20090303

नेपालमा अन्धकार : लोडशेडिंग अझै लम्बिने

दिनहुँ १६ घण्टा लामो लोडशेडिंग यही फागुनको मध्येदेखि आधा घट्ने भनिएको भएपनि बिजुलीको संकट अझै लम्बिने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार भारतबाट भनेजति बिजुली ल्याउन नसकिएको तथा बिजुली निकाल्ने खोलानाला सुक्दै गएकाले लोडशेडिंग लम्ब्याउनु परेको हो। भारतबाट १०० मेगावाट बिजुली किनेर अन्धकार कम गर्ने आशा गरेर बसेको प्राधिकरणलाई यतिबेला भारतबाट केवल ३५ मेगावाट मात्र बिजुली आएकोमा धक्का लागेको छ। कोशी डुबानका कारण भत्किएका प्रसारण लाइन भारततर्फ पूर्ण मर्मत हुन नसकेपछि अब प्राधिकरणको आँखा देशभित्रकै खोलानालामा फर्कीएको छ। अहिले हिउँ पग्लेर खोलानालामा पानीको बहाव बढेपछि लोडशेडिंग घटाउन सकिएला की भनेर प्रतिक्षा भैरहेको छ। चैत महिनाको मध्येबाट हिउँ पग्लिने क्रम शुरु हुने तर त्यही महिना पर्याप्त हिउँ पग्लिएको नहुने बताउंदै प्राधिकरणका प्रवक्ता दण्डपाणि बस्यालले वैशाखपछि बल्ल लोडशेडिंगमा केही सुधार आउला भन्ने आशा गरिरहेको बताए। आम मानिसहरु भने गएका केही दिनमा लोडशेडिंगको समय पूर्वजानकारी विना नै १६ घण्टाभन्दा पनि बढ्न थालेकोमा आक्रोशित छन्। “भन्न चाहिं प्राधिकरणले लोडशेडिंग घटिरहेको छ भन्छ तर हाम्रो अनुभवमा त त्यो झनै बढेको छ,” एकजना सर्वसाधारण चन्द्रमान बिजुक्छेले भने।
प्रवक्ता बस्याल लोडशेडिंगको समय नबढाएको दावी गर्छन तर उनी आपूर्तिमा गडबडि भएको चाहीं स्वीकार्छन्।
लोडशेडिंग बढाउन हामी कदापि चाहँदैनौं तर कहिलेकाहीं उत्पादन वा वितरणमा गडबडि उत्पन्न भएपछि आपूर्तिमा असन्तुलन आउँछ भन्दै उनले त्यसबाट आम मानिसहरुलाई लोडशेडिंग बढेको हो कि भन्ने पर्ने बताए। उसै त पर्याप्त आपूर्ति गर्न नसकेर आजित बनेको प्राधिकरण जहाँ गाह्रो त्यहीं साह्रो भनेको जस्तै, चलिराखेका केही जलविद्युत आयोजनाका मेशीन विग्रेर थप अप्ठेरोमा परेको छ। ३६ मेगावाट बिजुली उत्पादन गरिरहेको भोटेकोशीको मेशीन यहिबेला विग्रेको छ भने कुलेखानीको एउटा मेशीनपनि बन्द भएको छ। नदीको पानीको बहावमा भर परेर चल्ने अन्य आयोजनाहरुभन्दा भिन्न आफ्नै छुट्टै जलाशय भएको ६० मेगावाटको कुलेखानीले समेत जेनतेन ४६ मेगावाट मात्र बिजुली उत्पादन गरिरहेको छ। त्योपनि अब १० मीटरमात्र पानी बाँकी रहेकोले २०/२५ दिनमा जलाशय रित्तिने खतरा रहेको अधिकारीहरुको भनाई छ। लम्बेतान लोडशेडिंगका कारण उद्योगधन्दाको स्थिति चौपट बनेको छ। पूर्वी नेपालमा उद्योगी व्यवसायीहरुले लोडशेडिंगको विरोधमा तालाबन्दी र सडक प्रदर्शनमा उत्रिंदै उद्योगलाई संकटग्रस्त क्षेत्र घोषणा गरेका छन्। मोरङ्ग र सुनसरी जिल्लाका सबैजसो उद्योगहरुले उद्योग संकटग्रस्त छ भनेर ब्यानर टाँगेका छन्। उद्योगीहरुले नेपाल विद्युत प्राधिकरणको कार्यालय तथा मोरङ्ग जिल्ला प्रशासन कार्यालयमा धर्ना समेत दिइरहेका छन्। उनीहरुले भारतको कटैयाबाट आयात गरिएको बिजुली सम्पूर्ण रुपमा पूर्वाञ्चलभित्रै प्रयोग गर्न माग गरेका छन्। बिजुली आपूर्ति नियमित नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुले चेतावनी दिएका छन्।

"आतंककारी हमलामा भारतको हात "

पाकिस्तानले श्रीलंकाली कि्रकेट टोलीमाथी लाहोरमा भएको आतंककारी हमलामा भारतको हात हुन सक्ने जनाएको छ। ´यस घटनामा भारतको संग्लनतालाई नकार्न मिल्दैन´ -लाहोरका कमिसनर खुसरो परवेजले भने। परवेजले पाकिस्तानी सुरक्षाकर्मीले सफलतापुर्वक श्रीलंकाली खेलाडीलाई जोगाएको बताए। पाकिस्तानी गुप्तचर संस्था इन्टर सर्विसेज इन्टेलिजेन्स आइएसआईका पुर्व प्रमुख हमीद गुलले भारत पाकिस्तानलाई आतंकवादी देशका रुपमा प्रमाणित गर्न लागिपरेको आरोप लगाउदै यो घटनामा भारतीय षडयन्त्र लुकेकेा हुन सक्ने बताए। भारतले श्रीलंकाली टिममाथी लाहोरमा आक्रमण गरेर पाकिस्तानलाई अन्तर्राष्ट्रिय जगतमा आतंककारीको देशका रुपमा प्रमाणित गर्न खोजेको गुलले आरोप लगाए।
श्रीलंकाली राष्ट्रपति माहिन्दा राजापाक्षे नेपालको राजकीय भ्रमण एक दिन छोट्याएर मंगलबार राति ८:४० बजे स्वदेश फर्किएका छन्। पर्यटन तथा नागरिक उड्डयनमन्त्री हिसिला यमी तथा परराष्ट्र मन्त्रालयका सचिवसहितका अधिकारीले त्रिभुवन विमानस्थलमा उनलाई बिदाइ गरेका थिए। बुधबार भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी जाने निर्धारित कार्यक्रम रद्द गरी उनी मंगलबार नै स्वदेश फर्केका हुन्। पाकिर्तानमा श्रीलंकाली क्रिकेट टोलीमाथि आक्रमण भएपछि राजापाक्षेले अकास्मात भ्रमण एक दिन छोट्टयाएका हुन्। साँझ ८:४० बजे श्रीलंकन एअरको विशेष विमानबाट उनी स्वदेश फर्किए। उनीसँगै नेपाल भ्रमणमा आएका श्रीलंकाली विदेशमन्त्री रोइथा बगलोगामा भने राजापाक्षेभन्दा अघि नै आफ्ना घाइते खेलाडीलाई भेट्न ६:४५ बजे सोझै पाकिस्तान प्रस्थान गरेका थिए।


शान्ति सम्झौता पालना गर्न आवश्यक नभएको माओवादी जनमुक्ति सेनाको दाबी

माओवादी जनमुक्ति सेनाले आफ्नो सेनामा भर्ती खोलेको घोषणा गरेकै दिन माओवादी वरिष्ठ नेताहरुले पार्टी भित्र छलफल नभएको बताएका छन् । नेपाली सेनाले नयाँ भर्ती गरेकाले आफ्नो सेनामा पनि भर्ना खोलेको जनमुक्ति सेनाका प्रमुख नन्दकिशोर पुन पासाङ्गले बताएका छन् । सोमबारमात्र माओवादी सेनाका प्रमुख पुनले विज्ञप्ति जारी गरी १८ वर्ष पुगेका स्वस्थ, सक्षम, जुझारु र बलिदानी भावना भएका युवालाई भर्तीका लागि आव्हान गरेका थिए । मंगलबार कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासँगको भेटमा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले मओवादी सेनाको भर्ना प्रक्रियाको बारेमा पार्टी भित्र छलफल नभएको बताए । उनले सेना समायोजन लागि गठित विशेष समितिको निर्देशन अनुसार आफ्नो पार्टी अघि बढ्ने बताए । तेह्रथुममा आयोजित कार्यक्रममा रक्षामन्त्री एवं माओवादी वरिष्ठ नेता रामबहादुर थापाले माओवादी सेना भर्ती सम्बन्धमा औपचारिक जानकारी पार्टीलाई नभएको बताए । उनले सर्वोच्च अदालतले निकास दिएपछि दुबै सेनाको भर्ती बन्द हुने बताउँदै सेनाको भर्ती खोल्ने माओवादी सेना प्रमुखको व्यक्तिगत निर्णय भएको उल्लेख गरे । राजधानीमा आयोजित कार्यक्रममा माओवादी सेना प्रमुख नन्दकिशोर पुनले भर्ना प्रक्रिया रोक्न नेपाली सेना र सरकारलाई पटक पटक आग्रह गर्दा समेत वेवास्ता गरेकाले आफ्नो सेनाको पनि भर्ती खोलेको दाबी गरे । 'हामीले आइतबारबाट भर्ना आव्हान गरेका हौं,' उनले भने, '११ हजार दरबन्दीमा पदपूर्ति नभएसम्म भर्ना प्रक्रिया जारी रहन्छ ।' शान्ति सम्झौता विपरीत नेपाली सेनाले नयाँ भर्ती गरेकाले आफूले मात्र शान्ति सम्झौता पालना गर्न आवश्यक नभएको उनको तर्क थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक