20090503

माओवादी द्वारा एक्लै प्रधानसेनापती बर्खास्त, एमालेमन्त्रीहरु द्वारा राजीनामा, मुडभेडको अवस्था


माओवादीले जेजे भन्यो त्यही मान्ने सर्तमा का मु प्रधानसेनापती बने खड्का
माओवादी द्वारा एक्लै प्रधानसेनापती बर्खास्त, एमालेमन्त्री हरु द्वारा राजीनामा,
देश भर बिरोध जुलुश र सभा, माओवादी तथाकथित सेना बाहिर निस्कने तयारीमा,
मुडभेडको अवस्था, माओवादी सत्ता कब्जा को तयारीमा


चर्को विवाद र बहसपछि अन्ततः सत्तासाझेदार दलहरूको बहिष्कारका बाबजुद मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रधानसेनापति रुक्मांगद कटवाललाई बर्खास्त गरेको छ। अर्को व्यवस्था नभएसम्म कामु प्रधानसेनापतिको जिम्मेवारी रथी कुलबहादुर खड्कालाई दिइएको छ भने सरकार पनि अल्पमतमा परेको छ।
सरकारले निर्णयगरेको १२ घण्टापछि हिजै राति राष्ट्रपति डा. रामवरण यादवले सैनिक मुख्यालयमा पत्र पर्ठाई वर्तमान अवस्थामा प्रधानसेनापतिको हैसियतमा निरन्तरता दिन रुक्मांगद कटवाललाई निर्देश गर्नुभएको छ। १७ दलले राति भेटेलगत्तै सो पत्र राति ११ बजे सैनिक मुख्यालयमा दर्ता गराइएको हो। राष्ट्रपतिको पत्र बुझन प्रधानमन्त्री प्रचण्डले अस्वीकार गर्नुभएको बताइएको छ। राष्ट्रपतिको यो पत्रले भयंकर द्वन्द्व निम्त्याउने र त्यसको प्रतिवाद गर्ने माओवादीका प्रवक्ता दीनानाथ शर्माले जनाउनुभयो।

प्रधानसेनापति रुक्माङ्गत् कटवाललाई अवकास दिनुअघि आइतबार बिहान ८ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता संचालनका लागि गठन भएको उच्चस्तरीय पाँच दलको बैठक बसेको थियो। बैठकमा माओवादीका तर्फबाट प्रधानमन्त्री दाहाल, एमालेका तर्फबाट महासचिव ईश्वर पोख्रेल, फोरमका तर्फबाट जेपी गुप्ता र जीतेन्द्र देव, सद्‍भावनाका लक्ष्मणलाल कर्ण, नेकपा संयुक्तकाका नेताहरु सहभागी थिए।
स्रोतका अनुसार प्रधानमन्त्री दाहालले सुरु मै प्रधानसेनापति कटवाललाई अवकास दिने निर्णयमा माओवादी पुगेकाले त्यसमा समर्थन गर्न सत्ता साझेदार दलहरुलाई अनुरोध गरेका थिए। सबै दलले त्यसमा असहमति जनाए। एमालेका पोख्रेलले त्यस्तो प्रस्ताव आएमा आफूहरु मन्त्रिपरिषद्‍को बैठक बहिष्कार गर्ने जनाउ प्रधानमन्त्री समक्ष जानकारी दिए।

मन्त्री गुप्ताले प्रधानसेनापति हटाउने प्रकरणमा फोरमको असहमति रहने भन्दै यसैको बहानामा सरकार परिवर्तन हुन नहुने धारणा व्यक्त गरेका थिए। फोरमका देवले क्रान्तिकारीहरु 'एक कदम पछाडि हटेर दुई कदम अगाडि बढ्ने' नीति लिन प्रधानमन्त्री समक्ष प्रस्ताव राखेका थिए। तर, चार वटै दलका प्रस्तावलाई प्रधानमन्त्रीले अस्वीकार गर्दै करिब ४० मिनेटमा बैठक टुङ्गाएका थिए। त्यसपछि प्रधानमन्त्रीले बलाध्यक्ष रथी कुलबहादुर खड्कालाई बालुवाटार बोलाए।
प्रधानमन्त्रीले माओवादीका केही उच्च नेताहरु राखेर खड्कासँग करिब एक घन्टा छलफल गरे। रथी खड्काले सरकारबाट हुने निर्देशन सेनाले मान्ने बताउँदै आफू त्यसका लागि तयार रहेको जानकारी प्रधानमन्त्री समक्ष दिए।

उनले प्रधानसेनापति रुक्माङ्गत कटवाललाई पनि बालुवाटार नै बोलाएर निर्णयका सम्बन्धमा जानकारी दिन प्रधानमन्त्रीसमक्ष अनुरोध गरे। प्रधानमन्त्री दाहालले खड्काको सुझावमा प्रधानसेनापति कटवाललाई बालुवाटार नै बोलाए। खड्का पसेको करिब एक घन्टापछि बिहान ११ बजे कटवाल बालुवाटार पुगेका थिए। यसैबीच प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्को बैठक राखे। मन्त्रिपरिषद्‍को बैठकको सुरु मै प्रधानमन्त्री दाहालले प्रधानसेनापति कटवाललाई अवकास दिने प्रस्ताव राखे।

प्रधानसेनापति कटवालले मन्त्रिपरिषदबाट सोधिएका प्रष्टीकरणको जवाफ चित्तबुझ्दो नभएकाले सैनिक ऐन २०६३ को धारा ११ को उपदफा ३ अनुसार प्रधानसेनापति पदबाट उनलाई अवकास दिने प्रस्ताव प्रधानमन्त्रीले मन्त्रिपरिषद्‍मा राखे। एमालेका मन्त्रीहरु उक्त प्रस्ताव आउनासाथ असहमति जनाउँदै मन्त्रिपरिषद्को बैठक वहिष्कार गरे। बैठकबाट बाहिर निस्केर एमालेका तर्फबाट मन्त्रिपरिषद्‍मा नेतृत्व गरिरहेका गृहमन्त्री वामदेव गौतमले प्रधानमन्त्रीले राखेको प्रस्तावमा आफ्नो पार्टीको असहमति भएको बताउँदा बताउँदै पनि प्रधानमन्त्री प्रस्तावलाई निर्णयमा पुर्‍याउन अडिग रहेकाले बैठक बहिष्कार गरेको जानकारी दिए।

त्यसबीच मन्त्रिपरिषद्को बैठकले प्रधानसेनापति कटवाललाई हटाई सैनिक ऐनको धारा ३ को उपधारा ८ अनुसार बलाध्यक्ष रथी कुलबहादुर खड्कालाई कायम मुकायम प्रधानसेनापति दिने निर्णय गर्‍यो। उक्त निर्णयमा फोरम, सद्‍भावना र संयुक्तका तर्फबाट मन्त्री बनेकाहरुले असहमति प्रकट गरे। फोरमका मन्त्री गुप्ताले प्रधानसेनापतिलाई एकल निर्णयबाट कारबाही गर्नुपहिले संविधानसभामा सहभागी भएका दलहरुको तर्फबाट एउटा समिति बनाउन आग्रह गरे। जसलाई प्रधानमन्त्रीले अस्वीकार गरे।

सद्‍भावनाका तर्फबाट मन्त्रिपरिषद्‍मा सहभागी आपूर्ति राजेन्द्र महतोले अन्य दलसँग सहमति नगर्दा आफूहरु अन्यदलसँग सहकार्यमा जान सक्ने र सडकमै पुगेर विरोध गर्नुपर्ने अवस्था आएको जानकारी दिए जसको पनि प्रधानमन्त्रीले वास्ता गरेनन्।
संयुक्तका तर्फबाट मन्त्री भएका विज्ञान मन्त्री गणेश शाहले सरकारको यो निर्णयले शान्ति प्रकृयालाई असर पुर्‍याउने भन्दै प्रधानमन्त्रीलाई आफ्नो प्रस्ताव फिर्ता लिन आग्रह गरे। यसबीच प्रधानमन्त्रीले बालुवाटारमा रहेका मुख्यसचिव मार्फत प्रधानसेनापति कटवाललाई अवकाश पत्र र रथी खड्कालाई कायममुकायमको पत्र बुझाए। खड्का आफ्नो कायम मुकायम प्रधानसेनापतिको पत्र लिएर बालुवाटारबाट हिडें।

तर, प्रधानसेनापति कटवालले भने उक्त पत्र लिन अस्वीकार गरे। उनले पत्रलाई गैर संवैधानिक भन्दै यस विषयमा वकिलहरुसँग छलफल गर्ने बताउँदै खड्का निस्किएको १५ मिनेट पछि बालुवाटारबाट निस्किए। यसबीच सरकारका प्रवक्ता कृष्णबहादुर महरा बाहिर निस्किएर निर्णय सम्बनधमा संचारकर्मीलाई जानकारी दिए। उनले राष्ट्रपति रामवरण यादवलाई आजै जानकारी दिने मन्त्रिपरिषद्‍ले निर्णय गरेको बताए। मन्त्रिपरिषद्को बैठकपछि प्रतिक्रिया दिदैं आपूर्ति मन्त्रि महतोले भने, "हाम्रो सहमति नभएपछि अल्पमतको निर्णय कसरी लागु होला ?" महतोले यो निर्णय माओवादीको एकल भन्दै अल्पमतको निर्णय कानूनी नहुने जिकिर गरे।"

प्रधान सेनापति हटाएको विरोधमा प्रमुख सत्ता साझेदार नेकपा एमालेले सरकारबाट फिर्ता हुने निर्णय गरेको छ। महासचिव ईश्वर पोखरेलले यो जानकारी दिएका हुन्। यसैगरी यतिबेला भावी योजना तय गर्न एमाले मुख्यालय बल्खुमा १७ दलको बैठक बसिरहेको छ। बैठकले नयाँ राजनीति समीकरण बनाउन सक्ने अनुमान गरिएको छ।

एमाले केन्द्रीय सदस्य तथा स्थानीय विकास मन्त्री रामचन्द्र झाका अनुसार बामदेव गौतमले बालुवाटार पुगेर प्रधानमन्त्री समक्ष एमाले मन्त्रीहरुको राजीनामा बुझाएका छन्। राजीनामापत्र लिएर १७ दलको बैठकस्थलबाट बाहिरिएका गौतमले संवाददातालाई कुनै प्रतिक्रिया दिन मानेन्।
उता, प्रधानसेनापति कटवाललाई अवकास दिने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्नु पहिले राष्ट्रिय सहमति जुटाउन राष्ट्रपति रामवरण यादलवले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। राष्ट्रपति यादवले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आइतबार अपरान्ह एक पत्र लेख्दै यसअगाडि आफू र प्रधानमन्त्रीबीच भएको सहमति र कुराकानीमा ध्यान नदिइएको तर्फ असन्तुष्टि व्यक्त गरेका छन्। राष्ट्रिय सहमतिबाटै निर्णय गर्ने र त्यसअगाडि आफूलाई जानकारी दिने भन्दै प्रधानमन्त्रीले दिलाएको विश्वासमा घात भएको तर्फ राष्ट्रपतिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो।

यसैबीच मन्त्रिपरिषद् बैठकले बर्खास्त गरेका रुक्मांगत कटवालले अवकाशको चिठी बुझेका छन्। उनले यसअघि चिठी बुझ्न अस्वीकार गरेका थिए। यसैबीच कामु प्रधानसेनापति मुकरर गरिएका कुलबहादुर खडकाले उपत्यकामा रहेका रथीहरुसित छलफल गरिरहेका छन्।
मन्त्रिपरिषद्को निर्णयअनुसार कामु रक्षा सचिव गणेशराज जोशी र सहसचिव श्रीधर पोखरेलले जंगी अड्डास्थित सैनिक सचिवालयको कार्यालयमा चिठी बुझाउन जाँदा कटवालले बुझ्न अस्वीकार गरेका थिए। कटवालले कानून व्यवसायीसँग परामर्शपछि चिठी बुझे।
उता सेनापतिको बर्खास्तलाई लिएर विभिन्न स्थानमा विरोध र समर्थनमा जुलुस निस्कन थालेका छन्। माओवादीहरु सरकारी निर्णयको समर्थन र कांग्रेसलगायतका दलका भातृसंगठन भने विरोधमा उत्रेका थालेका छन्। सरकारी निर्णयको विरोधमा नेविसंघले निकालेको जुलुशलाई माओवादीले त्रिचन्द्रबाट लखेटेका छन्।

यसअघि भएको मन्त्रिपरिषद बैठक सत्ता साझेदार एमालेले बहिष्कार गरेको थियो भने फोरमले निर्णय प्रक्रियामा असहमति जनाएको थियो। बैठक सकिएपछि प्रधानमन्त्रीले कटवाल र खड्कासँग केहीबेर कुरा गरेका थिए। त्यसपछि खड्का पहिले र कटवाल केहीबेरपछि त्यहाँबाट बाहिरिएका थिए। मन्त्री परिषद्को निर्णयबारे राष्ट्रपतिलाई जानकारी दिइसकिएको तत्कालै एक मन्त्रीले बताएका थिए।
मन्त्री परिषद्अघि बसेको पाँच दलको बैठकमा सहमति नभएपछि माओवादीले एकल निर्णय गरी प्रधान सेनापति हटाएको हो। यो बैठकमा प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठकले प्रधान सेनापति हटाउने जानकारी दलका नेताहरुलाई गराएका थिए। मन्त्रिपरिषद्को बैठकले सैनिक ऐन २०६३ को धारा ११ को उपदफा ३ अनुसार प्रधानसेनापतिलाई बर्खास्त गरेको जनाएको छ।
विपक्षी कांग्रेस सहित संविधानसभामा प्रतिनिधित्व गर्ने १५ दलहरुले प्रधानसेनापतिलाई बर्खास्त गर्ने सरकारी निर्णयको भर्त्सना गरेका छन्। कांग्रेसले डाकेको सर्वदलीय बैठकपछि उनीहरुले संविधानमा व्यवस्था भएअनुसार कदम चाल्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेका छन्।

जुलसमाथि वाईसीएल आक्रमण

नेपाल विद्यार्थी संघले प्रधानसेनापति रुक्माङगत कटवाललाई बर्खास्त गरेको विरोधमा निकालेको जुलशमा वाईसिएलले आक्रमण गर्दा ५ नेविसंघ कार्यकर्ता घाइते भएका छन्। शंकरदेव क्याम्पसवाट निस्केको जुलसमाथि वाईसीएलले आक्रमण गरेको थियो। वाईसीएल आक्रमणले नेविसंघका केन्द्रीय सदस्य हिमालदत्त श्रेष्ठ सहित सुजन गौतम, हिरम्वो न्यौपाने, निकेश कोइराला र जयन्द्र स्वार घाइते भएको नेविसंघले जनाएको छ। उनीहरुको मइतीदेवीस्थित नर्सिङ होममा उपचार भइरहेको छ।
नेविसंघका अध्यक्ष प्रदीप पौडेलको नेतृत्वमा शंकरदेव क्याम्पसवाट निस्केको जुलुस पुतली सडकमा गएर कोणसभामा परिणत भएको थियो। नेविसंघका नेताहरुले माओवादीले सर्वसत्तावाद लाद्ने उदेश्यले सेनापतिलाई कारवाही गरेको भन्दै तुरुन्त आफ्नो निर्णय फिर्ता नलिए कठा आन्दोलन गर्ने चेतावनी दिए।

पुष्पकमल दाहाल नेतृत्व सरकारमा एमालेको प्रतिनिधित्व गरेका बामदेव गौतमले सरकारबाट बाहिरिने पार्टीको निर्णयप्रति असहमति जनाएका छन्। अध्यक्ष झलनाथ खनाल पक्षका मानिने गौतमले माओवादी सरकारबाट अलग हुने निर्णयलाई 'कलंक'को संज्ञा दिए।

बामदेव गौतमको असहमति

"नेपाल अहिले विभिन्न प्रकारका संकटबाट गुज्रिरहेको छ। यस्तो अवस्थाबाट मुलुकलाई सही किसिमको अग्रगामी निकास दिने कार्यदिशा नै कुनै पनि पार्टीलाई पहल कदमी दिने दिशा हुनसक्छ। यही परिस्थितिमा नेपाली सेनाका प्रधानसेनापतिलाई मन्त्रिपरिषदबाट स्पष्टीकरण सोध्ने र उनको स्पष्टीकरण तथा आज मन्त्रिपरिषदमा हाम्रो बहिस्कारका वावजुद प्रधानमन्त्रीको प्रस्तावमा प्रधानसेनापति रुक्मांगत कटुवाललाई मन्त्रिपरिषदले बर्खास्त गर्ने निर्णयलाई पनि लिनुपर्छ। प्रधानसेनापतिलाई स्पष्टीकरण सोध्ने काम हाम्रो पार्टीको समेत सहमतिमा भएको हो। आजको बर्खास्तगी त्यसैको निरन्तरता मात्रै हो। हाम्रै पार्टीको विगतको स्थायी कमिटीको बैठकले प्रधानसेनापतिको विषयलाई बढाई चढाई गरी बढी जटील बनाएको हो।

सरकारको आदेश पालना नगर्ने र आदेश र निर्णयका विरद्धमा समेत जाने प्रधानसेनापतिलाई बर्खास्त गर्ने निर्णय अनुचित छैन। नागरिक सर्वोच्चता कायम गर्नका लागि पनि यसो गर्न उचित छ। जटील र संक्रमणकालीन अवस्थामा विगतको शाही सेनाको मानसिकताबाट प्रेरित भएका व्यक्तिलाई बोकेर मुलुकलाई द्वन्द्वको अवस्थामा फसाउने ऐतिहासिक कलङ्कभन्दा केही हुने छैन। माओवादीका गलत व्यवहारलाई आधार बनाएर दक्षिणपन्थी शक्तिलाई अगाडि बढाउने काम अर्को महान कलंक नै बन्नेछ। आजको यो विशेष बैठकले मुलुकको विशेष अवस्थालाई विचार नपुर्याई विद्यमान राजनीतिक समीकरण तोड्ने काम अग्रगामी र परिवर्तनकारी हैन। यता केही समयदेखि हाम्रा निर्णयदेखि मुलुकलाई झन झन जटीलतातिर लगिरहेका छन्। तसर्थ आजको सरकार छाड्ने राजनीतिक समीकरणलाई तोड्ने र अलग किसिमले चल्ने निर्णयप्रति मेरो गम्भीर असहमती रहेको छ। २०।१।२०६६"

प्रचण्ड सरकार अल्पमतमा

दुई तिहाई बहुमतका साथ बनेको प्रचण्ड सरकार आज अल्पमतमा परेको छ। नेकपा एमालेको स्थायी कमिटीको बैठकले सरकारबाट बाहिरिने र प्रचण्ड सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो। एमालेका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री रहेका वामदेव गौतमले केही समयअघि एमाले मन्त्रीहरुको साझा राजीनामा पत्र प्रधानमन्त्रीलाई बुझाइसकेका छन्। त्यसैगरी सरकारमा सहभागी अर्को दल नेपाल सदभावना पार्टीले पनि राष्ट्रपतिलाई भेटी सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका छन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक