20240303

नेपाली चिकित्सक र स्वास्थ्यकर्मीको संगठनद्वारा हिमालय हेल्थ क्लिनिकको सेवा तथा स्तरोन्नतिका लागि कोष अभिवृद्धि कार्यक्रम आयोजना


अमेरिकाको टेक्सासमा रहेका नेपाली चिकित्सक र स्वास्थ्यकर्मीको संगठन (टीएनएमए)द्वारा सञ्चालनमा रहेको हिमालय हेल्थ क्लिनिकको सेवा नियमितता तथा स्तरोन्नतिका लागि कोष अभिवृद्धिका लागि गाला डिनर आयोजना गरिने भएको छ । यही अप्रिल ६, २०२४ मा हिमालयन क्लिनिकले आयोजना गर्न लागेको 'फन्ड रेजिङ गाला डिनर'को बारेमा केही प्रस्ट पार्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । सो अवसरमा संस्थाका पदाधिकारीहरूले टीएनएमए, हिमालयन हेल्थ क्लिनिक र गाला डिनरलगायतका बारेमा प्रस्ट पार्नुभएको थियो । कार्यक्रममा डालस वरपर सक्रिय पत्रकारहरूको उपस्थिति थियो।

टीएनएमएका अध्यक्ष डा. सञ्जीव श्रेष्ठले २ मार्चमा टेक्सासको युलेसमा पत्रकार सम्मेलन आयोजना गरी निःशुल्क रूपमा सञ्चालित क्लिनिकका लागि मासिक कम्तिमा १० हजार डलर खर्च भइरहेको जानकारी दिनुभयो । हरेक महिनाको पहिलो र तेस्रो आइतबार बिहान १० देखि १ बजेसम्म युलेसस्थित नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र परिसरमा सञ्चालन भइरहेको क्लिनिक हालसम्म समुदायको सहयोगबाट सञ्चालन भइरहेको डा. श्रेष्ठले बताउनुभयो । उक्त क्लिनिक बिमा सेवा नलिएका र आफन्त भेट्न छोटो अवधिका लागि नेपालबाट आएका नेपालीहरूलाई लक्षित गरी सञ्चालन गरिएको पनि डा. श्रेष्ठले जानकारी दिनुभयो । २५ वर्षदेखि अमेरिकामा रही कार्यरत डाक्टर श्रेष्ठले अगाडि भन्नुभयो, “क्लिनकमा प्राविधिक सेवा निःशुल्क भए पनि अमेरिकी मापदण्डअनुसारका चिकित्सा सामग्री, औषधि जुटाउन र तिनको भण्डारण आदिमा हुने खर्चको जोहो गर्न कठिनाइ भइरहेको छ ।” सो स्वास्थ्य सेवालाई सहज र विस्तार गर्नका लागि बजेटको आवश्यकता भएकाले सो गाला डिनरको आयोजना गरिएको डा. श्रेष्ठले जानकारी दिनुभयो ।  

टेक्सासको ग्रेपभाइन सहरमा हुने सो गाला डिनरका लागि शुल्क ५ सय डलरदेखि माथिका आठ किसिमका दर तोकिएको छ । ‘सामुदायिक स्वास्थ्यका लागि हातेमालो’ नारा दिइएको डिनरमा नेपाली कलाकारहरूको प्रस्तुति पनि रहने छ । फन्ड रेजका लागि सदस्यता अभियानको म्याद थपेर मार्च १० सम्म पुर्याइएको टीएनएमए कार्यालय निर्देशक लिला श्रेष्ठले जानकारी दिनुभयो । गाला सदस्य बनेबापत सो डिनरमा दुईओटा टिकट पाउने पनि श्रेष्ठले जानकारी दिनुभयो ।

चन्दादाताहरूलाई प्राभावित बनाउने तरिकाले नेपालका ८ ओटा हिमाल पार गर्दै अन्तिममा सगरमाथा चढ्ने सुविधा रहेको छ। सुरुमा सानो चन्दा दिएर सानो हिमाल चढ्दै जाने र सगरमाथासम्म पुग्ने व्यवस्था राखिएको  छ ।  जसमा ५ सय डलर दिएर अन्नपूर्ण, १ हजार डलरले मनास्लु, ३ हजार डलरले धौलागिरी, ५ हजार डलरले चोयु, १० हजार डलरले मकालु, १५ हजार डलरले ल्होत्से, २० हजार डलरले कञ्चनजंघा र अन्त्यमा २९०३२ फिटको उचाइलाई सगरमाथाको नामकरण गरी २९०३२ डलर चन्दा दिन सकिने छ।

क्लिनिकको सुरुवातदेखि हालसम्म ७१ हजार डलर खर्च भएको र डाक्टर र नर्सहरूले निःशुल्क सेवा उपलब्ध गराउँदा पनि हरेक पटक क्लिनिक सेवाका लागि करिब पाँच हजार डलर खर्च हुने सो कार्यक्रममा जानकारी दिइएको थियो । क्लिनिकको स्थापना सन् २०२० मा भए पनि कोभिडका कारण सन् २०२३ को मे ७ देखि सञ्चालित उक्त क्लिनिकमा चिकित्सक, दन्त चिकित्सक र नर्ससमेत गरी करिब २० जना स्वयंसेवकको रूपमा कार्यरत छन् । क्लिनिकमा हाल मेडिकल, दन्त र प्रयोगशाला सेवा सञ्चालनमा छन् ।

टेक्सासमा १ लाख १५ हजारभन्दा बढी नेपाली समुदायको बसोबास रहेको र नेपालबाट आइरहने तिनका आफन्तहरूका कारण क्लिनिकमा बिरामीको चाप बढिरहेको जनाइएको छ । सो क्लिनिक सञ्चालनमा आएदेखि सो क्लिनिक सेवाबाट ८ सय बिरामीले उपचार पाएका छन् । टीएनएमएका अनुसार टेक्सासमा हाल ७६ को हाराहारीमा नेपाली चिकित्सक र कम्तीमा ३ सय नर्स यहाँका अस्पतालहरूमा कार्यरत छन् ।

सो कार्यक्रममा हिमालयन हेल्थ क्लिनिकका उपाध्यक्ष शर्मिला श्रेष्ठ,महासचिव डा. पुजा सैंजू, कोशाध्यक्ष डा. विश्वास बिस्ट, निर्देशक डा. विश्वास उपाध्याय,  निर्देशक राजकुमार श्रेष्ठ, नर्स मिनु केसीलगायतले हिमालयन हेल्थ क्लिनिकबाट प्राप्त हुने सेवा र अन्य स्वास्थ्यसम्बन्धि जिज्ञासाका बारेमा प्रकाश पार्नुभएको थियो । 


यसै बिच नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले म्यासाच्युसेट्स राज्यको न्यू
इङल्यान्डवासीबीच छलफल गरेको छ । नेजाले १७औं साधार सभा मे महिनाको २५-२६,
२०२४ मा अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा गर्ने निर्णय गरेसँगै तयारीको
सुरुवातका रुपमा सो छलफल गरेको हो । १७औं साधारण सभालाई मध्यनजर गर्दै
कार्यक्रम हुने क्षेत्रमा क्रियाशील नेपाली समुदाय आबद्ध स्थानीय
संघ-संस्थाहरूसँग मार्च २ तारिख शनिबार भर्चुल रूपमा छलफल गरेको हो ।

स्थानीय संघ-संस्थाहरूको सहयोगी भूमिकाको अपेक्षाका साथ नेजा र समुदायबीचको
सम्बन्धलाई थप प्रगाढ बनाउने, कार्यक्रमको बारेमा औपचारिक जानकारी दिने र
समुदायका तर्फबाट अमूल्य सुझाव लिने मुख्य उद्देश्यले नेजाले छलफल
कार्यक्रमको आयोजना गरेको हो । छलफलमा सहभागी संघ-संस्थाहरूले नेजाको १७औं
साधारण सभा सफल बनाउन आवश्यक पर्ने सहयोगको प्रतिबद्धता जाहेर गर्नुभएको
थियो । छलफलका क्रममा सहभागीहरूले प्राथमिकता दिएर नेजाको १७औं साधारण सभा
बोस्टनमा गर्ने निर्णय गरिनु यस क्षेत्रमा सक्रिय संघ-संस्थाहरू र समग्र
नेपाली समुदायकै लागि अमूल्य अवसर भएको प्रतिक्रया दिँदै खुसी व्यक्त
गर्नुभएको थियो ।



कार्यक्रमको मुख्य उद्देश्यहरूमा केन्द्रीकृत हुँदै महासचिव बाबुराम
दाहालद्वारा सहजीकरण गरिएको छलफलमा नेजा अध्यक्ष सुरज भण्डारीले नेजाको
संक्षिप्त पृष्ठभूमिसहित संस्थागत परिचय प्रस्तुत गर्दै सहभागीहरूलाई
नेजाको १७औं साधारण सभाका बारेमा औपचारिक जानकारी गराउनुभएको थियो । छलफल
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष भण्डारीले साधारण सभा
सफलतापूर्वक सम्पन्न गर्न सबैको साथ र सहयोग नेजाका लागि अमूल्य र
अपरिहार्य रहेको बताउनुभयो । उहाँले न्यू इङल्यान्ड  क्षेत्रमा सक्रिय
नेपाली संघ-संस्थाहरूको क्रियाकलापबाट नेजा निकै प्रभावित भएको र संस्थाको
महत्वपूर्ण कार्यक्रम ‘१७औं वार्षिक साधारण सभा’ बोस्टनमा नै गर्ने निर्णय
गरिएको उल्लेख गर्नुभयो । बोस्टनमा कार्यक्रम गर्ने निर्णय गरेसँगै नेजा
परिवारमा थप उत्साह जागेको बताउँदै अध्यक्ष भण्डारीले कार्यक्रम
सफलतापूर्वक सम्पन्न गर्न आवश्यक साथ र सहयोगका लागि स्थानीय संघ-संस्थामा
आबद्ध नेपाली समुदायसँग अपिलसमेत गर्नुभएको थियो। नेजाका उपाध्यक्ष सुजन
पण्डितले न्यू इङल्यान्ड क्षेत्रमा सक्रिय संघ-संस्थाहरूले समुदायका लागि
पुर्याउँदै आएको योगदान र नेजासँग स्थापित आत्मीय सम्बन्धको प्रशंसा
गर्नुभएको थियो। उहाँले नेजा पनि नेपाली समुदायको उत्थानका लागि नेपाली
समुदायसँग हातेमालो गर्दै अघि बढिरहेको र यस अभियानलाई अझ प्रभावकारी बनाउन
लागिपरिरहेको बताउनुभयो । उपाध्यक्ष पण्डितले सहभागीहरुबाट प्राप्त अमूल्य
सुझावहरू र सहयोगको प्रतिबद्धताप्रति खुसी व्यक्त गर्दै धन्यवाद दिनुभयो ।

कार्यक्रममा नेजाका उत्तर-पूर्व क्षेत्रीय संयोजक एवम् १७औं साधारण सभा
आयोजक समितिका संयोजक सुपेन्द्र बस्नेतले सहभागीहरूलाई स्वागत गर्दै छलफल
कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पार्नुभएको थियो । संयोजक बस्नेतले
कार्यक्रमका बारेमा संघ-संस्थाहरूले देखाएको चासो, चिन्ता, छलफलमा जनाइएको
सक्रिय सहभागिता र व्यक्त प्रतिबद्धताको प्रशंसा गर्दै धन्यवाद व्यक्त
गर्नुभयो । बस्नेतले स्थानीय संघ-संस्थाको साथ र सहयोगमा कार्यक्रम
सफलतापूर्वक सम्पन्न हुनेमा आफू र आफ्नो संस्था विश्वस्त रहेको बताउँदै
तयारीका थप गतिविधि संघ-संस्थाहरूकै साथ सहयोगमा अघि बढाइने बताउनुभयो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाका
उपाध्यक्ष प्रेम तामाङ, पूर्वसल्लाहकार दीनबन्धु भट्ट, बिजय शर्मा,
एनआरएनए, अमेरिका, म्यासाच्युसेट्स च्याप्टरका अध्यक्ष प्रचण्ड श्रेष्ठ,
उपाध्यक्ष राजु गुरुङ, न्यू ह्यामसायर च्याप्टर अध्यक्ष कमल ढुंगाना,
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष गोबर्धन पूजा,
म्यासाच्युसेट्स च्याप्टर अध्यक्ष महेश्वर पन्त, ग्रेटर बोस्टन नेपाली
कम्युनिटी (जीबीएनसी-GBNC) की अध्यक्ष अन्जु थापा, महासचिव सोनाम शेर्पा,
प्रवासी नेपाली मञ्च, अमेरिकाका केन्द्रीय उपाध्यक्ष भीम प्रकाश ओली,
पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्यू इङल्यान्ड (प्याब्फोन-PABFONE)का
ट्रष्टी उपाध्यक्ष मिलन गुरुङ, कार्यसमितिका उपाध्यक्ष मिलनकुमार कार्की,
नेपाली वोमन्स ग्लोबल नेटवर्क (एनडब्लूजीएन-NWGN)की अध्यक्ष कल्पना
श्रेष्ठ, ब्लड डोनर्स अफ अमेरिकाको म्यासाचुसेट्स च्याप्टर अध्यक्ष राम
थापा, बोस्टन तमु समाजका पूर्वअध्यक्ष मीन गुरुङ, वर्तमान कार्यसमितिका
उपाध्यक्ष रोबिन गुरुङ, नेवा अर्गनाइजेसन अफ न्यू इङल्यान्डका अध्यक्ष
सन्जीव तुलाधर, खेलकुद (Khelkud Inc) का अध्यक्ष रन्जन दाहाल, मिडिया
क्षेत्रमा सक्रिय शिव मिश्र, नेजा क्षेत्रीय संयोजक (उत्तर) रोशन अधिकारी,
नेजाका पूर्वकार्यसमिति सदस्य दिनेश कार्कीलगायतको सहभागिता रहेको थियो।

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक