20240103

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले राष्ट्रियसभामा सिट खोजेको प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को ब्रिफिङ !

 प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले राष्ट्रियसभामा सिट खोजेको प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को ब्रिफिङले गठबन्धनभित्रका घटकमा आशंका बढाएको छ । बुधबार दिउँसो बालुवाटारमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) को बैठकमा प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभामा मिलेर जान प्रस्ताव राखेको सुनाएका थिए ।

प्रधानमन्त्रीको बिफ्रिङपछि एमालेले सिटसहितको स्पष्ट प्रस्ताव ल्याएपछि छलफल गर्ने निष्कर्षसहित बैठक सकिएको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे बताउँछन् । “एमालेको सर्त के हो ? एमालेको पोजिसन के हो ? एमालेले कति मागेको हो ? त्यसपछि संसद्‌मा उसको भूमिका के रहन्छ, त्यो आएपछि फेरि बसौँला भन्ने कुरा भएको हो,” उनी भन्छन् । 

चार  दलको बैठकपछि प्रधानमन्त्री प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओलीबीच छलफल भएको थियो । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा मिलेर जाने प्रस्ताव आएकाले छलफल थालिएको माओवादीका महासचिव देव गुरुङ बताउँछन् । एमालेको ठोस प्रस्ताव आएपछि गठबन्धनभित्र थप छलफल हुने उनले बताए ।

“गठबन्धनमा छलफलकै क्रममा छ । एमालेले प्रस्ताव गरेको अवस्थामा नमिल्ने भन्ने भएन । सहमति र सहकार्यका आधार के हुन सक्छन् ठोस र मूर्तरूपमा बुझेर अघि बढ्ने कुरा भएको छ । मूर्त कुरा भएको छैन्,” उनी भन्छन् । 

एमालेले अहिले यति सिट भनेर दाबी नगरेको उनी बताउँछन् ।

एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एमालेसँग पर्याप्त मतभार नभएकाले दलहरूसँग प्रारम्भिक छलफल गरिएको जानकारी दिए ।

“प्रारम्भिक छलफल हो । विभिन्न राजनीतिक दलसँग छलफल गरिरहेको सन्दर्भमा हाम्रा कुरा राख्ने र अरूका कुरा सुन्ने काम भएको छ,” उनी भन्छन् ।

प्रमुख प्रतिपक्षी दलले नै सत्तासँग बार्गेनिङ गरेपछि गठबन्धनभित्रकै घटक सशंकित बनेका छन् । एकीकृत समाजवादी, जसपालगायतका दललाई एमालेसँगै जाने प्रस्ताव चित्त नबुझेको देखिन्छ । एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डे प्रमुख प्रतिपक्षीदलले सत्तासँग सिट खोजेर भूमिका गुमाउन खोजेको टिप्पणी गर्छन् ।

“प्रतिपक्षले सत्तापक्षसँग एउटा सिट मागेर आफ्नो नादानी रूप देखाउन खोज्यो ।  राष्ट्रियसभामा केही पद घटेर एमालेलाई के फरक पर्छ ?  एमालेले प्रतिपक्षी दलको भूमिका गुमाउन खोज्यो,” उनले बाह्रखरीसँग भने ।

माओवादी महासचिव गुरुङ भने अहिलेको परिस्थितिमा सत्ता पक्ष र प्रतिपक्षबीच मिल्न सक्ने ठाउँमा मिल्ने कुरालाई बेठिक भन्न नमिल्ने बताउँछन् ।

“सामान्यतयाः परम्परागत संसदीय प्रणालीमा सत्ता पक्ष र प्रतिपक्ष आगोपानी जस्तो भइरहनुपर्ने भन्ने देखिन्छ । त्यसैगरी सदन चल्छ कि चल्दैन भन्ने कुरा हो,” उनले भने ।

हरेक कुरामा सत्ता पक्ष र प्रतिपक्षका नाममा एकले अर्कालाई निषेध गर्ने तहमा जाँदा व्यवस्था टिक्छ कि टिक्दैन भन्ने हेर्नुपर्ने उनको भनाइ छ ।

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ गते उमेदवारी दर्ता हुँदै छ । उमेदवारी मनोनयको मिति नजिकिएसँगै दलहरू भागबन्डाको छलफलमा लागेका हुन् ।

फागुन २० गतेबाट रिक्त हुने २० पदमध्ये १९ पदमा निर्वाचन हुने छ । एक सिटमा भने राष्ट्रपतिले मनोनयन गर्ने छन् । सत्ता गठबन्धन एक रहेसम्म एमालेले अहिले रिक्त हुन लागेको सिटमा एक पद पनि जित्न सक्ने अवस्था छैन । त्यसैले एमालेले दलहरूलाई विभिन्न प्रस्ताव राखेको छ । - बाह्रखरी 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक