20230828

सुन तस्करीसँग जोडिएका विदेशी व्यक्तिहरूको साथमा नेपाली नागरिता फेला, काभ्रेबाट ६ विदेशी नागरिकले फर्जी कागजात तयार गरी नागरिकता र राहदानी लिएको प्रमाणित

 सुन तस्करीसँग जोडिएका विदेशी व्यक्तिहरूको साथमा नेपाली नागरिता फेला पर्ने क्रम रोकिएको छैन । २०८० भाद्र १० गते आइतबार साँझसम्म जिल्ला प्रशासन कार्यालय काभ्रेबाट ६ विदेशी नागरिकले फर्जी कागजात तयार गरी नागरिकता र राहदानी लिएको प्रमाणित भएको छ । दावाले सुनभन्दा पहिला नागरिकता र राहदानीको तस्करी गर्ने गरेको खुलेको छ । काभ्रेबाट नेपालीका नाममा नागरिकता र राहदानी लिएका विदेशी नागरिकहरूमा दावा छिरिङ भनिने निमा तामाङ, पासाङ तामाङ, सोनाम लामा, तेन्जिङ गुरुङ, राम लामा र पछि फेला परेका तेन्जिङ सोनाम तामाङ रहेका छन् । उनले २०७८ असोज १९ गते जिल्ला प्रशासन कार्यालय काभ्रेबाट राहदानी लिएका हुन् । उनको राहदानी नम्बर १२४२६०४२ हो । नागरिकता नम्बर ३०३०७५–१८४३ भए पनि काभ्रेबाट जारी भएको देखिँदैन । तर, काभ्रेपलाञ्चोक जिल्लाको नागरिकता कोडनम्बर ३०३० नै हो । उनको जन्म मिति २०४७ कात्तिक १८ गते उल्लेख छ ।


अभिलेखमा काभ्रेबाट नागरिकता नदेखिए पनि सोही नागरिकताका आधारमा राहदानी लिएको खुलेको छ । उनलाई पनि दावामार्फत् नै नागरिकता दिलाएको खुलासा भएको छ । पक्राउ परेका विदेशीहरूको साथबाट बरामद भएका कागजातका आधारमा पछिल्लोपटक तेन्जिङ सोनाम तामाङको नामको नागरिकता र राहदानी फेला परेको सीआईबीले जानकारी दिएको छ ।


‘चिनियाँ नागरिक ली नेङकाईको साथमा राम लामा र सोनाम लामा नामका दुईवटा राहदानी बरामद भएका छन्’, स्रोतले बतायो– ‘राम र सोनामले एकै दिन काभ्रेबाट २०७८ पुस ८ गते राहदानी लिएका हुन् । उनीहरूले लिएको राहदानीअनुसारको नागरिकता नम्बर भने गृह मन्त्रालयको रेकर्डमा भेटिँदैन ।’ राम लामाको जन्म २०५३ वैशाख १५ गते राखिएको छ । नागरिकता नभएकाले ठेगाना प्रस्ट छैन । १२५८९४५७ नम्बरको राहदानी लिएका रामको नागरिकता नम्बर ३०३०४१–२२५४ हो । यो जिल्लाको अभिलेखमा नक्कली हो । यस्तो खालको नम्बर काभ्रेबाट जारी भएको नागरिकतामा छैन ।


सोनामको राहादानी नम्बर १२५८९४५६ र नागरिकता नम्बर ३०३०४२–२२५४ हो । जन्ममिति २०५३ भदौ ७ राखिएको छ । नागरिकता र राहदानीको नम्बरसँगै छ । उनीहरू दुवै जना नेपाली हैनन् । प्रहरीको रेकर्डमा भने दावा, सोनाम र रामको मात्रै नागरिकता फेला परेको छ । सीआईबीले गरेको अनुसन्धानमा पासाङ, तेन्जिङ र तेन्जिङ सोनाम थपिएका छन् । तेन्जिङको राहदानी नम्बर ११८८०३१ हो । २०२०–२–२४ अर्थात् २०७६ फागुन १२ गते काभ्रेपलाञ्चोक जिल्लाबाट लिएको राहदानीमा २०३९ जेठ २४ गते जन्ममिति राखिएको छ ।


‘सीआईबीले गरिरहेको अनुसन्धानबाट निमा भन्ने दावा तामाङले आफूसहित अन्य ५ जनालाई काभ्रे जिल्लाबाट नागरिकता तथा राहदानी उपलब्ध गराएको खुलेको छ’, स्रोतले भन्यो– ‘केहीलाई नागरिकता र राहदानी दुवै र केहीलाई फर्जी नागरिकताका आधारमा सक्कलै राहदानी दिलाएको गृह मन्त्रालयको रेकर्डमा देखिएको छ ।’ दावाको सेटिङमा केही कर्मचारी खुलेर नै सक्रिय भएको पनि सीआईबीले अनुसन्धानमा फेला पारेको छ ।


तर, नागरिकताका बारेमा छानबिन गर्न गठन भएको छानबिन समिति भने राजनीतिक दबाबका कारण निष्क्रिय जस्तै भएको छ । पहिलो चरणमा ७ दिन र थप ७ दिनको म्याद पाएको छानबिन समितिको म्याद सकिएको केही दिन हुँदासमेत प्रतिवेदन पनि बुझाउन सकेको छैन । काभ्रेबाट एक वर्षको अवधिमा ३ सय ५० वटा नागरिकता अनुसूची बिना बिक्री गरिएको खुलासा नेपाल समाचारपत्र दैनिकले यसअघि नै गरिसकेको थियो ।


‘गृह मन्त्रालयमा बुझाइएको उक्त प्रतिवेदन न गृहमा, न जिल्लामा कतै फेला परेको छैन’, छानबिन समितिका एक सदस्यले भने– ‘के गर्ने भन्ने अन्योलमा परेको छ समिति ।’ तत्कालीन समयमा नागरिकता र राहदानी उपलब्ध गराउने कार्यमा तत्कालीन अधिकृतद्वय भूपेन्द्र पाण्डेय, झपेन्द्रराज खरेल, सुब्बाद्वय रामचन्द्र अर्याल र रमेश नेपाल, करारमा कार्यरत गोमा पराजुली, कम्प्युटरमा कार्यरत हीराकाजी तामाङ, कार्यालय सहयोगी विष्णुप्रसाद गौतम संलग्न रहेको तथ्य खुलेको छ । तत्कालीन समयमा प्रमुख जिल्ला अधिकारीका रूपमा शिव सिंखडा कार्यरत थिए । राहदानीको १५ लाख र नागरिकताको ५ लाख रुपियाँमा बिक्री गरेको स्रोतले बतायो ।


थपिए विदेशी नागरिक :


१) दावा छिरिङ भनिने निमा तामाङ

२) पासाङ तामाङ

३) सोनाम लामा

४) तेन्जिङ गुरुङ

५) राम लामा

६) तेन्जिङ सोनाम तामाङ


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक