20090113

सरकार ढालिए जनविद्रोहमार्फत जनगणतन्त्र ल्याएर सत्ता कब्जा गर्ने प्रधानमन्त्रीको चेतावनी, देशको अस्तित्वसमेत नरहने ठोकुवा

प्रचन्डको हाल सम्मकै कडा धम्की !!!

आफै सत्तासिन प्रधानमन्त्री भएर जनबिद्रोह मार्फत सत्ता कब्जा गर्ने धम्की दिदै प्रचन्डले फेरी गिरिजा, माधव नेपाल , झलनाथ र अन्य बिपक्षी नेताहरुलाई नराम्ररि झझस्काएका मात्र छैनन माओवादीको खिलापमा रहेका देशी बिदेशी सबैलाई औंला समेत् देखाएका छन । प्रधानमन्त्रीको यो धम्की पछी नेपालको राजनितीमा फेरी अर्को बादल मडारिन थालेको आभाश हुन्छ ।

एकीकृत नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार ढालिए जनविद्रोहमार्फत जनगणतन्त्र ल्याएर सत्ता कब्जा गर्ने चेतावनी दिएका छन्। नेकपा माओवादी र नेकपा एकता केन्द्र मसालको एकता घोषणासभालाई सोमबार राजधानीमा सम्बोधन गर्दै उनले वर्तमान सरकार ढालिए देशको अस्तित्वसमेत नरहने ठोकुवा गरे ।´
´आफैंले काम गर्न नसकी यो सरकार ढले नेपालको अस्तित्व नै खतरामा पर्नेछ। विदेशी प्रतिक्रियावादी र यथास्थितिवादीले ढाले त्यसविरुद्ध महान जनविद्रोह हुनेछ। र जनगणतन्त्र ल्याई सत्ता कब्जा हुनेछ´ दाहालले भने- ´यसलाई कसैले रोक्नसक्ने छैन।´
उनले वर्तमान सरकार जनयुद्ध र १९ दिने जनआन्दोलनबाट आएको भन्दै यसअघिका सरकारलाई ढाल्ने र बनाउने भनेर ´नहेर्न´ समेत आग्रह गरे। उनले यो सरकार ढाल्ने भनेर सोच्नुसमेत आफ्नो खुट्टामा आफैंले बन्चरो हान्नुजस्तो हुने दाबी गरे।
´कतिपयले यो सरकार ढल्छ भन्ने सोचेका छन्। यस्तो सोच्नु आत्मघाती हुनेछ आफ्नो खुट्टामा आफैंले बन्चरो हान्नुजस्तै हुनेछ´ प्रधानमन्त्री दाहालको स्पोष्टिक्ति थियो- ´यो विगतको सरकारजस्तो होइन।´उनले सरकारलाई ´डुंगा´ को संज्ञा दिँदै डुंगा डुबे त्यसमा सवार सबै डुब्नेसमेत चेतावनी दिए। उनले डुंगामा १२ बुँदे सम्झौता गर्ने सबै दलसमेत सवार रहेको तर्क गर्दै आफैं सवार रहेको डुंगामा प्वाल पारेर नडुबाउन आग्रह गरे। दाहालले डुंगामा प्वाल पारेर डुबाए आफूहरु उत्रने तर डुबाउनेहरु नै डुब्ने ठोकुवा गरे।
´डुंगामा प्वाल पार्ने कोसिस नगरुन्। हामी त रबर बोकेर हिँडेका छौं। पौडन जानेका छौं। उत्रिहाल्छौं । तर प्वाल पारे १२ बुँदे सम्झौता गर्नेहरु सबै डुब्छन्´ दाहालको कथन थियो। वर्तमान सरकार ढाल्न खोजिएको प्रसंग उप्काउँदै उनीहरुलाई चेतावनी दिदै भने ´यसबारे विचार गरे राम्रो होला।´
माओवादीले लोडसेडिङ बढाएको झूट भएको तर्क गर्दै प्रधानमन्त्री दाहालले ´यसअघिका सरकारका भ्रष्ट काम´ ले यसो हुन गएको दाबी गरे। उनले ३० वर्षको पंचायत र १२ वर्षको संसदीय कालमा सरकारले गरेका गलत कामकारबाहीले यस्तो भोग्नुपरेको तर्क गरे। उनले आफ्नो नेतृत्वमा रहेको सरकार लोडसेडिङविरुद्ध रहेको बताए। ´जसले ३० वर्ष र १२ वर्षसम्म भष्टाचार गरे। त्यसैका कारण बढेको हो लोडसेडिङ। यो सरकार त लोडसेडिँगको विरुद्धमा छ´ उनले भने। उनले आफू सिँहदरबार र बालुवाटार पसेपछि भ्रष्टाचारको फोहोररुपी डंगुर सोहोर्दासोहोर्दै हैरान भएको बताउँदै सबै जनतालाई गैंती-बेल्चा तयार पारेर सफा गर्न आग्रह गरे। सिंहदरवार र बालुवाटार गएर थाहा पाएँ फोहोर सफा गरी साध्य नै रहेनछ। सबैलाई गैंती बेल्चा तयार पारेर फोहर सफा गर्न आग्रह गर्छु´ दाहालको कथन थियो। उनले यो देशलाई सफा गर्ने काम कम्युनिष्ट र देशभक्तले मात्र गर्नसक्ने दाबी गरे।
´सफा गर्ने काम कम्युनिष्ट र देशभक्तहरुको मोर्चाबाट मात्र सम्भव छ´ दाहालले भने। अध्यक्ष दाहालले सबै कम्युनिष्ट समूहलाई ध्रुवीकरणको प्रक्रियामा आउन आग्रह गरे। उनले त्यसो हुन नसके मोर्चाबन्दी गरेर अघि बढ्न अपिल गरे। उनले कम्युनिष्ट एक भएर देशभक्तको मोर्चाबन्दीले मात्र जनसंविधान बन्ने तर्क गरे। उनले सबै देशभक्त र वामपन्थीको एकताले मात्र शान्ति प्रक्रिया र संविधान बन्न सक्नेसमेत बताए। अध्यक्ष दाहालले २१ औं शताब्दीमा एउटै कम्युनिष्ट पार्टी बन्ने सम्भावना बढेको बताउँदै त्यसले मात्र राष्ट्रिय स्वाधीनताको रक्षा गर्नसक्ने ठोकुवा गरे।
एउटै कम्युनिष्ट पार्टी बनाउने सवालमा कम्युनिष्ट घटकमा देखिएको अहंकार सबभन्दा घातक रहेको बताए। उनले त्यसलाई त्याग्नसमेत आग्रह गरे। संविधानसभा चुनावमा आफूले कम्युनिष्ट एक भएर जाने प्रयास गरे पनि अहंकारकै कारण सफल नभएको र कम्युनिष्टको दुई तिहाई आउन नसकेको दाबी गरे।
कार्यक्रममा एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वाधीनताका लागि कसैसँग पनि सम्झौता नगर्ने दाबी गरे। उनले नेपाली भूमि अतिक्रमण गरी बसेका विदेशी सेनालाई खेदिने र स्वाधीन नेपाल बनाउनेसमेत बताए।
´देशलाई स्वाधीन बनाउन कसैसँग पनि सम्झौता हुँदैन। सीमा अतिक्रमण गरेको सहँदैनौं। विदेशी सेना लखेटेर स्वाधीन हुन्छौं´ श्रेष्ठले भने । उनले देश बचाउने कुरामा कुनै पनि सम्झौता गर्न नहुने तर्क गरे।
आफ्नो दल १२ वर्षअघिको संसदीय व्यवस्था र संसदीय गणतन्त्रको पक्षमा नरहेकोसमेत बताए। उनले जनताको गणतन्त्र र जनसविधान बनाउन कम्युनिस्ट पार्टीबीचको एकता प्रकि्रया र देशभक्तको मोर्चाबान्दीलाई तीब्रता दिइने जानकारी दिए।
´एउटै कम्युनिष्ट पार्टी बनाउने प्रक्रियामा जानेछौं । र पुष्पकमल दाहालकै नेतृत्वमा क्रान्ति पूरा गर्नेछौं´ श्रेष्ठको दाबी थियो ´त्यो टाढा छैन निकट भविष्यमै गरिनेछ।´नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य एवं एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य नरबहादुर कर्माचार्यले आफूले नयाँ जनवादी क्रान्ति हेरेर मर्ने धोको रहेको बताए। चार जना मिलेर स्थापना गरेको कम्युनिष्ट पार्टीको स्मरण गर्दै नेता कर्माचार्यले सबै कम्युनिष्ट पार्टीलाई एउटै पार्टीमुनि गोलबन्द हुनसमेत अपिल गरे।
एकीकृत नेकपा माओवादीलाई शुभकामना दिदै नेकपा एमाले केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठले विचार मिल्ने एकता र नमिले कम्युनिष्ट पार्टीहरुले मोर्चाबन्दी गर्नुपर्ने बताए। उनले सबै कम्युनिष्ट पार्टीले आफ्ना कमजोरीलाई हटाउनसमेत आग्रह गरे। ´मन नमिले मोर्चाबन्दी गरेर कम्युनिष्ट पार्टी अघि बढ्नुपर्छ। दुई दलबीचको यो एकताले त्यसलाई बल मिल्ने छ´ श्रेष्ठको भनाइ थियो।
संयुक्त मार्क्सवादीका महासचिव लोकनारायण सुवेदी र नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले पनि शुभकामना मन्तव्य दिएका थिए। आइतबार नेकपा माओवादी र नेकपा एकताकेन्द्र मसालबीच एकीकरण भई बनेको एकीकृत नेकपा माओवादीको सोमबार एकीकरणको घोषणासभामार्फत सार्वजनिक गरिएको थियो। - किरण पुन

प्रचण्डले पुष्पकमललाइ हकार्दा

मध्यान्ह एकाएक खुल्लामंचमा एकिकृत माओवादीका अध्यक्ष प्रचण्ड प्रकट भए । अब सत्ता कब्जा गरिन्छ भन्दै धुंवाधार भाषण गरे । अरुलाइ गाली गरे अनी आफुले ताली खाए । अब यस्तो गरिन्छ उस्तो गरिन्छ भन्दै गफको थुप्रो लगाए । अनी प्रधानमन्त्री पुष्पकमल दाहाललाइ गर्नुसम्म गाली गरे । खुल्लामंचको कुनामा बसेर उनको गफ सुनिरहेको म बबुरो रनभुल्लमा परे । हैन लवाइ र बोलाइ दुबै प्रधानमन्त्री दाहाल जस्तै भएका यि मनुवा प्रचण्ड हुन कि प्रधानमन्त्री दाहाल ?
उनी साच्चिकै केवल प्रचण्ड मात्र बोलिरहेका थिए । प्रधानमन्त्री दाहाल हैन माओवदी अध्यक्ष प्रचण्ड मात्र । जो सत्ताधारीलाइ चुनौति दिन्छ । विपक्षिलाइ थर्काउछ र सत्ता नै कब्जा गरेर देखाइदिने चेतावनी पनि दिन्छ । तर उनले यि सबै बोलिरहंदा प्रधानमन्त्री त मै हु नी भन्ने हेक्का राख्न सकेनन । जसकारण उनी मंचमा उभिएर माओवादी अध्यक्ष प्रचण्डका रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाललाइ नै चेतावनी दिइरहेका थिए । ताता ताता क्रान्तीकारी कुरा गरिरहेका थिए । अचम्म स्रोताहरु लौ अब क्रान्तीकारी काम नै हुने भयो भनेर मच्ची मच्ची ताली पिटिरहेका थिए ।

उनी कुर्लीए-सामन्तवादका पक्षपोषकहरुले यो सरकार ढाले दोस्रो दिननै सत्ता कब्जा गरेर देखाइदिने छौं । अनी सरकार आफैं ढले नेपालको अस्तित्व नै संकटमा पर्ने छ ।’ भनेपछि सरकार आफैं ढले पनि अफाप अरुले ढालेपनि अफाप । एक्कासी मेरा हात ताली बजाउन थालेछन । ‘वाह प्रचण्ड क्या काइदा’ अनायसै शब्द फुत्किए मेरा ।

प्रधानमन्त्री दाहाल संविधान सभा मार्फत सबैभन्दा ठुलो दलको रुपमा सत्ताको नेतृत्व गरिरहेको पार्टी माओवादी नेतृत्वको सरकार ढल्छ कि भन्ने त्रासमा छन कि क्या हो मनले मनलाइ प्रश्नसोध्यो । अनी तत्काल उत्तर आयो-धत पागल कहां हुन्छ यस्तो पनि यत्ति नबोले कसले ताली पिट्ने । त पिट्छन । मनको उत्तरले मन दगं पर्यो । हो राम्रो काइदा ।

उनले पुरानो कथा हाले । डुंगाको कथा । अनी त्यहां लगेर सबै दललाइ बसाउंदै चेतावनीको शैलीमा भने-हेर डुंगा प्वाल नपार है सबै डुब्छौ म बाहेक । अचम्म परे म एउटै डुंगामा बसेका अरु चै डुब्ने उनी चै कसरी उत्रिने होला । तर प्रचण्डले बोलेका कुरा हो रहेछ । त्यो डुंगामा भएकामध्ये उनलाइ मात्र पौडिन आउंछ रे । अरुलाइ आउंदैन रे । म झसंग भए । लौ मलाइ पनि त पौडन आउंदैन नी । धत् सिक्नु पर्ने रहेछ ।

चेतावनीको पालो सकियो । अब लागे फकाउनतिर । शान्ति प्रकृया निष्कर्षमा पुर्याउन सबै दल मिल्नुपर्छ । कांधमा कांध मिलाएर संगै हिड्नुपर्छ । उनको कुरो सुनेर दगं परे म अनी भने- हो कुरो सत्य हो । तर फेरी मनले मलाइ प्रश्न सोध्यो-सशस्त्र कांध र निशस्त्र कांध कसरी संगै हिड्लान लामो समय कुरे तर उत्तर आएन । -केपीको तीर

1 comment:

  1. Prachanda le Makune, Girija, surya bahadur, pasupati samser, kamal thapa sabai lai dekhai diyechhan, unle ramro kehi garne ta kura chhaina tara musaraf banne ra combodiya bhaye nepal lai.

    Saroj
    California, USA

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक