20090305

"अहिलेको सरकार, नेताहरू अब रुक्मांगदको नेतृत्वमा बस्नुपर्‍यो ! रुक्मांगदलाई देश चलाउन दिनुपर्‍यो"

* मेरो अन्तरविरोध त प्रचण्डसँग हो, बाबुरामसँग हो *
* ममाथि 'रअ' को एजेन्ट भएको समेत आरोप लगाइयो *
* चोर घेरामा परेपछि चोर अरूलाई 'चोर चोर' भन्दै भाग्छ क्या *
* प्रचण्ड)हरू त मलाई सन्काहा नै भन्न थाल्नुभएको छ *
* अनि आक्रोशमा आइहाल्छु *



- बिद्रोही माओवादी नेता मातृका यादव

प्रचण्डसँग तपाईंको अन्तरविरोध कहिले देखिको हो ?
मधेसमा पार्टी नाम मात्रको छ, साँच्चिकै पार्टी छैन । पार्टीमा अराजकता, अनुशासनहिनता र आर्थिक अनियमितता बढेर गएको छ । र, पार्टी बनाउने विषयमा प्रचण्ड कमरेडसँग घम्साघम्सी र विवाद भइराखेको थियो । साँच्चै भन्ने हो भने कमरेड प्रचण्डप्रति मेरो धेरै विश्वास थियो । मधेसमा पार्टी बनाउने विषयमा उहाँसँग बहस, छलफल हुने क्रम बढ्दै गयो । काफी संघर्ष हुँदै गयो । उहाँले सच्याउनुहुन्छजस्तो लागेको थियो । तर, सच्चिएन । आखिर पार्टीमा छलफल र सल्लाह नगरी अरूहरूसँग समझदारी गर्ने काम भयो । यस विषयमा मैले धेरैपटक कुरा गरेँ । खरिपाटीमा भएको राष्ट्रिय कार्यकर्ता भेलाको नीतिविपरीत केन्द्रीय समितिमा आएर एकताकेन्द्र-मसालसँग एकताको निर्णय गर्नुभो । जनवादको उपहास ! सिद्धान्तलाई उहाँहरूले छोडेपछि मैले असहमति जनाएँ । एकता प्रक्रियाको कुनै पनि कार्यक्रममा भाग लिइनँ । मैले कमरेड प्रचण्डलाई भनेँ, 'अब म पार्टी छाडिदिन्छु । र, सम्बन्ध टुटाएँ ।' अब उहाँहरूसँग मेरो सम्बन्ध छैन । नेकपा माओवादी पुनर्गठन गर्न लागेको छु ।

प्रभु साहसँग मेरो अन्तरविरोध नै छैन । मेरो अन्तरविरोध त प्रचण्डसँग हो, बाबुरामसँग हो । यिनीहरूले प्रभु साहलाई हतियार बनाएका हुन् । तलै लडाइदिन खोजेका हुन् ।

पहिले म आफूलाई सिपाही ठान्थेँ, अब आफूलाई कमान्डर नबनाई नहुने स्थिति भयो । त्यसकारण म कमान्डर बन्छु भन्ने ठानेको छु, यो मेरो बाध्यता मात्रै हो ।

मधेसकै विषयमा पार्टीसँग असहमत भएर तपाईंले २०६० सालमै राजीनामा दिनुभएको रहेछ । त्यो वेलाचाहिँ कसरी चित्त बुझाउनुभो ?
त्यसवेला कमरेड किरण पूर्वाञ्चलको कमान्ड इन्चार्ज हुनुहुन्थ्यो । मैले कमान्डको बैठकमा राजीनामा दिएको थिएँ । हेडक्वार्टरमा मेरा बारेमा छलफल भएको थियो । त्यतिवेला कमरेड प्रचण्डले भन्नु्भएको थियो, 'केन्द्रीय समितिमा बसेर यसबारेमा निर्णय गराँला । मैले मात्रै निर्णय गरेर हुँदैन । तपाइंले उठाएको कुरा नाजायज छैन ।' तर, त्यसपछि त म जेल परिहालेँ । आश्वासन पूरा गरिएन । म जेलमा भएको वेला ममाथि 'रअ' को एजेन्ट भएको समेत आरोप लगाइयो । अचम्म त के छ भने जो 'रअ' को बढी दलाली गर्छ, ऊचाहिँ बढी अरूलाई फतुर लगाउँदो रहेछ । हाम्रै पार्टीभित्रको आन्दोलनमा पनि त्यो देखियो ।

२०६० सालदेखि अहिलेसम्म नेतृत्वलाई किन कुरेर बस्नुभो ?
कुर्नुपर्‍यो र बहस पनि भयो । म जेल परेँ । छुटेपछि बहस भयो । उहाँ (प्रचण्ड)हरू राष्ट्रियताको जुन वकालत गर्नुहुन्छ, त्यहीँ गडबड छ क्या । त्यसैले मेरो कुरा उहाँहरूले सुन्नुभएन । देशको नागरिकका लागि राष्ट्रिय स्वतन्त्रता प्रमुख विषय हो । राष्ट्रिय स्वाभिमानविनाको नागरिकको कुनै स्वाभिमान हुँदैन । यो देशको भूगोलभित्र थुप्रै राष्ट्रियता छन् । हिजो मधेसको राष्ट्रियता, किराँत, लिम्बुवान, तामाङ, मगरको राष्ट्रियता थियो । तर, पृथ्वीनारायण शाहले बन्दुक र षड्यन्त्रको बलमा थुप्रै राष्ट्रियताको हरण गरेर खसवादी राष्ट्रियता लादे । र, त्यो राष्ट्रियतालाई नेपाली राष्ट्रियताको संज्ञा दिइयो । साँच्चै भन्ने हो भने यहाँ राष्ट्रिय एकता छैन । विविधता छ । खसवादी राष्ट्रियतालाई उहाँ (प्रचण्ड) हरूले पनि नेपालको राष्ट्रियता ठा्रन्नुभएको छ । उहाँहरू जातीय मुक्तिको कुरा गर्नुहुन्छ, तर अरूको राष्ट्रियताको सम्मान गर्ने कुरालाई संघीयतामा मात्रै लगेर कैद गर्न खोज्नुहुन्छ । अब राष्ट्रको परिभाषा पनि नयाँ ढंगले गर्नुपर्छ । आफूलाई साँच्चिकै कम्युनिस्ट भन्नेहरू, खस जातिभित्रका कमरेडहरूको जिम्मेवारी छ अब । खस उत्पीडन त अरू जनजातिमाथि छ । खसबाट आएका कमरेडहरूले आफ्नो उत्पीडक जाति र वर्गका विरुद्ध लड्ने कि नलड्ने ? सामन्तवादी प्रवृत्ति पालेर सामन्तवाद कसरी हट्छ ?

तपाईंमाथि 'रअ’ को एजेन्टको आरोप कसरी लाग्यो ?
मधेसको र साँच्चिकै जनताको कुरा उठाउँदाखेरि त्यस्तो आरोप लाग्नेगर्छ । र, लाग्यो । मधेसमा विदेशी दलालहरू पनि छन् । सामन्तहरूकै बोलवाला छ । कम्युनिस्टहरू जसरी स्थापित हुनुपर्थ्यो, हुन सकेका छैनन् । कम्युनिस्ट खोल ओढेर मण्डले राष्ट्रवादको वकालत गर्नेहरूका कारण मधेसी जनतामा कम्युनिस्टप्रति विश्वास हुन नसकेको हो । मण्डले राष्ट्रवादीहरूले अधिकार माग्थ्यो माग्नेहरूलाई कुनै न कुनै बिल्ला लगाउने गरेका छन् । पार्टीभित्रै 'रअ'को दलाली गर्नेहरूले मलाई 'रअ'को एजेन्ट भनेर आरोप लगाए । गाउँघरमा चोर घेरामा परेपछि चोर अरूलाई 'चोर चोर' भन्दै भाग्छ क्या । माओवादीभित्र 'रअ'का दलालहरू विगतमा पनि थिए, अहिले पनि छन् ।

जयकृष्ण गोइतसहितका नेताहरूले पार्टी छोड्नुको कारण र तपाइंले छोड्नुको कारण एकैखालको हो ?
जयकृष्ण गोइतजीले फरक मत राखेर अलग हुनुभएको होइन । मधेसी राष्ट्रिय मुक्ति मोर्चाबाट हटाउँदा उहाँ पार्टीबाट सम्पर्कविहीन हुँदै निस्कनुभएको हो । यहाँ के भ्रम फैलाइएको छ भने मातृकाका कारण गोइत भागेको हो । लालबुझक्कडहरूले यस्तो लेखेका छन् । गोइतलाई हटाउने निर्णय गर्दा मैले प्रचण्ड कमरेड, किरण कमरेड र बाबुरामहरूलाई भनेको थिएँ-उहाँलाई नहटाउनुस् है, भाग्नुहुन्छ । उहाँहरूले मान्नुभएन । मैले मधेसका बारेमा पार्टीमा राखेको धारणाका आधारमा गोइतजीले उता गएर मधेसको माहौल क्यास गर्नुभएको हो ।

तर, माओवादीका नेताहरू तपाइंले नै गोइतलाई विस्थापित गरेको भन्छन् ?
यसमा सत्यता छैन । बरु गोइतजीलाई तपाईं सोध्नुस् । मैले त गोइतजीलाई ल्याएर संरक्षण गरेको हुँ । मधेसमा नेताहरूको खाँचो थियो । म एक्लै लडिरहेको कारण मधेसमा नेताहरू बढून् भन्ने मेरो चाहना थियो । म इटहरीबाट साइकल चलाएर उहाँको घर राजविराज आउँथे । उहाँको घर एसएसपी कार्यालयअगाडि छ । मैले कति जोखिम उठाएर उहाँलाई पार्टीमा ल्याउने कोसिस गरेँ । हाम्रा पार्टीका पूर्व नेताहरू भनिरहनुभएको छ कि मातृकाले अरू नेताहरूलाई ल्याउन चाहेन । उहाँहरू झूटको खेती गर्न खोजिरहनुभएको छ । र, म अब गोइतजीहरूसँग पनि कुराकानी गर्ने पक्षमा छु । रामविलास, पवन गिरीलगायतसँग पनि छलफल गर्छु ।

तपाइंले नै आफूबाहेक मधेसी नेताहरूलाई केन्द्रीय समितिमा ल्याउनुहुँदैन भन्नुभएको रे प्रचण्डसँग ?हो, प्रभु साहलाई मात्रै ल्याउने कुरासँग मेरो विमति थियो । प्रभुभन्दा सिनियरहरूलाई पनि लैजानुपर्‍यो नि । प्रभुमा बढी विलक्षणता देख्नुहुन्छ, बढी प्रतिभा देख्नुहुन्छ भने ल्याउनुस् । तर, त्योभन्दा पनि श्रवण यादव, देवनारायण, महेन्द्र पासवान, कृष्णदेव, विनोद उपाध्याय, जयकृष्ण गोइत हुनुहुन्छ । उहाँहरूलाई नल्याउने, प्रभुलाई किन ल्याउने ? मैले यही कुरा गरेको हो ।

तपाईं र प्रभु साहबीचको खास अन्तरविरोध के हो ? प्रभु साहसँग मेरो अन्तरविरोध नै छैन । मेरो अन्तरविरोध त प्रचण्डसँग हो, बाबुरामसँग हो । यिनीहरूले प्रभु साहलाई हतियार बनाएका हुन् । तलै लडाइदिन खोजेका हुन् । प्रभुलाई त यिनीहरूले बिगारेका छन् ।

विगतमा माओवादी छाड्दा मणि थापा र रवीन्द्र श्रेष्ठहरूले पनि त तपाइंले अहिले लगाएजस्तै आरोप लगाउनुभएको थियो । उहाँहरू गलत, तपाईचाहिँ सही कसरी ?
राजतन्त्रविरुद्ध भीषण संघर्ष भइरहेको वेलामा उहाँहरू जसरी निस्कनुभो, त्यसवेला उहाँहरूलाई मान्छेले क्रान्तिविरोधी हो भन्ने पारिदिए । उहाँहरूको कुराचाहिँ वैचारिकभन्दा पनि कहाँ बसेको, कहा खाएको, कहाँ सुतेको भन्नेजस्तोतिर गयो । त्यहाँनिर उहाँहरूको मिस्टेक भएको थियो । मलाई त्यो फिल भएको हो । जेलबाट निस्कनासाथ मैले त्यसवेला भनेको थिएँ- माथि नेता(प्रचण्ड)हरूको जुन गलत अन्तरसंघर्ष भयो, त्यसकै परिणाम हो । किनभने प्रचण्डलाई जे भने पनि बाबुराम त्यो पार्टीमा रह्यो । बाबुरामलाई जे भने पनि प्रचण्डसँग निहुरियो । रवीन्द्रहरूलाई पनि के लाग्यो भने मैले जे भने पनि मलाई हटाउँदैन । तर, उनीहरू (प्रचण्ड र बाबुराम) ले के बुझे भने रवीन्द्रहरूलाई राखेर काम छैन । पछि खतरा हुन्छ भनेर रवीन्द्रहरूलाई हुत्याइदिए । रवीन्द्रजीले त जे कुराको विरोध गर्नुभएको थियो, त्यसैमा जानुभो । एमालेमा जानु क्रान्तिकारिता होइन, पलायन हो रवीन्द्रजीको । रवीन्द्रजीले जतिसुकै पुष्टि गर्न खोजे पनि त्यो त उहाँको पलायनता नै हो । यो कुराले पनि मान्छेहरूलाई के भ्रम पर्‍यो भने यिनीहरू साँच्चिकै क्रान्ति गर्न चाहेका होइनन् ।

तपाईंको यो राजनीतिक उचाइ बनाउनमा तपाइंको क्षमताभन्दा प्रचण्डको ठूलो हात छ र यो उचाइ धान्न मातृकाले सक्दैन भन्छन् नि मान्छेहरू ?
उहाँ(प्रचण्ड)हरू त मलाई सन्काहा नै भन्न थाल्नुभएको छ । मातृकामा न बुद्धि थियो, न क्षमता थियो भन्नुहुन्छ । त्यसो भए त पार्टी बनाउने उहाँहरूको प्रक्रिया गलत रहेछ नि । क्षमता नभएको मान्छेलाई किन माथि पुर्‍याउने ? उहाँहरू गल्ती गर्नुभएछ नि । म माओवादी आन्दोलनको उपज हुँ । कमरेड प्रचण्डको पनि योगदान छ । प्रचण्डलाई प्रचण्ड बनाउन पनि हाम्रो योगदान छ त्यो कुरा उहाँले बिर्सिनुभएन । उहाँलाई स्थापित गर्न मैलेजति बढी गरेँ, त्यसलाई बिर्सिनुभो भने त उहाँको कुरा हो । प्रचण्ड पनि त आन्दोलनकै उपज हो । प्रचण्ड पनि त शिक्षक नै थियो । एक्लै उहाँ स्थापित हुनुभएको हो ? मैले नै खुल्ला मञ्चमा बोलेको हो- प्रचण्ड भनेको प्रचण्ड हो, ज्ञानेन्द्र होइन । प्रचण्डले मलाई स्थापित गर्नुभो, आन्दोलनले स्थापित गर्‍यो, आन्दोलनलाई स्थापित गर्न मेरो पनि त लगानी छ नि । म उहाँहरूले चाहेर मात्रै स्थापित भएको होइन । मसँग केही नभएको भए यहाँ आउँथे ? त्यसैले कसैको सकारात्मक पक्षलाई पूरै मिनिमाइज गरेर व्याख्या गर्ने सामन्ती प्रवृत्ति हो ।

तपाइंले पार्टीको फस्ट म्यान बन्ने सोख लागेर माओवादी पुनर्गठन अभियान थालेको पनि सुनिन थालेको छ नि ?
यो होइन । म कहिल्यै पनि कुनै ठाउँको फस्ट म्यान बनौँला भनेर लागेको होइन । कहिल्यै पनि यो सोचिएन । तर, यो मेरो बाध्यता हो हेर्नुस् । म अहिले यति पीडाबाट गुजि्ररहेको छु कि कहिल्यै दिमागमा नराखेको चिज अहिले गर्नुपरेको छ क्या । अहिले पनि मातृका फस्ट म्यान नै हुन्छ भन्ने छैन नि त । आन्दोलनमा एकसेएक प्रतिभा आउन सक्छन् । ती प्रतिभा आए भनेदेखि त ऊ फस्ट म्यान । मैले भन्ने गरेको छु्, मेरो काँधमा एउटा जिम्मेवारी आएको छ । पहिले म आफूलाई सिपाही ठान्थेँ, अब आफूलाई कमान्डर नबनाइनहुने स्थिति भयो । त्यसकारण म कमान्डर बन्छु भन्ने ठानेको छु, यो मेरो बाध्यता मात्रै हो ।

क्रान्तिको सुरुवात कहाँबाट र कसरी गर्नुहुन्छ ?
यो क्रान्तिको सुरुवात हो । क्रान्तिकारी पार्टी निर्माण गर्नु त्यही सुरुवात हो । पार्टी बनाउने, क्रान्ति, आन्दोलनको कार्यक्रम बनाउने, क्रान्तिकारी मोर्चा बनाउने कुरा क्रान्तिको निरन्तरता हो । क्रान्तिको रथ गुडिरहेको छ, त्यसलाई व्यवस्थित गर्दै अघि बढ्ने कुरा हो ।

पार्टी पुनर्गठन गर्ने घोषणा गर्नुभन्दा अघि चीन जानुभएको थियो । तपाइंलाई चीनमा क-कसलाई भेट्नुभयो ?
मलाई निम्ता पनि थियो, मेरो इच्छा पनि भयो । त्यहाँको पार्टीका जिम्मेवार साथीहरूसँग भेटेर कुरा गरेकै हो । यहाँ त बढी हल्ला हुन्छ । मेरो अभियानमा चीनको थोरै पनि ब्याकिङ छैन । चीनसँग सरसल्लाह गरेर मैले यो गरेको पनि होइन । मलाई वास्तवमा भन्नुहुन्छ भने पहिलोपटक रहर लाग्यो घुम्ने । यसपालि किन हो किन भित्रैदेखि माओको गाउँ, माओले विद्रोह गरेको चिङ्काङ्साङ् पहाड हेर्न मन लाग्यो ।

उपेन्द्र यादवलाई तपाइंले उक्साउनुभएको पनि भनिन्छ नि ?
मातृकालाई मूर्ख ठान्ने हाम्रा लालबुझक्कड पूर्वकमरेडहरूले के प्रचार गरेछन् भने मातृकालाई त उपेन्द्रले कन्भिन्स गरेछ । जुन वेला उपेन्द्रहरूलाई मधेसको कन्सेप्ट केही थाहा थिएन, त्यो वेलादेखि म पार्टीमा मधेसका बारेमा लड्दै आएको हुँ । ३०३६ सालदेखि म मधेसको सवालमा लड्दै आएको हो । उपेन्द्रलाई त मैले ल्याएको हो ।

तर, कसरी हेर्दाहेर्दै उपेन्द्रको राजनीतिक उचाइ त यति धेरै चुलियो ?
यो त हाम्रो पूर्व नेतृत्वका कमरेडहरूको कमजोरीले भएको हो । गिरिजा, माधवहरूले संघीयता स्वीकार नगरेको अवस्थामा हामीले जनतालाई जानकारी दिनुपथ्र्यो नि । एउटा राजदूत नदिँदा नेपाल बन्द गर्ने, संघीयता नमान्दा कसैलाई जानकारी नदिने ? यसले जनतामा भ्रम पर्‍यो । मधेसमा माओवादीले केही गर्छ भन्ने थियो । सबैले ठगे, माओवादीले ठग्दैन भनेर हामीले नै भाषण गथ्र्यौँ । व्यवहारमा पुष्टि गर्न सकिएन । मेरो भनाइ त के हो भने, पार्टीका सबै मोर्चाहरूलाई आन्दोलन गर्न दिनुपथ्र्यो । अनि बाध्य गराउनुपथ्र्यो अरू दललाई । तर, नेतृत्व तयार भएन । मधेसमा आगो घन्केकै वेलामा परवानीपुरमा आमसभा गरेर मैले भनेको थिएँ- हामी चुक्यौँ । जनताको आक्रोशको नेतृत्व अवसरवादी, भगौडा, धोकेवाजहरूले गरे । म यो अडानमा यथावत छु ।

प्रायः तपाइं आक्रोशित देखिनुहुन्छ, यो तपाईंको स्वभाव हो कि बिमार ?
म गलत चिन्तन, प्रवृत्तिप्रति आक्रोशित हुन्छु । राम्रा मान्छेहरूसँग त म हाँसोठट्टा गर्छु । म त एकदमै मजाक गरेर हिँड्ने मान्छे हुँ । तर, बाहिर गलत प्रवृत्तिसँग लड्नुपर्छ, ठाउँठाउँमा । त्यही भएर मसँग झडप हुन्छ । म त गलत कुरा सहन्नँ, अनि आक्रोशमा आइहाल्छु । कतिपय नेताहरू सोखले आएका छन् क्रान्ति गर्न । हामीलाई त मुक्ति चाहिएको छ । हामी उत्पीडित जाति र वर्गका मान्छे । अरूका लागि लड्न आएका भलाद्मीहरू र आफ्ना लागि लड्नेहरू फरक भइहाल्छ नि । उनीहरूलाई क्रान्ति भए पनि नभए पनि ठीकै हो । तर, हामीलाई त क्रान्ति भएन भने गडबड भइहाल्छ नि । बिगि्रहाल्छ नि । एकपटक एयरपोर्ट गएको वेला मलाई एकजना स्टाफले भन्नुभो-अरूले त रिसाहा भन्छन् तपाइंलाइ, तर एयरपोर्टमा त कहिल्यै रिसाएको देखिनँ । त्यसकारण यो दुनियाँमा मान्छेहरूलाई हेर्ने आ-आफ्नो दृष्टिकोण हुन्छ । सारमा भन्नुपर्दा लटरपटर गर्ने मान्छेहरूले मलाई देख्दै आक्रोशित देख्छ ।

तपाइं रक्षामन्त्री भएको भए के गर्नुहुन्थ्यो ?
म त पूरै खारेज गरिदिन्थेँ । भनेको नटेर्ने सेनाको हाकिमलाई हटाइदिन्थेँ । हटाउन क्याबिनेटले नदिएको भए छोडेर हिँडिदिन्थेँ । सरकारको नीति नमान्ने ? अहिले त सरकार सेनाको चिफको पछिपछि लाग्यो । म त्यसरी जान सक्दिनथेँ । आत्मसमर्पण गर्ने प्रवृत्तिको त म विरोधी हो । भनेको नटेर्ने पक्षका पक्षपातिहरू के भए अहिले ? अहिलेको सरकार, नेताहरू अब रुक्मांगदको नेतृत्वमा बस्नुपर्‍यो अब ! रुक्मांगदलाई देश चलाउन दिनुपर्‍यो । र उसको मातहतमा काम गर्नुपर्‍यो । तिनीहरूलाई त मातृका पच्दैन । -source : Naya Patrika

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक