20090214

´यो के हुन लागेकोहो बुझ्नैपो गाह्रो भयो।´

शनिबारको गोरखापत्रले मुलुकका तीनवटै प्रज्ञा प्रतिष्ठानका नियुक्त नयाँ पदाधिकारीहरुको नामावली प्रकाशित गरेपछि सम्बन्धित क्षेत्रका श्रष्टाहरु आश्चर्यमा परेका छन्। ´यो मुलुकमा वर्षको एकपटक गाईजात्रा हुने गरेकामा आजभोलि सातैपिच्छे हुन थालेको छ´, वरिष्ठ चित्रकार किरण मानन्धरले प्रतिक्रिया दिंदै भने– ´अब यिनीहरु (नवनियुक्त पदाधिकारी) ले काम गर्न थालून् त्यसपछि यस देशमा दिनैपिच्छे गाईजात्रा सुरु हुनेछ।´नवनियुक्त पदाधिकारीको नामावली पढ्ने बित्तिकै अलमलिएका प्राध्यापक अभि सुवेदीले मानन्धरले पो चिन्छन् कि भनेर उनलाई फोन गरेका थिए। ´म आफैं रनभुल्लमा परें´ मानन्धर भन्दै थिए, ´उहाँमा त नचिन्दाको जिज्ञासामात्र थियो, हाम्रो क्षेत्रका नेतृत्वकर्ताबारे फिटिक्कै थाहा नहुँदा हामी त पीडामा पो परेका छौं।´
मानन्धर साधनारत क्षेत्र ललितकला प्रज्ञाप्रतिष्ठानको कुलपतिमा चित्रकलातर्फ भन्दै रोल्पाका बाबुलाल पुनमगरलाई ल्याइएको छ। ´नामै नसुनिएका यिनले कस्ता चित्र बनाएर आफूलाई त्यति जिम्मेवार पदका लागि साबित गरे होलान्?´ मानन्धरको जिज्ञासा थियो।
ललितकला प्रज्ञाप्रतिष्ठानको आवश्यकता महसुस गरेर आफूहरुले यसको स्थापनाका निम्ति संघर्ष गर्नुका साथै विधेयकसम्म बनाउने काम गरेको बताउने मानन्धर त्यही प्रज्ञाप्रतिष्ठानको पहिलो मुहार हेर्दा आफू झस्केको सुनाउँछन्। यसलाई तुरुन्त नसच्याउने हो भने आफूहरु संघर्षमा उत्रने चेतावनी मानन्धरले दिए। यसैगरी आश्चर्यमा पारेको छ नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका पदाधिकारीको नामावली सुनेर वरिष्ठ संगीतकार अम्बर गुरुङलाई। उक्त प्रज्ञाप्रतिष्ठानको कुलपतिमा माइला लामालाई मनोनयन गरिएको छ। लामालाई संगीत क्षेत्रकै प्रतिनिधिका रुपमा उल्लेख गरिएको छ। उनी काठमाडौं क्षेत्र नं‌ ९ मा माओवादीबाट संविधानसभामा उम्मेदवार भई पराजित भएका व्यक्ति हुन्। यो सम्पूर्ण गतिविधिका बारेमा सबभन्दा पहिले त आफूहरुलाई थाहासमेत नभएकामा राष्ट्रिय गानका संगीतकार गुरुङ चकित थिए। ´न आजसम्म उनले दिएको संगीत सुनेको छु, न यस विषयमा उनको कुनै टिप्पणी नै पढेको छु´ गुरुङले भने ´यो के हुन लागेको हो बुझ्नै पो गाह्रो भयो।´
नेपाल प्रज्ञाप्रतिष्ठानको कुलपतिमा साहित्य फाँटबाट ईश्वरचन्द्र ज्ञवालीलाई कुलपति बनाइएको छ। ज्ञवाली पछिल्लोपटक चलचित्र विकास वोर्डको अध्यक्ष भएयता डा. ध्रुवचन्द्र गौतमले यो नाम सुनेका हुन्। उनका केही कृतिसमेत रहेकोसम्म पनि गौतमलाई जानकारी छ। तर, उनी कुलपति बन्न सक्ने उचाइका व्यक्तित्व हुन् वा होइनन् भन्नेबारे अहिल्यै केही भनिहाल्न गाह्रो भइरहेको बताए, गौतमले। त्यसबाहेक यत्रा प्राज्ञहरुको नामावली हेर्दा एकाधलाई छाडेर कसैलाई नचिनेको पूर्व सदस्यसचिव गौतमले सुनाए।

अष्टेलियाबाट पनि नेपालीपत्रको प्रकाशन शुरु

अष्ट्रेलियामै पहिलो पटक साप्ताहिक रुपमा नेपाली पत्रिका 'अष्टेलियाको नेपालीपत्र' प्रकाशन शुभारम्भ भएको छ । युरोपमा निक्कै लोकप्रियता कमाएको युरोपको नेपालीपत्र साप्ताहिकले अष्ट्रेलियावाट पनि आफ्नो प्रकाशन शुरु गरेको हो । अष्टेलियामा बसोवास गरिरहेका नेपालीहरुलाई नेपाल लगायत विश्वका अनेकौं स्थानको समाचार, विचार र विश्लेषणहरु सहित एकमुष्ठ रुपमा एउटा पत्रिकावाटै उपलब्ध गराउने उद्देश्यले 'अष्टे्रलियाको नेपालीपत्र' साप्ताहिक प्रकाशन शुरु गरिएको पत्रिकाका प्रवन्ध निर्देशक राजेन कंडेलले बताउनुभयो ।
१६ पृष्ठको रंगीन कलेवरमा प्रकाशन सुरु गरिएको पत्रिकाको गत शनिवार प्रणय दिवश -भ्यालेन्टाइन डे) का दिन सिड्नी र व्रिसवेनमा आयोजित छुट्टाछुट्टै भव्य औपचारिक समारोहबीच शुभारम्भ गरिएको छ । सिड्नीको युनिभर्सिटी अफ न्यू साउथ वेल्समा आयोजित एक विशेष कार्यक्रममा विशेष अतिथि नारायण प्रधान, पत्रिकाका प्रवन्ध निर्देशक राजन कंडेल र प्रकाशन समूहका तर्फाट एनआरएन अष्टेलियाका उपाध्यक्ष युवराज भट्टर्राई तथा दिपक खड्का ले पत्रिकाको विमोचन गर्नुभएको हो भने व्रिसवेनमा पत्रिकाका कन्टी डाइरेक्टर दर्ुइराज शर्माले भ्यालेन्टाइन नाइटमा आयोजित कार्यक्रममा पत्रिका विमोचन गर्नुभएको होे । पत्रिका स्तरीय बनाउन नेपाल, अष्ट्रेलिया र बेलायतमा छुट्टाछुट्टै कार्यालय स्थापना गरि सकृय पत्रकारहरुको समूह निर्माण गरिएको जानकारी प्रवन्ध निर्देेशक कंडेलले कार्यक्रममा बताउनुभयो । पत्रिकालाई स्तरीय बनाउन कुनै राजनीतिक वाद र विचार भन्दा टाढा रहेर स्वतन्त्र पत्रकारिताको पक्षमा रहेर काम गर्ने जानकारी दिनुभयो । पत्रिकालाई सवै खाले विषयको मिश्रणवाट स्तरीय बनाउने सोच रहेको पनि कडेलले बताउनुभयो । पत्रिकामा अंग्रेजी र नेपाली दुवै सामाग्री रहनेछ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक