20080927

लौ हेर्नुश लथालिँग देशको भताभुँग चाला !!!!!

गृहमन्त्रीको आदेश मान्दैनौ, हतियार लिएरै जान्छौ : माओवादी
सदनमा हतियार लिएर आउन पाइदैन : गृहमन्त्री
संसदीय व्यवस्थालाई मान्ने पक्षमा माओवादी छैन : किरण
लौ हेर्नुश लथालिँग देशको भताभुँग चाला !!!!!

गृहमन्त्री वामदेव गौतमले संविधानसभाको बैठकस्थल हतियारमुक्त क्षेत्र भएकोले यहाँ हतियार लिएर प्रवेश नगर्न आग्रह गर्नुभएको छ। बैठकस्थलमा निजी सुरक्षा आवश्यक नभएको भन्दै उहाँले यो नियमलाई आगामी दिनमा कडाइका साथ पालना गर्ने पनि बताउनुभयो। व्यवस्थापिकाको हैसियतमा बसिरहेको संविधानसभाको बैठकमा संविधानसभापरिसरमा हतियारसहित प्रवेशवारे सरकारको तर्फबाट जवाफ दिँदै गृहमन्त्री गौतमले यस्तो बताउनुभएको हो। संविधानसभा भवनको सुरक्षाअवस्थामा पनि सरकारले ध्यान दिने जानकारी दिँदै उहाँले यस विषयमा चिन्ता नगर्न माओवादी तथा अन्य सबै सभासद्लाई आग्रह गर्नुभयो। कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका मन्त्री गौतमले सुदूर र मध्यपश्चिमका बाढीपीडितहरुको राहत र उद्धारका लागि सरकारले थप रकम विनियोजन गरेको जानकारी दिनुभयो।
यता नेकपा माओवादीका सचिवालय सदस्य टोपबहादुर रायमाझीले कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमले आदेश दिँदैमा आफूहरुले संविधानसभापरिसरमा हतियारसहितका जनसेना लान नछाड्ने बताउनुभएको छ। रिपोर्टर्स क्लब नेपालले राजधानीमा आयोजना गरेको एक साक्षात्कारमा उहाँले आफूहरुको सुरक्षाका लागि जनसेना खट्ने स्पष्ट व्यवस्था भएकाले सहमतिमा परिवर्तन नभएसम्म जनसेना लिएर हिँडिरहने बताउनुभएको हो। नेपाली कांग्रेस सत्ताबाहिर बस्नुपर्दा छटपटिएको आरोप लगाउँदै उहाँले भन्नुभयो, बहुलाहा कुकुर भौँतारिएजसरी कांग्रेस भाँैतारिइरहेको छ।
कार्यक्रममा बोल्दै वन तथा भू–संरक्षणमन्त्री किरण गुरुङले माओवादीमा जनयुद्धको धङधङी अझै बाँकी रहेकाले हतियार लिएर सदनमा छिर्न खोजेको बताउनुभएको छ। माओवादीका केही नेताको सुरक्षाका लागि जनसेनालाई हतियारसहित हिँड्न दिने छुट दिइएकाले समस्या आएको बताउँदै उहाँले हतियार लिएर हिँड्ने छुट कसैलाई दिइनु नहुने जिकिर गर्नुभयो।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशशरण महतले माओवादी गतिविधिविरुद्ध सडकमा आउने चेतावनी दिनुभयो। माओवादीले जनतालाई त्रसित पार्ने काम गरिरहेको बताउँदै सदनदेखि जनताको घरदैलोमा हतियारको आतंक सृजना गरेको आरोपसमेत लगाउनुभयो। नेकपा मालेका महासचिव सीपी मैनालीले माओवादी नेताहरुलाई हतियारसहितको जनसेना लिएर हिँड्नबाट रोक्ने अवस्था सृजना गर्नुपर्ने बताउनुभयो।
अर्कोतिर नेकपा माओवादीका वरिष्ठ नेता एवं संगठन विभाग प्रमुख मोहन वैद्य किरणले विश्वमा असफल भइसकेको संसदीय व्यवस्थालाई मान्ने पक्षमा माओवादी नरहेको बताउनुभएको छ।
प्युठान–काठमाडौं गणतान्त्रिक मञ्चले शनिबार राजधानीमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा नेता किरणले नेपालमा राजनीतिक क्रान्ति पूरा भइनसकेको र जनवादी गणतन्त्र स्थापना गर्ने आफूहरुको मुख्य लक्ष्य बाँकी रहेको बताउनुभयो।

2 comments:

  1. Kahi nabhako jatra hadi gaun maa bhanya sayad yehi ho ki
    naresh
    honkong

    ReplyDelete
  2. lau hai, nepali news site arko thapiyechha, khushi lagyo.

    Sarad Thapa
    UK

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक