20240529

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा हुना साथ निकाले यस्तो प्रेस बिज्ञप्ती, भने– अब कानुनी उपचारमा जान्छु

 
मितिः २०८१/०२/१६                   प्रेस विज्ञप्ति

सुशासन र लोकतन्त्रको पक्षमा तथा बेथितिका विरुद्ध विगत ३१ वर्षदेखि निर्भीक पत्रकारिता गर्दै आएको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष मलाई नागरिकता कसुरको आधारहीन आरोपमा पक्राउ गरी विगत ९ दिनदेखि थुनामा राखिएकामा आज हाजिरी जमानीमा रिहा गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयसमेतको सहमतिमा जिल्ला प्रहरी कार्यालय धनुषाले मलाई फौजदारी कार्यविधि संहिताको दफा १५(१) अनुसार 'थप अनुसन्धानका लागि थुनामा राखिरहन नपर्ने' भन्दै रिहा गरेको हो । मलाई जसरी पनि पक्राउ गर्ने, कान्तिपुरको पत्रकारितालाई दुर्बल बनाउने र अरू सञ्चारमाध्यमलाई पनि तर्साउने दुष्प्रयासले यो हरकत भएको थियो भन्नेमा अब कुनै शंका रहेन । बजारमा अनेकथरी हल्ला गरिए पनि मविरुद्ध मूलतः दुई आरोप लगाइएका थिए । अरू कोही व्यक्तिको नागरिकता र मेरो नागरिकताको नम्बर मिलेको विषयमा जिल्ला प्रशासन कार्यालयको आफ्नै संयन्त्रभित्र अध्ययन गर्नुपर्नेमा सेवाग्राही नागरिकलाई पक्राउ गर्नु आफैंमा गैरजिम्मेवार हरकत थियो भन्ने प्रस्ट छ । अझ, नागरिकतामा नम्बर मिलेको विषय प्रशासनिक त्रुटि भएकाले नागरिकमाथि कारबाही गर्न नपर्ने भनेर जिल्ला प्रशासन कार्यालयले दिएको लिखित रायलाई समेत दबाएर प्रहरीबाट मलाई पक्राउ गरिएको थियो । 


त्यस्तै मेरो नागरिकताको प्रतिलिपिमा हस्ताक्षरमा शंका गरिएकामा तत्कालीन प्रशासकीय अधिकृतले अरू सरकारी दस्तावेजमा गरेको हस्ताक्षरसँग भिडाएको भए त्यो प्रश्न तत्कालै निरूपण हुने थियो । तर मैले मेरो नागरिकतामा अक्षर आफैँ थपेको भनेर गम्भीर आरोप लगाइएको थियो । हस्ताक्षर कस्को हो भन्ने प्रश्नको जवाफ खोज्न नागरिकता जारी गर्ने अधिकारीलाई बोलाएर सोधपुछ गरिएको भए यो प्रश्न तुरुन्तै हल हुने थियो । 


तर, सरकारी कार्यालयका अभिलेख हेर्न र अधिकारीसँग सोधपुछ गर्नुको सट्टा मलाई किन गरियो भन्ने प्रश्नको उत्तर सचेत नागरिकले पाइसकेका छन् । अझ, पक्राउ गरिएपछि पनि सरकारी कागजपत्र भिडाउन, सम्बन्धित अधिकारीलाई बोलाएर सोधपुछ गर्न तथा फरेन्सिक परीक्षण गर्न मेरा वकिलहरूले पटकपटक आग्रह गर्दा पनि आलटाल भएको विषय पनि म सार्वजनिक अभिलेखमा राख्न चाहन्छु । आरोपी पक्षले अनुसन्धानका लागि ताकेता गर्ने र प्रहरी प्रशासनले ढिलाइ गर्ने यस्तो प्रवृत्ति वास्तवमा कानुनी शासनका लागि चुनौती हो भन्ने मेरो ठहर छ । पटकपटकको ताकेतापछि सम्बन्धित अधिकारीलाई बोलाएर सोधपुछ गर्दा उहाँले हस्ताक्षर आफ्नो हो भनेर बयान कागज गरिदिनुभएपछि मेराविरुद्धको प्रपञ्च समाप्त भएको छ र अहिले हाजिरी जमानी भन्दै रिहा गरिएको छ । मलाई अहिले हाजिरी जमानीमा छाडिएको छ, थप अनुसन्धानमा सहयोग गर्न म सम्पूर्ण रूपमा तयार छु ।


तर, प्रहरी प्रशासनले आधारभूत अनुसन्धान पनि नगरी मलाई पक्राउ गरी ९ दिनसम्म हिरासतमा राखिएकामा यो योजनामा संलग्न सबैलाई जवाफदेही बनाउन कानुनी उपचारको बाटो खोज्ने जानकारी गराउन चाहन्छु । त्यस्तै म गैरनेपाली रहेको, मसँग दुई/तीन थरी नागरिकता रहेको र मेरो नागरिकतामा हस्ताक्षर र मितिसमेत नरहेको जस्ता हल्ला फैलाउनेहरूलाई आफ्नो दाबी प्रमाणित गर्न सार्वजनिक चुनौती दिन चाहन्छु । तर, आफ्नो दाबी प्रमाणित गर्न नसक्ने व्यक्ति तथा समूहविरुद्ध कानुनी उपचार खोज्ने अधिकार पनि मसँग सुरक्षित राखेको जानकारी गराउन चाहन्छु । 


अन्तमा, राज्यशक्तिको चरम दुरुपयोगबीच भएको भयानक षड्यन्त्रबीच पनि नेपाली प्रेसजगतले देखाएको ऐतिहासिक ऐक्यबद्धताका सामु म नतमस्तक छु । त्यस्तै नागरिक समाज, कूटनीतिक नियोग, प्रेस र मानवअधिकारसम्बन्धी राष्ट्रिय/अन्तर्राष्ट्रिय संगठन, कानुन व्यवसायी अधिवक्ता तथा वरिष्ठ अधिवक्ताहरूले न्यायको पक्षमा उठाउनुभएको आवाजका लागि आभारी छु । सम्पूर्ण दुष्प्रचारबीच पनि कान्तिपुरमाथि विश्वास व्यक्त गर्ने विशेषतः जनकपुरका बासिन्दा तथा देश–विदेशका नेपाली दाजुभाइप्रति हार्दिक धन्यवाद ।


फेरि पनि यो हरकतप्रति बिनाउत्तेजना, बिनाप्रतिशोध र बिनासम्झौता कान्तिपुरले आफ्नो पेसागत धर्म अविचलित रूपमा पूरा गर्नेछ भन्ने प्रतिबद्धता व्यक्त गर्दछु र निर्भीक पत्रकारिता गर्दा आइलाग्ने कुनै पनि आक्रमणको डटेर सामना गर्न तयार रहेको पनि स्मरण गराउन चाहन्छु । 


धन्यवाद ।


कैलाश सिरोहिया

अध्यक्ष

कान्तिपुर मिडिया ग्रुप






अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक