20090106

पशुपतिको विवाद नेपालका लागि अशुभ संकेत

नेपाली काँग्रेस मंगलबार दलबलसहित पशुपतिनाथ मन्दिर पुगी विवाद सल्टाउन सरकारलाई दबाव दिएको छ। अधिकांश काँग्रेसी सभासदहरु सदनबाट एकसाथ पशुपति गएर नियुक्तिसँग असन्तुष्ट भण्डारीलगायतको आन्दोलनमा सहभागीसमेत भए। उपसभापतिद्वय रामचन्द्र पौडेल र गोपालमान श्रेष्ठको नेतृत्वमा सयभन्दा बढी सभासदले जयवागेश्वरीदेखि मन्दिर प्रांगणसम्म गएको आन्दोलनकारीको र्‍यालीलाई अगुवाई दिए। कांगे्रस संसदीय दलले पशुपतिलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न र पुजारी नियुक्ति आमसहमतिमा गर्न सरकारलाई आगह गर्ने प्रस्ताव पारित गर्दै पशुपति भ्रमण तय गरेको थियो। उपसभापति पौडेलले मंगलबार दिनभर प्रदर्शन भएको जयबागेश्वरीमा आयोजित विरोधसभामा बोल्दै पशुपतिमा अन्याय हुन नदिने बताए। उनले पशुपतिमा धर्म र कानुनको मर्यादा नतोड्न सरकारलाई चेतावनी दिए।
´पशुपतिमा राजनीतिक हस्तक्षेप गरी यसको मर्यादा आँच आउने काम सरकारले गर्नुहुन्न। दुनियाँको आस्था रहेको यस्तो संवेदनशील स्थानमा सरकार गम्भीर हुनुपर्छ´, उनले भने– ´यहाँ हुने नियुक्तिका निर्णय धार्मिक मानिसहरुको आमसहमतिमा हुनुपर्छ।´पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालले अदालतको आदेश मान्छु भनेको र त्यसलाई उनले कार्यन्वयन गरेर देखाउनुपर्ने बताए। उनले पशुपतिको मर्यादा जोगाउन आन्दोलनरत पक्षहरुलाई ऐक्यबद्धता प्रकट गर्न काँग्रेस पशुपति आएको पनि उल्लेख गरे।
पशुपतिको विषयलाई काँग्रेसले सदनको अवरोध टुंगिनेबित्तिकै जरुरी सार्वजनिक महत्वको प्रस्तावका रुपमा प्रस्तुत गर्ने पनि बताइएको छ। सरकारले आन्दोलनमय बनेको पशुपति क्षेत्रमा जुलुस प्रदर्शन निषेध गरे पनि सभासदहरु सम्मिलित र्‍याली शान्तिपूर्ण थियो।
भारतको गठबन्धन सरकारको एक दल समाजवादी पार्टी अध्यक्ष मुलायमसिंह यादवले नेपालका समस्याका बारेमा भारतका प्रधानमन्त्री मनमोहन सिंह, कांग्रेस -आई) अध्यक्ष सोनिया गान्धी र विदेशमन्त्री प्रणव मुखर्जीसँग कुराकानी गर्ने बताउनुभएको छ। कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले भारतीय टोलीको सम्मानमा सोमबार आयोजना गर्नुभएको दिवाभोजमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष सिंहले नेपाल भ्रमणका क्रममा सबै पार्टी नेताहरूले नेपालको समस्यालाई भारतले गम्भीर रूपमा लिनुपर्ने सुझाव दिएको पनि जानकारी दिनुभयो। नेपालमा लोकतन्त्र मजबुत भएको हेर्ने चाहना भारत र भारतीय जनताको रहे पनि यहाँ अपेक्षाअनुरूप काम हुन नसकेको भन्दै उहाँले चिन्ता प्रकट गर्नुभयो। ँनेपालमा लोकतन्त्र ल्याउनका लागि हामीले राजतन्त्रको समेत घोर विरोध गर्दै नेपालमा लोकतन्त्र स्थापित गर्न सघाएको सबैलाई विदितै छ’, अध्यक्ष सिंहले भन्नुभयो- ँलोकतान्त्रिक नेपालमा शान्ति छाएको र विकास अघि बढेको हामीले हेन चाहेका थियौं, तर दुभाग्य न त अहिलेसम्म शान्ति र स्थिरता कायम भएको हर्ेन पाइयो, न त विकास अगाडि बढेको छ।’ नेपालमा शान्ति र विकासलाई अगाडि बढाउनुको सट्टा धर्म र संस्कृतिमाथि समेत राजनीतिक हस्तक्षेप हुन थालेको भन्दै भारतीय टोलीले असन्तुष्टि व्यक्त गर्यो। ँयो नेपालका लागि शुभसंकेत होइन’ -अध्यक्ष सिंहले भन्नुभयो। ँपशुपतिको विवाद नेपालका लागि अशुभ संकेत हो’ -पशुपति क्षेत्रमा देखिएको विवादका कारण यो भ्रमणमा पशुपतिको दर्शनसमेत नगर्नुभएका सिंहले भन्नुभयो। पशुपतिनाथको मन्दिरमा सदियौंदेखि भारतीय पुजारी हुँदा नेपाल र भारतबीचमा सांस्कृतिक र धार्मिक सम्बन्ध मजबुत भएको विश्लेषण गर्दै अध्यक्ष सिंहले पुरानै रीतिरिवाज र परम्पराअनुरूप फेरि पशुपतिनाथको पूजाअर्चना थालनी हुने र आफूलगायत सबैले सहज रूपमा पशुपतिनाथको दर्शन गर्न पाउने विश्वास व्यक्त गर्नुभयो।
३८ जना सभासद्हरूले गच्छदार र चौधरीलाई पदबाट हटाइएको दावी

मधेशी जनाधिकार फोरमका ३८ जना सभासद्हरूले आफ्ना पार्टीका तर्फबाट मन्त्री भएकाहरूलाई सरकारबाट फिर्ता बोलाउन माग गर्दै सभामुख र प्रधानमन्त्रीलाई मंगलबार ज्ञापनपत्र बुझाएका छन् ।साथै उनीहरूले पार्टी संसदीय दलका नेता विजयकुमार गच्छदार र सचेतक रामजनम चौधरीलाई पदबाट हटाइएको दावी पनि गरेका छन् ।
फोरमका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले संतोषजनक काम गर्न नसकेका र मन्त्री बनाउँदा क्षेत्रीय संतुलनपनि नमिलेको भन्दै सभासद्‌हरूले यस्तो आग्रह गरेका हुन् । माओवादी नेतृत्वको सरकारमा फोरमका तर्फबाट चारजना मन्त्री रहेका छन् ।
फोरमका ५२ सभासद्‌मध्ये ३८ जनाको हस्ताक्षर रहेको सो ज्ञापनपत्र फोरम नेता एवं सभासद् वीपी यादवको नेतृत्वको टोलीले संविधानसभाका अध्यक्ष सुभाषचन्द्र नेम्वाङ र प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको हो ।
यादवले संसदीय दलमा आफ्नो पक्षमा दुईतिहाइ बहुमत रहेको दावी गरेका छन् । सोमबार वसेको सो पार्टीको राजनीतिक समितिको बैठकमा पनि असन्तुष्ट पक्षले सरकारबाट मन्त्री फिर्ता प्रक्रिया तत्काल अघि बढाउन दवाव दिएका थिए । भौतिक योजना तथा निर्माणमन्त्रीसमेत रहेका फोरम संसदीय दलका नेता विजयकुमार गच्छदार र कृषिमन्त्री रहेका सहअध्यक्ष जयप्रकाश गुप्ताको समूह र पार्टी अध्यक्ष एबं परराष्ट्रमन्त्री उपेन्द्र यादवको समूहबीच केही समयदेखिको विवाद चुलिंदै गएको छ ।

कमल थापाद्वारा प्रधानमन्त्री समक्ष ज्ञापनपत्र

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले मुलुकमा शान्ति, स्थायित्व र समृद्धि सुनिश्चित नभएकोमा चिन्ता व्यक्त गर्दै मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष ज्ञापनपत्र बुझाएको छ । राष्ट्रियता र प्रजातन्त्रको सुदृढीकरणका लागि भन्दै बुझाइएको १६ बुँदे ज्ञापनपत्रमा राप्रपा नेपालले मुलुकमा भइरहेको अपहरण, हत्या र चन्दाआतंक तत्काल रोकी भयरहित वातावरणमा बाँच्न पाउने जनताको हक स्थापित गर्न आग्रह गरेको छ ।
त्यसैगरी माओवादीद्वारा कब्जा गरिएका सम्पत्ति फिर्ता, द्वन्द्व विस्थापितहरूलाई पुर्नस्थापना, पशुपति मन्दिरमा पुजारी विवाद समस्या समाधान, नित्य पूजा संचालनमा सर्वोच्चको आदेश पालना गर्नपनि माग गरिएको छ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाद्वारा हस्ताक्षरीत सो पत्रमा सहमतिका आधारमा स्थानीय निकाय गठन, लोडसेडिङ् अन्त्यको उपाय तत्काल अवलम्बन गर्नुपर्ने, महंगी नियन्त्रण तथा निजी शैक्षिक संस्थामा लगाइएको पाँच प्रतिशत कर खारेजीको माग पनि गरिएको छ ।ज्ञापनपत्र प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बुझाइएको थियो । राप्रपा नेपालले आफ्ना मागहरूलाई लिएर मंगलबार राजधानीमा प्रदर्शनसमेत गरेको थियो ।
चैत्र महिना लोप गर्ने मन्त्रिपरिषद्‌ निर्णयप्रति विरोध
नेपाल ज्योतिष परिषद्ले आगामी वर्षको चैत्र महिना लोप गर्ने निर्णयप्रति विरोध जनाएको छ । पर्व सुधार राष्ट्रिय कार्यदलले २०६६ साल ११ महिनाको मात्र हुने तथा फागुनपछि वैशाख सुरु हुने गरी सुझाव बुझाएपछि मन्त्रिपरिषद्‌ले क्यालेन्डर परिवर्तनलाई स्वीकृति दिएको थियो ।
परिषद्ले मंगलबार जारी गरेको विज्ञप्तिमा नेपालमा २०६६ सालको एक महिना लोप गर्दा त्यसले विश्वभरिनै गम्भीर प्रभाव पार्ने तथा विश्वमा रहेका हिन्दूधर्मालम्बीमा प्रचलित सनातन संस्कार, पर्व, जात्रा, जन्मोत्सव र रीतिरिवाज र ज्योतिष फलादेशमा समेत गम्भीर असर पर्ने उल्लेख छ । कार्यदलले १ हजार ६ सय ५६ वर्षयता पात्रोमा परिवर्तन नभएकाले समय समायोजन गर्न एकैचोटि एक महिना सार्नु परेको जनाएको थियो ।

वाईसीएल र युथफोर्स झडप, एक दर्जन सख्त घाइते

ओखरपौवास्थित सिसडोल ल्यान्डफिल साइटनजिक रहेको कोल्पु खोलाको ढुंगाको कर उठाउने विषयमा विवादपछि झडप हुँदा वाईसीएल र युथफोर्सका एक दर्जन कार्यकर्ता सख्त घाइते भएका छन्। छत्रेदेउरालीस्थित महालक्ष्मी क्लबले कानुनविपरीत प्रतिट्रक ढंुगामा ५० रुपियाँका दरले कर उठाउन थालेको थियो। तर ट्रकचालकहरूले रकम दिन नमानेपछि ८४२१ नम्बरका ट्रकचालक प्रकाश बलामीमाथि वाईसीएल कार्यकर्ताले कुटपिट गरेका थिए। करको विषयमा विवाद भएपछि वाईसीएलका छत्रेदेउराली उपाध्यक्ष विनोद श्रेष्ठ, मंगल तामाङ, वासु सिंखडा, सविन सिंखडा, हरिबहादुर तामाङलगायत एक दर्जनमाथि आक्रमण भएको थियो। वाईसीएल कार्यकर्ता भुवन अर्याललगायतले युथफोर्सका जितपुर फेदी उपाध्यक्ष विवेक देवकोटा र सिद्धराज घिमिरेमाथि आक्रमण गरी दुवै खुट्टामा खुुकुरी प्रहार गरेका छन्। देवकोटालाई उपचार्रार्थ बीएन्डबी अस्पताल लगिएको र त्यहाँ उपचार हुन नसकी त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको छ। उनको स्थिति चिन्ताजनक रहेको छ। युथफोर्सको आक्रमणबाट घाइते वाईसीएल छत्रेदेउरालीका उपाध्यक्ष विनोद श्रेष्ठ, मंगल तामाङ, हरिबहादुर तामाङलाई उपचार्रार्थ जनमैत्री अस्पताल भर्ना गरिएको छ। घाइतेमध्ये विनोद श्रेष्ठको स्थिति चिन्ताजनक रहेको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक