20230713

प्रचण्डको, नेपाली कम्युनिस्टहरूको पाखण्डपन गलत हो

- नारायण गाउँले  
 प्रचण्ड परिवारले नून बार्ने र किरिया गर्ने जस्तो 'देखावटी' कर्म नगर्ने भन्ने पढ़ियो ! नास्तिक हुनु कत्ति गलत होइन । पूर्वीय चिन्तन परम्परामा नास्तिकता पनि एउटा दर्शन हो । चार्बाक् हरूलाई दार्शनिकका रूपमा सम्मान नै गरिएको छ । तर, पाखण्डी हुनु गलत हो ! तर्क एउटा र व्यवहार अर्को गर्नु गलत हो । प्रचण्डको, नेपाली कम्युनिस्टहरूको पाखण्डपन गलत हो ।  भौतिकवादी हुन सकिन्छ, पाइन्छ । दुई करोड़ बढ़ी हिन्दूले उमङ्ग र उल्लासमय रूपले मनाउने दशैँको दिन खाली निदारको फोटो टाँसेर भौतिकवादी या प्रगतिवादी देखिन पनि मिल्छ । 

तर, धर्मनिरपेक्ष भारतमा पुगेर गेरू वस्त्रमा मन्दिरमा पूजा गर्ने अनि टिप्पणी आउने बित्तिकै मेरो मन त थिएन तर एक अरब भारतीयको मन राख्न गएँ भन्नेजस्तो तर्क पाखण्ड हो । 

पशुपतिमा सर्वसाधारणलाई रोकेर भिआइपी पूजा गर्ने, सुनको जलहरी चढाउने अनि आफ्ना आमाबुबाको किरिया गर्दा प्रतिगामी अनुभव हुनु पाखण्ड हो । 

आफ्नै धर्म र संस्कृतिमा आस्था, विश्वास र आदर नहुने हो भने किन अर्को देशमा गएर पूजाआजामा एक दिन खर्च गर्नु ? किन म भौतिकवादी कम्युनिस्ट भएकाले मन्दिरमा गेरू वस्त्र लगाएर निरर्थक  समय खर्च गर्न सक्दिन भन्न नसक्नु ? किन दशैँकै दिन खाली निधार देखाएर क्रान्तिकारी बन्नु ? 

विश्वमा मुश्लिम लिडर छन्, क्रिश्चियन लिडर छन्, भारत र बेलायतमा हिन्दु लिडर पनि छन् । ती चर्च, मन्दिर र मस्जिद गएरै पनि, आआफ्नो मौलिक संस्कृतिलाई पछ्याएरै पनि आधुनिक जस्ता देखिन्छन् । कम्तिमा ती आडम्बर गर्दैनन् । दैनिक जिन्दगीमा धोती लगाउने मोदी धोती लगाएरै पशुपतिनाथ पुग्छन्, लुम्बिनी पुगेर ध्यान नै गर्छन् । आफ्नो मौलिक संस्कृतिको प्रबर्धन गर्छन्, गौरव गर्छन् ।

मेरो दार्शनिक, सैद्धान्तिक र सांस्कृतिक परिचय यो हो भनेर गर्वका साथ भन्न र त्यस्तै बाँच्न पनि नसकिने कस्तो प्रगतिवादको शिकार भयौं होला हामी ? आस्तिक, नास्तिक, अध्यात्मवादी, भौतिकवादी सबै बन्न सकियो तर ढोङ्गी बन्न किन जरूरी हुन्छ र ? 

अत्यन्त निजी जीवनमा हुँदैन तर सार्वजनिक व्यक्तित्वका क्रियाकलापमा त टिप्पणी हुन्छ नै । त्यसमा पनि माओको सांस्कृतिक क्रान्तिलाई आदर्शवाद मानेर हाम्रो धर्मसंस्कृतिका कति धेरै पक्षमाथि सैन्य धावा नै बोल्ने नेतृत्वमाथि । 

अलि चित्त दुख्ने चाहिँ कोही किरिया नबसेर होइन, मानौं किरिया बस्नेहरू 'देखावटी' ढोङ्ग गर्छन् जस्तो बिझाउने व्याख्याले हो ! ढोङ्गले हो ! 

माताजीको आत्माले शान्ति पाओस्, हार्दिक कामना💐

( नारायण गाउँलेको यो लेख उनको फेसबुक पोस्ट बाट साभार गरिएको हो ) 

  

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक