20090115

"हत्या, अपहरण, चन्दाआतंक, अर्काकोघर जग्गा कब्जा कसरी गर्ने भन्ने थाहा भएपनि देश कसरी चलाऊनुपर्छ भन्ने थाहारहेनछ प्रचन्ड लाई"

प्रचन्ड हजारौँको नरसम्हारगरेर प्रधानमन्त्री त बने तर उनी मान्छे मार्न र बितन्डा मचाउन मात्र जानेका रहेछन , सरकार चलाऊन सक्ने रहेनछन , हत्या , अपहरण , चन्दा आतंक , अर्काको घर जग्गा कब्जा , कसरी गर्ने भन्ने थाहा भए पनि देश कसरी चलाऊनु पर्छ भन्ने थाहा रहेनछ , आफु असफल भएपछी बर्बराउन थालेका छन भनेर नेपाली काङ्रेस्स र एमाले मात्र होइन सारा ले भन्न थालीरहेका बेला अस्ती खुलामन्चको भासण्ले फेरी प्रचन्ड चर्चाको शिखरमा छन , त्यहा पनि उनको भासण् सुनेपछी सबैको एउटै प्रतिकृया छ प्रचन्डको त्यो हताश मनस्थितीको उपज हो , तर माओवादी भित्र भने प्रचन्डको भासण् ले ठुलो राहत मिलेको छ रे ! त्यसैले माओवादीहरुले प्रचन्डको उक्त भाषाणलाई सम्पादन गरेर ईमेल मार्फत देश बिदेश पठाइ रहेका छन , हामीलाई पनि उनिहरु बाट प्राप्त भासण् विवरण तल जस्ताको तस्तै राखेका छौं । - सम्पादक

जतिबेला हामी नेपाली समाजको क्रान्तिकारी रूपान्तरणका निम्ति जनयुद्धमा थियौं, विरोधीहरूले हामीलाई जनयुद्धकै क्रममा सखाप पार्ने सपना देखेका थिए । तर नेपाली जनताले वैरीहरूको त्यो सपनालाई साकार हुन दिएनन् । बरु जनयुद्ध एकपछि अर्को उचाइमा अगाडि बढ्दै गयो । नेपालको सयौं वर्ष पुरानो सामन्तीतन्त्रलाई नष्ट पार्ने दिशामा त्यो अगाडि बढयो । केही समय पहिले हाम्रो पार्टी, नेपाल कम्युनिस्ट पार्टी -माओवादी) भित्र सामान्य बहस हुँदा देशभित्र र बाहिरका प्रतिगामी तत्त्वहरू र प्रतिक्रियावादी शक्तिहरूले माओवादी अब तीन टुक्रामा विभाजित हुन्छ भनेका थिए । म अहिले नाम लिन चाहन्न र नाम लिन आवश्यक पनि ठान्दिना । कयौंपटक प्रधानमन्त्री भएका हाम्रा बुढा नेताहरूले पनि छिट्टै माओवादी तीन टुक्रा हुन्छ भनेका थिए । तर तिनीहरूको भविष्यवाणी केही दिनभित्रै चकनाचुर भयो । त्यो भविष्यवाणी खोक्रो, ढोंगी र पाखण्डी थियो भन्ने कुरा साबित भयो । माओवादी त झन् एकताबद्ध भएर दृढतापूर्वक अगाडि आयो ।
नेकपा (माओवादी) र नेकपा -एकताकेन्द्र-मसाल)को एकतालाई व्यवहारिक रूपले सम्भव हुन नदिनका निम्ति थुपै्र कसरतहरू भए । मिडियामा पनि यो एकता सफल हुन नपाओस् भन्नका निम्ति थुपै्र कुप्रचारहरू गरिए । तर आज उनीहरूका ती भविष्यवाणी र कुप्रचारहरू चकनाचुर भएका छन् र हामी एकताबद्ध भएका छौं । यो एकता सबै प्रतिक्रान्तिकारी तागतहरूको पराजय र नेपाली जनताको विजयको द्योतक हो । हामीले साबित गरिदिएका छौं, नेपाली जनताले सावित गरिदिएका छन् । प्रतिक्रान्तिकारीहरू, प्रतिक्रियावादीहरू र यथास्थितिवादीहरू जतिजति माओवादीलाई सराप्नेछन्, माओवादी झन्झन् शक्तिशाली भएर, एकताबद्ध भएर अगाडि आउनेछ । यो कुरा दसवर्षको जनयुद्धले साबित गर्‍यो । तीन वर्षको शान्ति प्रक्रियाले साबित गर्‍यो । संविधानसभाको निर्वाचनले साबित गर्‍यो ।
अहिलेको यो एकता केबल दुईवटा पार्टीको मात्र एकता होइन, यो एकता नेपाली जनताको एकताको एउटा नयाँ उदाहरण पनि हो । यो एकता थुपै्र क्रान्तिकारी कम्युनिस्ट समूहहरूको एकताको निरन्तरतामा एउटा नयाँ गुणात्मक फड्को हो । यो एकता साम्राज्यवाद र सबैखाले प्रतिक्रियावादका विरुद्ध नेपाली जनताको सङ्घर्षमा प्राप्त भएको नयाँ विजयको परिणाम हो । हामी अहिले इतिहासको असाध्यै संवेदनशील मोडमा छौं । हामी नेपाली जनताले रगतको मूल्य चुकाएर स्थापना गरेको गणतन्त्रलाई जनताको भावनाअनुसारको गणतन्त्रमा रूपान्तरण गर्न चाहन्छौं । हामी नेपाली जनताले आफ्नो धर्तीमा मौलिक तरिकाले अगाडि ल्याएको शान्ति प्रक्रियालाई नेपाल राष्ट्रको स्वतन्त्रता, स्वाभिमान र नेपाली जनताको हितअनुसार एउटा निष्कर्षमा पुर्‍याउन चाहन्छौं । हामी नेपाली जनताले करिब छ दसकसम्म लडेर ल्याएको संविधानसभामार्फत् नेपालका मजदुर किसान र सबै उत्पीडित जनताको हितको रक्षा गर्ने संविधान निर्माण गर्न चाहन्छौं । नेपाली जनताको महान् त्यो भावनालाई नेतृत्व गर्न शक्तिशाली कम्युनिस्ट पार्टीबाहेक अर्को कुनै हतियार हामीसँग छैन । जतिजति प्रतिक्रियावादीहरूले नेपाली जनताको परिवर्तनको आकाङ्क्षालाई, मुक्तिको आकाङ्क्षालाई भ्रमित पार्ने र दबाउने षड्यन्त्र गर्छन्, त्यतित्यति नै नेपाली जनताले आफ्नो सङ्घर्षलाई नयाँ उचाइमा उठाएर एकपछि अर्को सफलता हासिल गर्दै आएका छन् । यो एकता त्यहीा प्रक्रियाको नयाँ कडी हो ।
अहिलेको परिवर्तनलाई यदि कसैले १९ दिनको शान्तिपूर्ण जनआन्दोलनका कारणमात्रै सम्भव भएको देखेका छन् भने त्यो दृष्टिमा ठूलो दोष छ । दसवर्षको जनयुद्धबिना दसौंहजार नेपाली जनताका सर्वोत्तम छोराछोरीको बलिदानबिना, जनयुद्ध र जनआन्दोलनको समायोजनबिना के सङ्घीय लोकतान्त्रिक गणतन्त्र यति छिटो सम्भव थियो ? थिएन । सच्चाइलाई आत्मसात गर्न सबैले कोसिस गर्नैपर्दछ । अन्य दलका केही साथीहरूले राजतन्त्र गइहाल्छ, ढलिहाल्छ भनेर सपनामा पनि सोच्न सक्दैनथे । नेपाली जनताको बलिदानबिना, जनयुद्धबिना के त्यो सम्भव थियो ? जसले जनयुद्धको ऐतिहासिक भूमिकालाई स्वीकार्न सक्दैन, त्यो कम्युनिस्ट हुनै सक्दैन ।
२००७ सालमा नेपाली काङ्गे्रसले बन्दुक नउठाएको भए राणाशाही अत्याचार सकिन्थ्यो कि सकिादैनथ्यो ? ०१७ सालमा महेन्द्रले प्रतिगामी 'कू' गर्दा बन्दुककै बलमा 'कू' गर्‍या हो । त्यो निरङ्कुश पञ्चायतका विरुद्ध पहिला नेपाली काङ्गे्रसले र पछि एमालेका साथीहरूको बन्दुकै उठाएर लडेका थिए । त्यो लडाइा नलडेको भए के हुन्थ्यो होला ? बन्दुकलाई निरपेक्ष विरोध गर्दा इतिहासको सच्चाइलाई नबिर्सौं । अहिले हामी शान्ति प्रक्रियामा छौं, यो शान्ति प्रक्रिया लडेर प्राप्त गरेको हो, कसैको अगाडि आत्मसमर्पण गरेर प्राप्त गरेको होइन । यो शान्ति प्रक्रिया बन्दुकको लडाइाबाट जितेर ल्याइएको शान्ति प्रक्रिया हो ।
जतिबेला हामी द्वन्द्वमा थियौं, त्यतिबेलाका राजा भनिने ज्ञानेन्द्र कुनै तरिकाले पनि आफ्नो खुनी निरङ्कुश शासन कायम राख्न चाहन्थे । त्यतिबेला हामीले एकपक्षीय रूपमा तीन महिने युद्धविरामको घोषणा गर्‍यौं । युद्धविरामको त्यो घोषणा नारायणहिटी दरबारमा एउटा ठूलो रकेट प्रहारजस्तो भयो । त्यो रकेटले नारायणहिटीमा बसेका त्यतिबेलाका राजाको अन्तर्राष्ट्रिय भ्रमणलाई रद्द गरिदियो, धरासायी पारिदियो । राष्ट्रसङ्घमा गएर 'म लोकतन्त्रका निम्ति लड्दैछु' भनी नेपाली जनताको हत्या गर्ने षड्यन्त्र र सपना चकनाचुर पारिदियो । त्यसकारण अहिलेको शान्तिप्रक्रिया जनताले लडेर प्राप्त गरेको हो ।
हामी संविधान निर्माणको संवेदनशील प्रक्रियामा छौं, जसलाई सफल पार्नका निम्ति सम्पूर्ण सच्चा कम्युनिस्टहरू एउटै केन्द्रमा आउनुपर्दछ । सम्पूर्ण देशभक्त, वामपन्थी र लोकतन्त्रवादी जनसमुदाय पनि एउटै मोर्चामा उभिनुपर्दछ । २१औं शताब्दीको पहिलो दसकमा नेपालमा एउटै कम्युनिस्ट पार्टी बन्न सक्ने सम्भावना पैदा भएको छ । नेपाली जनताले लामो सङ्घर्षबाट यस्तो परिस्थिति तयार पारेका छन्, जहाँ सच्चा कम्युनिस्टहरू एउटै केन्द्रमा आउन सम्भव भएको छ । यो देशको राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानको रक्षा गर्ने तागत भनेको कम्युनिस्टमा मात्रै छ । त्यसकारण पनि सम्पूर्ण सच्चा कम्युनिस्टहरू एउटै केन्द्रमा आउनुपर्दछ । कम्युनिस्टहरूभित्र पनि वैचारिक दृष्टिकोणले ठूल्ठूला रोग लागेका थिए विगतमा । त्यो हो, अहंकारको रोग । संविधानसभा अगाडि कम्युनिस्टहरू मिलेर चुनाव लड्न जरुरी छ भनेर हामीले भन्यौं । हामीले अन्तिम समयसम्म कोसिस गर्‍यौं । आफूलाई कम्युनिस्ट, वामपन्थी भन्नेहरू, सच्चा देशभक्तहरू र राष्ट्रवादी मिलेर चुनाव लड्ने हो भने सजिलै दुईतिहाइ आउन सम्भव छ भन्यौं । दुईतिहाइ वामपन्थी बहुमत छ, नेपालमा हामीले भनेका थियौं । तर उनीहरूका अहंकारका कारणले, मनोगतवादका कारणले, आफूबाहेक अरू कसैलाई नदेख्ने दृष्टिदोषका कारणले हामी त्यसमा सफल भएनौं । फेरि पनि नेपाली जनताले हामीलाई सवक दिएका छन् । नेपाली जनताले कम्युनिस्ट भन्नेहरूलाई, वामपन्थी भन्नेहरूलाई, देशभक्त र राष्ट्रवादी भन्नेहरूलाई एकै ठाउँमा बस्नुपर्छ भनेर शिक्षा दिएका छन् ।
हामी अहिले वामपन्थीहरूको वर्चश्वको सरकार चलाइरहेका छौं । नेपाली जनताले एकपछि अर्को जनपक्षीय कामहरू होउन् भनेर चाहेका छन् । छिटोभन्दा छिटो स्थानीय निकाय बनोस्, बजेट जनताको बीचमा जाओस् र जनतालाई राहत मिलोस् भनेर चाहेका छन् । तर हामी वामपन्थीहरू अझै पनि दृष्टिदोषबाट मुक्त भएका छैनौं । हामी एकअर्कासङ्ग तर्सिरहेकै छौं । यो ऐतिहासिक घोषणासभामार्फत् देशका सम्पूर्ण वामपन्थी र कम्युनिस्ट साथीहरूसँग म अनुरोध गर्न चाहन्छु कि हामी त्यो विगतको विरासतबाट मुक्त बनौं । हामी नयाँ ढङ्गले अगाडि बढौं । हामी एकताबद्ध भएर अगाडि बढयौं । हामी नेपाल राष्ट्र र नेपाली जनताको आवश्यकता र आकाङ्क्षालाई केन्द्रबिन्दुमा राखेर अगाडि बढयौं । देशभित्र र बाहिरबाट प्रतिक्रियावादीहरूले नेपालको शान्ति प्रक्रियालाई सफल हुन नदिनका निम्ति, नेपालको संविधान निर्माणको प्रक्रियालाई सफल हुन नदिनका निम्ति, नेपाली जनताको समृद्धिको आकाङ्क्षा पूरा हुन नदिनका निम्ति अनेकौं षड्यन्त्र चलाइराखेका छन् । कम्युनिस्टहरू, वामपन्थीहरू, देशभक्तहरू मिलौं र यस्तो एउटा शक्ति खडा गरौं, जसले यो राष्ट्रको स्वतन्त्रतालाई, नेपाली जनताको आकाङ्क्षालाई ठीक ढङ्गले सम्बोधन गर्न सक्दछ । नयाँ युगको सूत्रपात गर्नका निम्ति, नयाँ विचारको निर्माणका निम्ति हामीले एकताबद्ध हुनैपर्दछ । जो नयाँ जनवादी क्रान्तिको पक्षमा, सामन्तवाद र साम्राज्यवादका विरुद्ध त्यसखालको क्रान्ति पूरा गरेर समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्ने कुरामा, माक्र्सवाद-लेनिनवाद-माओवाद माओविचारधारा मानेर जाने कुरामा सहमत छन्, ती एउटै कम्युनिस्ट पार्टीभित्र बस्न त्यति समस्या छैन । जसको बीचमा अलि ठूलो वैचारिक दूरी छ र त्यस्ता पार्टीहरूसँग संयुक्त मोर्चा हुनसक्छ । म यो ऐतिहासिक घोषणासभामार्फत् यो एकीकृत नेपाल कम्युनिस्ट पार्टी -माओवादी)को केन्द्रीय समितिको तर्फबाट र त्यसको अध्यक्षको हैसियतले म सबै कम्युनिस्ट पार्टीका कमरेडहरूलाई यो विषयमा गम्भीर रूपले विचार गर्न, छिटोभन्दा छिटो धु्रवीकरणको प्रक्रियामा अगाडि आउन, मोर्चाबन्दीको प्रक्रियामा अगाडि आउन र शान्तिलाई एउटा निष्कर्षमा पुर्‍याउने र संविधान निर्माणको प्रक्रियालाई समयमा पूरा गर्ने दिशामा आउन विशेष अपिल गर्न चाहन्छु ।
मानिसहरूले बेलाबेलामा भन्ने पनि गरेका छन् कि यो सरकार केही समयपछि ढल्छ । यस्तो कसैले सोचेको छ भने तिनीहरूले बडो आत्मघाती कुरा सोचेका छन् र तिनीहरूले बडो अवैज्ञानिक कुरा सोचेका छन् । पत्रकार साथीहरू Û तपाईहरूसँग मेरो माया पनि छ र बेलाबेलामा झगडा पनि पर्छ । तपाईंहरू पनि विचार गर्नुहोला । यो सरकार विगतको जस्तो स्थितिको सरकार होइन । यो सरकार विगतको सरकारको पुनरावृत्ति होइन । एउटा ठूलो क्रान्तिकारी परिवर्तनको प्रक्रियाबाट आएको सरकार हो । यो सरकार ढल्यो भने दुईवटा कुरा हुन्छ । तपाईं-हाम्रो कमजोरीले ढल्यो भने नेपालको भाग्य र भविष्य बडो डरलाग्दो अन्धकारतिर जाने खतरा छ । यो सरकार ढल्यो भने नेपालको अस्तित्व नै खतरामा पर्ने स्थिति छ । अहिले जसरी विखण्डनकारी, साम्प्रदायिक तत्त्वले टाउको उठाउँदै छ, यो सरकारले त्यसमाथि विजय हासिल गर्न सकेन र राष्ट्रलाई एकताबद्ध बनाएर एउटा सही दिशामा नेतृत्व गर्न सकेन भने यो देशको अस्तित्व नै खतरामा छ । दोस्रो, यदि प्रतिक्रान्तिकारी र प्रतिगामीले षड्यन्त्र गरेर यो सरकार ढलाउने कोसिस गरे भने त्यसको भोलिपल्ट एउटा महान् विद्रोह हुनेछ र सत्ता नेपाली जनताले कब्जा गर्नेछन् । त्यो परिणामलाई दुनियाँको कुनै तागतले रोक्न सक्ने छैन । अहिले हामी १२ बुँदे समझदारीदेखि जुन प्रक्रियामा छौं, एउटै डुङ्गामा चढेका छौं, त्यसमा कसैले प्वाल पार्ने कोसिस नगरोस् । हामी क्रान्तिकारीहरू त सबैले शरीरमा रबर बोकेर हिँडेका छौं । हामी त निक्लेर बच्छौं । १२ बुँदे समझदारीका सहयात्रीहरूमध्ये आफैं चढेको डुङ्गामा प्वाल पार्न थाले भने आफैं डुब्नेछन् ।
कोही कोही मानिसहरू देख्दा अनौठो लाग्छ । अहिले लोडसेडिङ १४ वा १६ घण्टा भएकोमा तिनीहरू हामीलाई दोष दिन्छन् । तर ३० वर्ष पञ्चायत र त्यसपछि १२, १४ वर्षसम्म शासन गर्नेहरूको विसङ्गति र भ्रष्टाचारको कारणले यो लोडसेडिङ भएको हो । हामी त बरु लोडसेडिङका विरुद्ध लड्दैछौं । इतिहासको फोहोरको डङ्गुर यति रहेछ कि बालुवाटार र सिंहदरबारमा गएपछि अझ बढी थाहा पाएँ । यो फोहोर सफा गर्ने काममा हामी सबैले गैंती, बेल्चा अलि बलियोसँग उचाल्नुपर्ने आवश्यकता छ । इतिहासको फोहोर साफ गर्न पनि सच्चा कम्युनिस्टहरूको बीचमा ध्रुवीकरण, एकता र व्यापक मोर्चा आवश्यक छ । त्यसका लागि सरकार, सदन र सडक सबैतिरबाट एकीकृत ढङ्गको आन्दोलन आवश्यक छ । अब कुन गणतन्त्र संस्थागत गर्ने भन्ने कुरामा संविधानसभाभित्र बहस चल्छ, चल्नैपर्छ । हामीले संविधान मजदुर, किसान र जनताको पक्षको लेख्ने हो या दलाल नोकरशाह, सामन्तहरूकै पक्षको ? त्यसैगरी शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने कुरामा पनि बहस हुन्छ । यथास्थितिलाई कायम राख्ने वा अगाडि बढ्ने ? यो कुराको पनि फैसला हुन बाँकी छ । यो बहसमा जनताको निरन्तर अभियान, निरन्तर आन्दोलन भइदिएन भने संविधान निर्माणको प्रक्रिया दुर्घटनामा पर्न सक्छ ।
यो एकता थुपै्र सर्वहारावादी क्रान्तिको जगमा खडा भएको छ । यो एकताको कुरा गर्दा मैले ००६ सालदेखिका सबै धाराहरूलाई समेटेर लिएर जाने र एउटै कम्युनिस्ट केन्द्र बनाउने उद्देश्यका साथ यसलाई हेरेको छु । यसलाई नेपालका सबै प्रतिक्रियावादी तागतका विरुद्ध लडेर नेपाली जनताको तागतलाई अगाडि बढाउने रूपमा हेरेको छु । यो एकता नेपालको बाँकी रहेको क्रान्तिकारी प्रक्रियालाई पूर्णता दिने एउटा पूर्वाधार हो । आउँदा दिनमा हामी मानव जातिका निम्ति, सर्वहारावादी आन्दोलनका निम्ति, कम्युनिस्ट आन्दोलनका निम्ति नेपालबाट केही केही गर्न सक्नेछौं । हामीले १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनमार्फत् संसारमा हामीले केही नयाँ चिज दिएका छौं । आजको यो घोषणासभा पनि अर्को निरन्तरतामा क्रमभङ्ग र नयाँ आधारमा नयाँ एकताको प्रक्रिया हो । यसलाई सबै कम्युनिस्टहरूले आत्मसात गर्न जरुरी छ । नयाँ युगको जन्मलाई दुनियाँको कुनै तागतले रोक्न सक्ने छैन । नेपाली जनताको महान् एकता, नेपालका सम्पूर्ण क्रान्तिकारी कम्युनिस्ट एकता जिन्दावाद !
-पुस २९ गते खुलामञ्चमा नेकपा (माओवादी) र नेकपा -एकता केन्द्र-मसाल) बीच भएको एकीकरण घोषणासभामा व्यक्त मन्तव्यको सम्पादित अङ्श)


सरकारमा बसेपछि मान्छे कति अन्धो हुने रहेछ

मलाई बडा अचम्म लाग्छ यो सत्ता र सरकार भन्ने कुरा कति प्रिय लाग्ने रहेछ नेताहरुलाई । सरकारमा बसेपछि मान्छे कति अन्धो हुने रहेछ । सरकार भन्ने कुर्सीमा के छ त्यस्तो कि जसले सबैलाई अन्धो बनाउँछ । एकपटक त्यो कुर्सीमा बसेपछि बसौं बसौं लाग्छ । छोड्नै मन लाग्दैन । पहिले नेपाली कांग्रेसलाई त्यस्तै लाग्थ्यो । नेपाली कांग्रेसले बल्ल बल्ल ज्यान जाला झैं गरेर सरकार छोड्यो संबिधान सभा चुनावको परिणामपछि । एमालेलाई त्यस्तै बनायो त्यो सत्ताले । राजाको शासनमा समेत “प्रतिगमन आधा सच्चियो” भन्दै गयो एमाले । कहिल्यै सत्तामा नपुगेकोले होला माओवादीहरुले त्यति बिघ्न लोभ गरे जस्तो लाग्दैनथ्यो । तर त्यो पनि गलत रहेछ ।
सत्ताले कसैलाई छोड्न नदिने रहेछ । “हाम्रा लागि सत्ता र सरकार ठुलो होइन” भन्दै आएका माओवादी (अहिले एकिक्रित नेकपा माओवादी) हरुपनि अहिले त “ज्यान जाला सरकार छोड्दैनौं” पो भन्न थालेका छन । तपाइहरुले याद गर्नु भएको होला । अहिले जहाँ गएपनि माओवादी नेताहरु ज्यान गए सरकार छोड्दैनौं भनिरहेका छन । तर मलाई प्रश्न उठाउन मन लाग्छ- बिद्रोह बाटै सत्ता कब्जा गर्ने भए चुनाब लडेको किन त ?
बाबुराम भट्टराई सबै भन्दा बढि कुर्लिने पर्छन सरका छोड्दैनौं भन्नेमा । जहाँ जतिखेर, जुनसुकै कार्यक्रममा पनि उनले देशी बिदेशी तत्वहरु सरकार गिराउन लागिपरेको तर आफुहरुले ज्यान जाला सरकार नछोड्ने दाबी गर्छन । कसैले चाहेरपनि सरकार गिराउन नसक्ने, आफुहरुले नै संबिधान नबनुन्जेल सरकार चलाउने ठोकुवा गर्छन उनी । पछिल्लो चरणमा प्रधानमन्त्री प्रचण्डलेपनि त्यहि बाटो समात्दै कुर्लिने गरेका छन ।
काठमाडौंमा एन्फोटेक मेला उद्घाटन गर्दा होस कि चितवन मेला वा हिजो माघी संक्रान्तिकालागि वर्दियामा सहभागी । उनले सरकार छोड्नु परे बिद्रोह गरेरै भोली पल्टै सत्ता कब्जा गर्ने पो दाबी गरे त । अचम्म रहेछ यो सत्ता र सरकार । चाख लाग्दो कुरो के छ भने तर त्यहि माओवादी भित्र जो सरकारमा गएर मन्त्री पद पड्काएको छैन उसले भने अझैपनि “हाम्रो लागि सरकारमा जानु र नजानु ठुलो कुरो होइन” नै भनिरहेछ । माओवादीका प्रचण्डलाई टक्करदिने नेता मोहन बैद्द (किरण) ले भने त्यहि भनिरहेका छन । त्यसलेपनि के देखाउँछ भने सरकारमा पुगेर स्वाद चाखेपछि ज्यानजाला त्यो कुर्सी छोड्न नचाहने रहेछन नेताहरु ।
संबिधान सभामा सबैभन्दा ठुलो दल माओवादी । उसले बहुमत पुर्‍याएर सरकार बनाएको छ । भोलि उ बाहेकका दलले बहुमत पुर्‍याएर बैधानिक रुपले सरकार बनाए भनेपनि नहुने ? जसरिपनि माओवादीकै सरकार हुनुपर्ने ? आफुले बैधानिक ढंगले सरकार बनाउँदा सबैले मान्नु पर्ने । तर अरुले त्यसैगरि सरकार बानाएभने चाहिँ बिद्रोह गर्ने ? त्यसलाईपनि प्रजातान्त्रिक संस्कार भन्न मिल्ला र ? बैधानिक तरिकाले नभए बिद्रोह गरेर भएपनि सरकार बनाउने हो भने त किन गएको निर्वाचनमा ? - नेपालप्लस

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक