20080926

गिरिजा द्वारा प्रचन्ड माथि गम्भिर प्रहार

हतियार लिएर माओवादी सम्सदमा : सदन अबरुद्ध
माओवादीका केही सभासदहरुले संविधानसभाभित्र हतियार लिएर गएको भन्ने समाचारप्रति नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गम्भीर आपत्ति जनाउँदै नेपालको शान्तिप्रक्रिया अन्तर्गतको हतियार व्यवस्थापनमा सक्रिय संयुक्त राष्ट्रसंघलाईपनि खबरदारी गरेका छन्। प्रधानमन्त्रीबाट प्रतिपक्षमा पुगेको करीब डेढ महिनापछि कोइरालाले नयाँ सरकारविरुद्ध खुलेर भाषण गरेका थिए।
माओवादी सभासद्हरु हतियारसहित संविधानसभा परिसरमा प्रवेश गरेको विरोधमा नेपाली कांग्रेसल लगायतका दलहरूले संविधानसभाको रोष्ट्रम घेर्दै बैठक अवरुद्ध पनि गरेका छन्।
प्रमुख प्रतिपक्षमा पुगेपछि नेपाली कांग्रेसले व्यवस्थापिका संसदको हैसियतमा बसेको संविधानसभाको बैठक शुक्रबार पहिलो पटक अवरुद्ध गरेको हो। त्यसो गर्नेमा नेपाली कांग्रेससंगै तराई मधेश लोकतान्त्रिक पार्टी र राप्रपा नेपाल पनि थिए।
गत सोमबार माओवादी नेता वर्षमान पुन हतियारधारी अंगरक्षक सहित संविधानसभामा प्रवेश गर्न खोज्दा प्रहरीले रोके पछि त्यो विवादको मुद्दा बन्न पुगेको थियो।
'पार्टी निर्देशन विपरित उक्त घटना कसरी भयो?' भन्ने प्रश्नमा मुख्य सचेतक शर्माले विरोधाभाषपूर्ण जवाफ दिए, "जिम्मेवार नेतृत्वका नेताहरुसंग गाडीभित्र रहने हतियार सुरक्षा गार्डसंग रह्‍यो होला।"
आलोचकहरुले यसलाई माओवादीहरुमा रहेको हतियार दम्भको रुपमा लिएका छन्।
बैठक अवरुद्ध भएपछि अध्यक्ष सुवास नेम्वाङले अर्को बैठकमा त्यसबारे जवाफ दिन गृहमन्त्री वामदेव गौतमलाई निर्देशन दिएका थिए।
त्यसपछि शुरु भएको बैठक बजेटको विषयलाई लिएर नेपाली कांग्रेसले दोश्रो पटक रोष्ट्रम घेरेर अवरुद्ध गराएको थियो।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री कोइरालाले माओवादीले प्रजातन्त्र मास्ने काम शुरू गरेको आरोप लगाएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदीय प्रजातन्त्रबारे हालै दिएको अभिव्यक्तिप्रति लक्ष्य गर्दै उनले भने, "अब प्रजातन्त्रलाई समाप्त गर्ने कामको शुरुवात भएको छ। प्रचण्डले संसदीय प्रजातन्त्र भनेको बुर्जुवा पार्टीहरुको हो र उनीहरु त्यसमा विश्वास गर्दैनन् भनेका छन्। प्रजातान्त्रिक परिपाटीलाई समाप्त पार्ने तयारीमा उहाँहरु हुनुहुन्छ। त्यसलाई म कुनै हालतमा पनि स्वीकार गर्दिन।"
तीतो पोख्ने क्रममा उनले सर्वहारा भइकन डेढलाख रुपियाँ पर्ने पलङ् राखेको भन्दै प्रचण्डप्रति कटाक्ष पनि गरेका थिए।
चोर औंला ठडाएर भाषण गर्ने आफ्नो पुरानै शैलीमा प्रस्तुत उनले हालै बार र बेञ्चबीचको विवादलाई प्रजातान्त्रिक संस्था विरुद्धको षडयन्त्र भने।
उनले भने, "उहाँहरुले अर्को आक्रमण न्यायापालिकामाथि गर्नुभएको छ। हालैको द्वन्द्व प्रायोजित किसिमबाट भएको थियो। तर दुई थरीको कुराकानीपछि त्यो समाधान भयो र प्रचण्डले त्यसमा हार खाए।"
सेना समायोजनको विषय विवादित भइरहेको समयमा उनले माओवादीका लडाकुहरुलाई नेपाली सेनामा गाभ्ने कुराको ठाडो विरोध गर्दै राष्ट्रिय सेनाको राजनीतिकरण नगर्न चेतावनी दिएका थिए।
"प्रजातान्त्रिक शक्तिलाई कमजोर बनाउनको निम्ति बन्दुकधारीहरु भित्र पसेका छन्, म संयुक्त राष्ट्रसंघ मिसनका मानिसहरुलाईपनि खबरदारी गर्न चाहन्छु। राष्ट्रसंघले प्रमाणीकरण गरेर ट्याग लगाइदिएको बन्दुकहरु लिएर उनीहरु भित्र पसेका छन्," उनले भने।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक