20090226

श्रीमती अर्काले लगेको विरोधमा चक्काजाम, सडक अवरुद्ध, क्षतिपूर्तिको माग !!!

कहिले माग पूरा गराउन बन्द त कहिले गाडीको ठक्करबाट बाख्रा मर्दा सडक जाम । कहिले श्रीमान्-श्रीमतीको झगडमा चक्काजाम त कहिले श्रीमती अर्काले लगेको विरोधमा चक्काजाम । मोरङमा मंगलबार यस्तै घटना भएको छ ।
मोरङ सोराभाग-३ का हरिप्रसाद रायले स्थानीय शिवकुमार कामतकी श्रीमती मन्जुलादेवीलाई भगाएपछि क्षतिपूर्तिको माग गर्दै कामत परिवारले सडक अवरुद्ध गरेको छ । उनीहरूले विवाह खर्चबापत ६० हजार र अन्य खर्च ३० हजार क्षतिपूर्ति माग दाबी गर्दै सडक बन्द गरेर प्रदर्शन गरेका हुन् । जारसँग विवाह खर्चको माग गर्दै उनीहरूले मोरङको हुलाकी मार्ग कर्सिया सडकखण्ड दिनभरि बन्द गराएका हुन् । रंगेली विराटनगरको कर्सिया बजारस्थित प्रहरीचौकीको गेटमा प्रदर्शनकारीले टायर तथा ढुंगामुढा राखेर सडक अवरुद्ध गराएका हुन् ।
उनीहरूले श्रीमती भागेपछि शिवकुमारलाई अर्को विवाह गर्न विवाह खर्चबापत ६० हजार रुपैयाँ आवश्यक पर्ने र सो रकम प्रहरी प्रशासनले असुलउपर गराइदिनुपर्ने भन्दै आन्दोलनमा उत्रेका हुन् । विवाह खर्च र मन्जुलादेवीसँग रहेको शिवकुमारको ३० हजारसहित जम्मा ९० हजार रुपैयाँ नपाएसम्म आन्दोलन जारी राख्ने शिवकुमारकी भाउजू रीतादेवीले बताइन् ।
हरिप्रसाद विवाहित हुन् भने उनीसँग जाने २६ वर्षीया मन्जुला दुई सन्तानकी आमा हुन् । शिवकुमारकी भाउजू रीतादेवीका अनुसार पाँच वर्षपहिले जारहरू हरिप्रसाद र शिवकुमारले मित साइनोमा बाँधिएका थिए । दुई मितमध्ये हरिप्रसाद वैदेशिक रोजगारीका लागि एजेन्टका रूपमा कार्यरत रहँदा मित शिवकुमारलाई तीन वर्षअघि साउदी अरब पठाएका थिए ।
हालै घर फर्किएका शिवकुमारको घरमा दुई महिनाअघि रक्सीसहितको सामान्य भोजभतेर गरिएको थियो । रक्सी खाएर मस्त भएका हरिप्रसाद र शिवकी श्रीमतीबीच अनैतिक सम्बन्ध भएको शिवकुमारले आफ्नै आँखाले देखेपछि त्यसै दिनदेखि हरिप्रसाद र शिवकी श्रीमती मन्जुला हरिकै घरमा बस्दै आएका छन् ।
घटनालगत्तै विवाह खर्च र नगदसहितको दाबी गर्दै शिवकुमारले हरिप्रसादका विरुद्ध प्रहरीचौकी कर्सियामा उजुरी दिएका थिए । चौकीमा भएको प्रारम्भिक छलफलमा गत २० माघभित्र जारीबापतको रकम बुझाउने सहमति हरिप्रसादले गरेका थिए । सहमतिमा प्रहरीचौकी रोहबरमा बसेको थियो । हरिप्रसाद जारीबापतको रकम नबुझाई फरार भएपछि शिवकुमारको परिवारले प्रहरीचौकीले नै जारीबापतको रकम उपलब्ध गराउनुपर्ने भन्दै प्रहरीविरुद्धको प्रदर्शनमा उत्रेको हो - मोहन भट्टराई

1 comment:

  1. हा हा हा ...... गज्जब छ गणतान्त्रिक नेपाल !

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक