20090112

महिला पत्रकार उमा सिंहको खुकुरी हानी हत्या, झामाथि समेत धम्की "अब तेरो पालो छ"


हतियारधारी समूहले गए राति जनकपुरमा महिला पत्रकार उमा सिंहको खुकुरी हानी हत्या गरेको छ । जनकपुर टुडे रेडियोमा कार्यरत २६ बर्षीया सिंहमाथि आइतबार राती सवा सात बजे आक्रमण भएको थियो । उनलाई उपचारार्थ काठमाडौं लैजादै गर्दा बाटामै मृत्यु भएको जनकपुर टुडेका व्यवस्थापक बृजकुमार यादबले बताए। जनकपुर-१४ रजौल निवासी सिंह रेडियोमा समाचार वाचन तथा संकलन समेत गर्थिन्। समाचारकै बिषयलाई लिएर उनको हत्या भएको हुन सक्ने प्रारम्भिक अनुमान छ। नेपालमा हत्या गरिएको उनी पहिलो महिला पत्रकार हुन्। सिराहाको रामनगर मिर्चैया निवासी पत्रकार सिंह जनकपुर १४ स्थित आफनै डेरामा बसिरहेको अवस्थामा बेलुकी सवा सात बजे १०/१५ जनाको सशस्त्र हतियारधारी समूहले आक्रमण गरेको थियो । गम्भीर घाइते सिंहलाइ उपचारका लागि काठमाडौं लैजाने क्रममा राति ११ बजे बाटोमै मृत्यु भएको हो। रेडियो टुडेको स्थापना कालदेखि नै कार्यरत्त महिला पत्रकार सिंहका बुवा रजित सिंह र उनका दाजुलाई तीनवर्षअघि सिराहाकै मिर्चैयाबाट बेपत्ता पारिएको, परिवारजनले उमाका बुवा र दाजुको अपहरणमा नेकपा माओवादीका स्थानीय नेता तथा कार्यकर्ताहरुको हात रहेको आरोप लगाउदै आएको छ। यस दुखद घडीमा जनकपुरका सबै रेडियोले सोमबार बिहानदेखि शोक धुन प्रसारण गरिरहेका छन् । बाराका सञ्चारकर्मीले हातमा कालोपट्टी बाँधेर हत्याको विरोध जनाइरहेका छन् । यादवले टेलिफोनमार्फत् दिएको जानकारी अनुसार पोष्टमार्टम भइरहेको छ । जनकपुरका संचारकर्मीहरू बैठक समेत गरिरहेका छन् । "हामी सबयात्रा निकाल्ने तयारी गरिरहेका छौं", यादवले भने- "सीडीओ कार्यालयमा धर्ना दिने समेत तयारी भइरहेको छ ।"
प्रमुख जिल्ला अधिकारी शम्मु कोइरालाले यस मुद्दामा ४/५ जनालाई पक्राउ गरिएको र अरु धेरैलाई पक्राउ गरी अनुसन्धान गर्दै छोडेको बताए । यस घटनामा पक्राउ परेकाहरुको नाम प्रशासनले सार्वजनिक गरेको छैन । "यो अप्रत्याशित घटना भयो, कसले गरेको खुल्न सकेको छैन", कोइरालाले भने- "जिल्लाका संचारकर्मीको सुरक्षाका लागि के गर्न सकिन्छ हामी बसेर छलफल गर्छौं ।" घटनाको लगत्तै उद्धारका लागि हेलिकोप्टर लैजान खोजे पनि बाक्लो हुस्सुका कारण लैजान नसकेको जानकारी नेपाल पत्रकार महासंघका सभापति धर्मेन्द्र झाले दिए ।
घटनाको गम्भीरतालाई महसूस गरी नेपाल पत्रकार महासंघको बैठक सोमबार विहान बसिरहेको छ । "हाम्रो आकस्मिम बैठक बसिरहेको छ", झाले भने- "हामीलाई यस घटनाले गम्भीर तुल्याएको छ ।"
उनले जनकपुरकी कान्तिपुर संवाददाता मोनिका झामाथि समेत धम्की आएको जानकारी दिए । "उनको ढोकामा कसैले क्रस लेखेर गएको छ", उनले भने । यादवले टेलिफोनमा दिएको जानकारी अनुसार राति ११:३० बजे कसैले आएर झ्याल तोडेको र ढोकामा हानेको थियो । "अब तेरो पालो छ", धम्की दिनेले यसो भन्दै गएको उनले जानकारी दिए । - उपेन्द्र लामिछाने/गुणराज लुइँटेल

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक