। नागपुरबाट समृद्धि राजमार्ग हुँदै पुणेतर्फ आइरहेको ३३ जना सवार बसको टायर फुटेर चालकको नियन्त्रण बाहिर गएको बताइएको छ। अनियन्त्रित बस एउटा खम्बामा ठोकिएको थियो। ठक्करका कारण बसको डिजेल ट्याङ्की विस्फोट भएपछि बसमा आगो लागेको थियो। आगलागीका कारण अधिकांशको जलेर मृत्यु भएको छ। दुर्घटनामा बाँचेका केही यात्रु सिसा फोरेर बाहिर निस्कन सफल भएको प्रहरी अधिकारीले बताएका छन्। घाइते यात्रुहरूलाई उपचारका लागि स्थानीय बुलढाना अस्पताल लगिएको छ। मृतकहरुको अझै सनाखत हुन सकेको छैन। विज्ञहरूले दुर्घटनाको अनुसन्धान गरिरहेका छन्।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी कार्यालयका अधिकारी घटनास्थलमा पुगेका थिए।

दमकलले गाडीले आगो निभाउँदासम्म जलन र चोटका कारण केहीको घटनास्थलमै मृत्यु भएको विवरण आएका छन्।  दुर्घटनामा बाँचेका यात्रुहरूबाट प्रहरीले घटनाबारे जानकारी लिएको थियो।


“म ओर्लने ठाउँ आउन एक घण्टा जति बाँकी थियो। ओर्लने तयारी गर्दागर्दै बस पल्टियो अनि मेरो साथी र म लड्यौँ," उनले भने।

"हामी अगाडिको यात्रु सिसा फुटाएर निस्कँदै गरेको देख्यौँ र हामी पनि उनको पछि लाग्यौँ। हामी बसबाट हाम फाल्न सफल भयौँ।"

उनका अनुसार पल्टिने बित्तिकै बसमा आगो लागेको थियो र आगो बिस्तारै बढ्दै गयो।

“हामीले यात्रुहरूको चिच्याहट सुन्यौँ, तर हामीले केही गर्न सकेनौँ।”

बुलढाना बस दुर्घटनाबारे बसका मालिक वीरेन्द्र दर्नाले टायर फुटेका कारण बस डिभाइडरमा ठोक्किएर आगो लागेको बताएका छन्।

समाचार एजेन्सी एएनआईसँगको कुराकानीमा उनले बस पूर्णतया नयाँ भएको र यसका कागजपत्रहरू पनि व्यवस्थित रहेको दाबी गरे।

उनका अनुसार बस चालक अनुभवी थिए। टायर फुटेका कारण बस डिभाइडरमा चढेको र त्यसपछि अत्यधिक प्रज्वलनशील पदार्थमा आगो लागेको चालकले बताएका छन्।

महाराष्ट्रका ग्रामीण विकास तथा पञ्चायती राज विभागका मन्त्री गिरीश महाजनले दुर्घटनापछि चालक र सहचालकलाई नियन्त्रणमा लिइएको बताएका छन्।

उक्त दुर्घटनापछि चालक र सहचालक त्यहाँबाट भागेको BBC ले जनाएको छ । 

घटनाप्रति दुःख व्यक्त गर्दै महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले मृतकका परिवारलाई प्रतिव्यक्ति पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिनुका साथै दुर्घटनाको छानबिन गर्ने पनि घोषणा गरेका छन्।


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाबारे दुख व्यक्ति गर्दै मृतकका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट दुई लाख सहयोगको घोषणा गरेका छन्।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक