20240202

माघ १९ को एउटा साक्षीको बयान - सुरेश आचार्य


आज नेपाली राजनीतिमा चर्चित "माघ १९" को दिन हो । तात्कालीन परिस्थितिमा "माघ १९" को कदम देशभरका पिडित हजारौं जनताले राजासँग गुहार मागेपछि असल नियतसाथ चालिएको कदम थियो । राजाको त्यो शाही घोषणाको पूर्णपाठको मस्यौदाकार म आफैं थिए भने शाही घोषणालाई नेपाल टेलिभिजन र रेडियो नेपालबाट संप्रेषण गराउने जिम्मेवारी पनि मलाई नै दिइएको थियो । दरबारभित्र कतिपयले मध्यराती शाही घोषणा संप्रेषण गर्नु पर्ने बताए पनि मेरै सुझाव बमोजिम ठिक बिहान १० बजे टेलिभिजन र रेडियोबाट "साइमलटिनियस्ली" घोषणा गरिएको हो ।

मैले त्यत्रो दिनसम्म मेरा पिताजीलाई समेत त्यस बारे केही पनि भनेको थिइनँ । माघ १९ गते मेरो जिम्मेवारीको काम पूरा गर्न घरबाट बिहान ८ः३० बजे निस्कनु अघि मैले पिता (स्व. यज्ञप्रसाद आचार्य) लाई "१० बजे नेपाल टेलिभिजनमा राजाको शाही घोषणा सुन्नु हुन" भनें ! 

यथार्थ कुरा  राजाको वैधानिक नेतृत्वका हिमायती वयोवृद्ध पिताजीलाई संकेत नगरी गुमराहमा राखेर जानु मलाई उचित लागेन । यसै पनि मेरा पिताजी विद्वान, निष्ठावान र अध्ययनशिल व्यक्तित्व, उहॉलाई गुमराह कसरी गर्नू ? म धर्मसंकटमा परेँ ! 

उहॉलाई "राजा नै मंत्रीपरिषदको अध्यक्ष हुने" घोषणा हुदैंछ भन्ने कुरा पनि सुनाएँ । मेरा कुरा सुन्ने वित्तिकै पिताजी म सँग एकदमै जंगिनु भयो, र भन्नु भयो, "तैंले यो कुरा मलाई हिजो नै भनेको भए, म जसरी भए पनि राजालाई यस्तो गलत कदम चाल्नबाट रोक्ने थिएँ, अब समय नै बॉकि छैन । राजा कसको फेरमा परे, ठूलो गल्ती गरे । यस्तो हो भने अब राजसंस्था रहदैन ।धत्, दुर्भाग्य हुने भयो !" 

पिताजीले केही गर्न सकिन्छ कि भनेर फोन घुमाउन थाल्नु भयो । घोषणा हुनु अघि नै बजारमा हल्ला फैलियो भने के गर्ने? भनेर मैले नै उहॉलाई टेलिफोन गर्नबाट रोकें ! अनि, आमालाई बोलाएर वस्तुस्थिति बुझाई पिताजीलाई राजाको घोषणा टेलिभिजनमा नआउन्जेल घरमा बाहिरिया कसैलाई नभेट्न र टेलिफोन गर्न र टेलिफोन रिसिभ समेत गर्न नदिनु होला भनेर गाडी चढेर हिडें । 

यथार्थमा मैले झण्डै एक महिना लगाएर उक्त शाही घोषणाको प्रारम्भिक मस्यौदा तयार पारेको थिए । मस्यौदा लेखनमा मलाई प्राप्त निर्देशन अनुसार राजाले मंत्रीपरिषद्को अध्यक्षता नगरी त्यसबेलाको बिघटित संसदमा प्रतिनिधित्व गर्ने दलका अन्य नेताहरू मध्येबाटै सर्वसम्मत व्यक्तित्वलाई मंत्रीपरिषद्को अध्यक्ष बनाउने राजाको योजना  थियो । 

संभावित नामहरूमा मैले केपी ओली र नारायणमान विजुक्छेको नाम गाइगुई सुनेको थिए । मस्यौदामा मंत्रिपरिषदको अध्यक्षको नाम मैले खाली राखेर माघ १६ गते कै दिन सचिब बैठकमा दिएपछि मस्यौदामा राजाको नाम, पछि कसले कसरी थप्यो मलाई जानकारी भएन । 

अर्कोतर्फ, दलका नेताहरू यो जिम्मेवारी लिन अघि सरेनन् भन्ने कुरा पनि सुनें। किन जिम्मेबारी बोक्न चाहेनन्, मलाई थाहा हुन सकेन । 

अन्तिम समयमा एक्कासी  देशीविदेशी क-कसले कहॅाबाट के भूमिका खेले वा दवाव दिए, अनि राजालाई नै मंत्रीपरिषद्को अध्यक्ष घोषणा  गर्ने गरी मस्यौदामा नाम थपिएछ ! राजालाई अध्यक्ष बनाउने टुंगो गरी ओली र नारायणमानजीलाई उपाध्यक्ष बस्न भनियो रे भन्ने पनि सुनें ।

अन्ततः राजा मंत्रीपरिषदको अध्यक्ष बन्ने अड्को तेर्साएर प्रधानमंत्री भइसकेका वयोवृद्ध उमेरका सक्रिय राजनीतिबाट २० औं वर्ष अघि नै अवकास लिएका डा. तुलसी गिरी र किर्तिनिधी विष्टको अनिच्छालाई वास्ता नगरी दुवैलाई उपाध्यक्षमा बस्नै पर्ने परिस्थिति निर्माण हुनगएछ । 

राजपरिषदले समेत राजाले मंत्रीपरिषदको नेतृत्व गर्ने  सुझाव दिएको थिएन । अब कसले राजालाई चक्रव्यूहमा पारे, खोजको विषय हो !


सुरेश आचार्य 

२०८० माघ १९ गते

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक