20090114

मन्त्रीको मनमानी र जबर्जस्ती : उमा सिंह


आइतबार राति मारिएकी पत्रकार उमा सिंहको नेपाली सरोकार मासिकको २०६५ कात्तिक अंकमा प्रकाशित लेख

नेकपा माओवादीका प्रभावशाली नेता मातृका यादव सत्तामा गएर जहिले पनि चर्चाको केन्द्रविन्दु बनेका छन्। कहिले चन्दन काठ समाएर त कहिले स्थानीय विकास अधिकारीलाई शौचालयमा थुनेर। पछिल्लो पटक उनी भूमिसुधार तथा व्यवस्था मन्त्री हुँदा सिरहाको रामनगर मिर्चैयामा सर्वसाधारणको घरजग्गा कब्जामा लिएको प्रसंगको चर्चा चुलिएको छ। अरुभन्दा बेग्लै देखिने होडमा यादवले आफू कानुनभन्दा माथि छु भन्ने ठान्नुभएको छ जुन उहाँको भ्रम हो।

पछिल्लो पटक सर्वसाधारणको घर-जग्गा दादागिरी शैलीमा कब्जामा लिएका कारण आफ्नै पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल ´प्रचण्ड तथा पार्टीसँगको सम्बन्ध पनि अहिले चिसो देखिएको छ। घर-जग्गा कब्जाका कारण पार्टीतर्फबाट माफी माग्नुपर्ने अडानका कारण अन्ततः उनले मन्त्रीमण्डलबाट राजिनामासमेत दिनुपर्यो। तत्कालीन मन्त्री मातृका यादव आफ्नो पदीय दायित्वबाट मुक्त भई अहिले सिराहा धनुषा र सर्लाहीको विभिन्न क्षेत्रमा मधेसी राष्ट्रिय मक्ति मोर्चाको आन्तरिक कार्यक्रममा ब्यस्त देखिएका छन्।

तत्कालीन भुमिसुधार तथा व्यवस्था मन्त्री मातृका यादवले आफ्नो नेतृत्वको सशस्त्र वाईसीएल कार्यकर्ताको सहयोगमा भदौ २९ गते रामनगर मिर्चैया-३ स्थित वीरेन्द्र साहलगायत् ७५ जना सर्वसाधारणको घर जग्गालाई पूर्व राजा ज्ञानेन्द्रको बैनी ज्वाइँ मोहन शाहीको नाउँमा रहेको भन्दै राजपरिवारको सम्पत्ति राष्ट्रियकरण गर्ने अभियानअन्तर्गत ११ विगाहा जग्गा र १६ कोठे घर आफ्नै पार्टीका करिब २ सय दलित कार्यकर्ताहरुलाई वितरण गरेका छन्।

यादवद्वारा सुकुम्बासीको नाउँमा वितरण गरिएको जग्गामा स्थानीय मल्हनिया राघोपुर कुथनमा जिवा मिर्चैया मटियवा रामपुर विर्ता प्रयागपुरलगायतका गाविस तथा टोलका दलित सुकुम्बासीहरुलाई घरटहरा बनाई बसोबास गर्ने उर्दीसमेत जारी गरेका छन्।

यसअघि उक्त घर-जग्गा राजपरिवारको नाउँमा रहेको भन्दै नेकपा माओवादीका जिल्ला इन्चार्ज तथा मातृका यादवका ज्वाइँ दिलिप साह, सभासद् महेन्द्र पासवान तथा जगत यादवको नेतृत्वमा भदौ १४ गते कल्याणपुर-६ का वीरेन्द्र साहलगायत् ७५ जनाको नाउँमा रहेको ११ विगाहा जग्गा र घर आफ्नो कब्जामा लिएर घरमा धर्मशाला संचालन गर्दै आएका थिए भने जग्गा दलितहरुलाई वितरण गरेका थिए।

गृह तथा उपप्रधानमन्त्री गौतमको निर्देशनमा दलितहरुको घर टहरा भत्काएको चौबीस घन्टा नबित्दै तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्री यादवको प्रत्यक्ष निर्देशनमा पुनः सो घर जग्गा कब्जा गरिएको थियो।

´गृहमन्त्रीले मलाई जानकारी नदिई मेरो कार्यक्षेत्रमा हस्तक्षेप गरे´ उनले भने- ´म पछि त्यहाँ पुगेर उनीहरुलाई पहिलेकै अवस्थामा बसाएँ मैले गरेको काम सोह्रै आना ठीक हो।´

नेकपा माओवादीका कार्यकर्ताहरुले ´जनयुद्ध´ताका मोहन शाहीको भवनसँगै करिब २५ कठ्ठा क्षेत्रफलमा फैलिएको उक्त दरबार आफ्नो कब्जामा लिई जनअदालत चलाइरहेका छन्। पहिला मधेस आन्दोलनताका मधेसी जनअधिकार फोरमका कार्यकर्ताहरुले त्यहाँबाट उनीहरुलाई लखेटेका पनि थिए।

पैसा प्रकरण

नेकपा माओवादीका कार्यकर्ताहरुले रामनगर मिर्चैया-३ स्थित ११ विगाहा जग्गा र घर कब्जा गरेको प्रकरणमा आर्थिक लेनदेन प्रमुख कारण रहेको खुलासा भएको छ। जग्गाधनीमध्येका वीरेन्द्र साहले आफूले माओवादी पक्षलाई भनेअनुसारको चन्दा सहयोग नगरेको आरोपमा सम्पत्ति कब्जा गरेको बताएका छन्। साहले नेकपा माओवादी पार्टीलाई सहयोगस्वरुप १० लाखको बैंक चेक र नगद ३० लाख गरी जम्मा ४० लाख रुपैयाँ दिएको दाबी गरेका छन्।

साहले नेकपा माओवादीका क्षेत्र नं ५ का सभासद् महेन्द्र पासवानलाई ७ लाख जिल्ला इन्चार्ज दीलिप साहलाई १८ लाख तत्कालीन जिल्ला इन्चार्ज सूर्यनाथ यादवलाई १० लाखको चेक र पूर्व जिल्ला सचिव तथा जनवर्गीय संगठन मोर्चाका जिल्ला संयोजक अविनाशलाई ५ लाख गरी जममा ४० लाख रुपैयाँ सहयोगस्वरुप पार्टीलाई दिएको दाबी गरेका छन्। उनले माओवादी पक्षले अझै १० लाख रुपैयाँ माग गरेको र सो रकम उपलब्ध नगराएकाले सम्पत्ति कब्जा गरेको दाबी गरे।

यसैबीच तत्कालीन जिल्ला सचिव अविनाशले पनि उक्त समयमा कल्याणपुर-६ का वीरेन्द्र साहले पार्टीलाई आर्थिक सहयोगवापत पटक-पटक गरी ४० लाख रुपैयाँ दिएको पुष्टि गरेका छन्। सचिव अविनाशले पार्टी साचालनमा व्ययभार बढेपछि ऋण तिर्न र पार्टी साचालनका निम्ति रकम लिने आन्तरिक सहमतिअनुसार साहबाट ४० लाख रुपैयाँ पार्टी र कार्यकर्ताले लिएको खुलासा गरेका छन्।

यादवका यस्ता श्रृखलाबद्ध हर्कतले सीमा नाघिसकेको छ। हठी र निडर मातृकाको मर्यादा कहाँ छ मन्त्री बनेर पनि संसदीय अभ्यासको थोरै ज्ञान भएका यादवमा कतै मानसिक समस्या त छैन यस्ता प्रश्न सर्वसाधारणमाझ उठ्न थालेको छ। हैन भने मन्त्री जस्तो। नीति निर्माणको तहमा पुगिसकेको व्यक्तिबाट बारम्बार यस्ता काम हुनु सोचनीय छ। यादवको यो कामले सरकारमा सहभागी एमालेका गृहमन्त्री बामदेव गौतमसँग माओवादीको सम्बन्ध बिगि्रएको छ भने माओवादीले पनि यादवमाथि कारवाही गर्ने बताउँदै आएको छ। मुड्डी र सन्की नेताका रुपमा परिचित यादवको यस्तो क्रियाकलापले सहमति र सहकार्यको संस्कृतिबाट अघि बढ्दै गरेको राजनीतिक वृत्तमा ठूलो धक्का पुगेको छ।

कब्जामा १२ सय बिगाहा जग्गा

प्रधानमन्त्री पुष्पकमल दाहाल ´प्रचण्ड´ ले प्रधानमन्त्रीको पदभार सम्हाल्नुअघि आफ्ना कार्यकर्तालाई जनयुद्धमा कब्जा गरिएको घर जग्गा फिर्ता गर्न दिएको निर्देशनको महिना दिन बित्न लाग्दा पनि सिराहामा कब्जा गरिएको घरजग्गा अझै फिर्ता गरिएको छैन। माओवादी जनयुद्धताका कब्जा गरेको सर्वसाधारणको १२ सय बिगाहा जग्गा अहिलेसम्म फिर्ता भएको छैन।

सात राजनीतिक दल र माओवादीबीच २०६२ साल मंसिर ७ गते भएको बाह्र बुँदे समझदारीमा कब्जा गरिएका घरजग्गा फिर्ता गर्ने उल्लेख छ। नेपाल सरकार र माओवादीबीच २०६३ साल मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौतामा कब्जा गरिएको घर जग्गा तथा विस्थापितलाई घर फर्काउने वातावरण बनाउन सरकार र माओवादी सम्मिलित समिति बनाउने उल्लेख छ।

तर राजनीतिक खिचातानीका कारण हालसम्म सो समिति गठन हुन नसकेको प्रमुख जिल्ला अधिकारी बताउँछन्। जेठमा सरकार र माओवादीबीच भएको पहिलो वार्ताद्वारा निर्माण गरिएको २५ बुँदे आचारसंहिताअनुसार विस्थापितहरु स-सम्मान घर फर्कन पाउनुपर्ने र कब्जा गरिएका घर जग्गा फुकुवा हुनुपर्ने उल्लेख भए पनि सो आचारसंहिता सिरहाका विस्थापितहरुको हकमा कार्यान्वयन हुन सकेको छैन।

मुलुकको १२ वर्षे हिंसात्मक द्वन्द्वबाट यहाँ २ सय २५ जना विस्थापित भएका छन्। अनौपचारिक सेवा केन्द्र इन्सेक सिरहा जिल्ला प्रतिनिधि देवराज पोखरेलका अनुसार माओवादी जनयुद्धताका ८० घरपरिवारको १२ बिगाहा जग्गा कब्जा भएको थियो। पोखरेलका अनुसार कार्यकर्ताहरुले न त घर जग्गा फिर्ताको प्रकि्रयालाई ठोस नतिजामा पूर्याएको छ न जिल्लामा देखिएका विभिन्न सशस्त्र समूहका कारण विस्थापितहरु घर फर्कन सक्ने स्थिति रहेको छ।

मानवअधिकार संगठन सिरहाका उपाध्यक्ष रामचन्द्र गुप्ताले नेकपा माओवादी पार्टीका कार्यकर्ताहरुले सर्वसाधारणको जग्गा फिर्ता नगरे पनि पार्टीलाई ठूलो चन्दा दिने आश्वासनको भरमा रुसस्थित प्रसिद्ध उद्योगपति उपेन्द्र महत्तोको कर्जन्हा गाविसस्थितको सम्पूर्ण जग्गा भने फिर्ता गरेको छ।

माओवादीका स्थानीय कार्यकर्ताहरुले जनयुद्धताका महादेव पोर्ताहा-१ का उपेन्द्रमान प्रजापति परिवारका ८९ बिगाहा माडर ६ का सत्यनारायण साहको १ सय २५ बिगाहा अर्नमापीप्राका मनोज श्रेष्ठको नाममा रहेको ३ सय बिगाहा सिरहा घर भएका महेन्द्र यादवको कर्जन्हा र गौतारी गाविसस्थित २५ बिगाहा औरही-४ का भूतपूर्व जिविस सभापति उमेशचन्द्र दासको पिप्रा गाविसस्थित जमुवा टोलको १ सय ५ बिगाहा जग्गा कब्जा गरेको छ।

सिर्लोवा पछवारी गाविसका लवविक्रमको ८१ बिगाहा सोही गाविसका लक्ष्मीबहादुर निरौलाको ४० बिगाहा कब्जा गरेको छ । त्यस्तै नहरा निगौल गाविस-४ मा रहेको राजविराजका चतुर्भुजप्रसाद सिंहको आफन्तहरुको ८० बिगाहा अर्नमा बङठियाका कृष्णचन्द्र झाको ८५ बिगाहा बरियारपट्टीमा रहेको किरण प्रधानाङ्गको ६० बिगाहा कवि सिद्धिचरण श्रेष्ठको छोराहरुको नाममा रहेको ६ बिगाहा र नेपाली काँग्रेस सिरहाका सभापति सीतादेवी यादवको धनगढी र मुकसारस्थित ७ बिगाहाको फूलबारी र उनकै परिवारहरुको नाममा रहेको ३० बिगाहालगायतका पिप्रा गाविसका केही बिगाहा जग्गा पनि कब्जा गरेका छन्।

तर जिल्ला प्रहरी कार्यालय सिरहाको तथ्यांकले माओवादीहरुले ३ सय ५४ बिगाहा जग्गामात्र कब्जा गरेको देखाएको छ। माओवादी सिरहा संयोजक दिलिप साहले कब्जा गरिएका जग्गाहरु फुकुवा गर्ने सम्बन्धमा पार्टीबाट कुनै पनि प्रकारको निर्देशन नआएको दावी गरे। संयोजक साहले भूमिसुधार आयोग गठनपश्चात् मात्र कब्जा गरिएका घर जग्गाहरु फुकुवा हुने दावी गरेका छन्।- dainikee

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक