20230825

नेपालमा लगानी बोर्डले ४ जलविद्युत परियोजनाका लागि ३६ अर्बमाथिको लगानी स्वीकृत, उच्चस्तरीय समिति गठन गर्ने निर्णय

 नेपालमा लगानी बोर्डले ४ जलविद्युत परियोजनाका लागि ३६ अर्बमाथिको लगानी स्वीकृत गरेको छ । शुक्रबार बिहान बसेको बोर्डको ५५ औं बैठकले  ६३ मेगावाट छुजुङ खोला जलविद्युत परियोजना अनुमानित लागत ९ अर्ब ६८ करोड, ४९.९५ मेगावाटको दानाखोला जलविद्युत परियोजनाका लागि अनुमानित लागत ९ अर्ब ६८ करोड, सानीभेरी जलविद्युत परियोजना ४४ दशमलव ५२ मेगावाट अनुमानित लागत ९ अर्ब ४६ करोड र २२ मेगावाटको रोल्वालिङ खोला जलविद्युत परियोजनाका लागि ७ अर्ब ९२ करोड, लगानी स्वीकृत गरेको हो ।

यस्तै बैठकले दाङ राजपुर गाउँपालिकामा प्रस्तावित २४५ मेगावाट र २० मेगावाट क्षमतको सौर्य ऊर्जा अध्ययन अनुमति प्रदान गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गरेको बोर्डका प्रमुख प्रशासकीय अधिकृत सुशील भट्टले जानकारी दिनुभयो । त्यसै गरी बोर्डले तल्लो अरुण जलविद्युत परियोजनाको लागि प्रारम्भिक अधिकारी तोक्ने सवालमा पनि निर्णय गरी मन्त्रीपरिषद्मा पठाउने निर्णय भएको पनि उहाँले बताउनु भयो । बोर्ड बैंठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको सवालमा यस परियोजनाको विकासको खाका, परियोजनाको खाका, विकास ढाँचा र लगानीको ढाँचा तय गर्न गठित समितिको म्याद थप गरिएको छ । काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन परियोजना प्याकेज वानको बारेमा पनि बोर्ड बैठकलाई जानकारी गराइएको छ ।

बैठकले सार्वजनिक-निजी साझेदारी ऐन-२०७५’ लाई संशोधनको प्रस्ताव तयार गर्न लगानी बोर्ड कार्यालयलाई स्वीकृति दिइएको छ ।त्यसैगरी बैठकले तमोर जलाशययुक्त जलविद्युत् परियोजना कार्यान्वयन अघि बढाउने सम्बन्धमा हालसम्मको विकासक्रमको समीक्षा गर्दै परियोजनाको भावी कार्यदिशासम्बन्धी सुझाव पेस गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय पनि गरेको छ । समितिको संयोजकमा  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ रहनु हुने भएको छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक