20090105

सेनामा रिक्त भर्ना नरोक्न, पशुपतिनाथमा पुजारी नियुक्ति बदर गर्न एमालेको चेतावनी


एमालेले नेपाली सेनाको भर्ना प्रक्रिया रोक्ने सरकारको निर्णय र पशुपतिनाथ मन्दिरमा कानुनी प्रावधानविपरित भएको पुजारी नियुक्तिको कडा आलोचना गरेको छ। एमाले केन्द्रीय कमिटीको सोमबार सुरु भएको २३ औं बैठकले सेनामा रिक्त दरबन्दीअनुरूपको भर्ना प्रक्रिया नरोक्न र पशुपतिनाथमा कानुनविपरीतको पुजारी नियुक्ति बदर गरी नयाँ नियुक्ति गर्न सरकारको ध्यानाकर्षण गराएको छ। बैठकमा अधिकांश केन्द्रीय सदस्यले सरकारको नेतृत्व गरेको माओवादीले सेना र धार्मिक क्षेत्रमा हस्तक्षेपकारी ढंगले काम गरेको भन्दै आलोचना गरेका थिए। पहिलो दिनको बैठकमा बोल्ने १७ केन्द्रीय सदस्यले प्रधानमन्त्री पुष्पकमल दाहाल र रक्षामन्त्री रामबहादुर थापाले सेनाको मनोबल खस्कने गरी र्सार्वजनिक अभिव्यक्ति दिएको आरोप लगाएका थिए। उनीहरूले रिक्त दरबन्दी अनुरूपको भर्ना प्रक्रिया पनि रोकेको भन्दै पार्टीको ध्यानाकर्षण गराएका थिए। अधिकांश केन्द्रीय सदस्यले सरकारको कार्यशैली तथा सेना र धार्मिकस्थललाई विवादमा मुछ्ने प्रयासको कडा प्रतिवाद गरेपछि एमालेले प्रस्तावका रूपमा ती विषयमाथि सरकारको ध्यानाकर्षण गराएको छ। ´सेना र सरकारबीच द्वन्द्वको स्थिति देखिने तथा देशको संवेदनशील सुरक्षा अंग विवादमा परी त्यसको मनोबलमा नकारात्मक असर पर्ने किसिमका अभिव्यक्ति र कार्यले शान्ति प्रक्रियामा प्रतिकूल प्रभाव पार्नुका साथै मुलुकको हित नहुनेतर्फसचेत रही सहमति एवं कानुनी व्यवस्थाअनुरुप सेनाको नियमित भर्ना प्रक्रियामा कुनै प्रकारको रोक नलाउन सरकारको ध्यानाकर्षा गराउँछौं´ केन्द्रीय कमिटीद्वारा पारित प्रस्तावमा छ। बैठकको सुरुमै बोल्ने सबै केन्द्रीय सदस्यले एक स्वरमा आवाज उठाएपछि महासचिव झलनाथ खनालले सेना हतोत्साहित हुने गरी प्रधानमन्त्री र रक्षामन्त्रीले र्सार्वजनिक अभिव्यक्ति दिनु गलत भएको टिप्पणी गरेका थिए।


पशुपतिनाथ मन्दिर : नजिकै रहेका प्रहरी, सशस्त्र प्रहरीको जत्था जोगाउन आएनन्
माओवादी हूँ भन्नेहरू, वाईसीएलका कार्यकर्ता र नेवा मुक्ति मोर्चाका कार्यकर्ताले यसरी कुट्न थालियो मानौं हामी दसीसहित समातिएका पाकेटमार हौं।
पशुपतिनाथ मन्दिरमा एक सातायता भएका तमाम घटनाक्रमलाई संसारले बुझेको छ र त्यसबारे चौतर्फी प्रतिक्रिया पनि आइरहेका छन्। तथापि सरकार र त्यसको हनुमान मात्र बनेको पशुपति विकास कोषले केही नसुनेझैं गरिरहेको छ। हामी मुख्यतः मन्दिरको सेवा र रेखदेखमा पुर्ख्यौली रुपमा संलग्न भण्डारीहरूले त्यसको विरुद्ध खुलेयाम असहमति राखी आन्दोलन गर्दै आएका छौं र आमभक्तजन, नागरिक समाज पनि सहभागी हुँदै आएको छ। तर हाम्रो पवित्र आन्दोलनलाई छायाँमा पार्ने र पशुपतिको मुद्दालाई आलटाल गरेर टार्ने प्रयासमा सरकारी पक्ष जोडदार रुपमा लागेको छ। हामीलाई जीउधनकै नोक्सानी गर्ने धम्की निरन्तर आइरहेको छ। यस अवस्थामा हामीले मन्दिर प्रांगणमै सञ्चार माध्यम बोलाई यथार्थ जानकारी प्रवाह गराउनु आवश्यक ठान्यौं। यसका लागि हामीले हिजो मात्र गठन गरेको परम्परागत धर्म, सँस्कृति संरक्षण संघर्ष समितिको आयोजनामा पत्रकार सम्मेलन गर्ने निधो गरेका थियौं।
चार बजे मन्दिरको पश्चिमी द्वारअगाडि उपस्थित हुन हामीले सञ्चार माध्यमलाई आग्रह गर्‍यौं। हामी त जिन्दगीभर भगवानको सेवा गरेर बसेको मान्छे, पत्रकार सम्मलेनको तयारी गर्ने तरिका थाहा थिएन। प्रेस विज्ञप्ति बनाउन पनि समय लाग्यो। चार बजे हामी समितिका साथीहरू मन्दिर प्रांगण जम्मा भइसक्दा एउटा आतंकको स्थिति बनिसकेको थियो। हामीलाई आन्दोलनका सुरुआतकै समयदेखि निशाना बनाउन खोज्दै आएका माओवादी हूँ भन्नेहरू, वाईसीएलका कार्यकर्ता र नेवा मुक्ति मोर्चाका कार्यकर्ताले प्रागंण भरिभराउ थियो। कोषका सदस्य र कर्मचारी उनीहरुको मनोबल बढाउन आइपुगेका थिए। उनीहरू आज धेरैको ढाड सोझिन्छ भनेर हामीलाई सुनाइरहेका थिए। तर धर्म र नैतिकताका लागि हिंडेका मान्छे त्यसबाट डराउने कुरै भएन। हामीलाई आज पशुपतिनाथका लागि गरिएको लडाईंमा आफ्नो रगत बगाउनुपर्ने भयो भन्ने भान परिसकेको थियो।
सवा चार बजे हामीले पत्रकार सम्मेलनको तरखर गर्न थाल्यौं। म समितिको प्रवक्ता भएको नाताले कार्यक्रम सञ्चालनमा लागें। मैले केही बेर बोलेको मात्र थिएँ एक माओवादी कार्यकर्ता आएर यहाँ पत्रकार सम्मेलन गर्न पाइन्न भनेर कराउन थाले। उनका पछाडि हो हो भनेर तात्दै आउनेहरू निकै आक्रोशित थिए। तर मैले बोल्न छाडिन। ती व्यक्ति मेरो ह्याण्डमाइक नै समात्न आए। मैले बोल्न कोसिस गरिरहें। अर्को एउटा आएर मसँगै प्रेस विज्ञप्ति बोकेर बसेका साथी सुरेन्द्रलाई झँगेल्न थाल्यो। उसले पनि विज्ञप्ति छोड्न मानेन। ठीक त्यति बेला उनीहरूको समूह आएर हामीलाई कुट्न थाल्यो। यसरी कुट्न थालियो मानौं हामी दसीसहित समातिएका पाकेटमार हौं।मलाई चारैतिरबाट घेरेर कुट्न थालियो। उचाल्दै पछार्दै, हातले, बुटले, शरीरको जताततै। म जसरी हुन्छ उठेर जोगिने कोसिस गरिरहेंको थिएँ। तर बारंबार उनीहरू मलाई ढाल्थे र लात्ती बर्साउँथे। एउटा ठूलो छालाको बुट लगाएको मान्छेले दुई पटक ताकेर दायाँ कन्चट र आँखामा लात्तीले हान्यो। त्यतिखेर मैले पूरै कालोबाहेक केही देखिन। एकछिनमा म उम्केर छेउ लाग्न भ्याएँ। तर उनीहरूले मेरो पिछा गर्न छाडेनन्। आलो घाउमा खासै याद भएन तर दुखाइ बढ्दै आयो। टाउको रगतले च्याप च्याप भएको थियो। आँखाको डिलबाट रगत बगिरहेको थियो।
मैले मेरा दाइ केदारमान भण्डारीलाई घिसार्दै कुट्दै मास्तिर बगैंचामा लगेको पनि देखें। उहाँलाई झन् निर्घात कुटिएको रहेछ। उहाँलाई त पाइप र रडले समेत टाउकामा हानेछन्। एक जनाले एउटा ढुङगा उचालेर हान्न खोज्दा अर्कोले ए नगर नगर हामीलाई मार्ने आदेश छैन भनेछ। उहाँको त मोवाइल समेत खोसे। जसमा उहाँले हाम्रा सबै आन्दोलनका कार्यक्रमको भीडीयो रेकर्ड गर्नु भएको थियो। त्यो खोस्ने उनीहरुको योजना नै रहेछ।
हाम्रा करिव २०–२५ जना साथीले कुटाइ खाए। सात आठ जनाले त नराम्ररी। सुवेन्द्र र छत्रानन्द त रगतले मुख धोए जस्ता भएका थिए। उनीहरूले मेडिकलमा उपचार गराए। हंसराज भण्डारीलाई त केदार दाइलाई नै जसरी कुटियो। उहाँहरू दुवै जनालाई मेडिकेयर लगियो, म चाहिं घर आएर जोगिन खोजें। सबै साथीहरू तितरबितर भए। केदार दाइ र हंसदाइको ३–४ टाँका टाउकामा लाउनु परेछ। एक्स रे गरिएछ। उहाँहरुको स्थिति गम्भीर छ। पछि आँखाको चोट देखाउन त्रिपुरेश्वर लगियो। मेरो पनि टाउको टन्कन थाल्यो। साथीहरूले घरमै आएर मेडिकेयर लगे। घाउको ड्रेसिङ गरियो, नदुख्ने औषधि दिइएको छ। स्थिति सुधार भएन भने सिटी स्क्यान गर्नुपर्छ भनिएको छ।
हामीमाथि त्यति ज्यादती गरेपछि वाइसीएलका थप दुई ट्रक कार्यकर्ता आएछन्। हामीलाई घर घरबाट थुतेर कुट्ने, उठीबास लगाउने धम्की दिंदै थिए रे। राति अबेरसम्म पशुपति क्षेत्र उनीहरूको कब्जामा छ।
सबैभन्दा अचम्म लागेको कुरा के भने हामीलाई त्यसरी कुट्दा पनि नजिकै रहेका प्रहरी, सशस्त्र प्रहरीको जत्था जोगाउन आएनन्। पत्रकारलाई समेत कुटियो, क्यामरामा क्षति पुर्‍याइयो। उनीहरूले कुट्न बन्द गरेपछि बल्ल प्रहरी आइपुगे। सशस्त्र प्रहरीहरू पछि दौडेर आउँदा ´ए मर्न त मरेनन् है´ भन्दै थिए। उनीहरूले कुट्नेलाई छुन पनि सकेनन्। आक्रमणकारीहरू उही रवाफले बसिरहे।
यो हाम्रो शान्तिपूर्ण धर्मयुद्ध हो। हाम्रा पूर्खाले पशुपतिको आराधना गरेर कमाएको यश र हाम्रो पवित्रताले हाम्रो जीत सुनिश्चित छ। आज अधर्मीहरूको नांगो रूप देखियो, सारा जगतले देख्यो। तर पशुपतिका सेवकहरू सत्तासिनहरूद्वारा दिइएको अपराधीले पनि नपाउने यातना पाएरसमेत डराएका छैनन्। जनताले पशुपतिमा न्याय स्थापना गर्नेछन्। (पशुपतिनाथ मन्दिरका भण्डारी हरिमानसँग सुन्दर खनालले आइतबार राति गरेको कुराकानीमा आधारित)


प्रधानसेनापतिलाई कारबाहीको लागि प्रकृय शुरु भैसकेको बादलको भनाई

रक्षामन्त्री रामबहादुर थापा बादलले सरकारको निर्णयलाई पालना नगरे प्रधानसेनापतिलाई कारबाही गरिने बताउनु भएको छ । क्रान्तिकारी पत्रकार संघ चितवनले गरेको पत्रकार सम्मेलनमा बादलले सरकारको आदेशको पालना भन्दा पनि प्रधानसेनापति राजनीतिक अभिव्यक्ति दिएको भन्दै सरकारको आदेशको पालना नगर्नेलाई कारबाही गरिने बताउनुभयो । कारबाहीको लागि प्रकृाय शुरु भैसकेको बादलको भनाई छ । उहााले कुनैपनि कानुनमा सेनाका अधिकारीले राजनीतिक भाषण गर्न छुट नदिएको भन्दै तत्काल त्यस्तो काम बन्द गर्न आग्रह गर्नुभयो । उहााले प्रधानसेनापतिले भर्ति रोक्न नसक्नुको कारण सरकारलाई दिनुपर्ने बताउनु भयो । केहीदिन अघि सरकारले दिएको भर्ति रोक्ने आदेशको प्रधानसेनापतिले नसकिने भनेर उत्तर दिनुभएको थियो । अनमीनले पनि सरकार र नेपाली सेनालाई भर्ति रोक्न आग्रह गरेको छ भने माओवादी जनसेनाले चााही नेपाली सेनाले भर्ति नरोके जनसेनाले पनि भर्ति खोल्ने जनाएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक