

यता, एमालेभित्र चाहिँ मन्त्रीको बारेमा अहिलेसम्म कुनै छलफल भएको छैन। छलफल नभए पनि यसअघि माओवादी नेतृत्वको सरकारमा जलस्रोतमन्त्री रहेका विष्णु पौडेललाई भने भावी प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो क्याबिनेटमा पनि राख्ने सोच बनाएका छन्। नेपालले हरेक राजनीतिक भेटघाटमा पौडेललाई लिएर हिँड्नुले पनि पौडेलको निरन्तरता निश्चितजस्तै रहेको चर्चा एमाले–वृत्तमा छ। तर अन्य मन्त्री र नेताहरूले पुरानो सरकारमा मन्त्रीहरू सफल हुन् भने उनीहरू सबैलाई निरन्तरता दिनुपर्छ, यदि असफल हुन् भने कसैलाई पनि मन्त्री बनाउन हँुदैन भनेर अभियान चलाएकाले पौडेललाई खतराको घण्टीले भने छाडेको छैन। माधव नेपाल औपचारिक रूपमा प्रधानमन्त्री भएपछि दलहरूबीच मन्त्रिपरिषद्मा भागबण्डाका लागि लामो फेरि छलफल हुने र त्यसपछि एमालेले पाउने मन्त्रालयका आधारमा को–को मन्त्री बन्ने भन्नेबारेमा एमाले केन्द्रीय कमिटी बैठकले तय गर्नेछ। धेरै दलको गठबन्धन भएकाले मन्त्रालयहरू बाँडफाँट गर्दा विगतमा पार्टीले पाएका सबै मन्त्रालय नपाउन पनि सकिने भएकाले अहिले नै केही भन्न नसकिने एमाले नेताहरू बताउँछन्। एमालेबाट उपाध्यक्ष विद्या भण्डारी, महासचिव ईश्वर पोखरेल, सचिव विष्णु पौडेल, शंकर पोखरेल, संसदीय दलका उपनेता सुरेन्द्र पाण्डे, भरतमोहन अधिकारी, पृथ्वी सुब्बा, तुलाराज विष्ट, डा. गोविन्दबहादुर थापा, डम्बरसिंह सम्बाहाम्फे, कृष्णप्रसाद सापकोटा, महमुद आलममध्येबाट मन्त्री, राज्यमन्त्री र सहायकमन्त्री बन्ने चर्चा छ। तराईको कोटाबाट रघुवीर महासेठको सम्भावना छ।
प्रचण्डले जेठ ३ गतेको खुलामञ्चको सभामा गाउँगाउँमा भिडन्त हुन्छ भनेलगत्तै माओवादी कार्यकर्ताहरूले रामेछापमा नेकपा एमालेका महासचिव ईश्वर पोखरेल, पोलिट्ब्यूरो सदस्यद्वय रविन्द्र श्रेष्ठ र पशुपति चौलागाईं र जिल्लास्तरीय नेताहरूमाथि २०६६ जेठ ३ गते सांघातिक आक्रमण गरेका छन्। आक्रमणकारीहरूले एमाले नेताहरूलाई कुटपिट र दुर्व्यवहार गर्दै उनीहरू सवार गाडीसमेत ध्वस्त पारिदिएका छन्। माओवादीले रामेछापमा गरेको यस किसिमको शान्ति विरोधी क्रियाकलापले मुलुकमा भिडन्तको स्थिति निम्त्याउने भएको छ। पार्टीको कार्यक्रममा रामेछाप गएका एमालेका केन्द्रीय नेताहरूमाथि माओवादीले गरेको आक्रमणलाई एमाले पंक्तिले खेद व्यक्त गर्दै यस घटनालाई गम्भीर रुपमा लिएको छ।
माओवादीले मित्रशक्तिमाथि आक्रमण गरेर संस्थागत भिडन्तको सुरुवात गरेका छन्। सत्ताविछोडबाट रन्थनिएर गरिएका माओवादीका यस्ता क्रियाकलापले शान्ति प्रक्रियालाई समेत गम्भीर धक्का पुर्यारउने खतरा उत्पन्न भएको छ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा सरकार गठन हुने पक्का भएपछि त्यो सरकारमा कसको नेतृत्वमा जाने भन्ने विवादले कांग्रेसमा रडाको सिर्जना गरेको छ। कांग्रेसभित्र सरकारको नेतृत्व गर्नका लागि नेताहरूबीच विवाद सिर्जना भइसकेको छ। सभापति गिरिजाप्रसाद कोइरालाले मौनता साधिरहेको बेला वरिष्ठ नेताहरूले आ–आफ्नो लबिङ गरिरहेका छन्। अहिलेको गठबन्धन आफ्नो कारणले सम्भव भएको भन्दै शेरबहादुर देउवा पक्षले विमलेन्द्र निधिको नेतृत्वमा सरकारमा जानुपर्ने बताएको छ भने कार्यवाहक सभापति सुशील कोइरालाले सरकारको नेतृत्व केबी गुरुङबाट गराउने चाहना राखेका छन्। उपसभापति रामचन्द्र पौडेल आफैं सरकारमा जान खोजिरहेका छन् भने गिरिजाप्रसाद कोइरालाको उम्मेदवारका रूपमा रामशरण महत अर्थ मन्त्रालय लिएर सरकारमा जान खोजिरहेका छन्। त्यसो त, सुजाता कोइरालाले पनि सरकारमा जानका लागि खुट्टा उचालिरहेकी छिन्। कांग्रेसबाट सम्भावित मन्त्रीमा पाँचजना डाक्टर भिडन्तमा उत्रिएका छन्। डा. नारायण खड्का, शेखर कोइराला, प्रकाशशरण महत, शशांक कोइराला, पद्मनारायण चौधरी, विनयध्वज चन्द, लक्ष्मण घिमिरेमध्येबाट कांग्रेसले मन्त्रीको छनोट गर्नेछ। महिलाबाट पुष्पा भुसाल वा चित्रलेखा यादवको नाम चर्चामा आएको छ। त्यसो त, उपसभापति प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र गोविन्दराज जोशीले पनि मन्त्री बन्नका लागि बल प्रयोग गरिरहेको कुरा कांग्रेस सूत्र बताउँछ।
माओवादीको प्रेस वक्तव्य

हाम्रो पार्टीले राष्ट्रपतिले चालेको असंवैधानिक कदमका विरुद्ध नागरिक सर्वोच्चताको पक्षमा संघर्ष गर्दै आएको छ । यस क्रममा हामीले सडक संघर्षका अतिरिक्त सदनमा पनि संघर्ष गरिरहेका छौं र सदन अवरुद्ध गर्दै आइरहेका छौं । तर हामी छिटोभन्दा छिटो सदन सुचारु रुपले सञ्चालन होस् भन्ने पक्षमा रहेको कुरा पनि स्पष्ट गर्दै आइरहेका छौं र अहिलेको परिस्थितिमा छिटो सदन चलोस् भन्ने हाम्रो पार्टीको चाहाना रहेको कुरा पुनः स्पष्ट पार्न चाहान्छौं । तर त्यसका लागि हाम्रो पार्टीले सदन अवरुद्ध गर्दा उठाइएका मुल मुद्दा व्यवस्थ्ापिका-संसदमा छलफलको निम्ति प्रवेश पाउने र त्यसलाई सम्बोधन गर्ने स्थिति हुनुपर्ने कुरा स्वतः स्पष्ट छ । त्यसैले हाम्रो पार्टी सम्पूर्ण राजनीतिक पार्टीहरू र सम्बन्धित पक्षहरूसाग यसबारेमा गम्भीर छलफल गरी सहमति निर्माण गर्न र सदन सञ्चालन गर्ने स्थिति सिर्जना गर्न गम्भीर अपील गर्दछ । अन्यथा हाम्रो पार्टी सदनभित्रको चालु संघर्षलाई यथावत् राख्न बाध्य हुनुपर्नेछ ।
(प्रचण्ड)
अध्यक्ष
एकीकृत नेकपा (माओवादी)
केन्द्रीय समिति
माधव नेपाललाई ३ सय ५० सभासदको समर्थन, प्रचन्डले हावा खाए, माधव नेपालका दौरा सुरवाल यो पाली काम लाग्ने पक्का !

यसैबीच सरकार गठन गर्न एमाले मुख्यालयमा बैठक सुरु भएको छ। बैठकमा एमाले, कांग्रेस, फोरम, तमलोपा, सदभावनालगायत् गठबन्धनमा सहभागी दल सामेल छन्। हस्ताक्षर बुझेपछि सभामुख नेम्वाङले तुरुन्तै कार्यव्यवस्था समितिको बैठक डाकेर सरकार गठनको प्रक्रिया सुरु गरिने जानकारी दिए। उनले भने- भोलिदेखि यो डेडलक (गतिरोध) अन्त्य हुनेछ।
सरकारमा सामेल हुने विषयमा फोरममा मतभेद देखिएको छ। संसदीय दलका नेता विजयकुमार गच्छदारसहितका बुहमत सभासद् सरकारमा जाने पक्षमा देखिएका छन्। गच्छदारसहित ३२ सभासदले माधव नेपाल नेतृत्वको सरकारलाई समर्थन गर्दै हस्ताक्षर गरेका छन्। तर पार्टी अध्यक्ष उपेन्द्र यादव भने नेपाललाई समर्थन गरे पनि सरकारमा सामेल नहुने पक्षमा देखिएको छ। यादवको पक्षमा २१ सभासद छन्।
यादवले पत्रकार सम्मेलनमा हस्ताक्षर गरी सरकारमा सामेल हुने गच्छदारको कदम पार्टी विधान र संसदीय दलको विधानविपरित भएको बताए। 'यो संसदीय मान्यताविपरित कार्य हो'- आइतबार पत्रकार सम्मेलनमा यादवले भने। पार्टी नीति विपरित जानेलाई कारवाही गर्नुहुन्छ ? भन्ने पत्रकारको प्रश्नमा उनले 'केन्द्रीय समितिमा छलफल हुने' मात्र बताए। यसअघि फोरम संसदीय दलका नेता गच्छदारले कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई भेटेका थिए।
विदेशीको इशारामा नया सरकार बन्न लागेको छ : प्रचण्ड

No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक