20230701

प्यारिस नजिकै भएको ट्राफिक जाँचको क्रममा मङ्गलवार एक किशोरको गोली लागि मृत्यु भएपछि अहिले फ्रान्सभरि भीषण दङ्गा


 प्यारिस नजिकै भएको ट्राफिक जाँचको क्रममा मङ्गलवार एक किशोरको गोली लागि मृत्यु भएपछि अहिले फ्रान्सभरि भीषण दङ्गा मच्चिएको छ र प्रदर्शनहरू व्यापक बन्दै गएका छन्। सत्र वर्षीय किशोर नाहेल एममाथि एक जना प्रहरी अधिकारीले गोली प्रहार गरेको भिडिओ सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि घटनाले उग्र रूप लिएको हो। घटनामा संलग्न अधिकारीले पीडितको परिवारसँग माफी मागेका छन्। यद्यपि उनीविरुद्ध गैरकानुनी हत्याको आरोप लागेको छ र अहिले उनी हिरासतमा छन्।

मृतकलाई उनी गाडीबाट निस्किँदै गर्दा ‘पोइन्ट-ब्ल्याङ्क रेन्ज’ अर्थात् निकै नजिकबाट निशाना बनाई गोली हानिएको सार्वजनिक विवरणहरूमा उल्लेख गरिएको छ। मृतक अल्जेरिअन मूलका हुन् र उनको मृत्युले फ्रान्सेली उपनगरहरूमा प्रहरीले जातीय समुदायलाई लक्षित गरी गर्ने आक्रमणबारेका गुनासोलाई पुनर्जीवित गरेको छ।

यसै विषयमा आक्रोशित मानिसहरूका कारण देशभर हिंसा फैलिएको छ। बिहीवार दिउँसो ती युवककी आमाको नेतृत्वमा निस्किएको र्‍यालीमा पनि झडप भएको थियो।

बीबीसीका यूरोप डिजिटल सम्पादक पल किर्बीका अनुसार मृतक आमाले हुर्काएका एक्लो सन्तान हुन्। उनी ‘टेकअवे खाना’ पुर्‍याउने गाडी चलाउँथे र रग्बी लिगका खेलाडी समेत थिए।

उनको शैक्षिक पृष्ठभूमि व्यवस्थित थिएन। उनी आफू बस्ने ठाउँबाट नजिकै एक कलेजमा इलेक्ट्रीशियन बन्ने तालिमका लागि भर्ना भएका थिए तर निकै कम उपस्थित हुन्थे।

नाहेललाई चिन्ने मानिसहरूले उनी मायालु स्वभावको भएको बताए। उनी आफ्नी आमा मोनियासँगै बस्थे र आफ्नो बुबासँग सम्पर्कमा थिएनन्।

प्रहरीले उनको कुनै आपराधिक घटनामा संलग्नता नदेखिएको जनाएको छ।

उनले घटना भएको दिन काममा निस्कनुअघि चुम्बन दिँदै भनेका थिए, "आई लभ यू मम (म तिमीलाई माया गर्छु आमा)।"

दङ्गा नियन्त्रणका लागि शुक्रवार साँझसम्ममा ४५,००० प्रहरी अधिकारीहरूलाई तैनाथ गरिएको थियो। सरकारले क्षेत्रीय अधिकारीहरूलाई रातभर सार्वजनिक सवारी सेवाहरू बन्द गर्न आह्वान गरेको थियो। त्यस्तै अभिभावकहरूलाई आफ्ना छोराछोरीलाई प्रदर्शनहरूबाट जोगाउन भनिएको छ।

फ्रान्सका आन्तरिक मामिला मन्त्री डार्मानिनका अनुसार दङ्गाको चौथो रातमा अशान्तिका कारण "आर्थिक तथा अन्य गतिविधिमा असर" परेको छ।

बिहीवार राति ९१७ जना पक्राउ परेका थिए भने शुक्रवार राति उक्त सङ्ख्या ४७१ मा सीमित छ। तर, थुप्रै फ्रान्सेली सहरहरूबाट थप हिंसाका विवरणहरू आएका छन्। ती स्थानहरूमा सवारी साधनमा आगो लगाइएको भिडिओहरू सार्वजनिक भएका छन्।

विशेषगरी मार्सेलीबाट ८७ जनालाई गिरफ्तार गरिएको छ। यस्ता आन्दोलनहरूबाट १३ वर्षसम्मका किशोरहरूलाई समेत हिरासतमा लिइएको छ। पक्राउ परेकाहरूको औसत उमेर १७ वर्ष रहेको मन्त्री डार्मानिनले बताए।

फ्रान्सेली फुटबल स्टार किलियान एम्बाप्पेले भनेका छन्, "हिंसाले कुनै पनि समस्या समाधान गर्दैन।" उनले यस स्थितिलाई "शोक, संवाद र पुनर्स्थापना"को बाटोबाट सुधार्न आग्रह गरेका छन्।

फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँले प्रदर्शनकारीहरूले घटनाको फाइदा लिइरहेको आरोप लगाएका छन्। उनले हिंसाको निन्दा गर्दै नाहेलको मृत्युपछिको अवस्थालाई हिंसात्मक गतिविधि गर्न प्रदर्शनकारीहरूले प्रयोग गरेको आशङ्का गरेका छन्।

उनले हिंसा नियन्त्रणका लागि थप अधिकारीहरू खटाइने बताए पनि देशमा आपत्कालीन अवस्था घोषणा गरिएको छैन।

माक्रोँले दङ्गामा सहभागी किशोरकिशोरीलाई घरमै राख्न सम्बन्धित अभिभावकलाई आग्रह गरेका छन्। उनले भने,”उनीहरूलाई घरमै राख्नु आमाबुबाको जिम्मेवारी हो।”

उनले सामाजिक सञ्जाल सेवा प्रदायकहरूलाई केही सामग्रीहरू हटाउन समेत आह्वान गरेका छन्।

उनले "संवेदनशील प्रकारका सामग्रीहरू" हटाउन र हिंसाजनक प्रदर्शन आयोजना गर्न त्यस्ता सञ्जाल प्रयोग गर्ने व्यक्तिहरूको नाम अधिकारीहरूलाई उपलब्ध गराउन आग्रह गरेका छन्।

स्न्यापच्याटका एक जना प्रवक्ताले उक्त एपले हिंसा र घृणालाई बढवा दिने सामग्रीप्रति "शून्य सहनशीलता"को नीति अपनाउने र स्थितिलाई नजिकबाट अनुगमन गरिरहने बताएका छन्।

सार्वजनिक सडकमा ३ हजार ८८० भन्दा बढी आगजनीका घटना भएको त्यहाँको आन्तरिक मन्त्रालयको आँकडा छ।

विभिन्न ठाउँमा प्रदर्शनकारी र दङ्गा नियन्त्रणमा खटेका प्रहरीबीच झडप भएको छ। कतिपय स्थानमा कर्फ्यु लगाइएको छ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक