20240615

रबी लामिछानेका बिरुद्ध दाजु हरिशरण लामिछानेले यसरी आगो ओकले : हरिशरण लामिछाने सँग नेपाल प्रेसले गरेको सनसनीपूर्ण संवादको पूर्ण विवरण यहाँ हेर्नुस ।

रबी लामिछानेका विरुद्ध उनकै दाजु हरिशरण लामिछानेले सार्वजनिक रूपमै आगो ओकलेछन् । हरिशरणका धेरै कुरा ठिकै होलान्, गम्भीर सवालहरू पनि होलान् तर आफ्नै सहोदर दाजुले भाइलाई घरमै सम्झाएको भए, सार्वजनिक नगरी पारिवारिक रूपमा यी कुराहरू भनेर रबीलाई सच्चिन एक अभिभावकका नाताले सल्लाह दिएका भए अझ बढी उपयुक्त हुन्थ्यो कि जस्तो लाग्यो हामीलाई । पारिवारिक सम्बन्ध, नाता सम्बन्धका पनि आफ्ना मूल्य मान्यताहरू हुन्छन्, दायराहरू हुन्छन्, त्यसको पनि ख्याल गर्नु पर्थ्यो कि हरिशरणजी ! यसको अर्थ रबीले ठिक गरिरहेकाछन भनेर हामीले भन्न खोजेको होइन है मित्र अन्यथा नलिनुहोला । रबी जुन दिन देखी ओली र प्रचण्डको छाया बने, विभिन्न प्रकरण मुछिएका घटनाक्रम बाहिर सार्वजनिक भए, उनलाई माया गर्ने, समर्थन गरेकाहरू पनि तपाईँ भन्दा झन् रिसाएका भने अवश्य छन् त्यो सत्य हो । दुई दाजु भाईको सम्बन्ध राम्रो होस, सुमधुर होस, रबी सच्चिउन यो भने आज धेरैले देश बिदेशबाट भनिरहेकै कुरा हो । सत्य तितो हुन्छ ।

रबी लामिछानेका दाजु हरिशरण लामिछाने सँग नेपाल प्रेसले गरेको सनसनीपूर्ण संवादको पूर्ण विवरण यहाँ हेर्नुस:

 – तपाईंले आज लेख्नुभएको स्टाटसलाई अलिकति प्रष्ट्याइदिनुस् न, के बालेन-हर्कहरुसँग कुनै समझदारी भएको छ ?

मैले स्टाटस लेख्नैपर्ने भो, बोल्नैपर्ने भो । मैले अरुसँग समझदारी भएर चाहिँ होइन, आफ्नै हिसाबले लेख्या हो । स्वतन्त्र अभियानको आविष्कार गर्ने हामी हौं । यो कुरा पोलिटिकल्ली गयो ठीकै छ, नयाँ फोर्स आयो भनेका थियाैं, तर यो फोर्स चाहिँ काम न काजको र अर्थ न बर्थको भयो । यो फोर्सले परिवर्तनलाई अवरुद्ध गरिरहेको छ ।

– रास्वपा अध्यक्ष गृहमन्त्री रवि लामिछाने त तपाईंको आफ्नै भाइ हुनुहुन्छ । फेरि दाजुभाइको सम्बन्ध बिग्रिएको हो ?

सम्बन्ध सप्रिने र बिग्रिने सवाल होइन । यहाँ कुनै दाइभाइको कुरा छैन । एकपछि अर्को काण्ड, अनेक किसिमका लफडा, जालसाँझी, यस्ता कुरालाई राखेर कसैले गर्व गर्नु जरुरी छैन । म परिवारको सदस्य हो, तर मलाई गर्व होइन, लाज लागेको छ ।

– यसरी सार्वजनिक रुपमा तीतो पोख्नुभन्दा आफूलाई लागेको कुरा भेटेर सम्झाउँदा राम्रो हुन्थ्यो होला नि ?

के सम्झाउनु ? सम्झिने मान्छे हो र ? मेरो सम्झाउने हैसियत छ र ? ‘परिवारवाद नगर्ने’ भनेपछि म त्यहाँ जानुको कुनै तुक पनि छैन, नम्बर एक । मलाई उसको पार्टीमा बसेर कार्यकर्ता बन्ने चाहना पनि होइन । म जिन्दगीभर कहिले पनि जान्न भनेको छु त्यो पार्टीमा । जाँदै जान्न सक्किगो । एगेन एगेन कुरा गर्नै परेन ।


– तपाईंहरुको भेटघाट र कुराकानी हुँदैन ?

अहँ हुँदैन । मसित भेटियो कि तर्केर हिँड्छ । मसित तर्क गर्न सक्दैन । किनभने ऊ गलत छ ।


– गलत भन्नाले के कुरामा ?

यत्रो चिजहरु आइरहेको छ, मैले भन्नुपर्छ र ?


– सहकारी विवादको सन्दर्भ कि समग्रमै गलत भन्न खोज्नुभएको हो ?

म पहिलेदेखि नै स्वतन्त्र अभियानमा लागेको मान्छे हुँ । स्वतन्त्रको नाममा उसले खोलेको पार्टीले हाम्रो अभियानको सेन्टिमेन्टलाई सिज ग¥यो, तर डेलिभरी दिन सकेन । हावा गफ धेरै भयो । झूटको खेती धेरै भयो । नयाँ जेनरेसनलाई यही कुरा सिकाउने हो भने त्यो बहुतै गलत हुन्छ ।


अहिलेको प्रक्रिया, बाटो, काम गराइ केही पनि चित्तबुझ्दो छैन । जनतालाई सोध्दा हुन्छ । फेक नाममा सोसल मिडियामा आफ्ना पाल्तु कुकुरहरु पालेर १० किसिमका गाली गर्ने काम भएको छ । नेपाली सञ्चारमाध्यममाथि नचाहिँदो आवेश पोख्ने काम भएको छ । यसैका लागि लडेर ल्याएको हो लोकतन्त्र ? उसले ल्याएको हो डेमोक्रेसी ? स्यान्डविच बेचेर यो देशमा प्रजातन्त्र आएको हो ? जुन तत्वसँग पैंठाजोरी खेल्नुपर्थ्यो, जुन कुराको विरोध गर्नुपर्थ्यो, त्यसैका टाङमुनि छिर्ने कस्तो सिद्धान्त हो यो ? यस्तो सिद्धान्तलाई कसैले स्वीकार गर्नसक्छ ? म दाइभाइ भनेर स्वीकार गर्दिनँ । ल, म पनि परिवारवादको विरोधी । ऊसित मेरो लेनादेना छैन, तर प्रक्रियागत रुपमा नेपालीलाई अत्यन्त ठूलो धोका भइरहेको छ ।


मौका पाउँदा नागरिकता नै बेचेर जान सक्छ भने उसले के राष्ट्रियताको कुरा गर्ने ? शक्तिको आडमा आफ्नो सारा इभिडेन्सहरु लुकाउने र मेटाउने कुरा गर्छ भने ऊ कसरी राष्ट्रप्रेमी ? कानून सबैलाई बराबरी होइन ? नयाँ शक्ति आएको भनेर पब्लिकले सपोर्ट गरेको छ । हामी त कोही पनि होइनौं, गँवार हौं । एसएलसीभन्दा माथि सर्टिफिकेट देखाउन सक्छ कि सक्दैन हेर्नुस् एकचोटि । वेबसाइटमा राख्या छ कि छैन ? आईए पास गरेकोमा डाउट छ ।


अमेरिका गएर स्यान्डविच बेच्नेले देश हाँक्नसक्छ कि सक्दैन ? मान्छे अमेरिका जाँदैमा विद्वान हुने हो र ? के काम गर्‍यो ? कुन युनिभर्सिटीमा पढ्यो ? मेरो छोरो अमेरिकामा आईएमएफमा पीएचडी गरेको डाक्टर छ । यसरी मैले परिवारलाई हुर्काएको छु । धेरै माथिल्लो पोस्टमा बसेर काम गरेको छु, तर नेपालको नागरिकता छोडेको छैन । यस्ता देश बेचुवालाई म भाइ भन्न चाहन्नँ । आई डन्ट वान्ट ! टसल पर्छ भने परोस् । कुस्ती खेल्नुपर्ने होइन । विचारको द्वन्द्व हो । मेरो लजिकमा म एकदमै सही छु ।

– तपाईंहरुबीच भेटघाट र संवाद नभएको कति समय भयो ?

एक वर्ष भयो संवाद नभएको ।

– पछिल्लो भेट कहिले भएको थियो ?

भेट त बेलाबखत हुन्छ । भेट्दाखेरि यसो हेल्लोहाइ मात्र हुने हो । नेपालको सञ्चार क्षेत्रले जन्माएको होइन रवि लामिछाने ? हरि लामिछाने त्यही सञ्चार क्षेत्रको रिभोलुसन गरेर आएको व्यक्तित्व होइन ? मलाई दाइ पनि फटाहा भन्छन् । भाइले फट्याइ गर्‍यो भनेर पब्लिकले मलाई ठगको दाइ भनेर ट्याग गर्न मिल्छ ? के ठग्द्याछु मैले ? नेपाल सरकारमा ३५ वर्ष काम गरें । एक पैसा भ्रष्टाचार गरेको छैन । बरु ३ करोड ५० लाखभन्दा बढी त मेरो ऋण होला । कहाँ ठग्या छ ? कि त मान्छेलाई उद्धार गरेको छ ? कति इस्यू रेज गरेको छु ।


– पहिले पनि उहाँलाई चर्को गाली गर्नुभएको थियो । फेरि बीचमा मिल्नुभयो । अहिले फेरि के भयो ?

अहिले पनि साथ दिन्छु राम्रो कुरामा, तर गलत कुरामा किन दिने ? यो अहं र दम्भसँग म सम्झौता गर्दिनँ ।


– तपाईं अब आफैं राजनीतिमा आउन लाग्नुभएको हो ?

मे बी ! आइ डन्ट नो ! असारबाट रेडियो नेपालको जागिर सकिँदैछ । अब म एउटा फ्रिलान्स भएर बस्छु । यिनका पार्टीमा जान्नँ । जिन्दगीभरि जान्न भन्या छु । लेखेरै राखे हुन्छ ।


– अरु कुनै व्यक्तिगत कारणले दाजुभाइको सम्बन्ध बिग्रेर अहिले यति उत्तेजित बन्नुभएको त होइन ?

अरु कारण के छ र ! उसले उसको गरेर खाएको छ, मैले मेरो गरेर खाएको छु, तर मैले हरेक किसिमका प्रतिक्रिया र रेस्पोन्सहरु दिइरहनु परेको छ । भाइ मन्त्री छन्, दाइ यसो गरिदिनुपर्‍यो, उसो गरिदिनुपर्‍यो भनेर आउँछन् । मैले भनेको छु कि मेरोतर्फबाट केही पनि हुँदैन ।


– मन्त्री भएपछि एकचोटि पनि भेट्न जानुभएन ?

गएँ जान त ! अस्ति शपथग्रहणमा बोलाएको थियो । पारिवारिक हिसाबले सहभागी भएँ, तर मेरो र उसको पोलिटिकल कुरा मिल्दैन । म जे गर्न चाहिरहेको हुन्छु, ऊ चाहँदैन । किनभने उसको लाइन फरक छ, मेरो लाइन फरक छ । म अलिकति कडा छु । सैद्धान्तिक हिसाबले दृढ छु । ऊ कम्प्रोमाइज गर्छ । यो समीकरण र डर्टी पोलिटिक्स नभइद्या भए कुनै हैसियतले आउन सक्ने मान्छे हो ऊ ? आजीवन संघर्ष र जेलनेल गरेर बसेका मान्छे कहाँ छन् ?


अहिले भाइले के गर्दा ठीक हुन्थ्यो जस्तो लाग्छ ?

उसले सरेन्डर गर्नुपर्छ पहिले ।


– भन्नाले पदबाट राजीनामा ?

त्योमात्र होइन, पुरै सरेन्डर । ममाथि छानबिन गर भनेर सबै छोड्नुप¥यो । म डेमोक्रेट हुँ भनेरमात्र हुन्छ ? व्यवहारमा उतार्न सक्नुपर्‍यो नि ! आफू बच्न जबरजस्ती रातारात समीकरणहरु बदलेर, जनतालाई झूटा आश्वासन दिएर, देशलाई गुमराहमा राखेर तिगडम गर्नु जरुरी छ ? अरु मान्छे छैनन् यहाँ ? यो तरिका भएन । समीकरण मिलाउने अंकगणितका लागि जन्मेको हो रास्वपा ? प्रचण्ड र ओलीको तेल लगाउन बनेको पार्टी हो ? जनताले म्यान्डेट त्यसैका लागि द्या हो ? सरासर धोकाधडी भइरहेको छ जनतालाई ।


– तपाईंले दिनुभएको सल्लाह उहाँले नमान्नुभएको हो ?

होइन, मेरो सल्लाह दिन त हैसियत नै छैन नि ! मलाई भेट्न आएर सल्लाह माग्यो भने पो दिने हो । होइन भने मैले भन्ने त मिडियाबाटै हो । फेसबुकबाटै हो ।


उसको नजरमा नेपालको सम्पूर्ण पत्रकारिता नै मेरो खुट्टामा आउनुपर्छ भन्ने छ त ! यस्तो अधिनायकवादी सोच कसले सिकायो ? अमेरिका जस्तो देशमा बसेर यहाँ मान्छेको डिमान्ड हुन्छ ? स्यान्डविच बेचेर गृहमन्त्री बन्न सकिन्छ ? यो देशका १७ हजार मानिस र १३ हजार वैदेशिक रोजगारमा गएका मान्छेको लागि प्रधानमन्त्री कार्यालयमा मैले प्रस्ताव हाल्या छु । यो कुरा मैले गोप्य राख्या थिएँ । हामीले यसरी भित्रभित्र काम गर्‍या छौं । अनि यो क्षमता बाहिर पब्लिकले थाहा पाउलान् भन्ने हिसालबले इग्नोर गर्दै जान खोजेको हो ।


म त घरायशी मान्छे । दुई पैसा भ्रष्टाचार गर्‍या छैन । पाउरोटी खाएर हुर्केको हुँ । यिनलाई पढाएँ । यिनी जस्ता पाँच जना मान्छेलार्ई घरबाट पढाएँ । गार्जियनसीप दिएँ । यहाँ त मतलबै छैन । हुन्छ नि सरोकार ! हुन्छ कि हुँदैन ? चिन्दै नचिनेको मान्छे मन्त्री बन्दा त थर मिल्यो भने लौन यसो भन्दिनु हुन्छ कि भन्छन् । मलाई भन्छन् नि मान्छेले । मैले त सबै एभोइड गरेको छु । तैपनि उनका छौंडाहरुले किन मलाई ठगको दाइ भन्या ? मैले ठगी गर्‍या हो ? बेइज्जत भएपछि बोल्नुपरेन ? मैले कसको के ठग्या छु ?


– तपाईं आफैंले भाइलाई ‘ठग’ भनिसकेपछि तपाईं ‘ठगको दाइ’ त भइहाल्नुभयो नि ? तपाईं आखिर दाइ नै हो ।

मैले ठग भन्या छैन । अरुले ठग भनिराख्या छन् भनेको । ठगी गर्‍यो कि गरेन भन्ने त छानबिनबाट देखिएला नि ! त्यत्रो सहकारीको पैसा ग्यालेक्सी टेलिभिजनमा हाल्या होइन र ? ह्वाट इज त सोर्स अफ द मनी ? जीबी राईसँग पार्टनरसीप गरेकै हो नि ! मान्छेको अर्बौं रुपैयाँ डुबेको छ । जिम्मेवारी त लिनुपर्‍यो नि ! अमेरिकामा बसेर आएँ भन्दैमा नेपालको संविधान नलाग्ने हो र उसलाई ? उसले सरेन्डर गर्नुपर्छ । हि ह्याज टु सरेन्डर । उससित राजनीति गर्ने नैतिकता छ भने सरेन्डर गर्नुपर्छ, होइन भने पतन हुन्छ ।


उता लगानीकर्ताको विचल्ली, यता टेलिभिजनमा पत्रकार अलपत्र परेका छन् । अनि, उसलाई सलाम गरेर हिँड्नुपर्ने ? म सलाम गर्दिनँ । कि कसो हो तपाईं नै भन्नुस् न ?


– हो हुन त । तैपनि दाजुभाइ यसरी फुट्नु त राम्रो होइन नि ?

एक हातले ताली बज्दैन । के संकेत बुझ्नुपर्‍यो भने ए दाइ पनि अभियानमा लाग्या थियो, उसको पनि केही इन्ट्रेस्ट होला । यत्रो ३५ वर्षसम्म सिंहदरबारभित्र बस्दा मैले राजनीति नगरे पनि त्यो युनिभर्सिटीमा त मसित धेरै खजाना होला । भोलिका दिनमा देखिन्छ । विद इन वान मन्थ प्रेस मिट गर्छु । मेरा कुरा अझै स्पष्ट पार्छु । हु आई एम, मेरो क्षमता के हो देखाइदिन्छु ।


हिजो मान्छेहरु झुक्किए । ‘नो नट एगेन’ भनेर पुरानालाई पाखा लगाउलान् भन्ने सोचें, तर एउटाले अर्कोलाई दुश्मनी साँध्ने राजनीति हुन थाल्यो । इन्डियामा जस्तो बार्किङ जर्नालिज्म सुरु भयो । चिच्याउने, कराउने र माल झार्ने भनेर आएका छन् नि कुराहरु ! यस्तोलाई प्रश्रय दिने हो ?


आफूविरुद्ध लेख्यो भनेर प्रतिशोध साँध्न खोज्ने ? कैलाश (सिरोहिया)सित बहुत राम्रो दोस्ती छ । मैले दोस्ती गर्न पाउने कि नपाउने ?


– तपाईंलाई भाइको प्रगतिमा आरिस गरेको भनेर पनि सोच्छन् नि धेरैले ?

कसरी आरिस हुन्छ ? म न पार्टीमा छु न त मन्त्री बन्ने लाइनमा । न मलाई राजदूत चाहिएको छ न त प्रमोसन । उसले राम्रो गरेको भए मलाई त गर्व लाग्थ्यो होला नि ! यति छिट्टै किन पतित भो भनेर पो चिन्तित छु । मेरो पनि नाम जोडियो, बुवाको नाम जोडियो । कसले गर्दा ?

नयाँ नयाँ फन्डा देखाएरमात्र हुन्छ ? मापसे गर्नेलाई सडकमा ट्राफिकको काम लगाउन कुन कानूनले दिन्छ ? मन्त्री भएँ भन्दैमा आदेश दिएर चल्ने जंगबहादुरको समय हो ? बरु सक्छौ भने कु गरेर देखाउ । शासन हत्याउने मन छ भने प्रचण्डलाई थुनेर कु गर न ! अनि म मान्छु मेरो भाइलाई । आँट छ ? नैतिकता छ ?

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक