20240427

कहिलेसम्म फर्किनु पर्ने हो बिदेशबाट काठको बन्द बाकसमा नेपालीहरुको लाश ? खोइ राज्य को दायित्व ??


  रोजगारीका लागि केही वर्षअघि संयुक्त राष्ट्र इमिरेट्स (यूएई) पुगेका काठमाडौं महानगरपालिका–४ का आशिष महर्जन शुक्रबार दिउँसो काठको बाकसमा फर्किए । यूएईमा भिसा सकिएर गैरकानुनी बनेको अवस्थामा महर्जनको गत २५ फ्रेब्रुअरीमा हृदयाघातका कारण असामयिक निधन भएको थियो । ‘धन ल्याउँछु भन्दै गएका थियौ, उडेर आकाशमा कस्तो भई गयौ कस्तो भई आएऊ ! काठैको बाकसमा बोल माया एक वचन बोल तिम्रै बोली छ मलाई अनमोल !’ भन्ने गीत परिवारका लागि बास्तविक बन्यो । उनी भिजिट भिसामार्फत यूएई पुगेका थिए । मृतकको परिवारबाट शव नेपाल पठाइदिनका लागि सहयोगको आग्रहसहितको निवेदन नेपाल एसोसिएसन (एनआरएनए एनसीसी) यूएईलाई प्राप्त भएको थियो । निवेदन प्राप्त भएपछि एनआरएनए अध्यक्ष विकास शाहीले मृतकको शव नेपाल पठाउने प्रक्रिया अघि बढाएका थिए ।

मृतक नेपालदेखि यूएई पुग्दा भिजिट भिसामा गएका र पछि कुनै कम्पनीको काममा लागि त्यहाँ पनि काम छाडेर गैरकानुनी बसोबास गरेका थिए । सो शव शुक्रबार दिउँसो नेपाल पठाइएको एनआरएनएले जनाएको छ । श्रम स्वीकृत नगरी आएको र शव नेपाल पठाउन सम्पूर्ण कानुनी प्रक्रिया तथा खर्च व्यवस्थापन मृतकको परिवार र नेपाल एसोसिएसन–एनआरएनए एनसीसी यूएईले संयुक्त रूपमा व्यवस्थापन गरेको थियो ।

उनी त एक प्रतिनिधिपात्र मात्र हुन् । हरेक दिन एक न एक नेपालीको विदेशमा मृत्यु हुने गरेको छ । अनेक सपना बोकेर दिनहुँ सयौं नेपाली बिदेसिने गरेका छन् । कतिको सपना आंशिक वा पूर्णरूपमा पूरा पनि हुन्छ, तर कतिका सपना रातो बाकसमै बन्द भएर फिर्ता हुन्छन् । युवाले विदेशमा कमाएर पठाएको विप्रेषणले मुलुकको झन्डै एकतिहाइ अर्थतन्त्र धानेको छ । तर, कमाउन गएका युवाशक्ति विदेशमा कामकै क्रममा विभिन्न कारणले मृत्यु भएर बन्द बाकसमा फर्किंदा मुलुक, समाज, उनीहरूका आफन्तमा भएको क्षति’bout मूल्यांकन खोइ ?

धन कमाएर परिवारलाई खुसी दिने आशमा परदेसिएका धेरै नेपाली परिबन्धमा परी विदेशी भूमिमै मृत्युवरण गर्न बाध्य छन् । धन कमाउन विदेशमा जहाजमा उडेका धेरै नेपाली यसरी नै बाकसमा फर्कने गरेका छन् । गाउँघरमा ऋण खोजी, भएका जग्गा धितो राखेर विदेश पुगेका नेपाली मृत्युवरण गरी यसरी बाकसमा विदेशबाट फर्कने वातावरण रोक्नका लागि सरकारले पनि अब नयाँ कदम चाल्नुपर्छ । विदेशमा ज्यान गुमाउने नेपालीहरूको संख्या दिनानुदिन बढ्दो छ ।

विदेशमा नेपाली नागरिकको अकस्मात निधन भएमा त्यो शवलाई स्वदेशसम्म पु¥याउने जिम्मा राज्यको हो । शव फर्काउन चन्दा उठाउनुपर्ने विषय हुँदै होइन । यस्ता घटनामा राज्य गम्भीर हुनुपर्छ । विदेशमा काम गर्ने क्रममा ज्यान गुमाउने श्रमिकको संख्या बर्सेनि बढिरहेको देखिएको छ । पछिल्ला आठ महिनामा १ हजार २ सय ५५ युवाले विदेशी भूमिमा ज्यान गुमाउनुपरेको देखिएको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७९÷८० को सोही अवधिको तुलनामा ४७ ले बढी हो । अघिल्लो वर्ष १ हजार २ सय ८ जनाले रोजगारीको सिलसिलामा विदेशी भूमिमा ज्यान गुमाएका थिए ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदारको मृत्यु भएमा सचिवालयबाट ७ लाख रुपैयाँ परिवारले प्राप्त गर्ने गर्छन् । तर, विभिन्न भिसामा विदेशमा गएर काम गर्नेक्रममा ज्यान गुमाउनेको संख्या पनि कम छैन । पछिल्ला आठ महिनामा साउदी अरबबाट ५ सय १४, मलेसियाबाट ३ सय ३३, कतारबाट १ सय २३ र संयुक्त अरब इमिरेट्स यूएईबाट ८२ जना नेपालीको शव नेपाल ल्याइएको बोर्डको तथ्यांकमा उल्लेख छ ।

गैरकानुनी बाटो हुँदै खाडीका विभिन्न मुलुकमा पुग्ने कामदारसँग श्रम स्वीकृति भने हुँदैन । त्यहाँ मृत्यु वा बिरामी परेको खण्डमा त्यहाँ रहेका सम्बन्धित नेपाली दूतावासले पनि शव नेपाल पठाउन लाग्ने खर्च नबेहोर्ने हुँदा धेरैको शव अलपत्र पर्ने गरेको छ । कतिको शव स्वदेश फर्काउन आर्थिक अभाव हुँदा विदेशमै अन्तिम संस्कार गर्ने गर्नुपर्ने बाध्यता छ । - योगेन्द्र योगी, राजधानी 



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक