20090309

नेपाल फर्किने बेलामा.... - रवीन्द्र मिश्र

अन्तत: पेशागत र व्यक्तिगत दुबैरूपमा नेपाल फर्किने मेरो लामो धोको पुरा हुन लागेको छ। पाकिस्तानमा झण्डै तीन र बेलायतमा १४ वर्ष बिताएपछि म स्थाईरूपमा अर्को महिना नेपाल फर्किंदै छु। बेलायतमा बिताएका १४ वर्ष मेरालागि मेरो जीवनको एउटा अत्यन्त सुखद, उपलब्धिपूर्ण र सन्तोषजनक समयका रूपमा सदा रहिरहने छन्। पाकिस्तानको तीन वर्षको बसाइले मेरो शैक्षिक जीवनमा एउटा ईंटा थपेको थियो र मेरो पेशागत जीवनको जग निर्माण गरेको थियो। बेलायतको बसाईंले मेरो शैक्षीक जीवनमा आर्को ईंटा थप्यो र मेरो पेशागत जीवनलाई एउटा रूप र परिचय दियो। ती सबैले मलाई व्यक्तिगतरूपमा सुखद अनुभूति दिनेगरेका छन्। तर मैले मेरो शिक्षा र पेशाको धरातलमा उभिएर बेलायत बसाइका क्रममा देखेका र भोगेका क्षणहरूले मलाई जे सिकायो र मेरो पेशाभन्दा बाहिर मभित्र रहेको गहिरो विश्वासलाई अघि बढाउन जसरी प्रेरित गरायो, त्यो मेरालागि सबैभन्दा सन्तोषको पक्ष रहेको छ। यी अनुभूतिहरूलाई दुईवटा कारणले मैले यहाँ बाँड्ने धृष्टता गरिरहेको छु। आशा छ, प्रबुद्ध पाठकहरुले यसलाई अन्यथा लिनुहुने छैन।
पहिलो कारण हो, जे ले मलाई मेरो आजसम्मको यात्रामा सबभन्दा ठूलो सन्तोष प्रदान गरेको छ, त्यसका लागि म आफुलाई नभएर अनगिन्ति विदेशमा बस्ने र खासगरी बेलायतवासी नेपालीहरूलाई धन्यवाद दिन चाहन्छु। तिनको सद्भाव, विश्वास अनि नैतिक र आर्थिक सहयोग नभएको भए मैले तय गरेको त्यो सानै किन नहोस् तर सबभन्दा बढी सन्तोषजनक पाइला चाल्न सक्ने संभावनै रहने थिएन। मेरो १४ वर्षको प्रवासमा नेपाल र नेपाली भनेपछि मरिमेट्ने कैयौं नेपालीहरूलाई मैले भेट्ने, उनीहरुका बारेमा सुन्ने/पढ्ने र कतिपयसँग विचार आदानप्रदान गर्ने मौका पाएँ। उनीहरूबाट मैले धेरै सिकेको छु। यो लेखमा ती सबैको नाम लिन संभव छैन तर नेपाल र नेपाली समुदायलाई कुनै न कुनै रूपमा सहयोग गर्ने ती सबै नेपालीहरूप्रति म पूर्णत: नतमस्तक छु। ती सबै मेरो बाँकी जीवनमा प्रेरणाका स्रोत रहिरहने छन्। तिनको नैतिक या आर्थिक सहयोग नभएको भए म र समान विचारधारका मेरा साथीहरूद्वारा स्थापित र संचालित हेल्प नेपाल नेटवर्क (www.helpnepal.net) ले नौ वर्षको अवधिमा नेपालका गाउँहरूमा, मूलरुपमा नेपालीहरूबाटै उठाइएको रकमबाट, कयौं स्कूल बनाउने, स्वास्थ्यचौकी चलाउने, पुस्तकालयहरू निर्माण गर्ने, कैयौं स्कूल र स्वास्थ्यचौकीहरूलाई शैक्षिक र स्वास्थ्य उपकरणहरू प्रदान गर्ने र आपत्कालीन राहतहरू उपलब्ध गराउने काम गर्न सक्ने थिएन।
नेपालका लागि नेपालीले गरौं� भन्ने नाराका साथ नौ वर्षअघि शुरू गरिएको नेपालको लागि महिनामा एक पाउण्ड कोष� अभियान अहिले बेलायतबाहेक अरू कयौं देशहरूमा फैलिएको छ। हामीसबै एकआपसमा मिलेर काम गर्ने गर्दछौं। कतिपय ठाउंहरूमा त समान नाराका अन्य संस्थाहरू पनि स्थापना भएका छन्। भविष्यमा हेल्प नेपाल नेटवर्क संचालनका लागि सहयोग पुगोस् भनि स्थापना गरिएको प्रशासनिक कोषमा मात्रै विश्वको विभिन्न देशका २५ जना नेपालीहरुले कम्तीमा अढाइ लाखदेखि बढीमा पाँच लाख रूपियाँसम्म चन्दा दिएका छन्। सो कोषलाई अझ ठूलो बनाउने प्रयास जारी छ। हेल्प नेपालमा काम गर्ने क्रममा मैले यति धेरै प्रेरणादायी नेपालीहरू भेटेको छु, जसप्रति मेरो श्रद्धा सदा अटल रहिरहने छ।
१४ वर्षको प्रवास बसाइका क्रममा वास्तविकरूपमा काम गर्ने सँगसँगै, कुराले सन्सार हाँक्ने तर नेपाल र नेपालीका लागि केही पनि नगर्ने या लाज छोप्नका लागि अत्यन्त नगण्य एक/दुई काम गरेर फुर्ति लगाउने, घरको गरीबी छल्न विदेशमा दुखजिलो गर्ने नेपालीलाई गन्दै नगन्ने, टन्न पैसा कमाएर पनि आफू पढेको गाउंको स्कूललाई जस्ताको त्यस्तै छोड्ने तर सिँङ्गो देश बनाउने भाषण छाँटेर हिँड्ने, अनि नेपालमा �हामीजस्ता सक्षमहरूको कदर नै हुँदैन� भनेर सरकारलाई गाली गर्ने, कत्तिपनि सामाजिक दायित्वबोध नभएका, स्वार्थी, ढोङ्गी र कपटभद्र नेपालीहरू पनि नेभेटिएका होइनन्। ती मेरो लेखाइका सधैं तारो बने, र भविष्यमा पनि बनिरहने छन्।
मेरा यी अनुभूतिहरू बाँडनुको अर्को कारण, विदेशमा बस्ने धेरै नेपालीहरूमा ब्याप्त नेपाल फर्किने या नफर्किने भन्ने द्विविधासँग सम्वन्धित छ। मेरा दुबै छोराछोरी लण्डनमा जन्मिएका थिए। ती ११ वर्ष र ८ वर्षका हुँदा गत वर्ष मैले उनीहरूलाई स्थायीरूपमा नेपाल सारेँ। धेरै मित्र र आफन्तहरुको दबाबका बाबजुद हामी (मैले र मेरी श्रीमती) ले आफुहरूलाई मात्र होइन, छोराछोरीलाई पनि बृटिश नागरिकता लिन इन्कार गरिदिएकोमा धेरैले हामीलाई मुर्ख सम्झिएका थिए। त्यतिमात्र होइन, हामी उनीहरूलाई यस्तो स्थितिमा नेपाल सारिरहेको थियौं जतिबेला नेपालमा स्कूलहरू नियमितरूपमा चलिरहेका थिएनन्, दिनमा १२/१५ घण्टासम्म बिजुली गैरहेको थियो, काठमाण्डू धुलो, धुवाँ, फोहोरमैलाले व्याप्त थियो र सुरक्षास्थिति नाजुक हुँदै गैरहेको थियो। म भने काठमाण्डूमा रहेका मेरा कैयौं मित्रहरूले झैं छोराछोरीलाई १२ कक्षासम्म भारतमा पढ्न पनि नपठाउने, बेलायतमा पनि नराख्‍ने र आफूपनि उमेर छँदै नेपाल फर्किने पक्षमा थिएँ।
काठमाण्डूमा आर्थिक स्थिति पूर्णत: मध्यमवर्गीय हुँदाहुँदै मेरो त्यस्तो ढिपी देखेर मेरा नातेदारहरु भन्थे, �कुकुरलाई घिउ नपचेको,� �बोकाको मुखमा कुभिण्डो नअटेको� आदि इत्यादि। तर मलाई त्यस्ता टिप्पणीहरूले छुँदै छुँदैन थियो। मेरा ती नातेदारहरू फोहोर मात्र हेरिरहेका थिए। म फोहोरमा कमल फुलाउन थोरै तर प्रेरणादायी ती नेपालीहरूलाई हेरिरहेको थिएँ जसका कारण आज देशमा व्याप्त राजनीतिक दुर्गन्धका बाबजुद नेपाल, नेपाल रहेको छ। त्यो देश, जसले म र म जस्ता दशौं लाख नेपालीहरूलाई नेपाली भन्दा गौरवको अनुभूति दिन्छ। त्यसैले विदेशमा बसेर नेपाल र नेपालीको लागि गर्ने मात्र होइन, देश भित्रै बसेर अनेकौं रचनात्मक काम गरेर म जस्ता कैयौंलाई नेपाल फर्किन प्रेरित गर्ने ती नेपालीहरूप्रति पनि म उत्तिकै आभारी छु। ती फर्किएर सारा नकरात्मकता बावजुद खुशीसाथ अत्यन्त रचनात्मक जीवन बिताइरहेका छन् भने म र मेरो परिवारले चाहिं काठमाण्डूमा बस्न नसक्ने भन्ने प्रश्नै उठ्दैनथियो। कुनै दुखद घटना घट्नु छ भने त्यो भाग्यको खेल हो, जहाँ बसेपनि टारेर टर्दैन त्यो।
हो, म फर्किएर कैयौं नेपालीहरूले झैं हिलोमा कमल फुलाउन नसकुँला, आकासको तारा खसाउन नसकुँला। म त्यस्तो कुनै महान् लक्ष लिएर फर्किन लागेको पनि होइन। धेरै मेरा दौंतरीहरुले �खुब शान देखाएर ठूलो मान्छे हुन गएको थियो, देख्यो ताईं� भन्लान्। �त्यो त महाको आडम्बरी हो नि, मुखले बडो �राष्ट्रवादी� कुरा गर्छ, के, के ब्यक्तिगत फाइदा हुने देख्यो अनि फर्कियो� भन्लान्। भन्नेले यसै लेखलाई पनि �आफ्नो डम्फू आफैं बजाएर शान दिएको� भन्लान्। भोलि मेरा छोराछोरीले �हामीलाई लण्डनको स्वर्गबाट काठमाण्डूको नर्कमा लेराएर जाकेको� भनेर सराप्लान्। ती सबैको सामना गर्न म तयार छु। सबभन्दा डर मलाई अरूको नभई, मेरा छोराछोरीले भोलि सराप्लान् भन्नेमा छ। साना छँदा छोराछोरीका मार्गनिर्देशक तिनले मन पराए पनि, नपराए पनि तिनका बाबुआमा नै हुन्। आज मैले मेरो ब्रम्हले जे ठीक देखेँ, त्यो गरेँ। भोलि उनीहरुले मैले जेलाई आदर्श देखेँ त्यसलाई भूल सँझिएं भने, मलाई कुनै पश्चाताप हुने छैन। त्यसमा म प्रष्ट छु। मैले रोजेको बाटोबाट उनीहरू अलिकति मात्र पनि प्रेरित भए भने म आफूलाई धन्य सम्झने छु। भएनन् भने, त्यसलाई म मेरो जीवनमा दुर्भाग्यको एउटा पाटो सम्झने छु।
मैले यी अनुभूतिहरू नेपाल फर्किन लागेर या अलिकति कल्याणको काममा सँलग्न भएर केके नै गरेँ भनि फूर्ती लगाउन पाठकहरू समक्ष पस्किएको अवश्य होइन। तर समाज कल्याणकारी भावनाबाट निर्देशित हुने हो भने सधैं सरकारलाई गाली गरेर बस्न पर्दैन र धेरै सकारात्मक कामहरू आफैं हुनसक्छन् भनेर पुनर्पुष्टि गर्न खोजेको चाहिं अवश्य हो। त्यसैगरी वर्तमानको परिस्थितिमा पनि दृढ मनोबल हुने हो भने नेपाल फर्किन सकिन्छ भनेर जिकिर गर्न खोजेको पनि हो। त्यति गर्दा म घमण्डी सुनिएको छु भने म प्रबुद्ध पाठकहरूसँग क्षमायाचना गर्न चाहन्छु।
अन्तमा, तपाईंहरू, खासगरी विदेशमा बस्ने नेपालप्रेमी नेपालीहरू, कसैलाई पनि आफूले छोडेर गएका ती गरीब गाउँहरुमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा केही गर्ने इच्छा, त्यसको लागि उपयुक्त माध्यमको आवश्यकता र त्यो माध्यम हेल्प नेपाल नेटवर्क बनिदिनसक्छ भन्ने विश्वास छ भने कृपया मलाई निसंकोच सम्पर्क गर्नुहोला। नेपाल फर्किएपछिको मेरो निजी समय सकेसम्म विदेशमा बस्ने नेपालीहरुको कल्याणकारी चाहनालाई साकार पार्नमा व्यतित गर्ने मेरो मनसाय हो। कल्याणको काममा कसैका लागि पनि साहायकसिद्ध हुन पाएं भने म आफुलाई भाग्यशाली सम्झने छु।

लेखक बीबीसी नेपाली सेवाका प्रमुख हुन्।
सम्पर्क: rabindra.helpnepal@gmail.com

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक