20090402

दरबार हत्याकाण्ड कहिलेसम्म रहस्य र विवादमा रहिरहला ??? ..............उनीबाटै सोधपुछ थाल्न सकिन्छ !!!

- सुधीर शर्मा


के दरबार हत्याकाण्ड राजनीतिक उद्देश्यबाट प्रेरित थियो ? दरबारका पूर्वसैनिक सचिव विवेककुमार शाह यस्तो सम्भावनातर्फ औंल्याउँछन् । 'त्यसबेला बिहेको झगडाले युवराज दीपेन्द्र एकदमै फ्रस्ट्रेटेड हुनुहुन्थ्यो । उहाँको अवस्था नजिकबाट बुझिरहेको कसैले प्रोभोक गरेर हत्याकाण्ड गर्न उक्साएको देखिन्छ,' शाहले कान्तिपुरसँगको कुराकानीमा भने, 'त्यसका पछाडि राजनीतिक षड्यन्त्र रहेको आधार छ । तर त्यो षड्यन्त्रमा कुन-कुन देशी-विदेशी शक्तिहरू संलग्न थिए भन्ने कुराचाहिँ हालसम्म रहस्यकै रूपमा छ ।'
विशेषज्ञहरूबाट गहन अनुसन्धान नभएकाले हत्याकाण्ड रहस्यकै गर्भमा रहेको उनको ठम्याइ छ । 'मैले थप अनुसन्धान गर्न सरकार (ज्ञानेन्द्र) मा पनि जाहेर गरेको थिएँ तर उहाँले आवश्यक ठान्नुभएन,' उनले भने । ज्ञानेन्द्रपुत्र पारसले हालै सिंगापुरको 'द न्यु पेपर' सँगको अन्तर्वार्तामा हत्यापछाडि तीन कारण देखाएका छन्: दीपेन्द्रको देवयानी राणासँगको प्रेम, ०४६ सालको परिवर्तन र हतियार खरिद सम्बन्धमा वीरेन्द्रसँग मतभेद ।
दरबारमा ३५ वर्ष काम गरेका सेवानिवृत्त रथी शाह पछिल्ला दुई कारणसँग विमति राख्छन् । उनी त्यसबेला प्रेम प्रसंगलाई माध्यम बनाएर राजनीतिक षड्यन्त्र रचिएकोतर्फ इंगित गर्छन् । देवयानीसँगै बिहे गर्ने भए उनलाई हटाएर भाई नीराजनलाई युवराज बनाइदिने चेतावनीसमेत परिवारबाट आउन थालेपछि दीपेन्द्रको असन्तुष्टि चरम बन्न पुगेको शाहको बुझाइ छ । उनका अनुसार त्यसपश्चात् वीरेन्द्रलाई मारेर दीपेन्द्रलाई राजा बन्ने वा बनाइदिने योजनाअनुरूप हत्याकाण्ड भयो ।
'उहाँले आफूलाई राजा भएपछि कानुन लाग्दैन भन्ने ढंगले सोच्नुभयो, त्यही ढंगले अरूले कन्भिन्स गरे होलान्,' शाहले भने, 'तर अहिलेको जमानामा बाउ वा अरू कसैलाई मारे पनि कानुन र समाजले छाडदैन भन्ने उहाँले बुझ्नुपर्थ्यो ।'
राजा वीरेन्द्रलाई हार्ट एट्याक भएर मुटुमा 'पेसमेकर' राखिसकेको र त्यस दिन पनि उहाँको हत्यापश्चात् हार्ट एट्याक भएर निधन भएको देखाउने योजनासमेत बनाइएको शाह औंल्याउँछन् । 'बुवालाई मारेर राजपरिवार सदस्यहरूलाई तर्साउने र सबैबाट आफूलाई स्वीकार गराउने योजना हुनसक्छ,' उनले बताए ।
पूर्वरथी शाहले सन् २००० जुलाईमा आफ्नो जन्मदिनको पार्टीमा दीपेन्द्रले आफूलाई भनेको कुरा कहिल्यै नबिर्सने बताए, 'म ३१ वर्षको भइसकें, मैले कहिले बिहा गर्ने ? कहिले उत्तराधिकारी हुने यो देशको ?' उनको यही छटपटीलाई राजनीतिक रूपमा प्रयोग गरिएको शाहको बुझाइ छ । हत्याकाण्डका दिन पनि दीपेन्द्रले सुरुमा आफ्ना बुवालाई मात्र गोली हानेको तर धीरेन्द्रले हाम फालेर रोक्न खोजेपछि उनीमाथि प्रहार गरेको, अनि सबै योजना भताभुंग भएपछि जथाभावी गोली चलाएको शाह उल्लेख गर्छन् । उनका अनुसार केही मिनेटमै सबै सखाप भएको देखेपछि अन्त्यमा एक्सटि्रममा पुगेर उनले आफैंलाई गोली हान्न पुगेका हुन् । हत्याकाण्डमा राजपरिवारका अरू कसैको संलग्नता रहेजस्तो लाग्दैन ? 'दीपेन्द्रलाई उक्साउन कस-कसको हात थियो भन्ने पूर्ण छानबिन नभई भन्न सकिन्न,' शाहले भने, 'त्यसमा देशभित्र र बाहिरका शक्तिहरूको पनि हात हुनसक्छ । त्यो यथार्थ विस्तारै बाहिर निस्केला ।' त्यसबेला दीपेन्द्रसँग को-को नजिक थिए, उनीहरूबाट सोधपुछ थाल्ने हो भने धेरै कुरा पत्ता लाग्नसक्ने उनको ठहर छ ।
'त्यो दिन (दीपेन्द्रसँग) अन्तिम वार्तालाप गर्ने व्यक्ति देवयानी हुन्, उनीबाटै सोधपुछ थाल्न सकिन्छ । तर बिहा गरेर भारतमा सेटल भइसकेको हुनाले बोल्छिन्/बोल्दिनन्,' शाहले भने । उनका अनुसार अनुसन्धानका दायरामा आउने अर्का व्यक्ति दीपेन्द्रका एडीसी राजु कार्की हुनसक्छन् । 'त्यस रात दीपेन्द्रसँग कुरा भएपछि देवयानीले राजुलाई फोन गरेकी थिइन् र राजु तुरुन्तै युनिर्फम लगाएर दरबार गएका थिए । यसबाट कसै न कसैलाई केही हुँदैछ भन्ने आभास भएको देखिन्छ,' शाहले भने ।
युनिर्फम लगाएर जानुको के विशेष महत्त्व हुनसक्छ र ? 'उनी त बिदामा बसेको मान्छे, केही पर्‍यो भने त्यसै सिभिलमै जानुपर्थ्यो । एक त जानै नपर्ने हो किनभने त्यहाँ ड्युटीमा अर्का एडीसी गजेन्द्र बोहरा छँदै थिए,' हत्याकाण्डताका नारायणहिटीमा सैनिक सचिव रहेका शाहले थपे, 'तर भोलिपल्ट अमेरिका जान भनेर बिदामा बसिसकेको मान्छे हतारहतार युनिर्फम लगाएर त्यहाँ किन गए ? यस्ता कुराहरू हत्याकाण्डको नसुल्भिmएका पाटा हुन् ।'
दरबार हत्याकाण्ड राजनीतिक उद्देश्यबाट प्रेरित थियो भने त्यसमा लुकेको कारणचाहिँ के थियो ? पूर्वरथी शाह तत्कालीन राजा वीरेन्द्रलाई देखाउँछन् । देशको अवस्थाबाट दिक्क भएर वीरेन्द्रले राजनीतिक कदम चाल्न लागेका बेला हत्याकाण्ड भएको उनको दाबी छ । 'उहाँ देशको स्थिति देखेर निकै चिन्तित हुनुहुन्थ्यो,' वीरेन्द्रका अन्तरंग सहयोगी शाहले बताए, 'त्यसबेला नेताहरूबाट काम भएन, राजाले कुनै कदम चाल्नुपर्छ भन्ने प्रेसर देशभित्रबाट मात्र होइन, विदेशीहरूबाट समेत आइरहेको थियो ।'
उनका अनुसार राजालाई भेट्न आउने सबै विदेशीको मुखमा 'गुड गभर्नेन्स' र 'करप्सन कन्ट्रोल' को कुरा झुन्डिएको हुन्थ्यो । 'सबैतिरको कुरा सुनेपछि राजाले कुनै राजनीतिक कदम चाल्ने परिस्थिति निर्माण हुँदै थियो,' उनले बताए ।
कस्तो कदम ? 'त्यसको विस्तृत जानकारी त मलाई छैन । तर उहाँ कुनै कदम चाल्ने निष्कर्षमा पुग्नुभएको थियो,' उनले जवाफ दिए । त्यसबेला वीरेन्द्र बोआओ सम्मेलनमा भाग लिएर चीनबाट भर्खरै फर्केका थिए ।
'भर्खरै चीनबाट फर्केको हुनाले उहाँले चाइनिजहरूसँगै मिलेर कुनै कदम चाल्न लागेको आशंका पनि कतिपयले गरेका हुनसक्छन्,' उनले भने, 'तर त्यस्तो केही नहुँदै हत्याकाण्ड भयो ।' त्यसो भए के वीरेन्द्रको हत्यापछाडि अन्तर्राष्ट्रियस्तरको षड्यन्त्र पनि हुनसक्छ ? शाहले भने, 'उहाँ राष्ट्रवादी किसिमको राजा हुनुहुन्थ्यो ।
त्यसले गर्दा कूटनीतिकलगायत अन्य क्षेत्रबाट विभिन्न किसिमका दबाब आउने नै भए, आएका थिए ।' दरबार हत्याकाण्ड कहिलेसम्म रहस्य र विवादमा रहिरहला ? अन्तिम प्रश्नको शाहले जवाफ दिए, 'जबसम्म पर्याप्त अनुसन्धान हुँदैन, हामीले इतिहासप्रति अन्याय नै गरिरहेका हुनेछौं ।'-ekantipur

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक