20240605

भारतमा नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने निश्चित


  भारतमा नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने निश्चित भएको छ । लोकसभा चुनावको मंगलबार आएको परिणाममा मोदीको भाजपा पार्टीलाई एकल बहुमत नपाएपछि आगामी प्रधानमन्त्री ‘को’ भन्ने विषयमा प्रश्न उठेको थियो । यद्यपि, भाजपा अगुवाइको एनडिए गठबन्धनले भने ५४३ मध्ये २९२ सिटमा जित हात पार्दै बहुमत हासिल गरेको थियो । बुधबार बसेको एनडिए गठबन्धनको बैठकमा गठबन्धनका दलहरूले मोदीलाई समर्थन रहेको पत्र दिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । मुख्यगरी बिहारका मुख्यमन्त्री नितिश कुमारको पार्टी जेडियू र आन्ध्र प्रदेशका पूर्वमुख्यमन्त्री चन्द्रबाबु नायडूको पार्टी टिडिपीले के गर्छन् भन्ने चासो थियो । यी दुवै दलले पनि मोदीलाई समर्थन गर्दै पत्र दिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । समर्थन पाएपछि मोदीले राष्ट्रपतिसमक्ष नयाँ सरकार बनाउने दाबी पेस गर्ने तयारी छ । मोदीले बुधबार मात्र प्रधानमन्त्रीबाट राजीनामा दिनुभएको थियो । नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न बुधबार उहाँले राष्ट्रपति दौपदी मुर्मूसमक्ष राजीनामा दिनुभएको हो ।


राष्ट्रपति मुर्मूले पनि प्रधानमन्त्री मोदीको राजीनामा बुधबारै स्वीकृत गर्नुभएको छ । चाँडै राष्ट्रपति मुर्मूले नयाँ सरकार गठनका लागि आहृवान गर्ने र आगामी शनिबार नयाँ प्रधानमन्त्रीले शपथ लिने भारतीय सञ्चार माध्यमले जनाएका छन् । हालै भएको आम निर्वाचनमा मोदी आबद्ध दल भारतीय जनता पार्टी (भाजपा) भारतको लोकसभामा बहुमत ल्याउनबाट चुकेको छ ।


यद्यपि, गठबन्धनको सहयोग लिएर फेरि मोदी नै प्रधानमन्त्री हुने सम्भावना प्रबल छ । भाजपाले २४० सिटमा जित हात पारेको छ । ५४३ सदस्यीय लोकसभामा बहुमतका लागि २७३ सिट चाहिन्छ । भारतको चुनाव आयोगअनुसार भाजपाले २४०, कंग्रेस आईले ९९, समाजवादी पार्टीले ३७, अल इण्डिया तृणमूल कंग्रेसले २९, डिएमकेले २२, टिडिपीले १६, जेडियुले १२, शिव सेनाले सात, लोक जनकशक्ति पार्टी, आरजेडी र सिपिआईएले चार÷चार सिट जितेका छन् । आम आदमी पार्टीले तीन, झारखण्ड मुक्ति मोर्चाले तीन, जनसेना पार्टीले दुई सिट जितेका छन् । बाँकी सिटमा अन्य दल र स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । २०१४ देखि एकल बहुमतको सरकार चलाएका मोदीले यसपालि गठबन्धनमा रहेका दलहरूलाई लिएर सरकार बनाउनुपर्ने छ ।


विश्वभरबाट बधाईको लर्को

भारतको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी भाजपा नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडिए) ले पाएको बहुमतसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विश्व समुदायबाट बधाईको लहर आउन थालेको छ । चीनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा नेतृत्वको एनडिए गठबन्धनलाई लोकसभा चुनावमा बहुमत प्राप्त गरेकोमा बधाई दिएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बधाई सन्देशमा भन्नुभएको छ, ‘निर्वाचनमा विजयी भएकोमा प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा र नेशनल डेमोक्रेटिक एलाइन्स (एनडिए) लाई बधाई छ ।’ बधाई सन्देशमा अगाडि भनिएको छ, ‘हामी चीन र भारतबीच स्वस्थ र स्थिर सम्बन्धको अपेक्षा गर्दछौँ ।’


यसैगरी, जापानले बुधबार भारतलाई महत्वपूर्ण साझेदारका रूपमा उल्लेख गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ गठबन्धनलाई चुनावमा विजयका लागि बधाई दिएको छ । प्रधानमन्त्री मोदीको नेतृत्वमा रहेको सत्तारूढ गठबन्धनलाई उनीहरूको विजयको घोषणाका लागि बधाई तथा शुभकामना व्यक्त गरेको सरकारका शीर्ष प्रवक्ता योशिमासा हयासीले पत्रकारलाई जानकारी गराउनुभयो । स्वतन्त्र र खुला इण्डो-प्यासिफिकको लागि भारत एक महत्वपूर्ण साझेदार भएको बताउँदै जापान-भारत सम्बन्धलाई बलियो बनाउन निरन्तर लाग्ने उल्लेख गर्नुभयो ।


माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले प्रधानमन्त्री मोदीलाई बधाई दिँदै दुई देशका लागि साझा समृद्धि र स्थिरताको खोजीमा ‘साझा चासो’का विषयमा सँगै मिलेर काम गर्न तत्पर रहेको बताउनुभएको छ । उहाँले दुई देशको साझा हित, समृद्धि र स्थिरताको लागि प्रधानमन्त्री मोदीसँग थप सहकार्य हुने बताउनुभयो ।


युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आम चुनावमा उहाँको राजनीतिक गठबन्धनको जितका लागि बधाई दिनुभएको छ । इजरायली प्रधानमन्त्री नेतान्याहूले लगातार तेस्रो कार्यकालका लागि पुनः निर्वाचित भएकोमा प्रधानमन्त्री मोदीलाई बधाई दिनुभएको छ । सिंगापुरका प्रधानमन्त्री लरेन्स वोङले पनि उहाँका भारतीय समकक्षी मोदीलाई बधाई दिँदै सामाजिक सञ्जाल एक्समा सिंगापुर–भारत साझेदारीलाई गहिरो बनाई अर्को वर्ष कूटनीतिक सम्बन्धको ६०औँ वार्षिकोत्सव मनाउनसँगै काम गर्न उत्सुक रहेको उल्लेख गर्नुभएको छ ।




अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक