20090331

पूर्वराजा ज्ञानेन्द्रभन्दा माओवादी अध्यक्ष प्रचण्ड तानाशाही भएको कोइरालाको आरोप

कांग्रेस कार्यवाहक सभापति सुशील कोइरालाले पूर्वराजा ज्ञानेन्द्रभन्दा माओवादी अध्यक्ष प्रचण्ड तानाशाही भएको आरोप लगाएका छन् । माओवादीले हरेक क्षेत्रमा गरिरहेको हस्तक्षेपले तानाशाहीको पुष्ट्याइँ गरेको कोइरालाको दाबी थियो । प्रधानमन्त्रीले संसद्को अवमूल्यन गर्दै विदेश भ्रमणमा गएको आरोपसमेत उनले लगाए । प्रेस युनियन बाँकेले आइतबार बिहान नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा कोइरालाले एमालेले सरकारको नेतृत्व गर्ने अवस्था आए कांग्रेसले सहयोग गर्न सक्नेसमेत बताए । उनले माओवादीले आफ्ना जनअदालतलाई वैधानिकता दिनका लागि सुनियोजित ढंगले स्वतन्त्र न्यायपालिकामाथि आक्रमण गरिरहेको दाबी गरे । सर्वोच्च अदालतको फैसलाविरुद्ध माओवादीबाट भइरहेको देशव्यापी विरोध प्रदर्शन र वरिष्ठ नेता डा. बाबुराम भट्टराईको न्यायाधीशविरुद्धका टिप्पणीले माओवादी सुनियोजित ढंगले न्यायपालिकाविरुद्ध लागेको पुष्टि भएको उनले बताए । माओवादीले स्वतन्त्र न्यायपालिकाको अवहेलना गरेको उनको भनाइ छ । कोइरालाले भने, 'माओवादीले जनतालाई झुक्याउन लोकतन्त्रप्रति प्रतिबद्धता जनाएको बताउँदै आएको छ । अहिलेसम्म माओवादीले गरेका सबै प्रतिबद्धता जनताका आँखामा छारो हाल्नु मात्र हो ।' माओवादीलाई जंगलमा बन्दुक जलाउनु र मुलुक चलाउनुबीचको फरक बुझाउनका लागि सरकार असफल भइसके पनि कांग्रेस सरकार ढाल्ने खेलमा नलागेको कार्यवाहक सभापति कोइरालाले बताए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक