20090206

"नागरिकलाई जीउँदै खाल्डोमापुर्ने, फरक विचार राख्नेका हातखुट्टा काटिदिने गरिरहेका छन्"


एमालेका महासचिव झलनाथ खनालले उपत्यका समन्वय कमिटीद्वारा शुक्रबार खुलामञ्चमा आयोजित बृहत जनसभामा भने, 'उग्रवामपन्थीहरूले नागरिकलाई जीउँदै खाल्डोमा पुर्ने, फरक विचार राख्नेका हात खुट्टा काटिदिने गरिरहेका छन् । एमालेले उग्रवामपन्थलाई नै खाडलमा पुर्नेछ ।' देशी-विदेशी प्रतिक्रियावादीहरूले राष्ट्रियतामाथि खतरा पैदा गरिरहेको, मुलुकलाई विखण्डन गर्न खोजेको बताउँदै खनालले एमालेले त्यस्ता तत्वलाई परास्त गर्ने दाबी समेत गरे ।मिनी महाधिवेशनको संज्ञा दिइएको सभामा एमाले नेताहरूले विगतका तिता कुराहरू बिर्सेर फागुन ५-१० मा बुटवलमा हुन गइरहेको महाधिवेशनबाट एकताको सन्देश दिनुपर्ने बताए ।
पूर्वमहासचिव माधवकुमार नेपालल विगतका केही गल्ती कमजोरी र प्रभावहीन भूमिकाका कारण एमालेले संविधानसभा निर्वाचनमा धक्का खाएको बताए । यो महाधिवेशन पनि दुर्घटनाको कारण त बन्दैन, कार्यकर्ता पंक्तिबीच फाटो त ल्याउँदैन भन्ने प्रश्न उठ्न थालेको बताउँदै उनले भने, 'हामीले विगतको फुटबाट धेरै शिक्षा लिएका छौ । त्यसैले एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प छैन ।'
एमालेका प्रभावशाली नेता केपी शर्मा ओली सभामा नरम रूपमा प्रस्तुत भएका थिए । 'पार्टी एकता भनेको छलफल नै नहुने, मन नमिले पनि घाँटी, जोड्ने भन्ने होइन । तर लोकतन्त्रका नाममा गुटबन्दी हुनुहुँदैन,' ओलीले भने, 'आठौ महाधिवेशनले गुटबन्दीलाई बुटवलसँगैको तिनाउमा बगाइदिनेछ ।' देश तीब्र संक्रमणबाट गुजि्ररहेको हुँदा पार्टीको काँधमा गहन जिम्मेवारी आएका उनले बताए । 'लैनो बाच्छो फुकेझै मडारिएर हिँड्ने माओवादी,' आफ्नो सदाबहार शैली पछ्याउँदै ओलीले भने, 'र, बूढो गोरुजस्तो हिँड्नै नसक्ने कांग्रेसलाई ठिक ठाउँमा ल्याउनु छ । त्यसैले एमाले लल्याकलुलुक परेको नभएर जीउँदो हुनुपर्छ ।'
स्वास्थ्य उपचार गरेर शुक्रबारमात्रै स्वदेश फर्केका उपप्रधानमन्त्री तथा स्थायी समिति सदस्य बामदेव गौतमले अब तुच्छ पदका लागि नेताहरूले झगडा नगर्ने प्रतिबद्धता व्यक्त गरे । नेपालको सार्वभौमसत्ता र अखण्डता खतरामा रहेको बताउँदै उनले भने, 'मुलुकको स्वतन्त्रता र अखण्डताको रक्षाका लागि सिंगो एमाले बलिदान हुन तयार छ ।' एमाले सरकारमा रहेकाले नै व्यवस्थापनमा सजिलो भएकाले यो सरकार गिराउन नहुने उनले दोहोर्‍याए ।
नेतृ साहाना प्रधानले भने माओवादीको तानाशाही शैली कायमै रहेको, हाकाहाकी सत्ता कब्जा गर्ने धम्की दिएको र संयुक्त सरकारको मर्यादालाई बिर्सेकाले यो सरकार लामो नजाने बताइन् । जनसभामा उपत्यकाका तिनै जिल्लाका सचिव, विभिन्न भातृ संगठनका प्रमुखहरूले ऐक्यबद्धता मन्तव्य व्यक्त गरेका थिए ।
उपत्यका इन्चार्ज राजेन्द्र श्रेष्ठको अध्यक्षतामा आयोजित सभामा रामकुमारी झाक्री, अजम्बर काङबाङलगायतका युवा नेताले ६० प्रतिशत युवालाई नेतृत्वमा समावेश गराउनुपर्ने बताए । 'युवा शक्ति भविश्यका कर्णधार मात्रै होइनन् । वर्तमानका हिस्सेदार पनि हुन्,' काङवाङले भने ।-सरोजराज अधिकारी

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक