20090316

भारतले गिरिजाप्रसाद कोइरालालाई दिएको वचन : "प्रचण्डलाई घेराबन्दी"

चक्रब्युहबाट बाहिर निस्कने कला नजान्दा महाभारतको युद्धमा अर्जुनका छोरा अभिमन्युले जुन हविगत बेहोर्नुपरेको थियो, ठीक त्यही अनुभूति प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले देख्न थालेका छन्। आफूलाई बाहिरबाट कसैले आक्रमण गर्न नसकोस् भनेर प्रधानमन्त्री प्रचण्डले आफ्नो वरिपरि जुन किसिमको चक्रब्युह निर्माण गरेका थिए, अहिले उनी त्यही चक्रब्युहले निस्सासिरहेका छन्। न त उनी चक्रब्युहबाट बाहिर निस्कन सक्ने अवस्थामा छन्, न त चक्रब्युह तोडेर भाग्न सक्ने अवस्थामा नै छन्। आफ्नो संगठन बलियो बनाएर दुश्मनलाई प्रहार गर्ने नाममा प्रचण्डले वर्गीय स्वार्थलाई थाती राख्दै जात, धर्म, क्षेत्र र सम्प्रदायका आधारमा जनतालाई संगठित गरेका थिए, तर अहिले यिनै जातीय तथा साम्प्रदायिक संगठनको घेराउमा प्रधानमन्त्री प्रचण्ड फसेका छन्। यी जातीय तथा साम्प्रदायिक महत्वाकांक्षा पूरा गर्नसक्ने सामर्थ्यमा उनी छैनन्, न त यस्ता महत्वाकांक्षा पूरा गर्नुपर्ने माग राख्दै उठेको आन्दोलन नियन्त्रण गर्नसक्ने सामर्थ्य उनको छ। माओवादीका लागि घाँटीमा लागेको सुर्केनु डोरी साबित भएको छ, विगतमा उसले गरेको जातीय तथा साम्प्रदायिक संगठन।
पार्टीभित्र कृत्रिमरूपमा आन्तरिक द्वन्द्व सिर्जना गरी आफ्नो प्रतिस्पर्धी नेतालाई ठेगान लगाएर पार्टीको लगाम निस्कन्टक रूपमा आफ्नो हातमा लिइरहने रणनीति पनि प्रधानमन्त्री प्रचण्डका लागि गलपासो बनेको छ। पार्टीको नीति योजना तथा सिद्धान्तकार मानिने बौद्धिक नेता डा.बाबुराम भट्टराईको तेजोबध गर्न प्रचण्डले मोहन वैद्य किरण, नेत्रविक्रम चन्दलगायतका महत्वाकांक्षीहरूको एउटा घेरा निर्माण गरी आफू सुरक्षित रहने रणनीति अवलम्बन गरेका थिए। तर अहिले मोहन वैद्य किरण तथा नेत्रविक्रम चन्दहरूको घेरा प्रचण्डको सुरक्षा कवच होइन कि फलामको सिक्रीमा रूपान्तरण भएको छ। त्यो फलामको सिक्री चुँडाल्न खोज्नु आफ्नै जीवनको बाजी लगाउनु हो भन्ने निष्कर्षमा प्रधानमन्त्री प्रचण्ड पुगेका छन्। यो घेरा तोड्न नसक्दा उनी प्रधानमन्त्री रहेर पनि प्राइभेट सेना राख्ने तानाशाहका रूपमा संसारभरि कुख्याति कमाउन बाध्य भएका छन्। सरकार सञ्चालनका लागि बौद्धिक अभ्यास गर्ने अर्को वैकल्पिक नेता नभएका कारण राजनीतिक स्थायित्वका लागि विकास, विकासका लागि भारतको सहयोग भन्ने डा.भट्टराईलाई त्यागी हाल्न सक्ने अवस्थामा पनि प्रधानमन्त्री प्रचण्ड छैनन्।
अन्तर्राष्ट्रिय समुदायको रोहवरमा भारत, नेपाली कांग्रेस र माओवादीबीच २०६२ मंसिर २० गते दिल्लीमा भएको १२ बुँदे सहमति प्रचण्डका लागि अर्को घेराका रूपमा देखिएको छ। एकलौटी शासन सत्ता चलाउने महत्वाकांक्षा पूरा गर्न संविधानसभा निर्वाचनपछि प्रचण्डले १२ बुँदे सम्झौता तोडेका छन्, तर एक्लै नयाँ संविधान निर्माण गर्नसक्ने सामार्थ्य उनको छैन। राजतन्त्र उन्मूलन गरी कम्तीमा नयाँ संविधान नबन्दासम्म कायम रहनुपर्ने १२ बुँदे सम्झौता उल्लंघन गरेको कारण नेपाली कांग्रेसले बृहत् लोेकतान्त्रिक एकताका नाममा प्रचण्डलाई घेराबन्दी गर्न लागेको छ। छिमेकी मित्रराष्ट्र भारतले माओवादीविरुद्ध अन्तर्राष्ट्रिय लबिङसमेत प्रारम्भ गर्ने वचन भारत भ्रमणमा रहेका कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई दिएको छ। - तरुण


माओवादीका चार कमान्डर हतियारसहित पक्राउ

चितवनको शक्तिखोरस्थित माओवादी लडाकू शिविरका चार जना ब्रि्रेड कमान्डरलाई प्रहरीले बौद्धबाट हतियारसहित पक्राउ गरेको छ। आइतबार राति बौद्धमा शंकास्पद रूपमा हि“डिरहेका ब्रिगेड कमान्डरहरू वीरबहादुर जीएम, प्रकाश जीएम, देवेन्द्र पुन मगर र उग्रेन लामालाई शंका लागी झोला चेक गर्दा प्रहरीले हतियार र गोली फेला पारेको थियो। संयुक्त राष्ट्रसंघको स्टिकर लगाइएको अवस्थामा रहेका दुइवटा पेस्तोल र २५ थान गोली उनीहरूस“ग फेला परेको थियो। प्रहरीले पक्राउ गरेपछि आफूहरू माओवादी लडाकूको ब्रिगेड कमान्डर भएको उनीहरूले बताएका थिए। उनीहरूलाई प्रहरीले राष्ट्रसंघीय मिसन -अन्मिन) को हतियार निरीक्षण टोलीलाई जिम्मा लगाइदिएको प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी उपरीक्षक नवराज सिलवालले जानकारी दिनुभयो।


अमेरिकामा नेपाली मन्दिर बनाउन जुटे नेपाली

नेपालमदर डट कम का तर्फबाट अमेरिका मा नेपाली मन्दिर र सांस्कृतिक केन्द्र बनाउन जुटेका सबै हातहरुलाई हार्दिक बधाई र सबै नेपाली लाई सो अभियानमा सारीक हुन आग्रह पनि ।

अमेरिकाको वासिंड.टन डीसी क्षेत्र वरपर बस्ने नेपालीहरुद्धारा निर्माण गर्न लागिएको नेपाली सांस्कृतिक भवन केन्द्र निर्माणका लागि स्थानीय समुदायद्धारा रकम संकलन कार्यक्रम धमाधम शुरु भएको छ । यसै क्रममा उक्त भवन निर्माणका लागि स्थापना गरिएको संस्था एनइसीसी भ्याकले भर्जिनियाका च्यान्टिली, सेन्टरभिल, हेरन्डन, साउथ राइडिड. र असबन लगायतका नेपाली समुदायलाई समेट्ने उद्देश्यले मार्च १५ तारिख आइतबार सेन्टरभिलमा एक चन्दा संकलनको कार्यक्रम सम्पन्न गर्यो । स्थानीय समाजसेवी पद्मराज पोखरेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली सांस्कृतिक भवन निर्माण केन्द्रका संयोजक प्रेम संग्रौलाले उपस्थिति सबैलाई सांस्कृतिक भवन निर्माणका बारेमा अहिलेसम्म भएको कार्य प्रगतिका बारेमा जानकारी दिंदै उपस्थिति सबैलाई सो केन्द्र स्थापनाका लागि सहयोग गर्न आहृवान गर्दै अहिलेसम्म सहयोग पुर्याउनुहुने सबैलाई धन्यवादन व्यक्त गर्नुभयो ।





कार्यक्रम तुंगनाथ उपाध्यायको भजनबाट शुरु भएको थियो । उक्त नेपाली सांस्कृतिक भवन निर्माणका लागि विभिन्न व्यक्तिहरुले सहयोग चन्दा उपलब्ध गराउनुभएको थियो । त्यसैगरी नेपाली सांस्कृतिक भवन निर्माणका लागि सहयोगको आहृवान गर्दै लक्ष्मी गौडेल, रामचन्द्र भट्टर्राई, अरुण रुपाखेती, गुरु केदार बराल, राम खरेल, डा. मदन उप्रेती लगायतले बोल्नुभएको थियो । सो कार्यक्रममा भजन तथा नृत्य समेत प्रस्तुत गरिएको थियो । विश्व थापाको सहयोगमा खेम संग्रौला तथा अनुपमा प्रर्साईले भजन प्रस्तुत गर्नुभएको थियो भने ससाना नानीहरु क्रमशः मनस्वी कोइराला तथा स्वीकृति दाहाल, मृदु तथा लज्जा उप्रेती, रीत संग्रौला तथा श्रेया दाहालले क्रमशः विभिन्न नेपाली गीतमा नृत्य प्रस्तुत गरेका थिए । सो कार्यक्रममा चन्दा संकलनका लागि गरिएका हुनाले उपस्थिति विभिन्न व्यक्तिहरुले नगद तथा चेक र पछि रकम दिने गरी ८ हजार ५ सय ९८ डलर ९९ सेन्ट संकलन भएको कुरा सोही नेपाल सांस्कृतिक केन्द्रका कोषाध्यक्ष नेत्र घिसिड.ले जानकारी दिनुभयो ।



यसरी उक्त अवसमा नगद, चेक र रकम दिने वाचा गर्नेहरुमा क्रमशः माधव तथा अम्विका पोखरेल, रामचन्द्र तथा शोभा भट्टर्राई, शैलेन्द्र पाण्डे, खेम संग्रौला, जगनाथ घिमिरे, सुजन ढुंगाना, अक्षय शर्मा, प्रतिक्षा चापागाई, यादव तथा विष्णु पौडेल, अरुण तथा अजिता रुपाखेती, सुषमा ढुंगाना, केदार भण्डारी, भुपाल कडेरिया, डा.मदन तथा अनामिका उप्रेती, सुरेन्द्र तथा सुभद्रा पराजुली, परशुराम भण्डारी, इन्दिरा अधिकारी, कृष्ण वैधवा, आनन्द तथा समीक्षा पौडेल, दमन तथा शोभा पोखरेल, प्रकाश शिवाकोटी, श्रवण तथा पुष्पा अधिकारी, गंगा तथा सरिता उपाध्याय, भीमप्रसाद रेग्मी, गोविन्द तथा सविना भट्टर्राई, नकुल रायमाझी लगायतका व्यक्तिहरु हुनुहुन्थ्यो । उक्त अवसरमा गुरु केदार बरालले इच्छुक व्यक्तिहरुको भविष्य हेरेवापत प्राप्त रकम समेत नेपाली सांस्कृतिक केन्द्रलाई दिने र त्यहाँ स्थापित हुने मन्दिरका लागि नौ ग्रहको मूर्ती दिने वचनवद्धता गर्नुभएको थियो । कार्यक्रमको संचालन स्थानीय समाजसेवी परशुराम भण्डारीले गर्नुभएको थियो । - शर्मिला उप्रेती/ Biswa Thapa /Nepalipost

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक