20231224

प्रेमराजा महत, रामप्रसाद खनाल, कृष्ण कँडेल, निशा सुनार सँगै यसरी नाच्यो अमेरिकाको नेपाली समुदाय !

अमेरिका / डिसेम्बर महिनाको २२ तारिख, २०२३ को दिन थियो त्यो । अमेरिकाको डिसी मेट्रो एरियामै अवस्थित भर्जिनिया मनाससको विन्धाम होटेलको भरिएको सभा हलमा इन्द्रेणी दोहोरी साँझ साङ्गीतिक कार्यक्रम हेर्न मान्छेहरू उत्साहित थिए । नहुन पनि कसरी, जहाँ प्रेमराजा महत, रामप्रसाद खनाल जस्ता लोकगीत, दोहोरी गीत, संस्कृतिका पुराना हस्तिहरू सँग अहिले नेपालमा लोकप्रिय प्रतिभावान कलाकार, समाजसेवी, इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल र दोहोरीमा खप्पिस निशा सुनार पनि सँगै थिइन । निर्धारित समय भन्दा केही ढिलो कार्यक्रम सुरु भयो । ढिलो भएकोमा आयोजकका तर्फबाट क्षमा माग्दै कार्यक्रम सञ्चालक जोडी सरोज केसी र रुसा केसी मञ्चमा चढे र मिठो उद्घोषणका साथ कार्यक्रम सुरु गरे । उनीहरूले प्रेमराजा महत, रामप्रसाद खनाल, कृष्ण कँडेल, निशा सुनार जस्ता कलाकारहरूको परिचय राख्दै उनीहरूका बारेमा तयार अडियो भिडियो प्रस्तुत गरे । कार्यक्रम सुरु भो । 

केही स्थानीय कलाकारहरूको नाच बाट सुरु भएको कार्यक्रममा प्रेमराजा महत, रामप्रसाद खनाल, कृष्ण कँडेल, निशा सुनारले गीतहरू प्रस्तुत गर्दै गए । माहौल तात्दै र नाच्दै देखिन थाले पछि सुरु भयो दोहोरी । 

दोहोरी सुरु हुनु अगाडि प्रेमराजा महत र रामप्रसाद खनालले कृष्ण कँडेल र इन्द्रेणीको खुलेर प्रशंसा गरे । खनालले त आफू र नेपाल टेलिभिजनको उ बेलाको ऐतिहासिक कार्यक्रम लोक दोहोरीका उत्पादन, आफ्ना सहयोगी कृष्ण कँडेलले आफू अमेरिका आए पछि लोक दोहोरीको विरासत थामेकोमा कँडेल प्रति गर्व गर्दै धन्यवाद व्यक्त गरे । कृष्ण कँडेलले खनाल र महत आफ्ना अग्रज र गुरुहरू भएको बताउँदै आफू खनाल र खनालको लोक दोहोरीकै उत्पादन भएको र वहाँकै योगदानकै कारण आफू आज यहाँ सम्म आउन प्रेरणा मिलेको बारम्बार दोहोराए । 

रुशा इन्टरप्राइजेज एल एल सी, रुशा केसी,  सरोज केसी, निदेश अधिकारी, गणेश पाण्डे, मिलन गोर्खाली जस्ता उत्साही युवाहरूले नेपाली समुदायसँग मिलेर आयोजना गरेको यो कार्यक्रममा २०५४ साल तिर रामप्रसाद खनालकै असाध्यै लोकप्रिय लोक दोहोरी गीत "छाता ओझेल पारिदेऊ बर्खे झरीमा, भो भो मलाई चाहिँदैन सम्पत्ति तिम्रै माया ठुलो छ संसार भरीमा" भन्ने भाखाको गीतमा दोहोरी सुरु भयो । कृष्ण र निशाले मज्जाले दोहोरी गाए, उनीहरूलाई रामप्रसाद खनाल, प्रेमराज महत, पवन ओली, स्वरुपा रसाइली, सुस्मा आचार्य लगायतले सघाए । 

लाइभ बाजा सहित दोहोरीको दोस्रो चरणमा दोहोरीको रूपमा प्रेमराजा महतको अर्को पुरानो लोकप्रिय भाखा "सालैको पातैले, दिए खान्थे मायाको दाहिने हातैले" मा निशालाई " घर छोडेर कहाँ गैथ्यौ बहिनी, घरको कुरा पोल खोल्न नहुनी" भन्दै खनालले दोहोरी सुरु गरे त्यस पछि कृष्ण र निशा दोहोरी भिडन्तमा उत्रिए । कृष्णलाई रिले दोहोरीका रूपमा खनालले नै सघाउँदै र बिच बिचमा थप्दै गए । यस्तै गर्दै गर्दै भर्जिनिया अमेरिकाले यस पटकका लागि लोक दोहोरी कार्यक्रम सम्पन्न गर्‍यो । 

 कार्यक्रममा लाइभ बाजा गाजा पनि अर्को आकर्शण का रुपमा थिए । मादलमा राजु ढुंगेल र खिम मस्रांगी, अपटो प्याडमा राजेश खड्गी,  हार्मोनियममा लक्ष्मण पौडेल, वासुरीमा अमृत रामदाम र विजय गुरूङ, सारंगीमा सुजन रामदाम, गिटारमा विराज रामदामको प्रस्तुती अत्यन्त जोडदार थियो ।      

कार्यक्रममा प्रायोजकहरू र सहयोगीहरूलाई आयोजकहरूका तर्फबाट कृष्ण कँडेलले प्रशंसा पत्र पनि वितरण गरे । प्रवासमा कार्यक्रम गर्दा केही कमी कमजोरीहरू हुन सक्छन त्यो स्वाभाविक हो त्यसका बाबजुद कार्यक्रम भव्य रूपमा सम्पन्न भयो भन्दै दर्शकहरू बिदा भए आयोजकहरू र कलाकारहरुलाई धन्यवाद ज्ञापन गर्दै ।     

                                                            






























No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक