20090327

मन्त्री परिषद् बैठक बहिष्कार, माओवादी क्यान्टोनमेन्टहरु अपराधीका आश्रमस्थल

सत्ता साझेदार दल एमालेले रुपन्देही जिल्ला सदस्य प्रचण्ड थैवको वाईसीएलले हत्या गरेको भन्दै त्यसको विरोधमा शुक्रबार मन्त्री परिषद् बैठक (क्याबिनेट) बहिष्कार गरेको छ। एमालेको बहिष्कारपछि बैठक नै बसेन। यसअघि एमालेको केन्द्रीय बैठकले हत्यामा संलग्न वाइसिएल रुपन्देही अध्यक्ष सुजीतलगायतको समूहलाई कारबाही नगरेसम्म मन्त्री परिषद बैठकमा भाग नलिने निर्णय गरेको थियो। शुक्रबार अपराह्न पार्टी कार्यालय बल्खुमा पत्रकार सम्मेलन गरी एमालेले माओवादीका क्रियाकलाप नसच्चिए सरकारमा रहनेबारेमा समेत पुनर्विचार गर्न बाध्य हुने बताएको थियो।
शुक्रबारको मन्त्री परिषद् बैठक बहिष्कार गर्न पुगेका एमाले मन्त्रीहरुले आफ्ना कुरा प्रधानमन्त्रीले अनौपचारिकरुपमा सुनेको बताए। ´प्रधानमन्त्रीले हाम्रा कुरा अनौपचारिकरुपमा सुन्नुभयो, मन्त्री परिषद् बैठक आह्ववान नै भएन´, जलस्रोत मन्त्री विष्णु पौडेलले भने- उहाँले घटना दुखद् भन्दै घटनामा स‌लग्नलाई पक्राउ गर्ने प्रक्रिया सुरु भएको बताउनुभयो।
´अपराधीमाथि कार्वाही नहुन्जेल हाम्रो पार्टीको तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुले मन्त्रिपरिषदको बैठकमा भाग नलिने निर्णय गरिएको छ´- एमाले अध्यक्ष झलनाथ खनालद्धारा जारी वक्तव्यमा भनिएको छ- ´माओवादीको यस्ता क्रियाकलाप नरोकिने हो र माओवादीले विगतका सहमतिहरु पालना नगर्ने हो भने एमाले सरकारमा रहनेबारे पुनर्विचार गर्न बाध्य हुनेछ।´
´हामी (एमालेबाट प्रनिधित्व गर्ने मन्त्रीहरु) ले बहिष्कार गर्ने थाहा पाएकाले प्रधानमन्त्रीले बैठक नै सुरु गर्नुभएन´ मन्त्रिपरिषद्को बैठकस्थलबाट बाहिरिदै उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले भने। औपचारिकरुप बैठक नबसे पनि प्रधानमन्त्रीलाई आफूहरुले पार्टीको निर्णय सुनाएको जलस्रोतमन्त्री विष्णु पौडेलले बताए। पौडेलका अनुसार एमालेका मन्त्रीहरुले ´अपराधीलाई कारबाही नहुँदासम्म आफूहरुले बैठक बहिष्कार गर्ने´ अनौपचारिकरुपमा राखेका थिए भने त्यस घटनालाई प्रधानमन्त्रीले गम्भीररुपमा लिएका थिए।
माओवादीप्रति नरम मानिने गौतम शुक्रबार भने आक्रामकरुपमा प्रस्तुत भएका थिए। माओवादीले ´भन्ने एउटा र गर्ने अर्को´ गरेको भन्दै माओवादीलाई दोधारे चरित्र प्रदर्शन आरोपसमेत गौतमले लगाए।
सरकारको सहयात्री दल एमालेप्रति नै माओवादीले ज्यादती गरेको गौतमको आरोप थियो। ´रुपन्देही वाइसीएल अध्यक्ष सुजीतले गोली हानेर युथफोर्सका रुपन्देही सदस्य थैबलाई मारेको विरोध हो मन्त्रिपरिषदको बैठक बहिष्कार´ गौतमले भने।
´अपराधी समाउने काम त गृहमन्त्रीको हो नि। समाउन छाडेर बैठक बहिष्कार गर्ने हो र ?´ भनी सोधिएको प्रश्नको जवाफमा गौतमले आफूहरुले पार्टीको निर्देशनअनुसार बहिष्कार गर्ने तर गृहमन्त्रीको हैसियतले काम भने जारी राख्ने बताए। अपराधीलाई पकड्न सबै क्षेत्रमा आफूले निर्देशन दिइसकेकोसमेत गौतमले दाबी गरे।
´ढिलोचाँडो अपराधी पक्राउ पर्छ´ उनले भने। अपराधीलाई कानुनको घेरामा ल्याउन प्रधानमन्त्रीले आफ्नो सामुन्ने नै आफ्नो दलका कार्यकर्तालाई निर्देशन दिएको गौतमको भनाइ थियो। ´प्रधानमन्त्री एकदमै गम्भीर हुनुहुन्छ। उहाँले पार्टीलाई निर्देशन गर्नुभएको छ´ उनले भने। आपाराधिक कि्रयाकलाप रोक्ने जिम्मेवारी सबैको हो भन्दै गौतमले कानुनी कारबाहीमा ल्याउने मात्र गृहमन्त्रालयको जिम्मेवारी रहेको दाबी गरे। ´कानुनी कारबाही चलाउने गृहको हो यसमा हामी चुक्दैनौं´ उनले भने। अपराधी चिनेपछि पक्रन किन ढिलो भयो कहिलेसम्म पक्राउ गर्नुहुन्छ भन्ने प्रश्नको जवाफमा गौतमले राजनीतिक संरक्षण भएमात्र पक्राउ गर्न ढिलो हुने बताए।
मन्त्रिपरिषद् बैठक बहिष्कार गरे पनि एमालेको तर्फबाट नेतृत्व गरेर सरकारमा गएका उपप्रधान तथा गृहमन्त्री गौतमले प्रधानमन्त्रीको अनुपस्थितिमा कार्यबाहक सम्हाल्नेछन्। प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबारदेखि एक साता नर्वे र फिनल्यान्ड जानेछन्।
´म त उपप्रधानमन्त्री हुँ नि। मेरो पार्टीले कार्यवाहक पनि लिन हुन्न भने नलिऊला´ उनले भने। प्रधानमन्त्रीको कार्यवाहक सम्हाले पनि विरोध भने जारी रहने गौतमले बताए। विरोधलाई कार्यबाहक प्रधानमन्त्री र गृहमन्त्रीको पदले नरोक्नेसमेत गौतमको दाबी थियो। ´विरोध त क्याबिनेट बाहिर र क्याबिनेटभित्र पनि गर्छौं´ गौतमले भने।
विरोध पनि गर्ने सरकारमा बसिरहने एमालेको यो घुर्की हो कि धम्की हो भन्ने प्रश्नको जवाफमा गौतमले आफूहरुलाई एमालले सरकार छाडेर आउन नभनेको बताउँदै भने ´यो धम्की पनि होइन घुर्की पनि होइन। साँचो कुरा यै हो।´
एमालेको पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष खनालले सहयात्रामाथि नै प्रश्न उठने हिसावले घटना आएको बताए। ´सहकार्यको सिलसिलामा अघि बढने क्रममा सहयात्रामाथि नै प्रश्न उठने हिसावले घटना भएको छ´, अध्यक्ष खनालले भने- ´अपराधीलाई कारवाही भएन भने हाम्रो विरोधको आवाज अझै चर्को हुन्छ।´ अपराधीलाई न्यायको कठघरामा उभ्याउनुपर्ने पनि उनले बताए।
पार्टी महासचिव ईश्वर पोखरेलले पनि सहमतिको राजनीतिक यात्रा रहर नभएर बाध्यताको उपज भएको बताए। ´माओवादीका यस्तै क्रियाकलाप रहे भने भइरहेको सहकार्यबारे पुनर्विचार गर्नुपर्ने हुन्छ।´
माओवादीले श्रृङखलाबद्ध हिसावले आफना पार्टी नेता तथा कार्यकर्ताहरुमाथि आक्रमण गरेको एमालेको भनाई छ। चैत १३ गते राति १० बजे रुपन्देहीका प्रजातान्त्रिक राष्ट्रिय युवा संघका सदस्य थैवको घर गइरहेको वेला मोटरसाइकलमा आएको समुहले हत्या गरेको थियो। हत्या माओवादीसम्बद्ध वाइसिएलका रुपन्देही अध्यक्ष सुजित र उनका सहयोगीहरुलॆ गरेको एमालेको ठहर छ। एमालेले यो समुहलाई अपराधिक जत्थाको संज्ञा दिएको छ ।
पार्टी कार्यकर्ता थैवको हत्याको विरोधमा चैत १५ गते राष्ट्रब्यापी विरोध प्रर्दशन गर्ने एमालेले बताएको छ। उपत्यकामा अपरान्ह ३ बजे रत्नपार्कस्थित शान्तिवाटिकाबाट विरोध कार्यक्रम गर्ने भएको छ। थैवको हत्याको घटनालाई एमालेले माओवादी ज्यादती र कायरतापूर्ण हत्या श्रृङखलाको पछिल्लो कडी भएको बताएको छ।
´यो घटनाले शान्ति प्रक्रियामा आइसकेर पनि र सरकारको नेतृत्वमा पुगेर पनि माओवादी आफनो हिङ्सात्मक र सामाजिक फासिवादी क्रियाकलाप त्याग्न तयार छैन भन्ने कुराको पुष्टि गरेको छ´- एमाले अध्यक्ष खनालद्धारा जारी वक्तब्यमा उल्लेख छ। यसअघि भएका श्रृङखलावद्ध आक्रमणका घटनामा संलग्न भएका कार्यकर्ताहरुलाई माओवादी नेतृत्वले संरक्षण गरेको र क्यान्टोनमेन्टहरु अपराधीका आश्रमस्थल बनेको पनि एमालेले बताएको छ।
वुटवल महाधिवेशनपछि बसेको केन्द्रीय कमिटीको पहिलो बैठकको तेस्रो दिन बैठकलाई स्थगित गरी एमालेले आकस्मिक रुपमा पत्रकार सम्मेलन गरेर घटना र पार्टीको विरोध कार्यक्रमको बारे जानकारी गराएको हो ।
युथफोर्सका कार्यकर्ता प्रचण्ड थैवको हत्यामा स‌लग्न भन्दै ´रुपन्देही जिल्लाका वाईसीएलका अध्यक्ष सुजीतसहितको आपराधिक जत्था´ लाई कारबाही नगरेसम्म नेकपा एमालेले मन्त्रिपरिषद् बैठकमा भाग नलिने भएको छ। -दैनिकी

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक