20081231

माओवादी नेता मातृका यादव सशस्त्र संघर्षमा उत्रने, पार्टी अध्यक्ष तथा प्रधानमन्त्री र भट्टराईको चर्को आलोचना


माओवादी नेता मातृका यादवले मधेशबारे आफनो पार्टीको गलत नीतिका कारण आफू सशस्त्र संघर्षमा उत्रने चेतावनी दिएका छन् । क्रान्तिकारी पत्रकार संघ सप्तरीद्बारा बुधबार राजविराजमा आयोजित पत्रकार सम्लेनमा नेता यादवले मधेशलाई अधिकार दिनेबारे आफ्नो पार्टी गम्भीर नभएको आरोप लगाएका छन् । जनयुद्धका क्रममा पार्टी अध्यक्षले ठूला सपना बाँडेको तर अहिले त्यसप्रति गम्भीर नबनेको उनले आरोप लगाए । झन्डै दुई घण्टा लामो भाषणमा माओवादी केन्द्रीय सदस्यसमेत रहेका यादवले अधिकांश समय आफ्नै पार्टीको आलोचनामा खर्चे । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र वरिष्ठ नेता बाबुराम भट्टराईको चर्को आलोचना गर्दै भट्टराईलाई उनले सामन्तीको संज्ञा दिएका छन् ।


चौकि हान्ने, सैनिकहरुमाथि गोली वर्षाउने, गावीस कार्यालयहरु जलाउने, वन कार्यालय भत्काउने रे

अब देश पुरै भूमिगत लडाकु दस्ता नै दस्तामय होला जस्तो छ । भाईरस किलर्स, जनसेना, युथ फोर्स । कोब्रा, तराई टाइगर, कराई करेट, जनतान्त्रिक मोर्चा । अनि हरेक जाती पिच्छेनै लडाकु संगठन । अब त्यतिलेपनि नपुगेर अर्को कम्युनिष्ट पार्टीले पनि अन्तिम चरणमा पुगेको छ भूमिगत लडाकु दस्ता बनाउन । प्राय: गोप्त रुपमा बनाउने गरेका थिए यस्ता लडाकु दस्ता । तर अहिले त हाकाहाकी घोषणा गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी एकिक्रितले त्यस्तो निर्णय पत्रकार सम्मेलनबाटै सार्वजनिक गरेको हो । तपाईहरुलाई थाहै होला ऋषी कट्टेल यो पार्टीका अध्यक्ष हुन । उनी नेकपा मालेबाट छुट्टिएका नेता हुन ।
एकिक्रितको गत साता राष्ट्रिय महाधिवेशन भएको थियो जनकपुरमा । त्यसैका निर्णयहरु सार्वजनिक गर्न राजधानीमा पत्रकार सम्मेलन गरे उनीहरुले । त्यहि पत्रकार सम्मेलनमा उनीहरुले हाकाहाकी भनेका हुन-जनवादी राज्य ब्यवस्था प्राप्तीका लागि सबै खालका संघर्षका रुप प्रयोग गर्ने । त्यसकालागि बल प्रयोगको सबैभन्दा उच्च माध्यम शसस्त्र संघर्ष प्रयोग गरिनेछ । त्यो प्रयोग गर्न भूमिगत लडाकु दस्ता बनाउने रे । नाम जन सुरक्षा बल राख्ने रे । नाम सबै जनताका नाम मा राखिन्छ । तर आतंकित जनतालाई नै पार्छन । अब केहि महिनामै यो पार्टीका भुमिगत लडाकुको नाममा चौकि हान्ने, सैनिकहरुमाथि गोली वर्षाउने, गावीस कार्यालयहरु जलाउने, वन कार्यालय भत्काउने जस्ता ध्वंसात्मक गतिबिधि सुनिने छन ।

सत्ता कब्जा नगरुन्जेल धैर्य गरेर बस्नु होला : प्रधानमन्त्री
' पुष्पकमल दाहाल प्रधानमन्त्री कि ! विद्रोही नेता ?

सरकार हिजोको पञ्चायत तथा संवैधानिक राजतन्त्रात्मक कालको सरकार जस्तो होइन। हामी आफ्नो उद्देश्यबाट अलिकति पनि विचलित भएका छैनौं। हाम्रो क्रान्ति जारी छ। हामी सरकारमा बस्दा बस्दै बलिदान दिन तयार छौं। तर, जनताको आकाङक्षामाथि विश्वासघात हुने छैन।' यो अभिव्यक्ति माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालको हो। प्रधानमन्त्री दाहालले पुष ११ गते कीर्तिपुरमा अनेरास्ववियु (क्रान्तिकारी) को राष्ट्रिय भेलाको उद्घाटन गर्दै यस्तो अभिव्यक्ति दिएका हुन्।त्यसअघि मंसिर २७ गते उनले प्रगतिशील लेखक संघको कार्यक्रममा माओवादीले पुनः बन्दुक बोक्ने चेतावनी दिएका थिए। मंसिर ३० गते लमजुङ्गमा पुगेर आफू 'प्रधानमन्त्री हुँ कि! विद्रोही नेता हुँ? छुट्याउन नसकेको” अभिव्यक्ति दिए। मंसिर २२ गते चितवन र धनगढी पुगेर पनि दाहालले यस्तै अभिव्यक्ति दिए। आफैंले नेतृत्व गरेको सरकार र संयन्त्रविरुद्ध उनको कटाक्ष थियो– 'सत्ता सहयात्री दल, विपक्षी र विदेशी केही तत्वको असहयोगका कारण छोटो समयमा लोकप्रिय काम गर्ने सरकारको चाहना पूरा हुन सकेन। यही अवस्था रहे पुसभित्र सरकारबाट बाहिरिने छौ। सरकारबाट बाहिरिएपछि जनतामा गएर संघर्ष गर्ने छौं।'
माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाल र माओवादीका वरिष्ठ नेताहरुले अहिले दिनदिनै घुमाउरो ढंगले सत्ता कब्जा गर्ने चेतावनीहरु दिइरहेका छन्। उनीहरुका अभिव्यक्तिबाट सहजै बुझ्न सकिन्छ, सरकारको नेतृत्व गरिरहेको माओवादी सरकारमा बसेरै सत्ता कब्जा गर्ने अन्तिम तयारीमा छ। अधिनायकवादी ढंगले सत्ता कब्जा गर्ने योजनामा रहेकैले माओवादीले आफ्ना कार्यकर्तालाई भन्ने गरेको छ– 'अहिले हामीले सरकारको मात्र नेतृत्व गरिरहेका हौ। सत्ताको नेतृत्व गरेका होइनौं। यथास्थितीवादी र प्रतिक्रियावादीसँग मिलेर सरकार सञ्चालन गर्नु परेकोले कार्यकर्ता, सहिद, वेपत्ता, अपाङ्ग परिवारका पक्षमा काम गर्न सकिराखिएको छैन। यसर्थ सम्पूर्ण सत्ता कब्जा नगरुन्जेल धैर्य गरेर बस्नु होला र सत्ता कब्जा गर्ने मनस्थितीमा रहनु होला।' माओवादीका सबै पक्तिका नेता/कार्यकर्ताहरु सत्ता कब्जा हुने विश्वासमा छन्। माओवादी नेवा राज्य समितिका एक सदस्य भन्छन्– 'हाम्रो पार्टीको अन्तिम लक्ष्य भनेको एक लौटी सत्ता कब्जा नै हो। हाम्रा नेताहरुले यो कुरा बारम्बार सार्वजनिक रुपमा भन्दै पनि आउनु भएको छ। हामीले हाम्रो लक्ष्य काहिँ कहिल्यै ढाटेका छैनौं। हामी एकलौटी सत्ता कब्जा गर्ने अभियानमै छौं।'
माओवादी शान्ति प्रक्रियामा आएर पनि विद्रोही मानसिकता त्याग्न नसकेको कुरालाई लिएर अस्ति आइतबार कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र एमाले नेता केपी शर्मा ओलीबीच गम्भीर वार्ता भएको छ। भेटको अवसरमा ओलीले माओवादीहरु इमान्दार नभएकोले लोकतन्त्रमा विश्वास गर्ने पार्टीहरु गम्भीर हुनुपर्ने, नभए मुलुकमा ठूलो दुर्घटना हुनसक्ने बताएका थिए। स्रोतका अनुसार ओलीले कोइरालालाई भने– 'प्रधानमन्त्रीजस्तो पदमा बसेर विद्रोही नेताले जस्तो बोल्नु लोकतन्त्रप्रति गम्भीर षड्यन्त्र हो। प्रधानमन्त्रीले सिंगो देशको हितका निम्ति काम गर्नुपर्नेमा विद्रोहीको भाषा बोल्नु भनेकै राज्यसत्ता कब्जाको रणनीति हो।' दुई नेताबीचको भेटमा कोइराला पनि माओवादी भनाइ र गराइप्रति गम्भीर बनेका थिए। सूत्रका अनुसार, कोइराला माओवादी अधिनायकवादविरुद्ध एमालेसँग सहकार्य गर्न तयार छन्। तर, त्यो सहकार्यको व्याख्या, परिभाषा के हो भन्ने कुरा एमालेको आठौं अधिवेशनपछि बाहिर आउने छ।
माओवादीले एकलौटी सत्ता कब्जा गर्ने उद्देश्यले नै 'जनयुद्ध' को सञ्चालन गरेको थियो। शुरुमा उसले संसदिय व्यवस्थालाई लक्षित गरेर आक्रमण शुरु गरेको हो। युद्धकालमा संसदीय व्यवस्थालाई स्वीकार गर्ने हजारौं नेता कार्यकर्ता माओवादी निशानामा परे। माओवादी आक्रमणका कारण संसदिय व्यवस्थामा विश्वास राख्ने दलका कतिपय नेता/कार्यकर्ता अहिले पनि अगंभग भएर जीवनको सास्ती खेपिरहेका छन्। तर, संसदिय व्यवस्थालाई परास्त गर्न नसक्ने भएपछि अन्त्यमा माओवादी वाध्य भएर सात दलहरुसँग लगनगाँठो जोडन आइपुगेको हो। दोस्रो विश्वयुद्धमा स्टालिनले चर्चिल र रुजबेल्टसँग सम्झौता गरेका थिए। स्टालिन कट्टर कम्युनिष्ट थिए भने चर्चिल कट्टर कम्युनिष्ट विरोधी। तर, उनीहरुले दोस्रो विश्वयुद्धका नायक हिटलरलाई परास्त गर्नका लागि त्यो सम्झौता गर्नु परेको थियो। १२ बुँदे समझदारीमा पनि त्यस्तै भएको थियो। राजाको तानाशाही व्यवस्थालाई परास्त गर्न दलहरु र माओवादीबीच एकता भएको थियो।
माओवादी दलहरुको सहयोगमा राजालाई परास्त गरेपछि उनीहरुलाई पनि पाखा लगाएर एकलौटी सत्ता कब्जा गर्ने अभियानमा रहेको माओवादीका गतिविधीबाट प्रष्टै बुझ्न सकिन्छ। माओवादी उच्च स्रोतका अनुसार सत्ता कब्जा गर्ने योजनालाई शक्तिशाली मित्र राष्ट्रहरु भारत र चीनले साथ नदिएकाले माओवादीले सत्ता कब्जाको. प्रयत्नलाई घनिभुत ढंगले अघि बढाउन नसकिरहेको हो। यद्यपि उनीहरुको प्रयत्न जारी छ। एकलौटी ढंगले सत्ता कब्जा गर्ने 'रिर्हसल' स्वरुप बल प्रयोग नै आफ्नो सिद्धान्त र सम्पती हो भन्ने मनोरोगबाट ग्रसित भएर माओवादीले आफ्नो कार्वाहीलाई अगाडी बढाईरहेको छ। मिडिया माथि लगातार भैरहेको आक्रमण पनि एकलौटी सत्ता कब्जा गर्ने रणनीति अर्न्तगत नै भएको छ। पहिले मिडियालाई अकंुश लगाउन सकियो भने आफ्नो अधिनायकवादी हर्कतको कतै प्रचार हँुदैन र कसैले रोक्न पनि सक्तैनन् भन्ने ठम्याईका आधारमा माओवादीले नियोजित रुपमा आक्रमण गरेको बुझिएको छ। स्रोतका अनुसार माओवादीले नेपाली सेनालाई आफ्नो पकडमा लिएर सत्ता कब्जा गर्ने कोशिस समेत गरिरहेको छ। त्यही योजना अन्तर्गत नै सुर्यबहादुर सेन ओली, कुमार फुदुङ जस्ता दुतहरुमार्फत माओवादीले सेनाभित्र यो कुरालाई अगाठि बढाएको थियो। तर, सेनाले हरियो बत्ति नबालि दिनाले माओवादी 'हिस्स बुढी हरियो दाँत' भइरहेको छ। शान्ति वार्तामा आएर एकलौटी सत्ता कब्जा गर्ने योजनामा रहेको माओवादीले सेनामा भने आफ्ना दूतहरुलाई घुसपैठ गराउन सकिरहेको छैन। सेनाले साथ नदिने भएपछि माओवादी नयाँ विकल्प खोज्न थालेको छ।
माओवादीका नेताद्वय कुलबहादुर केसी 'सोनाम' र इन्द्रमोहन सिग्देल 'बसन्त' अस्ति ११ गते उदयपुरको गाइघाट पुगेर जनताको पूर्ण अधिकार प्राप्त नभएसम्म सङ्घर्ष जारी राख्ने बताए। उनीहरुको भनाइको आशय थियो, हामी एकलौटी सत्ता कब्जा नगरुन्जेल चुप लागेर बस्ने छैनौं। त्यही दिन पर्यटन तथा नागरिक उड्यन मन्त्री हिसिला यमी विराटनगर पुगेर यस्तै अभिव्यक्ति दोहोर्‍याईन। उनले भनिन– 'संघीय राज्य स्थापना गर्न अर्को आन्दोलनको जरुरी छ। माओवादीले सत्ताको नेतृत्व नगरुन्जेल संघिय राज्य स्थापना संभव छैन।' स्रोतका अनुसार एकलौटी सत्ता कब्जा गर्ने योजना अर्न्तगत नै माओवादीले संक्रमणकाललाई लम्ब्याउन खोजिरहेको छ। क्रान्तिमा संक्रमणकाल लामो हुनु शुभ संकेत होईन। यसर्थ क्रान्तिकारीहरु संक्रमणकाललाई छिट्टो भन्दा छिट्टो हटाउन प्रयत्न गर्दछन्। तर, माओवादी संक्रमणकाल लम्ब्याउन लागिपरेको छ। संक्रमणकाल लम्बिदै गए जनता आक्रोशित भएर आन्दोलनमा उत्रन तयार हुन्छन। माओवादी त्यो आन्दोलनलाई आफ्नो पक्षमा पारेर सत्ता कब्जा गर्ने तयारीमा रहेकोले संक्रमणकाल लम्ब्याउन लागिपरेको स्रोतको दावी छ।
स्रोतका अनुसार माओवादी समयमै संविधान निर्माण गर्न पनि तयार छैन। अन्तरिम संविधानमा संविधानसभा निर्वाचन भएको २ वर्ष भित्रमा नयाँ संविधान निमार्ण गरिसक्ने कुरा उल्लेख छ। तर, निर्वाचन भएको ९ महिना बित्न लाग्दा समेत संविधान निर्माण प्रकृया अवरुद्ध छ। अवस्था यहि रहने हो भने २ वर्ष भित्रमा संविधान निर्माण त के प्रक्रिया समेत शुरुवात हुन गाह्रो छ। समयमा संविधान निमार्ण नभए संविधानको रिक्तता भई अराजकता बढ्ने र त्यही मौकामा 'कु' गर्ने योजना माओवादीले बनाएको छ। माओवादीले वेपत्ता आयोग गठन गर्न आलटाल गर्नु, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नयाँ नियुक्ती गर्न हिच्किचाउनुका पछिको कारण सत्ता कब्जा नै रहेको बताइएको छ। यसका अतिरिक्त माओवादी लोकतान्त्रिक संस्कार देखाउन नसक्नुमा पनि सत्ता कब्जाकै नियत लुकेको छ। माओवादी सहमतिकै राजनीति चाहन्थ्यो भने संविधानसभाको उपाध्यक्षमा आफ्नै पार्टीको उम्मेदवार बनाउन अघि तम्सने थिएन। नेपाली कांग्रेसलाई वा अन्य कुनै दललाई उपाध्यक्ष दिने थियो। त्यस्तै राजदूतहरुलाई पनि फिर्ता बोलाउने थिएन। न्यायपालिका र नेपाली सेनामा पनि हस्तक्षेप गर्ने थिएन। यसर्थ दलहरु समयमै सचेत नभए कुनै पनि बेला माओवादीले एकलौटी सत्ता कब्जाको हरकत गर्‍यो भने आश्चर्य नमाने हुनेछ। -दृष्टि

बेल्जियममा ल्होसार पर्ब
- पुरुशोत्तम सुबेदी
गत मंगलबार दिसेम्बर ३० तारिख को दिन तमु समाज बेल्जियमले लुभेन शहरमा अबस्थित पानाकेक नेपाली रेस्टुरेन्टमा रात्री भोजको आयोजना गर्यो । तमु समाज बेल्जियमले सन २००८ को अन्त्य र २००९ को सुरुवातकै अवसर पारेर परम्परागत मान्दै आयको ल्होसार पर्वलाई एस बर्ष पनि नयाँ बर्षको शुभ कामना आदान प्रदान गर्नुका साथै बिभिन्न परीकारका मिस्ठान्नहरु को भोजमा महिला र बाल बालिका शहीत संपूर्ण बुद्धी जिवी तमुहरुको उपस्थिती रह्यो । बास्तवमै पहिले पहिले नेपालमा ल्होसार पर्व ९पुस १५ ०मा गुरुङ समुदायका पुरुसहरुले सिकार खेलेर ल्यायको म्रिगको मासु र महिलाहरुले सेल रोटी तरुल अचार् स्तरिय घरपाला मदिरा तयार गरी सबै गाउलेहरु मुख्य जिम्मुवाल संगै बसी खाइ पीइ नाच गानका साथ संपन्न हुने गर्थ्यो । तर प्रबासमा भने ठ्याकै गाउकै तरिकाले सिकार गरेको मासु आदी चिज जुटाउन सम्भब नभयपनी अन्य आधुनिक परीकारहरुको र नाच गानको कमी रहने कुरै भयन । बिदेसमा रहेर पनि आफ्नै मौलिकता झल्काउने यो महान चाड ल्होसार पर्बमा तमुसमाज बेल्जियमले भब्यताका साथ रात्री भोजको आयोजना सम्पन्न गर्यो । समारोहमा सयौं मानिसहरु महिला तथा बाल्बालिकाको उपस्थिती रहेको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक